साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चितवनमा साहित्यिक आतङ्क

साहित्यमा लागेर आतङ्कको महसुस गर्नुपर्ने हो भने साहित्यका पछडि किन लाग्ने ? सामान्यतः यसले न त सत्तामा पुर्‍याउँछ, न अर्थोपार्जन हुन्छ, न त उधुम ठूलो मान्छे बनाउँछ ।

Nepal Telecom ad

रमेश प्रभात :

यतिबेला चितवनमा बसेर थुप्रै स्रष्टाहरुले कलम चलाइरहेका छन्, कतिपयले राष्ट्रिय ख्याति पनि कमाइसकेका छन् । उनीहरुको प्रस्तुतिका कारण कतिपय अन्य लेखक तथा पाठकले किन आतङ्कको महसुस गरिरहेका छन् ? त्यस्तै खाले आतङ्कलाई यो आलेखमा उतार्ने प्रयास गरिएको छ । यो व्यङ्ग्य लेख हो । यसलाई यही रुपमा बुझिदिनुहुन पनि पाठकहरुमा आग्रह गरिन्छ । – प्रभात

उठान
उतिबेला पञ्चायतकालमा चितवनलाई नेपालको छयत्तरौँ जिल्ला भनिन्थ्यो भने यतिबेला गणतन्त्रकालमा पनि यो नेपालकै अठहत्तरौँ जिल्लाका रुपमा परिचिति छ । नेपाली उखान बन्न लागिसकेको एउटा पदावली छ, “जे गर्छ, चितवनले गर्छ” । हो, म त्यही चितवनको बासिन्दा हुँ । त्यति मात्र नभएर साहित्यको पहाडतर्फ पाइला चाल्दै गरेको एउटा सिकारु आरोही पनि हुँ भन्दा मलाई कत्ति पनि लज्जाबोध हुँदैन । मैले चितवनमा बसेर नियालिरहेको साहित्यिक माहोलमा यतिबेला विभिन्न खालका आतङ्कहरूको बोध गरेको छु । त्यसैलाई यो आलेखमा उतार्ने प्रयास गरेको हुँ ।

‘आतङ्क’ शब्दले तपाईंको मासपटलमा कस्तो असर पारेको छ कुन्नि ? यो शब्दलाई नेपाली बृहत् शब्दकोशले विभिन्न रुपमा अर्थ्याएको छ । तीमध्ये ‘कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय’ भन्ने अर्थमा मेरो ध्यान तानिएको छ ।

पञ्चायतकालमा म सानै थिएँ, त्यसलाई राम्ररी बुझिएन । हो, २०४६ सालको आन्दोलनमा भने भर्खर क्याम्पस छिरेको विद्यार्थीको हैसियतले भाग लिएको हो । यतिबेला ‘आतङ्क’ शब्द सुन्ने बित्तिकै मेरो मानसपटलमा माओवादी द्वन्द्वकालको झलझली सम्झना आउँछ । हामी सर्वसाधारण जनता दुबै पक्षबाट उत्तिकै सताइएका थियौँ त्यतिबेला । त्यसो त द्वन्द्वका समयमा राज्यसत्ताले बढी आतङ्क फैलाउँछ कि विद्रोहीले ? यसका बारेमा जमेर बहस भएका छन् । ‘आतङ्क’ मानसिक मात्र हुन्छ कि भौतिक पनि ? त्यतातर्फ जानु मेरो यो आलेखको उद्देश्य होइन, त्यसैले त्यतातिर म जान्नँ ।

प्रमाण
“यतिबेला चितवनको साहित्यिक माहोल लोभलाग्दो छ”, यो भनाइ सोरै आना मेरो हुँदै होइन । अझ चितवनबासी पनि होइन भन्ने ठहर हो मेरो । “सर्पको खुट्टा सर्पले देख्छ” भन्ने नेपाली उखानै छ नि हैन र पाठकबृन्द ? म यहाँ चितवनमा चलिरहेको साहित्यिक आतङ्कको बारेमा छोटो कुराकानी गर्न खोज्दै छु । यतिबेला सामाजिक सञ्जालमा सम्भतः नेपाली कविताका बारेमा खगेन्द्र सङ्ग्रौलाको अभिमत “तपाईंको यो पाण्डुलिपिमा कविताको तत्व तातोभुत्लो केही फेला पार्न सकिनँ”को पक्ष र विपक्षमा जमेर बहस भइरहेको छ । म भने नेपाली कविताको बारेमा उठेको राष्ट्रिय महत्वको अझ वैश्विक नै भनौँ कि खालको त्यस्तो बहसतिर ध्यान नदिई साँच्चै चितवनमा साहित्यिक आतङ्क छ ? छ भने कस्तो छ ? भन्ने झिनामसिना कुरातिर घोत्लिइरहेको छु, यसैमा दिमाग खियाइरहेको छु ।

यतिबेला चितवनमा बाक्लै साहित्यिक कार्यक्रमहरू हुने गरेका छन् । ती कार्यक्रममा वक्ताका रुपमा प्रायः उही अनुहार दोहोरिने गरेका पनि छन् । अझ भनौँ तत् व्यक्तिलाई नबोलाए त कार्यक्रमै हुँदैन कि जस्तो पनि भय हुन थालेको छ । केही वरिष्ठ भनिएकाहरुले त कार्यक्रम घोषणा हुने वित्तिकै मलाई यो भूमिका चाहियो भन्ने, मुखै खोलेर आयोजकसँग प्रस्ताव राख्ने गरेका चर्चा पनि सुनिन थालेका छन् । यसले स्रोतागणमा कस्तो आतङ्क फैलाएको होला ?

अब कुरा गरौँ, त्यसो भए त्यस्तो आतङ्क कसले फैलाएको छ त ? भन्ने बारेमा । म यहाँ यसको गुढ रहस्य खोलिदिन्छु । तपार्इंलाई थाहा छ ? चितवनको सबैभन्दा ठूलो साहित्यिक आतङ्कको नाम के हो ? मेरो उत्तर हो- ‘रमेश प्रभात’ । कसरी भन्नु होला ? उसलाई चितवनले समालोचकको पगरी गुथाइदिएको तथ्य त तपाईंलाई थाहै छ । त्यसो भएपछि उसलाई बोल्न नदिए त कार्यक्रम कहाँ हुन्छ, होइन र ? स्रोतालाई त उसको व्यङ्ग्यात्मक कथन ठिकै लाग्ला । आयोजकको भने ओठतालु सुक्छ, ऊ मञ्चमा उभिएपछि । उसलाई मनाउन सक्ने स्वयम् ‘रमेश प्रभात’बाहेक कोही छैन । आफूलाई लागेको कुरा नबोली ऊ रोकिनेवाला छैन । यो आतङ्क कहिले रोकिन्छ स्वयम् ‘रमेश प्रभात’लाई पनि थाहा छैन ।

अर्को कुरा चितवनमा लेखक, समीक्षकको मात्र नभएर पाठकको पनि उत्तिकै आतङ्क छ । “मैले तपाईंको किताब आद्योपान्त पढेको छु, त्यसैले मलाई तपाईंको कार्यक्रममा बोल्न दिनैपर्छ” भनेर खुलेरै मांग राख्ने पाठकहरुको सङ्ख्या पनि प्रशस्तै छ यहाँ । त्यति मात्र भए त ठिकै हुन्थ्यो, तर कृतिभित्र पटक्कै नपसी आधा घण्टा पाण्डित्य छाँट्ने त्यस्ता विद्वान्को आतङ्क रोक्न सक्ने हिम्मत कसको ?

अझ अर्को कुरा चितवन नामजस्तै छ, काममा पनि । यहाँ दर्तावाल साहित्यिक संस्थाभन्दा दर्ता नभएका वा दर्ता भएर पनि समयमा नवीकरण नभएका साहित्यिक संस्थाको सङ्ख्या निकै बढी छ । त्यस्ता संस्थामध्ये कतिपय संस्थाको स्थापना भएदेखि एउटा पनि अधिवेशन भएका छैनन् । आजीवन अध्यक्ष बन्ने त्यस्ता संस्थाका अध्यक्षको पनि कम्ता आतङ्क छैन । “मान नमान मैँ तेरा मेहमान” भनेझैँ ढसमस्स मञ्चमा बसेर लम्बेतान भाषण छाँटेर तिनैले स्रोतालाई आतङ्कित तुल्याएका पनि छन् । तिनका अघि बोल्ने हिम्मत कसैको छैन ।

सबैभन्दा मुख्य कुरा यतिबेला चितवनको साहित्यमा सबैभन्दा आतङ्कित स्रोता, पाठक, समीक्षक, कार्यक्रम आयोजकभन्दा पनि लेखकहरू भएका छन् । उनीहरुको कृति छापिएपछि लोकार्पण पनि गराउनु छ । बेलाबेलामा अन्तक्रिया पनि गराउनु छ । त्यस्ता कार्यक्रममा लाग्ने खर्च सबैभन्दा ठूलो आतङ्क हो तिनका लागि । प्रायोजक पाए त ठिकै छ, नत्र भने उनीहरुको ढाड सेकिन्छ । साँझमा कार्यक्रम राख्नुपर्ने, कार्यक्रम सकिएपछि खाना खुवाउनुपर्ने र त्यसको बिल तिर्नुपर्ने कुराले उनीहरु कार्यक्रम भनेपछि तर्सिन थालेका छन् । यसको दोष पनि अरु कसैलाई नभएर स्वयम् ‘रमेश प्रभात’ आबद्ध साहित्यिक संस्था अक्षर समूह, चितवनलाई जान्छ । साहित्यिक कार्यक्रम सुन्न र छलफल गर्नका लागि हो कि साँझको खाना खाएर घर फर्कन ? भनेर उसलाई धेरैले प्रश्न नसोधेका होइनन् । तर ऊ सुध्रिए पो ।

साँझपख प्रायः होटलमा हुने साहित्यिक कार्यक्रमलाई लिएर भरतपुर महानगरपालिकाबाहेक चितवनका अन्य पालिकामा बस्ने लेखक, पाठक र समीक्षकको विशेषतः अक्षर समूह, चितवनलाई बारम्बार गुनासो छ, चितवन भनेको भरतपुर मात्र हो कि बाँकी छ वटा पालिका पनि हो ? यतिबेला अध्यक्ष भइबसेको रमेश प्रभात र सचिव लेखराम सापकोटा फिस्स हाँसेर बस्छन्, केही बोल्दैनन् यसका बारेमा । अनि अर्को कुरा पनि छ, कार्यक्रम चितवनको भन्ने अनि नारायणीको पुल तरेर गैँडाकोट लैजाने अनि पालिका र जिल्ला मात्र नभएर प्रदेश नै अर्कोमा लगेर नवलपुरलाई बेवास्ता गर्नु कत्तिको जायज हो ? यसले पनि त्यो इलाकामा बसोबोस गर्ने साहित्यिक व्यक्तिहरू आतङ्कित छैनन् भनेर कसले भन्न सक्ने ?

यहाँ उठान गरिएका सवालहरू त सामान्य रुपमा देखिएका साहित्यिक आतङ्कका नमुना मात्र हुन् । अझ भनौँ यी त प्रतिनिधि समस्या हुन् । बाँकी समस्या के कति होलान् ? मेरो नजरमा परेन, नजरमा नपरेपछि यो लेखमा पनि परेन । परेन त म के गरौँ हैन त पाठकबृन्द ?

बैठान
मेरो मनमा सधैँ एउटा खुलदुली हुन्छ, साँच्चै साहित्य केका लागि हो ? म यकिन गर्न सक्तिनँ । तर यसका बारेमा विभिन्न समयमा बहसहरू भने भइरहेका छन् । साहित्य पनि कलाको एउटा शाखा भएकाले कला कलाका लागि कि कला जीवनका लागि भन्ने बहसको अन्त्य छैन । साहित्य जीवनकै लागि भए पनि साहित्य ‘स्वान्त सुखायः’का लागि हो कि ‘सर्वजन हितायः’ लागि ? यसको उत्तर कसले दिने ?

साहित्यमा पनि आतङ्कको अनुभूति हुनु कत्तिको जायज हो ? साहित्य ‘स्वान्त सुखायः’का लागि हो कि ‘सर्वजन हितायः’ ? यदि स्वान्त सुखायःका लागि हो भने आतङ्क सिर्जना गर्नुको कुनै तुक छैन । सर्वजन हितायः पदावलीले नै आतङ्कको निषेध गरेको छ । साहित्यमा लागेर आतङ्कको महसुस गर्नुपर्ने हो भने साहित्यका पछडि किन लाग्ने ? सामान्यतः यसले न त सत्तामा पुर्‍याउँछ, न अर्थोपार्जन हुन्छ, न त उधुम ठूलो मान्छे बनाउँछ । यसले लेखकलाई खुसी दिन्छ भने स्रोता र पाठकले पाउने भनेको भने पनि त्यही खुसी वा आनन्द नै हो ।

सामान्यतः आतङ्क सिर्जना गर्ने हैसियत शक्तिशालीमा मात्र हुन्छ । शक्तिहीनहरूले भयको बोध गर्ने त्यस्तो अनुभूति नै आतङ्क हो । त्यसैले साहित्यप्रेमी वा साहित्यसेवीहरू आतङ्कित हुनबाट कसले जोगाउने ? आउनुहोस् पाठकबृन्द जमेर बहस गरौँ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
चितवन, नव पठन र लेखकीय आतङ्क

चितवन, नव पठन र...

रमेश प्रभात
तीन ठोक्तक

तीन ठोक्तक

रमेश प्रभात
दुई मट्याङ्ग्रा

दुई मट्याङ्ग्रा

रमेश प्रभात
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x