रामशरण न्याैपानेहैँसाबुढी
रित्याए किन गाउँ त्यो शहरमा लागेर सारा लुँडी? एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥

रामशरण न्यौपाने :
काला केश नि काँस झैँ सब फुले गाला परे चाहुरी
घुम्दैनन् अब ओठ चुम्न सहसा ती भृङ्ग औ माहुरी
पोते छैन चुरा फुटे मन टुटे चर्किन्छ छाती चुँडी
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥१
राधा कृष्ण बनेर धेर बसियो झारेर तारा जुन
छालामा गहना अनेक भिरियो हीरा र चाँदी सुन
सानन्दी दिन जो थिए समयले सारा उडायो चुँडी
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥२
छोरा छन् जफती परन्तु अहिले छन् राजधानीतिर
माया औ ममता चुलिन्छ मुटुमा बल्झिन्छ मात्रै पिर
जाऊँ आदत छैन छोड्न घर यो पन्छी समानै उडी
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥३
गैह्री खेत थियो नि बाह्र हलको बेचे उडाए तर
भन्छन् मानिसले बसे शहरमा जोडेर जेथा घर
रित्याए किन गाउँ त्यो शहरमा लागेर सारा लुँडी?
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥४
खान्छन् पाङ्दुर नै बनेर सहसा लाखौँ झमेला गरी
आफैँ ढाल बनेर दुष्ट जनको सामन्तको बेसरी
नेता बन्छु ठुलो भनेर मदले हिँड्छन् ठड्याई भुँडी
एक्लो जीवन शून्य लाग्छ सबले भन्छन् नि हैँसाबुढी ॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































