डा. पशुपति नाथ तिमल्सेनाचिया त निलियो नि !
‘राजाको व्यवस्था (पञ्चायत) गै गया हुन्, कम्युनिष्टहरू भन्याका जातभात नमान्या हुन् । एक छन्न गन्र्या हुन्, उनको त भोट नाइ दिन्या हुन्, अब भोट त काङ्ग्रेस कै दिन्या हुन्’ भने ।

डा. पशुपति नाथ तिमल्सेना :
जातीय छुवाछुत समाजको कलङ्क नै हो र यसले मानिस मानिसलाई मिलेर बस्न दिँदैन । हाम्रो नेपाली समाजको विकास नहुनुको मुख्यकारण यही छुवाछुत प्रथा नै हो भन्ने मेरा ठहर छ । हामी नेपाली एउटा सानो भूगोलको रेखा बिन्दुमा घेरिएर झण्डै सयभन्दा बढी जातजातिहरू बस्छौँ तर हाम्रो बसाइ जति जातजाति छौँ त्यति नै प्रकारका सीमा रेखामा बाँधिएर बसेका छौँ जस्तो देखिन्छ । हाम्रो समाजको विभाजनका खास मुख्य रेखामा उच्च जात, निम्न जात, छूत अछूत नै हो तर यति विभेदमा मात्र हाम्रो नेपाली समाज बाँडिएको छैन । हाम्रा विभेदका रेखा कति छन् कति ? बाहुन, क्षेत्री, वैश्य शूद्रजस्ता मुख्य चार जा
त मनुबाजेले देखाए र तिनका आफ्ना सीमा अनि भातपानी बाराबार गर्नु पर्ने कर्तव्यको व्याख्या समेत उनले गरे । हिन्दू समाज यिनै प्राचीन पण्डित बाजेहरूको शास्त्रमा बाँधियो र यसै आधारमा राज्यव्यवस्था चल्यो, अझै पनि चल्दै छ । यो उच्च र निम्न जातिको व्यवस्था विश्वभरिमै छ तापनि हिन्दू समाजमा ज्यादा चर्को नै छ । पहिला पहिला जर्मनीहरूले आफूलाई हाइक्लास जर्मनी भनेर धाक लगाउँथे र आफूलाई सर्वश्रेष्ठ मानव भनी रवाफ देखाउँथे । जर्मनहरूको राज्यसत्ता कमजोर भएपछि अङ्ग्रेजहरू चम्किन थाले र आफूहरूलाई हाइक्लास याङ्लोस्याक्सन जातिका रूपमा देखाउन थाले । राजनीतिमा अङ्ग्रेजहरूले वेलायतमा मात्र होइन युरोपमै आफूलाई उँचो देखाउन थाले, हाइक्लास जाति भेनर । उनीहरूको मान्यता थियो अङ्ग्रेज नै हाइक्लास जात हो र उनीहरूले बोल्ने इङ्ग्लिस भाषा नै सर्वश्रेष्ठ भाषा ।
यही मान्यतामा इङ्ग्ल्यान्डमा बस्नेहरूले युरोपमा मात्र आधिपत्प जमाउने कार्य गरेनन्, विश्व मै औपनिवेशिक शासन कायम गरे र आफूलाई प्रभूले धर्तीमा शासन गर्न पठाएको भन्ठाने । उनीहरूले आप्mनो औपनिवेशिकतालाई यति व्यापक बनाए कि आफ्नो देशलाई सूर्य नअस्ताउने देश नै भनेर चिनाउन थाले । त्यति मात्र कहाँ हो र आफ्नो औपनिवेशमा बाँधिएका देशका मानिसहरूलाई दास र आफूलाई मालिकको रूपमा देखाए । छिमेकी मुलुक भारतमा व्यापार गर्न आएका अङ्ग्रेजहरूले भारतलाई इन्डिया बनाई छाडे र त्यसै भूमिमा नै त्यहींका जनता माथि ४ सय वर्ष जति त हैकम नै जमाए, त्यहाँका जनतालाई दास र आफूलाई मालिकको रूपमा देखाउँदै लूट मच्याए । तै तै हामी नेपालीहरू प्रत्यक्ष्य रूपमा त्यो उपनिवेशमा परेनांै, त्यस अर्थमा हाम्रो देश चोखो नै भयो भनेर मान्नु पर्ला ?
अँ त म कुरा गर्दै थिएँ हाम्रो नेपालमा जातीय व्यवस्थाका कारण उत्पन्न समस्याका बारेमा, तर बहकिएर विश्व व्यवस्थामा देखिएको जातीय अहंको कुरालाई कोट्याउन पुगेछु । विश्वका कुरा छाडिदिउँ, सबै ठाउँमा आफ्नै पाराका विभेदहरू छन् । जस्तो काला र गोरा बिच विभेद, लोग्ने मान्छे र आइमाईमा विभेद, धनी र गरिवमा विभेद त्यतिमात्र होइन काला कालाकै बिच विभेद, गोरा गोराकै बिच विभेद, महिला महिलाकै बिच विभेद ।
यी विभेदका कुराहरू देश देश बिच, समाज समाज बिच, व्यक्ति व्यक्ति र समुदाय समुदाय बिच व्यापक रूपमा रहेका छन्, प्रत्येक ठाउँमा अहंको टकराव छँदैछ । नेपालमा यो जातीयताको विभेद आफ्नै प्रकारको भनौँ मौलिक प्रकारको छ । हिन्दू समाज मै छुत र अछुतका बिच भेद, छुत छुतका बिच भेद, अछुत अछुतका बिच भेद बाहुन र बाहुनका बिच भेद, हिन्दू र अहिन्दूका बिच भेद, नाक नाकमा भेद कसको नाक चुच्चो, कसको नाक थेप्चो वाफ रे वाफ ! कुरो गरी साध्य छैन ।
हिन्दू समाजमा जातीयताको यो पाटो छुद्र चिन्तन या सङ्कीणर् चिन्तनको रूपमा उठेको हो भन्ने मलाई लाग्छ । मलाई मात्र किन नि अरूलाई पनि लाग्छ, तपाईंलाई लाग्छ भन्ने मेरो बुझाइ छ । यसो भनिन भने मैले आपूmबाहेक अरूप्रति अन्याय गरेको ठहर्छ । नेपालमा यो सङ्कीणर् चिन्तनको सनातनी उपहारले अहिलेसम्म सबैलाई सताइ रहेको छ । अहिलेका ऐन कानुनमा त जातीय उचनिचता या छुवाछुत दण्डनीय मानिन्छ । केवल मानिएको मात्र हो तर व्यवहारमा भने जातीय भावना व्यापक रूपमै छ, भात भान्छा, छोइछिटो गर्ने कसैलाई पनि दण्डित गरिएको छैन । हाम्रा व्यवहारहरू पनि छुद्रै छन् । विश्वमा अनेकौँ धर्म छन् तिनमा हिन्दू बाहेकका अरू धर्ममा मान्छे मान्छेमा छोइछिटो गरिनु पर्ने व्यवस्था छैन जस्तो लाग्छ । हामी हिन्दू भन्नेहरूको समाजमा यो मनुस्मृतिवादी चिन्तनले जरै गाडेको छ । रुखभन्दा जरा लामा, मोटा र फैलिएका जति काट्न ताछ्न खोजे पनि नहुने !
मलाई यस्तै ३० वर्षजति अगाडिको एउटा घटना सन्दर्भको याद आयो । त्यसवेला (२०४७ माघ, फागुनतिर) नेपालमा संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्था आई आमचुनाव गर्ने बारेमा निकै चर्चा परिचर्चा चलिरहेको अवस्था थियो । विश्वविद्यालयको काम र यसैको आडमा सिद्राको व्यापारको रूपमा आफ्नो प्राध्यापन पेशासँग जोडिएको वैचारिक सङ्गठनको कामसमेत गर्ने सिलसिलामा मलाई डोटीतिर जानु परेको थियो । नेपालगन्जबाट पुतली जहाज (टुइनेटर) मा त्यता लागें ।
दिपायल एअरपोर्टमा ओर्लेपछि चियाको तलतल मेटाउन चिया पसलतिर लागें, चियापसल अगाडि राखेको बेन्चमा एक सिट खाली थियो त्यहीं बसें । अरू २, ३ जना पहिलादेखि नै चिया पिइरहेका थिए । मैले पनि चिया मागें र पिउन थालें । यसै बिच एकजना बाहुन क्षेत्रीजस्ता लाग्ने बुज्रुक आएर मलाई भने ‘आफू देख्नमा त बाहुनजस्ता देखिया हौ तर ई डुम चमारा लहराँ बस्यार चिया खादा छौ’ भने अनिसँगै बसेर चिया पिउँदै गरेकाहरूलाई पनि जातको ख्याल गर्दैनौ है तिमीहरू ? भनेर हप्काए । मैले उनलाई आदरार्थी व्याकरणको प्रयोग गर्दै भने आधा गिलास चिया त जात थाहा नै नपाएर निलियो बाँकी चिया हेरौँ भन्दै मैले चिया पिउन थालें । चिया पिएर सकिएपछि मैले ती बुज्रुकलाई ‘दाइ यी चिया त निलियो नि, घाँटीले जात थाहा पाएर चिया निल्ने ननिल्ने गर्ने त होइन रहेछ’ भनें । मेरो यो भनाइले उनको जातीय अहंमा ठेस पुर्याएछ कि क्या हो कुन्नि ? ‘सामाजिक मर्यादा जसरी आएको छ त्यसरी नै चल्नु पर्दछ, त्यो विगार्नु हुँदैन भन्ने आफ्नो आशय हो’ भन्दै ती बुज्रुक फन्किएर हिंडे ।
नेपालमा यो जातभात छुवाछुतले कति पिरोलेको छ कति भनी साध्य नै छैन । म सोच्छु यो जात र छुवाछुत प्रथाको मूल मियोमा नै नेपालको सामाजिक राजनैतिक व्यवस्था चल्दै आएको हो, अहिले पनि त्यसरी नै चलेको छ र यो अझै लामो समयसम्म चल्नेवाला छ । नोठ बटुल्न र भोट बटुल्न अझै पनि यही जातीय अहँकारको मियोको वरिपरि घुम्नु पर्ने छ, मान्छे त्यसै भन्छन्, तथ्याङ्कले त्यस्तै देखाउँछ, पहाडका होस् या मधेसमा ।
अँ त मैले माथि उल्लेख गरेको चिया पसलको सन्दर्भमा अलिकति भन्नु पर्ने कुरा छुटाएछु । ती बुजुक गइसकेपछि र आफूले चिया पिइसकेपछि चिया पिउँदा सँगै बसेकाहरूलाई यसो जिज्ञासा राखें राजनैतिक पार्टीको कार्यकर्ता झैँ या एन्.जी.ओ. वा आइ.एन्.जी.ओ.को सामाजिक कार्यकर्ता झैँ भएर । मैले उनीहरूलाई सोधें ‘अब त देशमा राजनैतिक परिवर्तन भयो, चुनाव पनि आउन लाग्यो, भोट कसलाई दिने हो त दाइ ?’ भनेर । मेरो यो जिज्ञासाको प्रतिउत्तरमा उनीहरूले ‘राजाको व्यवस्था (पञ्चायत) गै गया हुन्, कम्युनिष्टहरू भन्याका जातभात नमान्या हुन् । एक छन्न गन्र्या हुन्, उनको त भोट नाइ दिन्या हुन्, अब भोट त काङ्ग्रेस कै दिन्या हुन्’ भने । जातभात भेद मेटिएको त राम्रै हो नि बाहुन र अबाहुन एकै भन्छा या एउटै लाइनमा बसेर खान पाइने भो नि ? भनेर मैले फेरि जिज्ञासा तेर्स्याएँ । मेरो तर्क उनीहरूलाई चित्त बुझ्दो भएन क्यारे, उनीहरूले बाहुनको लहरमा बसेर खाने या छोइछिटो नगर्ने कुरा त ठिकै माने तर आफ्नो भात भान्छामा आफूभन्दा तल्लो जातको अछुत आउने कुरामा असहमति जनाए ।
हाम्रो देश र समाज विकास नहुनुको मुख्य समस्या यही नेर छ । दलित दलितमै उपल्लो र तल्लो भन्ने श्रेणी छ, भात भान्छा, पानी पँधेरोमा छोइछिटोको बाराबार छ । आफूलाई उच्चजात मान्ने अहकारी ब्राह्मण जातदेखि चलन चल्तीमा भनिने गरिएको अछुत जातीय समुदायमा पनि अनन्त भेद र श्रेणीहरू छन्, रहेछन् । यो आफैमा कहिले उन्मुलन हुने हो ? म अहिले पनि यस्ता अनेकौँ घटना सन्दर्भहरू सम्झन्छु । मैले यसबारे कयौँ लेखहरू लेखेको छु,, कति समारोहहरूमा भनेको छु यो जातीय कलङ्क हटाऊँ भनेर । मेरो मान्यता छ वर्गीय चेतना नजाग्दासम्म जातभात र छोइछिटोको कुसंस्कृति र कुुप्रथाले सधैं हामीलाई न्याकेको न्याकै गर्छ, कहिल्यै उठ्न दिंदैन । त्यसैले हामी नेपालीहरूले जातीय श्रेणीहरूको उन्मूलन गरौं । सबैमा मेरो आग्रह छ पहिला हामीले आफ्नै अन्तर्जातीय भेदका श्रेणी भत्काऔँ अनि सँगसँगै सबै खाले जातीय श्रेणीहरू भत्काऔँ ।
यो श्रेणीगत सामाजिक विभेद भत्काउन त भत्काउनै पर्दछ तर कहाँबाट भत्काउने म यसैमा अल्मलिएको छु, मलाई पाठकहरूको सुझावको खाँचो परेको छ !
०००
लमजुङ्ग दुराडाँडा, हाल :- नागार्जुन नगरपालिका ६, काठमाडौं
वैशाख १२, २०७८
Subscribe
Login
0 Comments
Oldest









































