रमेश प्रभातचितवन, नव पठन र लेखकीय आतङ्क
अहिले ‘प्रश्न’ चितवनका पाठकका लागि डरलाग्दो लेखकीय आतङ्क हो । त्यो कतिबेला ‘भोल्कानो’ बनेर पड्किन्छ भने कतिबेला ‘लखरलखर’ तपाईं हिँड्ने बाटो ढुकेर बसिरहेको हुनसक्छ ।

रमेश प्रभात :
आउटसाइडरको चितवन डिस्कोर्स
चितवनका बारेमा तपाईंको धारणा के हो ? म चितवनबासीका नाताले बुझेको कुरा चाहिँ चितवन मेरो हजुरबाको पालामा खुलेको नयाँ बस्ती हो । यहाँ बसोबास गर्ने म तेस्रो पुस्ताको मनुवा हुँ । मपछि पनि मेरो छोरा र नाति पुस्ता यहाँ जन्मिसकेका छन् र उनीहरूले चितवन भोगिरहेका छन् । यसरी हेर्दा आजका दिनसम्म यहाँ सघन रूपमा बस्ती बस्न थालेको पाँच पुस्ताभन्दा बढी भएको छैन, तैपनि किन हो यो चितवन बेलाबेलामा चाहिनेभन्दा बढी चर्चामा आइरहन्छ । कहिले राज्यसत्ताले पचहत्तर जिल्लाभित्रको छैयत्तरौँ जिल्ला भनेर चर्चामा ल्यादिन्छ त कहिले चुनावी ‘फन्डा’का कारण चर्चामा आइदिन्छ । यी त केही ‘स्याम्पल’ मात्र हुन् चर्चाका । तीबाहेक कति छन् कति चर्चाका कुरा ! अब त हामी चितवनबासीलाई यस्तो लाग्न थालेको छ कि चर्चा बिना हामी बाँच्नै सक्दैनौँ । त्यो चर्चा सकारात्मक होस् कि नकारात्मक हामीलाई ‘बाल’ छैन ।
प्रखर हास्यव्यङ्ग्यशिल्पी भैरव अर्यालले ‘टाउको’ निबन्धमा लेखेका छन्, “म पढेको मान्छे नपढेको कुरा जान्दिनँ ।” तपाईंका अगाडि मचाहिँ त्यसो भन्दिनँ । बरू यसो भन्छु, ‘म साहित्यमा टुकुटुकु हिँड्न थालेको मान्छे साहित्यइतरको कुरा केही जान्दिनँ ।’ साहित्यमा पनि म अलिक बढी कविता मन पराउने मान्छे भएकाले यतिबेला सदाबहार कवि भूपी शेरचनलाई झलझली सम्झिरहेछु । उनी ‘हामी’ कवितामा हामीलाई सम्बोधन गरेर यस्तो लेख्छन् :
“हामी वीर छौँ र त बुद्धु छौँ
हामी बुद्धु छौँ र त वीर छौँ
……..
हामी क्यारम वोर्डका गोटी हौँ
फगत् स्ट्राइरद्वारा सञ्चालित ।”
हो, हामी चितवनबासी साहित्यकारको हालत भूपीको क्यारमको गोटीजस्तै छ । अन्यत्रबाट यहाँ साहित्यकार आउँछन्, ‘चितवन साहित्यमा ऊर्वर छ’ भनिदिन्छन् हामी पत्याइदिन्छौँ । उनीहरू हामीलाई ‘कार्यक्रम गर्’ भन्छन् हामी मानिदिन्छौँ । उनीहरू आउटिङमा आउँछन्, कतिपयले कार्यक्रमजस्तो पनि गर्छन्, हामीलाई ‘आइज थपडी बजा’ भन्छन्, गइदिन्छौँ, बसिदिन्छौँ, सुनिदिन्छौँ र भनेका बेलामा थपडी बजाइदिन्छौँ । त्यति गरेबापत कतिले खाजा पनि खुवाउँछन्, खाइदिन्छौँ नभए त्यसै फर्किदिन्छौँ । यसरी नै चलेको छ हाम्रो दैनिकी । चितवन बाहिरकाले चितवनको साहित्यलाई हेर्ने ऐना यस्तै छ, हो ठ्याक्कै यस्तै छ ।
चितवनको नव पठन
नेपालीले जनसङ्ख्या बढाउनभन्दा थप के जानेको छ र ? त्यसैको परिणति होला, उहिलेदेखि अहिलेसम्म चितवनको जनसङ्ख्या क्रमिक रूपमा बढ्दो छ । अझ त्यसमा २०७२ सालको महाविनाशकारी भूकम्पपछि त झन् यहाँ अत्यधिक बसाइँसराइँका कारण पाइला टेक्ने ठाउँ पनि पाउन मुस्किल बनिरहेको छ ।
यसरी जनसङ्ख्या बढेपछि साहित्यका पाठक पनि त बढ्नु पर्ने हो नि ? हैन र ? त्यो त्यसरी ग्राफमा देखाउन मिल्ने गरी बढेको छैन । प्रकाशकको कुरा म जान्दिनँ । लेखकले आफैँ प्रकाशक बनेर छपाउँदा तीस-चालीसको दशकमा पनि ५०० प्रति किताब छपाउँथे भने त्यो क्रम यो असीको दशकमा पनि निरन्तर छ । यसलाई हेरेर नव पठनको विकास भएको कसरी मान्ने त ?
गत वर्ष ‘इजोरिया’ बजारमा आउँदा पाठक साँच्चै बढेको हो कि, जस्तो भान भएको थियो । केही पाठक उक्त किताब खोज्न बजार-बजार धाएर पसल-पसल चाहारेको दृश्य देखिएको थियो तर ती पाठक त्योभन्दा माथि जानै सकेनन् । कि हामी लेखकले राम्रो लेख्न सकेनौँ ? यसका बारेमा गम्भीर बहस कसले गरिदिने ?
चितवनको जल्दोबल्दो साहित्यिक आतङ्क
एउटा नारा जो छ, ‘जे गर्छ, चितवनले गर्छ’ । सिङ्गो राज्यले नसकेको काम चितवनले गर्छ, जस्तो कि “नेपाल भ्रभण वर्ष, २०२०” सफल भएन तर चितवनको सातवटा पालिकामध्येको एउटा पालिका भरतपुरले “घुमौँ भरतपुर, २०२४” धुमधामका साथ अगाडि बढाएको छ । के कम छैन र यो चितवनको पहिचानका लागि ? म यहाँ चितवन पुराण सुनाउन आएको होइन । म चितवनका केही अडबाङ्गे कुरा गर्न आएको हुँ ।
यतिबेला चितवनको साहित्यिक वृतमा तीनथरी आतङ्क बढी चर्चामा छन् । ती हुन् :
१. फेसबुक आतङ्क
अरु पनि होलान् तर चितवनमा फेसबुकका प्रमुख आतङ्क याने कि बादशाह हुन्, उही बहुनामी अर्थात् धनराज गिरी उर्फ प्रोफेसर जगमोहन आजाद । त्यसो त उनले नलेखेको विधा केही छैन । नलेखेको पल कुनै छैन । दिनमा कति लेख्ने ? उनलाई पनि थाहा छैन । त्यसरी निरन्तर लेख्नु राम्रो कुरा हो । अरुले त्यसो गर्न सकेका छैनन् । उनका रचना छपाउन पत्रिकाले नभ्याएपछि त्यसलाई फेसबुकमा पोस्ट गर्नुसम्म पनि नराम्रो होइन । फेसबुकले दिएको सीमासम्म पुगेर एक सय जनालाई ट्याग गर्नु कहाँको न्याय हो ? त्यति मात्र होइन, सामूहिक (ग्रुप) र व्यक्तिगत मेसेन्जरमा पटक पटक राखेर टयाङ् ट्याङ् आवाज दिइरहनु कत्तिको न्यायसङ्गत कुरा हो ?
पाठकवृन्द तपाईंसँग यसको समाधान के छ ? मैलेचाहिँ फेसबुकमा एप्रुभ भन्ने अप्सन छानेको छु । मलाई मन परेको कुरा एप्रुभ गर्छु नत्र ‘बाल’ भएन । मेसेन्जरमा चाहिँ साउन्ड अफ गरिदिएको छु । त्यसले तनाव कम गराएको छ । तपाईंले पनि त्यो विधि नअपनाएको भए अपनाइहाल्नोस्, यो फोकटको सल्लाह हो नमान्दा पनि हुन्छ ।
२. समीक्षक आतङ्क
यतिबेला चितवनमा समीक्षकको आतङ्क पनि कम्ताको छैन । कृति विमोचन गर, समीक्षक चाहियो । कृतिको परिचर्चा गर, समीक्षक चाहियो । त्यति मात्र नभएर एकल रचना वाचनमा समेत समीक्षक उभ्याउने चलन बढ्दो छ यहाँ । तीमध्ये केही समीक्षक यस्ता छन्, जो कृति नै नपढी आधा घन्टा भाषण ठोकिदिन्छन् त कोही बल्ल दश पेज पढेको छु भनेर झन्डै एक घन्टा बोलिदिन्छन् । अधिकांश त्यस्ता समीक्षकले लेखकको गुणगान नै गाइदिन्छन् । लेखक पनि खुस, समीक्षक पनि खुस, श्रोता-दर्शकचाहिँ भुस ! यिनले स्रोतागणमा अनौठो आतङ्क सिर्जना गरेका छन् । तिनको समाधान पनि स्रोतासँग छ, जब तिनीहरू मञ्चमा बोल्न उभिन्छन्, तब फोन आएको निहुँ पारेर बाहिरतिर टहल्न निस्किदिने गज्जबको आइडिया उनीहरूसँग ।
अझ डरलाग्दो समीक्षक आतङ्कको नेतृत्व ‘रमेश प्रभात’ भन्ने समीक्षकले गरेको छ । उसको त कुनै उपचार नै छैन । ऊ पाठकलाई दिक्क बनाउँदैन, बोल्नकै लागि भनेर उसले खासै लामो समय पनि लिँदैन । उसको ध्याउन्न मात्र लेखकलाई सुधार्ने हो, लेखकका कमीकमजोरीमाथि खुलेर प्रहार गर्ने हो । यसरी प्रहार गर्दा मञ्चमा विराजमान लेखकको अनुहार हेर्न लायक हुन्छ । उसले बोल्दा लेखकले फोन आएको बाहना गरेर बाहिर निस्कन पनि मिल्दैन, विचरा लेखक केही गर्न सक्तैन । ऊ यति विवश हुन्छ, त्यस्तो खालको आतङ्क झेल्ने कुरा ऊबाहेक अरु कसले बुझोस् ?
३. लेखक हो कि पाठक आतङ्क ?
सामान्य धारणा छ, हरेक व्यक्ति पहिला पाठक हुन्छ अनि पछि लेखक । तर चितवनमा केही लेखक मात्र लेखक छन् । पाठक हुन सकेका छैनन् र चाहँदैनन् पनि । उनीहरू अरुको पढ्दैनन्, मात्र लेख्छन् । के लेख्छन् त्यो उनीहरू नै जानून् । यो समस्या चितवनको मात्र होइन, समग्र नेपाली साहित्यको हो भन्ने लाग्दैन तपाईंलाई ? यसले आतङ्क भने पैदा गर्छ कि गर्दैन ?
यतिबेला पाठकका सामु केही लेखक पनि आतङ्क बनेर देखापरेका छन् । त्यसमा केही लेखक छन्, सबैको नाम नलिऊँ । त्यसो त आफ्नो किताब पाठकको हातमा पुगोस् भन्ने चाहना जोकोही लेखकमा पनि हुनु अत्युक्ति होइन । पाठकले नपढिदिए लेखकको के महत्व हुन्छ ? त्यसो भन्दैमा जबर्जस्ती गर्न त भएन नि ? हैन र ? सजिलोका लागि यसलाई अर्को शीर्षक दिएर लेखूँ कि ?
चितवनमा लेखकीय आतङ्क
यतिबेला चितवनमा नव लेखकहरू छ्याप्छ्याप्ती देखिन थालेका छन् । यसले गर्दा चितवनमा विधागत विविधता देखिन थालेका छन् । यहाँ अचेल लेखक त लेखक नै भइहाले, पत्रकार, किताब व्यापारी, फलफुल व्यापारी, होटलवाला साहुजी, पूर्व खेलाडी, खेल गुरु, धर्म गुरु, पद नपाएका नेता, कलाबाट विमुख अभिनेता, एन्जिओवाला, पूर्व कर्मचारी, पूर्व शिक्षक आदि समय कटाउन लेखक बनेका छन् । त्यति मात्र होइन यीबाहेक पनि अरु थुप्रै खालका लेखकहरू च्याउ उम्रेसरी उम्रेका छन् ।
चितवनमा वर्षैपिच्छे नव लेखक जन्मिँदा ‘घोस्ट राइटिङ’ गर्नेहरू महानुभावहरूले राम्रै काम पाएका पनि होलान् । सवाल यत्ति हो कि ती लेखकहरू कति समय लेखकै बनेर रहने हुन् ? त्यसरी लेखिएका सामग्री कति साहित्यिक मूल्यका छन् ? उनीहरूलाई कसले भनिदिने ? अझ तिनै लेखकले ‘पुस सेलिङ’ गरेर किताब बेचिरहेको दृश्य देख्नुभयो भने अचम्म नमान्नुहोला है ।
अर्को कुरा, अहिले ‘प्रश्न’ चितवनका पाठकका लागि डरलाग्दो लेखकीय आतङ्क हो । त्यो कतिबेला ‘भोल्कानो’ बनेर पड्किन्छ भने कतिबेला ‘लखरलखर’ तपाईं हिँड्ने बाटो ढुकेर बसिरहेको हुनसक्छ । ऊबाट पहिलो भेटमै तपाईंले ‘यति पनि नपढ्ने के पाठक ?’ भनेर उल्टै थर्काइ खाने प्रबल सम्भावना रहन्छ । त्यसको लागि तयारी गरेर आउनुहोला । नेपालमा वर्षमा कति किताब निस्कन्छन् ? ती सबै किताब पढेर सकिन्छ ? सबै पढ्नै पर्छ भन्ने छ ? के पढ्ने ? कति पढ्ने ? कहिले पढ्ने ? हाम्रो च्वाइस भन्ने कुरा पनि हुन्छ नि । हो यस्तै वा यो भन्दा तगडा जवाफ लिएर हिँड्नुहोला ।
र अन्त्यमा …
एक ताका निकै सुनेको हुँ, “मबिना कसैकसैलाई मुश्किल छ पोखरामा …. ।” चितवनमा चाहिँ यस्तो स्थिति छैन । सबैलाई आफ्नै समस्या अनि पिरलो छ । जसलाई हेर्छु, टिमुर चपाएको जस्तो अनुहार देख्छु । किन चाउरिस् मरिच आफ्नै पिरले ।
गाह्रो छ, साँच्चै गाह्रो छ । चितवनमा लेखक हुँ भनेर हिँड्न निकै गाह्रो छ । अझ पाठक हुँ भनेर हिँड्न त झन् कति साह्रो छ ? यो त आजका मितिसम्म लेखक नबनीसक्नुभएका तपाईंजस्ता पाठकलाईं भलिभाँती थाहै होला । चितवनबाहिरबाट कोही चितवन आउँदै हुनुहुन्छ भने यो लेख एक पटक अवश्य पढेर आउनुहोला है त । नत्र त “भरतपुर भ्रमण वर्ष, २०२४” कसरी सफल होला ? चरैवेति, चरैवेति !
०००
भरतपुर, चितवन









































रमेश प्रभात चितवन साहित्यको परीधिमा एक परिचित नाम हो | त्रिभुवन विश्वविद्यालय बीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक – एक सम्मनित व्यक्तित्व हुन् रमेश | उनको भाषामा राम्रो पकड छ | चर्चा परिचर्चा, समिक्षा आदिको पनि उनको आफ्नै शैली छ | कसैलाई उनको शैली मन न पर्ला तर धेरैलाई मन पनि पर्छ |
रमेश प्रभात साहित्यलाई प्रेम गर्छन | र, यस लेखमा उनले आफुलाई मन नपरेको परिदृश्य केही डाइरेक्टली केही इनडाइरेक्टली आफ्नो मनको कुरा लेखेका छन् |
यस लेखमा कवि समिक्षक रमेशले चितवनमा विभिन्न खाले शब्द आतंकको कुरा गरेका छन् | म अहिले अस्ट्रेलिया छु | हिजो मेलबर्नको एउटा कार्यक्रममा पत्रकारले भने ‘सर अस्ट्रेलियामा चितवन आतंक छ | अस्ट्रेलियामा सबै भन्दा बढी नेपाली चितवनका छन् | सबै भन्दा बढी किताब पढ्ने पनि चितवनकै छन् | अनि साथै एउटा जोक पनि थपे – सबैभन्दा बढी एलबी सरसंग पढेका छन् |