रामदेव पाण्डेमोलको मार
थुक्क मोरा तरकारीको जात तिम्रा लडाइँले जहिले पनि पुनपुरोमा हुने गरिबको हात ! तिम्रो र चुनावी उम्मेदवारको भाउ जति धेरै बढ्छ त्यति ठुलो हुँदै जान्छ हामी आम नागरिकको घाउ !

रामदेव पाण्डे :
दुई वर्ष अघिको कुरा हो
घिरौँलालाई च्याउले हेपेको-
ओए मूल्यहीन सस्ते घिरौँला
नामानुसार तेरा लुरे पिडौँला
जति लामो र मोटो भए पनि
बीस रुपैयाँ किलो त हो तेरो मोल
म त कति अनमोल
तँ भन्दा म नै ठिक छु
दुई सय रुपैयाँ किलो बिक्छु ।
समय त फेरिँदै जान्छ
दुई वर्षपछि घिरौँलाले
च्याउलाई घुक्र्याउँदै भन्छ-
दिन सबैको फेरिन्छ
दुई सयको घमन्ड थियो तँलाई
सक्छस् भने हेर् आज मलाई
मैले मेरो मोल बढाएँ
अब दुई सय बीसको भएँ
हा हा हा गर्दै हाँस्यो च्याउ
र भन्यो सुन्छस् मेरो भाउ ?
घिरौँलाले गर्यो खिसी
‘आफूलाई के ठानेको ? खसि ?
कतिको भइस् एक सय असी ?’
हा हा हा ! सक्छस् भने सुन भैया
मेरो मोल भो पाँच सय रुपैयाँ !
पख् अझै दुई वर्ष भन्छ घिरौँला
च्याउले गिज्यायो
एक्कासी द्यौसीभैलो गायो
छानामाथि घिरौँला
कति बढ्छस् हेरौँला !
सुन्दै थिइन् एक झोला बोकेर
भनिन् दिक्क मान्दै पुनपुरो ठोकेर-
थुक्क मोरा तरकारीको जात
तिम्रा लडाइँले जहिले पनि
पुनपुरोमा हुने गरिबको हात !
तिम्रो र चुनावी उम्मेदवारको भाउ
जति धेरै बढ्छ त्यति ठुलो हुँदै जान्छ
हामी आम नागरिकको घाउ !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































