पाका थुप्रिने होइन, केही गरौँ !
पाको उमेर सकेसम्म चलखेल गरेर मानसिक र शारीरिक स्वास्थ्य राम्रो पार्ने बेला हो । उमेर गयो भनेर एकै ठाउँ थुप्रिएर रोग र शोक बटुल्ने बेला होइन । जे सकिन्छ गर्दै जाने हो, परिवारलाई मात्र होइन आफूलाई आफैँ बोझ र भार बनाउने होइन ।
डा. मुकेशकुमार चालिसे :
उमेरिँदै गएका मानिस धेरैजसो ठाउँमा ‘अब, बसीबसी खाने दिन आए’ भनि आफ्नो सकृयता घटाउने तथा हेरचाह गर्ने र सन्तानको भरोसामा निश्कृयतामा समय कटाउन चाहन्छन् । कतिपय सरकारी, गैरसरकारी र घरकाजमानै काममा रहेका पनि सरकारी सेवानिवृत्त उमेर भएपछि र सरकारी भत्ता पाइने उमेर लागेपछि आफैँ निस्क्रिय भएको सुस्केरा छाड््छन् । कतिपयका सन्तानलेनै ‘अति माया देखाउँदै सकृयता मार्न’ पनि घरमा थन्किन भनेका होलान् । खासमा त्यस्ताको भित्री मुराद जोरीपारी र ईष्टमित्रका अगाडि ‘अब हामी सक्षम भयौँ, बाबुआमाको भरमा मात्र छैनौँ’ भन्ने तुजुक देखाउनु पनि हुन्छ । नत्र त सक्षम र सकृय अभिभावकलाई थान्को लाउने बिचार किन आएको होला ? मानिस प्रजाति सबैभन्दा सक्षम प्राणी भएकाले सकुञ्जेल सकृय रही समाजमा जानेको, सकेको थप योगदान गर्नैपर्छ भने अरु नसके आफ्नै स्वास्थ्यको हिफाजतमा हिँडडुल र चलखेल नियमित गर्नैपर्छ ।
उमेरिएर पाको र अतिपाको उमेरमा बहिरफेर र घरभित्रका काममा परिवारको सहयोगमा मरमद्दत गर्नेगर्नु बाञ्छनीय हुन्छ । त्यस्ता कुरामा मन नलागे वा परिवारले नदिए आफ्नो स्वास्थ्य रक्षाको लागि दैनिक सकेको व्यायाम र हिँडाई आवश्यक हुन्छ भन्ने नबिर्सौँ । जतिसुकै अप्ठ्यारो रोग लागे पनि वा शारीरिक कमजोरी भए पनि एक्लै र चाहिँदा सहयोगी लिएर घरभित्र गरिने जीउ तन्काउने व्यायाम साथै हलुका हिँडाई गर्नु पाको उमेरमा अति आवश्यक हुन्छ । व्यायाम भन्नाले बलियाले गर्ने धामा भनेर नसोचौँ, यो त शरीरका विभिन्न अङ्गलाई उर्जावान बनाउन गरिने चलाई हो । एकोहोरो अवैज्ञानिक बसाई र शरीरका हरेक भागहरूले आआफ्नै किसिमका गति खोजेकोलाई अनुकुल मिलाउनु हो ।
जीउ तन्काउनेः
मौसमको प्रतिकुलता भनेर घरभित्र एकोहोरो बसाई र हदगरे भान्छा पुग्ने र सुत्ने ओच्छ्यानमा लम्पटासन गर्ने स्वभाव कसैले विकसित गरेको सोख होइन है । जाडाका दिनमा खाना खाएको समयबाहेक उदयाचलदेखि अस्तायचलसम्म एउटा चकटीमा घरबाहिर घाम तापेर बस्ने पनि ठिक होइन । शरीरका जोर्नी, माँसपेसी, आन्तरिक प्रणाली र मानसिक स्वास्थ्यको जगेर्ना तातो पाउनुबाहेक यस्तो चाकलमाडे स्वभावले क्षिण हुँदैजान्छ । पाका मान्छेले शारीरिक स्वस्थ्यका लागि प्रणालीगत स्वास्थ्यमा ध्यान दिनैपर्छ अन्यथा पहिले नभएका रोगले दाउ खोजेर झम्टन सक्छ । मधुमेह, उच्चरक्तचाप, बाथ, दम, जोर्नीका समस्यासाथै श्वासप्रश्वास र मुटुका समस्याहरू पाको उमेरमा गरिने बेवास्तानै ढुकेर बसेका हुन्छन् । आसनको अवैज्ञानिक तरिकाले लामो बसाईपछि बिस्तारै स्नायुप्रणालीका समस्यामात्र होइन एकोहोरो दिन कटाईले मानसिक समस्या आउन सक्छ । त्यसैले जीउ तन्काउने काम र व्यायामलाई सामान्य नठानी नियमित गर्ने बानी सबै पाका मान्छेले गर्नैपर्छ ।
जीउ तन्काउने सुरुवात सामान्य हिसाबले हरेक दिन सबै महिनामा गर्न सकिन्छ । पाका मान्छेले ओच्छ्यानमा पल्टीपल्टी हातगोडा तनक्क तन्काउने, गुडुल्को परेर सुत्ने बानी भएकाले त उत्तानो र घोप्टो परेर सकेको जीउ मर्काउनु राम्रो हुन्छ । सुतिसुती दुबै हात उठाई पाखुरा उल्टोसुल्टो बटार्दा जोर्नी र माँसपेसीमा फूर्ति बढ्दछ भने गोडा कम्मर तलको ठाडो सकेको उठाउने गर्नु राम्रो हुन्छ । अनि गोडा खुम्च्याई दुबै पाइला टेकी कम्मर मात्र उचाल्ने प्रयाश गर्नाले ढाडको व्यायाम हुन्छ । त्यस्तै एउटा खुट्टा लामै राखी अर्को खुम्च्याई अर्काको घुँडाछेउ टेकाउने र त्यतै ढल्काउने गरे ढाडको व्यायाम थप हुन्छ । सुतिसुती उत्तानो भई मुण्टो दायाँबायाँ कुम छुनेगरी बिस्तारै लगेर गाला भूइँमा छुवाउने गर्नुले गर्धनको व्यायाम हुन्छ ।
चिसो मौसममा अररिएको शरीरलाई मनतातो पानीले नुहाएर वा हातगोडा धोएर जीउ फुकाएर गर्न सकिन्छ । न्यानो हुँदा माँसपेसी मज्जाले चल्ने र जोर्नी खुकुलो बन्छ, जमोट त अति चिसोले यो उमेरमा हुन्छ । अब, हातगोडा तन्काउने, सक्ने गतिमा उठबस गर्ने, बसेर, उठेर हातगोडा र ढाड डोरी बटारिएझैँ बटार्न खोज्ने, दाहिने र देब्रे दुबै दिशामा । यत्ति गर्दा पनि शरीरको सबै भागको व्यायाम मनग्ये पुग्दछ । लमतन्न उत्तानो र घोप्टो सुतेर हातगोडा, कम्मर र मुण्टोको गतिवान चलाई टेबुल आकार दिनु पनि फाइदै हुन्छ । बसेर नियन्त्रित श्वास भित्र लिनु र उहि गतिको फेराई गर्नु अनि लामो-छोटो अवधिको श्वासप्रश्वास व्यायाम पनि रक्तसञ्चालन र श्वासप्रश्वास प्रणाली तन्दुरुस्त पार्ने सजिलो र भरयोग्य व्यायाम मानिन्छ ।
ध्यान रहोस्ः
कुनै पनि व्यायाम वा जीउ तन्याकतुनुक गर्दा अति दुख्ने गरेर चाहिँ नगरौँ, सहन सक्नेसम्मको दुखाईले फाइदा पुर्याउँछ । कुनै व्यायामले असहनिय पीडा हुन्छ भने त्यसलाई ‘छोउँ छोउँ भनेर नछोए जस्तै’ गर्नखोज्ने तर पूरा नगरी अर्कोपल्ट सक्ने आँटले छाड्ने । नसक्नुको कारण भनेजस्तो आसन नमिलेर हो वा कुनै अङ्गलाई बाधा परेर हो, भनि नीतिखोजी गर्ने । चाहिँदो अनुसन्धान गर्दै नियमित प्रयाशले पहिला नसकेको व्यायाम सजिलै सकिन्छ र सम्बन्धित फाइदा लिन सकिन्छ । मानिसको शरीरको बनावट र जोर्नी अति लचकदार हुन्छ, एक्कासी होइन लगातारको प्रयाशले अनौठा कसरत, शारीरिक कला र सुगठन त हुन्छ भने सामान्य तन्याकतुनुक किन गर्न सकिन्न र ?
हो, हरेक व्यायाम र प्रयाशमा नियमित श्वासप्रश्वास राम्ररी भइरहनु आवश्यक छ, यसले आवश्यक प्राणवायु अक्सिजन आपूर्ति भइरहन अवरोध हुँदैन । त्यस्तै प्रयाश फुर्सद हुनासाथ र खाना खाएको दुईतिन घण्टापछि शरीर हलुका लागेपछि दिनभरीमा जतिपल्ट गरे पनि हुन्छ । बरु दैनिक गर्ने बानी बसालौँ, सकेसम्म यसका लागि एउटा निश्चित समय अठोट गरौँ र तालिका अनुसार गरेमा स्वअनुशासन पनि कायम हुन्छ । नेपालमा र योग गर्नेका मात्र भनाई होइन हार्वाड मेडिकल स्कूलका विज्ञहरूको अनुसन्धान प्रतिवेदनमा समेत सामान्य व्यायामलाई पाका मान्छे स्वस्थ्य रहने उपायको रुपमा सुझाइएको छ ।
मानसिक स्वास्थ्यः
जीउ तन्काएर शारीरिक स्वास्थ्य तन्दुरुस्त बनाउन प्रयास गर्ने पाका मान्छेले उमेरिँदा आउने कमजारीले वितृष्णा, निराशा र सामाजिक परिवर्तनले अमिल्दो लागेर आफू अनमेल भएको एक्लोपनसँग जुध्नै पर्छ । तपाइँलाई मन नपर्ने कुरा बदल्न सक्ने क्षमता छैन भने किन चिन्ता गर्नु हुन्छ ? यसले त मानसिक स्वास्थ्यमा असर गरेर उमेरिएका मान्छेलाई शारीरिक भन्दा दुःख दिने रोग पलाउन सक्छ । यो पाको उमेरमा थप काम गर्न नसके ‘सक्दा यतिसम्म गरेको थिएँ’ भनेर पहिला गरिएको अति- सफलताका कामकार्वाहीको स्मरण गरेर चरम आनन्दित हुने हो । दुःखका बेलाको सम्झना होइन रमाईला क्षणहरूको प्रशङ्ग सम्झेर समकालिन र कुरा सुनिदिनेका बिच गफ्फिने हो । बाँकी जीवन भएको र पाएको स्रोतको सदुपयोग गरेर सन्तोष र आनन्दले बाँच्ने अटल आत्मविश्वासका साथ जीउने भन्नेनै लक्ष्य रहनु ठिक हुन्छ ।
सकारात्मक मनोविज्ञानका पूर्विया र पश्चिमा दर्शनले निचोडमा एउटै कुरा भनेका छन्- एउटा मानिसको जीवन खास अवधिसम्म हुन्छ । सकेसम्म सम्पूणर्तामा आनन्द खोज्ने हो, रचनात्मक र बहुजन हितायको कामकार्वाही गर्ने हो, नसके कम्तीमा आफू त विज्ञानसम्मत सचेत र सकृयरही आनन्दमा रमाउने हो । त्यसका लागि, हरेक मानिसले आफ्नो आन्तरिक ऊर्जा चिन्ने र प्रज्वलित पारिरहने हो । हरेक असामान्य समस्यालाई आफूले भोग्न बाध्य भएको स्थिति र केही नयाँ सिक्ने अवशर पाएको अनुभूतिले सहर्ष कृतज्ञतासहित स्विकार्नोस् । अरुका कुरा उत्सुकतापूर्वक सुन्ने, जाने अर्थपूणर् सहमतिसहित आनन्द प्रकट गर्नुहोस् नबुझे कम्तीमा भन्नेकोमा ‘हो मा हो’ मिलाउनोस् । सुनाउने सुनिदिएकोमा मक्ख भएर तपाइँलाई फेरीफेरी भेट्न आइपुग्छन् र तपाइँको निरस एकालकाँटे समयमा हाँस्ने बाटो बन्छ । ‘जत्ति हाँस्यो उत्ति वर्ष बाँच्यो, जत्ति रोयो उत्ति वर्ष बाँच्न घटायो’ भन्ने त उखानै छ नि ! आफू सरल, सजिलो, अरुले बोल्न धक नमान्ने हलुको भएकोमा ‘कलकल गर्ने खोलाझैँ पवित्र र चोखो भएको अनुभूति’ गर्नोस् । भेट्यो कि ‘गनगन गर्ने, थोत्रो, गलनपत्तोका बिलौला गाउने पुङमाङजस्तो’ तपाइँलाई कसैले भन्ने मौका नपाउन बरु रमाईला पुराना कुरा गर्दै नयाँकुरा सिक्नजान्न खोज्ने जिज्ञासु पाका मान्छेमा दरिन खोज्नोस् ! अनि हेर्नोस्, तपाइँलाई झुराउनेको पङ्क्ति कति बढ्छ, तपाइँलाई निम्ता मान्न भ्याई नभ्याई नभए भन्नु होला !
अहिलेको स्थितिः
संसारमा आएको राजनीतिक, सामाजिक उथलपुथलसँगै आफू शारीरिकरुपले बिस्तारै कमजोर तथा सकृय जीवनबाट निबृत्त हुँदा सबैलाई एक किसिमको मानसिक लघुताभास र ग्लानी हुनसक्छ । हिजोको उमेरमाजस्तो फूर्तिफार्ती र चलखेल कम भएको हुँदा झुम्मिने र पछिलाग्ने कम भएका होलान् । हिजोसम्म निहुरेर बोल्ने अहिले ठाडठाडै बोल्लान, बातैपिच्छे ‘हजुर हजुर’ गर्ने अहिले बोलेको पनि नसुन्ने होलान्, पछि लागेर झञ्झट लगाउने आफ्नो स्वाथ्र्य पूर्ताल भएपछि मर्योबाँच्यो नसोध्ने होलान् ! के भयो त् ? सबै आआफ्नै बाटो लाग्छन्, तपाइँको आफ्नै जीवन छ, बाँकी जीवन सुखमय बनाउनु तपाइँकै हातमा छ । यतिखेर वाक्क, दिक्क, व्यवधान, उम्नाचो, चिन्ता, तनाव र बिग्रहले घेरिएको परिवेशमा साँच्चीको आनन्दमा रहनु र मान्नु गाह्रो हुन्छ । तपाइँसँग विकल्प पनि त छैन, ‘स्वान्त्यसुखाय’ बाहेक के गर्नु, तपाइँले चाहेको परिस्थिति छैनभने कल्पिएर मन भुट्भुटिएर हुँदैन त ? अब एकमात्र बाटो भनेको सकारात्मक भइदिने र सबै भोग्नु परेको परिस्थितिलाई आवश्यक छ भनि स्विकार गरिदिने । मानिसमा हरेक समस्यालाई समाधान गरी आफूलाई आनन्दित पार्ने क्षमता छ भनेर हार्वाड मेडिकल स्कूलले मात्र होइन पूर्विय दर्शनमा पनि भनिएको छ । हामी जुन सजिलो लाग्छ त्यहि गरौँ, किन समस्यामा अल्झेर एकबारको जीवनको बाँकी स्वणर्िम समय दिक्दारीमा बिताउने ?
सकारात्मक मनोविज्ञानः
शरीरविज्ञान र स्वास्थ्य सम्बन्धी अनुसन्धानहरूका समग्रको निचोडमा प्रतिवेदन सङ्ग्रहित गर्दै भनिएको छ, सकारात्मक मनोविज्ञानको धेरै अंश तपाइँ आफ्नै दिमागलाई सुखी अनुभूत गर्ने बानी पार्नु हो । हरेक कुरामा सबल र फाइदाजनक कुरा पहिल्याउन खोज्नु सकारात्मक अभिव्यक्ति हो । ‘आधा खाली रहेछ, आधा पुग्ने भएन’ भन्नुभन्दा ‘आधा त भरिएको छ, आधा त पुग्यो है’ भन्नु बढि सकारात्मक हुन्छ । ‘मलाई मनपर्ने किन पकाउँथे’ भनि अपजस लाउनुभन्दा ‘समयमानै खान पाइएको छ’ भनि भन्नु र निर्धक्क खानु स्वास्थ्यकै लागि पनि राम्रो हुन्छ । चाहेको भएन भनि रनाहमा पर्नु, हरेक कुरामा भनेको मानेनन् भनि अपमान बोध गरेर मन कुँढ्याउनुभन्दा ‘सबै आआफ्नो तरिकाले जीवन जिउँदैछन्, मलाई कुनै बाधा दिएका छैनन्’ भनि मक्ख पर्नु राम्रो मनोविज्ञान हो । तपाइँ अझै ‘संसार बोक्ने शेषनाग वा हर्कुलस जस्तो’ किन हुनखोज्नु हुन्छ हँ ? अब तपाइँको दिमाग चल्न सक्छ, जीब्रो चल्न सक्छ तर शरीरले सार्है भरपर्दो काम गर्न सक्तैन, हेक्का गर्नोस् है ! सकेमा मनपर्ने र छुटेको लेखपढ र समीक्षाको काम यो उमेरमा सुहाउने र ईज्जत पाउने राम्रो विधा बन्न सक्छ ।
मानिसले सकारात्मक कुरा ग्रहण गर्दै गएपछि नकारात्मक कुरा बिस्तारै हराउन थाल्छन् । यसो भएमा तपाइँ बल्ल ‘घरको पक्का अभिभावक र सबैका आँखामा हाले नि नबिझाउने’ बन्नुहुन्छ, नत्र त ‘काल पर्खेको, दुख पाउन र दिन नसकिएको मान्छे’ भई हाल्नुहुन्छ नि ! आफ्नो खुसी कसरी हुन्छ र त्यसोगर्दा अरुलाई बाधा नपरोस्, बस, त्यो पनि बढि सोच्ने मात्र हो, काम गरेर होइन हाउभाउले । त्यसरी जेजसो गर्दा आफू आनन्दित होइन्छ त्यसै गर्ने हो, भन्नैपरे ‘म आफ्नो पूरै होसमा मनखुसीले यसो गर्दैछु, राम्रो नराम्रो जे भए पनि कसैलाई दोष दिन्न, अरुलाई गाफिल पनि पार्दिन !’ भर्खरजसो गरिएको अमेरिकी अनुसन्धानले पनि देखाएको छ, आँटेर गरिएका विविध कामले पाका मान्छेको आनन्द थपिएको छ र सशक्त भई आङ्कलन गरिएभन्दा बढि राम्रो काम पाका मान्छेबाट सम्पन्न भएका छन् । त्यसरी मनखुसी सिप र चाहनाअनुसार काम गर्न पाउने पाका मान्छेका सुरुवाती विस्मृत्ति, उन्माद र निराशाका समस्या पनि हल भएका छन् ।
मनखुसी काम गर्ने वातावरण पाएका पाका मान्छेमा काम गर्ने सिपमा थपिएको झन गम्भीरताले निकै आनन्दित मनोदशा पारेको हुन्छ भने सफलताको फलले बाँकि जीवन उत्साहका साथ जीउने आकाङ्क्षा बढाएको हुन्छ । त्यस परिस्थितिले परिवार र आफन्तलाई पनि ईज्जत बढेर साह्रै प्रफुल्लित र आनन्दमय अभिभावकत्व पुर्याइरहेको सर्बत्र चर्चामा हुन्छ । यस्तो व्यवहारको प्रयाश नियमित भएमा नकारात्मक सोच, घुर्कीतबर्का र घोचपेच परिवारमा सुन्नै पर्दैन र पारिवारिक एकता एकगठ देखिन्छ । समाजमा यस्तै परिवार सक्षम, सिपगुणले सशक्त र आदरणीय हुनजान्छ । यही अनुभव र परिणामको आधारमानै मनोविज्ञान चिकित्सकहरूले उन्माद, चिन्ता, बेकामे लत र तनावबाट ग्रसित मानसिक समस्या भएका पाका मान्छेलाई उपचार गर्ने प्रविधि सकारात्मक सोच हो भनि लेखहरू मार्फत भनेका छन् ।
सजिलोको लागि मानसिक तनाव घटाउन र सुख र आनन्द मान्न पाका मान्छेले सामान्य कम परिश्रममा गर्न सकिने काममा ध्यान दिन थाल्नुहोस् । मन नपर्ने र विक्षिप्त पार्ने समाचार र सामाजिक सञ्जालका कुरा पन्छाउन कोसिस गर्नुहोस्, तपाइँ हेरेर र बुझेर मन बिगार्दा समस्या समाधान हुँदैन बरु तपाइँ आफैँ अनावश्यक उद्वेलित हुनुहुन्छ र मानसिक स्वास्थ्य बिगार्नु हुन्छ । राम्रा र भरपर्दा समाचार दिने सामग्री पच्छ्याउनु होस् साथै त्यस्तै सकारात्मक कुरा गर्ने साथी र नातागोता पहिल्याई सम्बन्ध विकसित गर्नुहोस् । उमेर काट्ने होइन बाँचुञ्जेल राम्रो काम सचेततापूर्वक बहुजन हितायमा गर्ने सोच बनाउनु होस् । हरेक सोचविचारक ासाथ गरिएका काम असफलनै भए पनि पश्चाताप नगर्नोस्, सफल हुन बाहिरी परिस्थिति पनि अनुकुल हुनुपर्छ । हरेक असफलताले पाठ सिकाउँछ र भविष्यमा सफल बनाउने बाटो देखाउँछ भनि लगातार मिहेनत गर्न पछि नपर्नोस् । हार्वाड मेडिकल स्कूलका मानसिक समस्याका विज्ञ अनुसार र जुलाई २०२३ मा मौरिन साल्मन, डा.टोनी गोलेन र डा.होपे रिक्कोट्टीले गरिएको पाका महिला र पुरुषका समस्याको अध्ययनले सकारात्मक सोचाईले अघि बढेका मान्छे बढि स्वस्थ्य र रोग प्रतिरोधमा अगाडि रहेको जनाएका छन् ।
हिँडाईः
कोठामा गरेको व्यायामले पुगेन भने कोठा नाप्ने गरेर हिँडे पनि पुग्छ, छ भने आँगनमा डुल्दा पनि हुन्छ । कोठाको आकार र आँगन हिँडाई गर्ने नभए आफ्नो अनुकुलमा सडकका पैदलमार्ग भएका ठाउँमा बाटो नकाटिने गरेर हिँडे भइहाल्यो । हिँड्दा बरु अप्ठ्यारो परे एकखुट्टे वा त्रिखुट्टे लौरो लिएर हिँड्न सकिन्छ भने लौरो नटेक्नेले साथी लिएर हिँड्दा गफ गर्ने बाटो र अभरमा सहयोग पाइएला । हिँड्दा पाइला चाल्दा आफ्नै पाइताला जमिनमा ठोकिएर आउने ठ्यापठ्यापको आवाज कति आरामदायी र मनमोहक हुन्छ याद गर्नोस् त ! कम्मरदेखि तल मात्र होइन सामान्य हात हल्लाईले र यताउती हेरेर हिँड्दा शरीरका सबै भाग सतर्क बनेका हुन्छन् । सबै अङ्गलाई ऊर्जावानमात्र होइन प्रणालीलाई आआफ्नो क्रियाशिलता र सन्तुलनमा राख्न पनि लरलरी हिँडनु फाइदा पुग्ने व्यायाम हो । कोरोना महामारी भनिएको बेला अलि मत्थर भएपछि कुँजिएका मानिसका दैनिकी आन्तरिक शक्ति बढाउन हिँडाईको फेसननै बनेको थियो ।
कैयौँ वर्ष एकै थातथलोमा जीवन बिताएकालाई पाको उमेरको एकाकीपनले वाक्क लाग्न सक्छ, सधैं उही परिवेश । सामान्य बसाई ठाउँबाट चलखेल गर्न जो पनि चाहन्छन्, नयानयाँ कुरा देखिन्छ, नौरङ्गी मानिस भेटिन्छन् । झण्डै सधैं भातनै खाँदा पनि फरकफरक दालतरकारी अनि अचारको विविधताले भाञ्छा रमाइलो भएजस्तै हो, डुल्नु र घुम्नु पनि । मानिस प्रजाति घुमक्कड प्राणी भएको महापण्डित राहुल साँकृत्यायनले पनि आफैँ उदाहरणीय भई देखाएको धेरैलाई थाह छ नि ! घुमिघुमी उनले कति किताब लेखे, दर्शनका विविध रुप देखे र सोहीअनुसार चिन्तनप्रणालीमा कति फेरबदल आयो, होइन र ? मनोचिकित्सक डा. मौरेन ईल्सनको भनाईमा आरामदायी हिँडाईको तालिका हरेक पाका मान्छेले बनाउनु अति आवश्यक छ । यसले मान्छेलाई सकृय राखिरहन र क्षिण भएको शरीर पुनस्र्थापना गर्न अमृतको काम गर्छ । ‘हिँडेर शरीरलाई काम लाग्दैन’ भन्ने भनाईको कुनै राम्रो तर्क आजसम्म नपाएको डा. ईल्सनको रहेको छ । लम्पटासनमा रहिरहनु रोगव्याध ननिम्त्याउनु र सोखको विषय किमार्थ होइन, नियमित सकृयतामा क्षणिक आराम र मध्यान्तर बेग्लै कुरा हो ।
महत्वपूर्ण पाइलाः
मानिसले हिँड्ने हरेक पाइलाको महत्वपूणर् अर्थ छ । हरेक लामोछोटो, छिटो र मतापको हिँडाईले रक्तसञ्चारमा सुधार ल्याउने त छँदैछ, मुटुको स्वास्थ्यलाई पनि स्तरीय र प्रगतिउन्मुख गराउँदछ । हाडजोर्नीलाई स्वस्थ्य बनाउन र लचकपना बृद्धि गराउन मद्दत गर्दछ भने शारीरिक तौल नियन्त्रण गर्दछ । शरीरको आन्तरिक प्रतिरक्षा प्रणाली बलियो पार्न पनि हिँडाई सहायक भएको अनुसन्धानले देखाएको छ । पाको उमेरमा धेरैलाई हुने बिर्सने समस्यालाई न्युनीकरण गर्न हिँडाई सजिलो र काम लाग्ने व्यायाममा गनिन्छ । सन २०२२मा अमेरिकी आन्तरिक औषधोपचार पत्रिकाको एक लेखमा तीन वर्ष लगाएर ८० हजार पाका मान्छेका हिँडाईको फाइदाबारेमा परिणाम प्रकाशित छ । त्यसको भनाईमा हिँडाईले गर्दा मुटुरोग, अबुर्दरोगको खतरा र धेरै उमेर नपुग्दै असामयिक मृत्यु, दिनको दुई हजार पाइलामात्र हिँड्नेमा समेत दश प्रतिशतभन्दा माथिनै न्युन भएको छ । दश हजार पाइला प्रतिदिन हिँड्नेको त यस्तो फाइदा झन बढेको देखिन्छ । सामान्य मध्यम चालपछि पसिना आउनेगरी असी पाइलामात्र पनि स्वाँफ्वाँ गरेर हिँडेमा त्यस किसिमको फाइदा डबलिन सक्छ । त्यसो गर्दा माँसपेसी र जोर्नीमात्र बलिष्ट हुनेहोइन आन्तरिक ऊर्जानै बढेको परीक्षणबाट प्रमाणित भएको छ ।
डा. ईल्सनको सल्लाहमा हिँडाईलाई गतिदिन लौरोको सहयोग लिनु राम्रै हुन्छ, अझ दुबै हातपाखुरालाई काम दिन सकिन्छ भने लौराका टुप्पामा भएका रबडका ग्वाँखले शरीर सन्तुलन राख्न सघाएर अरु अङ्गहरूको व्यायाम पुग्दछ । एकनासको हिँडाई नगरी कहिले छिटो र कहिले सुस्त गर्दा मुटुको चाल, श्वासप्रश्वासमा बृद्धि भएर र माँसपेशीको व्यायाम भएर फाइदा पुग्दछ । हो, त्यस्तो प्रक्रिया लगातार नगरेर केहि क्षणको वा केहि मिनेट समयान्तरमा गर्नुपर्दछ । यसले छाती सम्बन्धी धेरै समस्यालाई सुधार्न अति मद्दत गरेको चिकित्सकको भनाई छ । सकिन्छ भने केहि सामान हालेर ढाडमा भिर्ने झोला भिरेर हिँड्नु शरीरलाई थप फाइदा दिनु हुन्छ । त्यस्तो झोलामा हलुका खानेकुरा, पानी र छाता राख्न सकिन्छ भने हिँडाईको बिचमा कतै बसेर पढ्ने बिचार भए केहि पुस्तक राख्न सकिन्छ । एकातिर हिँड्दा चाहिने बस्तुसँगै हुने अर्कोतिर रमाईलो ठाउँ पुगेर आराम गर्दा पढ्ने व्यवस्था हुने, दोहोरो फाइदा ! दैनिक हिँडाई बाहेक सकेमा तिर्थाटन वा आन्तरिक पर्यटनको नाममा अनुकुल मौसममा यसो आफ्नै देशभित्र ठाउँठाउँ जाने बिचार पनि हिँडाईको भागमा पार्दा स्वास्थ्यलाई विविध कोणबाट ठिक हुन्छ ।
अन्त्यमा,
पाको उमेर सकेसम्म चलखेल गरेर मानसिक र शारीरिक स्वास्थ्य राम्रो पार्ने बेला हो । उमेर गयो भनेर एकै ठाउँ थुप्रिएर रोग र शोक बटुल्ने बेला होइन । जे सकिन्छ गर्दै जाने हो, परिवारलाई मात्र होइन आफूलाई आफैँ बोझ र भार बनाउने होइन । पाका मान्छे त डाँडाका जुन जस्ता ज्ञान, सिप र अनुभवले उज्याला प्राणी हुन्, आफू चम्केर अरुलाई बाटो देखाउने ! तपाइँ हामी कम्ताका छौँ र ? सबैलाई हँसिलाे-खुसिलो पार्न जानी हाल्छौँ नि ! त्यसैले त ‘रोइरहनु भन्दा गीत गाइरहनु मज्जा’ भन्ने उखान चलेको हो, बुझौँ है, अभर पर्नुृ अघि नै !
०००
असार २५, २०८०
ल.पु. चालिसेडाँडा
Subscribe
Login
0 Comments
Oldest