साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाइन्न नेपालमा

झार्छिन् आँशु बलिन्द्र जन्मजननी सन्तानका कर्मले । गैह्रा घाउ जताततै भतभती पोल्ने कडा मर्मले । मर्यादा मृदु भाव मानमनितो राखिन्न नेपालमा । निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।।

Nepal Telecom ad

कोमल प्रसाद भट्ट :

साँच्चै सुन्दर शान्त देश सबको आँखा थियो हर्दम
गर्थ्यो आदर विश्वले हरघडी ठानेर सर्वोत्तम
आफ्नो मान इमान आज किन हो चाहिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~१

भ्रष्टाचार तथा कुकर्म चुलिए भण्डार सुक्दै गयो
फ्याँके इज्जत नालमा कपुतले दुर्गन्ध हाबी भयो
चर्का घूस र लेनदेन घटिया रोकिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~२

जस्को शक्ति अपार भक्ति निजकै पूजा तथा प्रार्थना
बन्दा सेवक पाइने निकटता पूरा हुने चाहना
उम्दा हो कि अयोग्य हो सबकुरा जाँचिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~३

हिंसाका व्यभिचारका बिगबिगी सोचाइ खोटो अति
हर्ने प्राण समेत निर्दयहरू दुर्वृत्तिका दुर्मति
लोहाको मुटु हुन्छ दुष्ट जनको पग्लिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~४

चौतारी उपभोग गर्छ लुटुवा शूली चढे सज्जन
बिक्री हुन्छ नियाँनिशाफ सहजै अन्यायमा निर्धन
राम्राको गुणगान शुद्ध मनले गाइन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~५

संज्ञानी सरिता गुणी गहकिला खोजिन्न कैले पनि
काला कल्मष वा कुपात्र कपटी रोजिन्छ जैले पनि
नौनी निर्मल नम्र नायकहरू छानिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~६

जुट्छन् लुब्ध लबस्तरा जति यहाँ खानापिना खातमा
झूटा झेल र जालमा झडपमा जङ्गी खुराफातमा
सच्चा सोच सुभावका तरुहरू रोपिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~७

पर्दाभित्र अवैध काम बहुतै गर्ने दुराचारका
सौदा लाख करोडमा तय हुने सङ्कीर्ण व्यापारका
कोशेली उपहार भेट भरिला छोडिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~८

छैनन् उच्च विचारका अनुभवी खाँचो छ उत्कृष्टता
मारामार मुटावले मनपरी कच्चा छ आत्मीयता
सारा पद्धति जीर्ण जर्जर हुँदा टालिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~९

झार्छिन् आँशु बलिन्द्र जन्मजननी सन्तानका कर्मले
गैह्रा घाउ जताततै भतभती पोल्ने कडा मर्मले
मर्यादा मृदु भाव मानमनितो राखिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा~१०

०००
चन्द्रागिरि नपा- १३, काठमाडौँ ।
हालः- न्युयोर्क अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x