लङ्गौटिया यार
मलाई त अचेल समीपतादेखि परै बस्न मन लाग्छ अन्धकारमा लुकेर जूनको उज्यालोमा दाग खोज्ने झ्यालहरूमा पर्दा लागेकै बेस लाग्छ के भरोसा ? कतै फेरि नयाँ अवतारमा आएको त होइन मेरो लँगौटिया यार ?
युवराज भण्डारी :
हाम्रो मित्रतालाई
मिसाल सम्झिन्छ यो समाज
जहाँ ऊ हुन्छ त्यहाँ म नहुँदा
उसको निकटमा मलाई नदेख्दा
मित्रताको एक दृष्टान्त नै
मेटिएको ठान्छ दुनियाँ ।
भेटघाटमा
ऊ गर्छ सुकिलो मुकिलो कुरा
लाग्छ उसको घाँटीमा जडित छ फिल्टर
जो श्यामलाई श्वेत जस्तो देखाउन सक्छ
जो काठलाई रबर बनाएर तन्काउन सक्छ
हो, ऊ सहजै तिललाई पहाड बनाउन सक्छ
र, सुनाउँछ एक मजदुरलाई
कपास आफ्नो हातमा बिझाएको कुरा ।
मेरो साथी हो
लँगौटिया यार हो
त्यसैले त मेरो औधी ख्याल राख्छ
कहिले आफ्नो हातसँग मेरो हात नाप्छ
कहिले आफ्नो गर्दनसँग मेरो गर्दन नाप्छ
कहिले आफ्नो धनसँग मेरो जीवन नाप्छ ।
यहाँ यस्तै चल्छ
देखावटमा सम्बन्ध फल्छ
को साँचो हो को झूटो हो ?
कसलाई पो मतलब छ ?
सफेद आवरण भित्र
कति धेरै अन्धकार छ ?
कसलाई सोच्ने फुर्सद छ ?
स्टिकरकै भरमा बजार चलेको छ
ब्रान्डकै अगिपछि संसार घुमेको छ ।
मैले भर्खरै चिनेको
अर्को एउटा साथी छ
जो म हाँसेको देखेर
हतार हतार आँसु पुछेर हाँस्छ
जो म रोएको देखेर
म भन्दा पनि जोड जोडले रुन्छ
खासै नजिकको साथी होइन ऊ मेरो
तर पनि
मेरो भागमा परेको अपजस बाडौं भनेर
खै, किन हरेक चोटि हात थाप्छ ? !
ऊ फरक छ –
लँगौटिया भन्दा बिलकुल फरक छ
खडेरी परेको देखी देखी
बर्सात थामेर मडारिने बादल होइन ऊ
ऊ बर्सिन्छ
ऊ पोखिन्छ
ऊ ठ्याक्कै पानी जस्तो छ
न उसलाई ताप छिपाउन आउँछ
न उसलाई चाप छिपाउन आउँछ ।
खै, कुन्नि त !
रङ्गमञ्च जीवन जस्तो हो
अथवा
जीवन रङ्गमञ्च जस्तो हो
मलाई त अचेल
समीपतादेखि परै बस्न मन लाग्छ
अन्धकारमा लुकेर
जूनको उज्यालोमा दाग खोज्ने झ्यालहरूमा
पर्दा लागेकै बेस लाग्छ
के भरोसा ?
कतै फेरि नयाँ अवतारमा
आएको त होइन मेरो लँगौटिया यार ?
०००
क्यानडा