साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घन्किन्छ घण्टाघर

होला उन्नति सोचमा सकलको भन्दै बितायो क्षण, के पाषाण टुसाउँथ्यो बगरमा के फुल्दथ्यो चिन्तन, कुर्दै आड भरोस जीवन बित्यो पीडा भए सागर, घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।

Nepal Telecom ad

कोमल साद भट्ट :

घेरेका घुसपैठका घटकले घच्ची घमासानले
घोच्ने घोच र पेचले घननले घुस्सा तथा घानले
जागा बस्छ जगाउँदै जनहरू जैलेसुकै जाँगर
घातैघात घना खपेर विचरा घन्किन्छ घण्टाघर ।१

देख्यो वेदन वृद्धको विकलको बेकामको कामको
नारीको नरको निरीह नतको बेनामको नामको
नेकी न्याय निशाफ निर्बल हुँदा रोयो कठै धर्धर
घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।२

झुट्टा जाल र झेलका झिलिमिली झेल्यो सयौँ झञ्झट
छद्मी छट्टु छटेलले छल गरे अग्ला भए सङ्कट
पोलेको छ विषादले विरहले बाधा दिँदै जब्बर
घातैघात घना खपेर विचरा घन्किन्छ घण्टाघर ।३

स्वार्थी मात्र पुगे उँचा शिखरमा सद्भावना टाढिए
न्यानो नैतिकता भुले सकलले निष्ठा खरानी भए
श्रद्धा स्नेह समाप्तिले शहरमा नामेटछन् निख्खर
घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।४

सत्कर्मी सकिए सुधारक सुके सन्मार्ग टेढा भए
मौलाए व्यभिचार बाधकहरू बाधा दिँदै तेर्सिए
खाँबो छैन कतै निदाल न कतै मक्किसकेका भर
घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।५

नाचे प्राङ्गणमा निकृष्ट ननिका धम्क्याउँदै सज्जन
कुल्चे इज्जत वा इमान सहजै पैदा भए दुर्जन
झुट्टा झेल बढे विसङ्गति बढे अस्तित्व भो जर्जर
घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।६

वर्षौंवर्ष बिते विधा बदलिए बेहाल उस्तै रहे
गाँजे लालचले सुभाव सकिए सत्कर्म हेलाँ भए
कैयौँ शासक फेरिए मुलुकमा झन्झन् घट्यो आदर
घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।७

कैले बादलले डसे दिनदिनै कैले डसे घामले
कैले शीत परेर विह्वल निकै बिर्सेर आरामले
दौडादौड हतारमा सबजना सुन्ने यहाँ को छ र
घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।८

आफ्नो शान भुलेर कायरहरू पुज्ने विदेशी सदा
बेची बुद्धि विवेक न्यून दरमा झुक्ने सदासर्वदा
गर्छन् लुब्ध लवस्तराजति मिली सिध्याउने तर्खर
घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।९

होला उन्नति सोचमा सकलको भन्दै बितायो क्षण
के पाषाण टुसाउँथ्यो बगरमा के फुल्दथ्यो चिन्तन
कुर्दै आड भरोस जीवन बित्यो पीडा भए सागर
घातैघात घना खपेर बिचरा घन्किन्छ घण्टाघर ।१०

०००
चन्द्रागिरि नपा -१३, काठमाडौँ 
हालः – न्युयोर्क अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x