रमेश प्रभातचितवनमा साहित्यिक आतङ्क
साहित्यमा लागेर आतङ्कको महसुस गर्नुपर्ने हो भने साहित्यका पछडि किन लाग्ने ? सामान्यतः यसले न त सत्तामा पुर्याउँछ, न अर्थोपार्जन हुन्छ, न त उधुम ठूलो मान्छे बनाउँछ ।

रमेश प्रभात :
यतिबेला चितवनमा बसेर थुप्रै स्रष्टाहरुले कलम चलाइरहेका छन्, कतिपयले राष्ट्रिय ख्याति पनि कमाइसकेका छन् । उनीहरुको प्रस्तुतिका कारण कतिपय अन्य लेखक तथा पाठकले किन आतङ्कको महसुस गरिरहेका छन् ? त्यस्तै खाले आतङ्कलाई यो आलेखमा उतार्ने प्रयास गरिएको छ । यो व्यङ्ग्य लेख हो । यसलाई यही रुपमा बुझिदिनुहुन पनि पाठकहरुमा आग्रह गरिन्छ । – प्रभात
उठान
उतिबेला पञ्चायतकालमा चितवनलाई नेपालको छयत्तरौँ जिल्ला भनिन्थ्यो भने यतिबेला गणतन्त्रकालमा पनि यो नेपालकै अठहत्तरौँ जिल्लाका रुपमा परिचिति छ । नेपाली उखान बन्न लागिसकेको एउटा पदावली छ, “जे गर्छ, चितवनले गर्छ” । हो, म त्यही चितवनको बासिन्दा हुँ । त्यति मात्र नभएर साहित्यको पहाडतर्फ पाइला चाल्दै गरेको एउटा सिकारु आरोही पनि हुँ भन्दा मलाई कत्ति पनि लज्जाबोध हुँदैन । मैले चितवनमा बसेर नियालिरहेको साहित्यिक माहोलमा यतिबेला विभिन्न खालका आतङ्कहरूको बोध गरेको छु । त्यसैलाई यो आलेखमा उतार्ने प्रयास गरेको हुँ ।
‘आतङ्क’ शब्दले तपाईंको मासपटलमा कस्तो असर पारेको छ कुन्नि ? यो शब्दलाई नेपाली बृहत् शब्दकोशले विभिन्न रुपमा अर्थ्याएको छ । तीमध्ये ‘कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय’ भन्ने अर्थमा मेरो ध्यान तानिएको छ ।
पञ्चायतकालमा म सानै थिएँ, त्यसलाई राम्ररी बुझिएन । हो, २०४६ सालको आन्दोलनमा भने भर्खर क्याम्पस छिरेको विद्यार्थीको हैसियतले भाग लिएको हो । यतिबेला ‘आतङ्क’ शब्द सुन्ने बित्तिकै मेरो मानसपटलमा माओवादी द्वन्द्वकालको झलझली सम्झना आउँछ । हामी सर्वसाधारण जनता दुबै पक्षबाट उत्तिकै सताइएका थियौँ त्यतिबेला । त्यसो त द्वन्द्वका समयमा राज्यसत्ताले बढी आतङ्क फैलाउँछ कि विद्रोहीले ? यसका बारेमा जमेर बहस भएका छन् । ‘आतङ्क’ मानसिक मात्र हुन्छ कि भौतिक पनि ? त्यतातर्फ जानु मेरो यो आलेखको उद्देश्य होइन, त्यसैले त्यतातिर म जान्नँ ।
प्रमाण
“यतिबेला चितवनको साहित्यिक माहोल लोभलाग्दो छ”, यो भनाइ सोरै आना मेरो हुँदै होइन । अझ चितवनबासी पनि होइन भन्ने ठहर हो मेरो । “सर्पको खुट्टा सर्पले देख्छ” भन्ने नेपाली उखानै छ नि हैन र पाठकबृन्द ? म यहाँ चितवनमा चलिरहेको साहित्यिक आतङ्कको बारेमा छोटो कुराकानी गर्न खोज्दै छु । यतिबेला सामाजिक सञ्जालमा सम्भतः नेपाली कविताका बारेमा खगेन्द्र सङ्ग्रौलाको अभिमत “तपाईंको यो पाण्डुलिपिमा कविताको तत्व तातोभुत्लो केही फेला पार्न सकिनँ”को पक्ष र विपक्षमा जमेर बहस भइरहेको छ । म भने नेपाली कविताको बारेमा उठेको राष्ट्रिय महत्वको अझ वैश्विक नै भनौँ कि खालको त्यस्तो बहसतिर ध्यान नदिई साँच्चै चितवनमा साहित्यिक आतङ्क छ ? छ भने कस्तो छ ? भन्ने झिनामसिना कुरातिर घोत्लिइरहेको छु, यसैमा दिमाग खियाइरहेको छु ।
यतिबेला चितवनमा बाक्लै साहित्यिक कार्यक्रमहरू हुने गरेका छन् । ती कार्यक्रममा वक्ताका रुपमा प्रायः उही अनुहार दोहोरिने गरेका पनि छन् । अझ भनौँ तत् व्यक्तिलाई नबोलाए त कार्यक्रमै हुँदैन कि जस्तो पनि भय हुन थालेको छ । केही वरिष्ठ भनिएकाहरुले त कार्यक्रम घोषणा हुने वित्तिकै मलाई यो भूमिका चाहियो भन्ने, मुखै खोलेर आयोजकसँग प्रस्ताव राख्ने गरेका चर्चा पनि सुनिन थालेका छन् । यसले स्रोतागणमा कस्तो आतङ्क फैलाएको होला ?
अब कुरा गरौँ, त्यसो भए त्यस्तो आतङ्क कसले फैलाएको छ त ? भन्ने बारेमा । म यहाँ यसको गुढ रहस्य खोलिदिन्छु । तपार्इंलाई थाहा छ ? चितवनको सबैभन्दा ठूलो साहित्यिक आतङ्कको नाम के हो ? मेरो उत्तर हो- ‘रमेश प्रभात’ । कसरी भन्नु होला ? उसलाई चितवनले समालोचकको पगरी गुथाइदिएको तथ्य त तपाईंलाई थाहै छ । त्यसो भएपछि उसलाई बोल्न नदिए त कार्यक्रम कहाँ हुन्छ, होइन र ? स्रोतालाई त उसको व्यङ्ग्यात्मक कथन ठिकै लाग्ला । आयोजकको भने ओठतालु सुक्छ, ऊ मञ्चमा उभिएपछि । उसलाई मनाउन सक्ने स्वयम् ‘रमेश प्रभात’बाहेक कोही छैन । आफूलाई लागेको कुरा नबोली ऊ रोकिनेवाला छैन । यो आतङ्क कहिले रोकिन्छ स्वयम् ‘रमेश प्रभात’लाई पनि थाहा छैन ।
अर्को कुरा चितवनमा लेखक, समीक्षकको मात्र नभएर पाठकको पनि उत्तिकै आतङ्क छ । “मैले तपाईंको किताब आद्योपान्त पढेको छु, त्यसैले मलाई तपाईंको कार्यक्रममा बोल्न दिनैपर्छ” भनेर खुलेरै मांग राख्ने पाठकहरुको सङ्ख्या पनि प्रशस्तै छ यहाँ । त्यति मात्र भए त ठिकै हुन्थ्यो, तर कृतिभित्र पटक्कै नपसी आधा घण्टा पाण्डित्य छाँट्ने त्यस्ता विद्वान्को आतङ्क रोक्न सक्ने हिम्मत कसको ?
अझ अर्को कुरा चितवन नामजस्तै छ, काममा पनि । यहाँ दर्तावाल साहित्यिक संस्थाभन्दा दर्ता नभएका वा दर्ता भएर पनि समयमा नवीकरण नभएका साहित्यिक संस्थाको सङ्ख्या निकै बढी छ । त्यस्ता संस्थामध्ये कतिपय संस्थाको स्थापना भएदेखि एउटा पनि अधिवेशन भएका छैनन् । आजीवन अध्यक्ष बन्ने त्यस्ता संस्थाका अध्यक्षको पनि कम्ता आतङ्क छैन । “मान नमान मैँ तेरा मेहमान” भनेझैँ ढसमस्स मञ्चमा बसेर लम्बेतान भाषण छाँटेर तिनैले स्रोतालाई आतङ्कित तुल्याएका पनि छन् । तिनका अघि बोल्ने हिम्मत कसैको छैन ।
सबैभन्दा मुख्य कुरा यतिबेला चितवनको साहित्यमा सबैभन्दा आतङ्कित स्रोता, पाठक, समीक्षक, कार्यक्रम आयोजकभन्दा पनि लेखकहरू भएका छन् । उनीहरुको कृति छापिएपछि लोकार्पण पनि गराउनु छ । बेलाबेलामा अन्तक्रिया पनि गराउनु छ । त्यस्ता कार्यक्रममा लाग्ने खर्च सबैभन्दा ठूलो आतङ्क हो तिनका लागि । प्रायोजक पाए त ठिकै छ, नत्र भने उनीहरुको ढाड सेकिन्छ । साँझमा कार्यक्रम राख्नुपर्ने, कार्यक्रम सकिएपछि खाना खुवाउनुपर्ने र त्यसको बिल तिर्नुपर्ने कुराले उनीहरु कार्यक्रम भनेपछि तर्सिन थालेका छन् । यसको दोष पनि अरु कसैलाई नभएर स्वयम् ‘रमेश प्रभात’ आबद्ध साहित्यिक संस्था अक्षर समूह, चितवनलाई जान्छ । साहित्यिक कार्यक्रम सुन्न र छलफल गर्नका लागि हो कि साँझको खाना खाएर घर फर्कन ? भनेर उसलाई धेरैले प्रश्न नसोधेका होइनन् । तर ऊ सुध्रिए पो ।
साँझपख प्रायः होटलमा हुने साहित्यिक कार्यक्रमलाई लिएर भरतपुर महानगरपालिकाबाहेक चितवनका अन्य पालिकामा बस्ने लेखक, पाठक र समीक्षकको विशेषतः अक्षर समूह, चितवनलाई बारम्बार गुनासो छ, चितवन भनेको भरतपुर मात्र हो कि बाँकी छ वटा पालिका पनि हो ? यतिबेला अध्यक्ष भइबसेको रमेश प्रभात र सचिव लेखराम सापकोटा फिस्स हाँसेर बस्छन्, केही बोल्दैनन् यसका बारेमा । अनि अर्को कुरा पनि छ, कार्यक्रम चितवनको भन्ने अनि नारायणीको पुल तरेर गैँडाकोट लैजाने अनि पालिका र जिल्ला मात्र नभएर प्रदेश नै अर्कोमा लगेर नवलपुरलाई बेवास्ता गर्नु कत्तिको जायज हो ? यसले पनि त्यो इलाकामा बसोबोस गर्ने साहित्यिक व्यक्तिहरू आतङ्कित छैनन् भनेर कसले भन्न सक्ने ?
यहाँ उठान गरिएका सवालहरू त सामान्य रुपमा देखिएका साहित्यिक आतङ्कका नमुना मात्र हुन् । अझ भनौँ यी त प्रतिनिधि समस्या हुन् । बाँकी समस्या के कति होलान् ? मेरो नजरमा परेन, नजरमा नपरेपछि यो लेखमा पनि परेन । परेन त म के गरौँ हैन त पाठकबृन्द ?
बैठान
मेरो मनमा सधैँ एउटा खुलदुली हुन्छ, साँच्चै साहित्य केका लागि हो ? म यकिन गर्न सक्तिनँ । तर यसका बारेमा विभिन्न समयमा बहसहरू भने भइरहेका छन् । साहित्य पनि कलाको एउटा शाखा भएकाले कला कलाका लागि कि कला जीवनका लागि भन्ने बहसको अन्त्य छैन । साहित्य जीवनकै लागि भए पनि साहित्य ‘स्वान्त सुखायः’का लागि हो कि ‘सर्वजन हितायः’ लागि ? यसको उत्तर कसले दिने ?
साहित्यमा पनि आतङ्कको अनुभूति हुनु कत्तिको जायज हो ? साहित्य ‘स्वान्त सुखायः’का लागि हो कि ‘सर्वजन हितायः’ ? यदि स्वान्त सुखायःका लागि हो भने आतङ्क सिर्जना गर्नुको कुनै तुक छैन । सर्वजन हितायः पदावलीले नै आतङ्कको निषेध गरेको छ । साहित्यमा लागेर आतङ्कको महसुस गर्नुपर्ने हो भने साहित्यका पछडि किन लाग्ने ? सामान्यतः यसले न त सत्तामा पुर्याउँछ, न अर्थोपार्जन हुन्छ, न त उधुम ठूलो मान्छे बनाउँछ । यसले लेखकलाई खुसी दिन्छ भने स्रोता र पाठकले पाउने भनेको भने पनि त्यही खुसी वा आनन्द नै हो ।
सामान्यतः आतङ्क सिर्जना गर्ने हैसियत शक्तिशालीमा मात्र हुन्छ । शक्तिहीनहरूले भयको बोध गर्ने त्यस्तो अनुभूति नै आतङ्क हो । त्यसैले साहित्यप्रेमी वा साहित्यसेवीहरू आतङ्कित हुनबाट कसले जोगाउने ? आउनुहोस् पाठकबृन्द जमेर बहस गरौँ ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest









































