देवीप्रसाद मिश्रबुढ्यौली काव्य (शृङ्खला- २४)
गाईका मलमुत्रका प्रवलले सप्रिन्छ बाली पनि । मिल्ने गर्दछ दुग्धमा अझ कडा यो प्राण सञ्जीवनी ॥ माटो पत्थर साथ वायु जलले माग्दै छ तिम्रो भर । भत्केको जग फेर्नु पर्छ अब ता फर्के र आओ घर ॥

देवीप्रसाद मिश्र :
आफ्नो जनशक्ति आह्वान
हुन्थे वस्तु सबै उपार्जन सदा नेपालका फाँटमा ।
के थाम्यौँ र कला पला परिधिका आफ्ना कुनै आँटमा ॥
ठानेको कृषिमा प्रधान पहिले नेपाल हो सुन्दर ।
यो दुर्भाग्य छ आज खाद्य तहमा आयातको निर्भर ॥११८॥
बाँझो खेत भयो कुलो न त रह्यो भत्क्यो पुरानो चर ।
बिग्रेको जग यो बसाल्न कसले गर्ला र खै जाँगर ॥
हे मेरा जनशक्ति बाहिर हुने कस्तो छ चाला पर ।
हाम्रो यो जग फेर्नु पर्छ अब ता फर्केर आओ घर ॥११९॥
तिम्रा ज्ञान विवेक शिल्प जति छन् नेपालका काखमा ।
गर्दै अर्पण कार्यमा सब जुटौँ पाखा गरा फाँटमा ॥
पानी थुन्छु म फाँट जोत बलिया लाठे हुँदै हाजिर ।
साँच्चै गर्न सके परिश्रम यहाँ खाद्यान्न के हुन्न र ॥१२०॥
लाऔँ उन्नत जातका फलहरू आफ्ना बगैँचाभर ।
दिन्छौँ साथ समस्त वृद्धजनले तिम्रो हुँदा जाँगर ॥
गुम्दै छन् पशुपाल्यका विधिहरू छन् चित्तमा वेदना ।
गाई पालनमा नयाँ प्रविधिको ल्याओ नयाँ योजना ॥१२१॥
गाईका मलमुत्रका प्रवलले सप्रिन्छ बाली पनि ।
मिल्ने गर्दछ दुग्धमा अझ कडा यो प्राण सञ्जीवनी ॥
माटो पत्थर साथ वायु जलले माग्दै छ तिम्रो भर ।
भत्केको जग फेर्नु पर्छ अब ता फर्के र आओ घर ॥१२२॥
(क्रमशः)
०००
२०८०/२/२८
ताप्लेजुङ, हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































