नगिता लेप्चा राईधिक्कार हो मकन बस्नु नराखि कीर्ति
मलाई लाग्छ आदिकवि भानुभक्त लिखित “धिक्कार हो मकन बस्नु नराखि कीर्ति” शब्द शब्द यिनले मात्रै बुझेका रहेछन् र त नाम कमाउन यिनले किसिम चाल चलेर आफू सर्वपरिचित हुनु मात्र होइन हिरो हुन खोजेका रहेछन् ।

नगिता लेप्चा राई :
“भर्-जन्म घाँस-तिर मन्-दिइ धन् कमायो,
नाम् क्यै रहोस् पछि भनेर कुआ खनायो ।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ॥
मेरा इनार र त सत्तल पाटि क्यै छन् ।
यस घाँसिले कसरि दिएछ अर्ती,
धिक्कार हो मकन बस्नु नराखि कीर्ति ॥
–भानुभक्त आचार्य
आदिकवि भानुभक्त आचार्य लिखित माथिको कवितांश नसुन्ने, नजान्ने छैनन् भन्नु लाजमर्दो हुन्छ । यस कवितालाई मैले पहिलो श्रेणी छँदै पानी पारेकी हुँ । किनभने स्कूलमा हुने भानुजयन्तीको दिन यो कविता मलाई लक्ष्मी म्यामले मुखस्थ पार्न लगाई आवृत्ति गर्ने आदेश दिएकी थिइन् । कार्यक्रममा यो कविता आवृत्ति गरेर मैले प्रधानध्यापकको बाहुलीबाट पारितोषिक समेत पाएकी थिएँ । हामीले यो कविता पाठ्यपुस्तकमा पनि पढ्नु पर्थ्यो । माथिका ६ वटै पङ्कित बिर्से पनि अन्तिम सातौं पक्ति “धिक्कार हो मकन बस्नु नराखि कीर्ति” पङ्कित चाहिँ यो गिदीको फ्लपीमा सुरक्षित रहनु मात्र होइन यसको अर्थ समेत बुझेकी छु । म्यामले क्लासमा बारम्बार भन्नुहुन्थ्यो. केही कीर्ति (नाम) नराख्नु धिक्कार हो । यसैले नानी हो के गर्नुपर्छ अरे… नाम कमाउनुपर्छ… ।
बस् म्यामको यो नाम कमाउनुपर्छ भन्ने प्रवचन भनूँ या शिक्षाले मेरो गिदीमा पनि नाम कमाउने किटाणु नउफ्रेको होइन । म जस्तै अरु पनि धेरै होलान् जो नाम कमाउनको निम्ति मरिमेटछन् । तर कसैलाई पनि नाम कमाउने रहर देखाउन चाहँदैनन् । यस्ताहरू छुपेरुस्तम नाम क्रेजी हुन् ।
हिजोआज नाम कमाउने अनेकन् सोर्सहरू छन् । कसैले संस्थालाई आर्थिक रकम प्रदान गरी संस्थाको कार्यक्रममा प्रमुख अतिथिको आसन आगटेर मेरो नाम गतिलो हिट भयो भनी ठान्दा हुन् । कति चाहिँ कुनै प्राकृतिक दुर्योग भएका ठाउँतिर राहत सामग्री वितरण गरी फेसबुकमा राहत सामग्री दिँदै गरेको फोटा अपलोड गरी मेरो नाम निकै फैलियो ठान्दा हुन् । यो संसारमा नामको भोगी को होलान् ?
हिजोआज अचम्म के देखिएको छ भने, चानचुने संस्था खोल्यो । आफ्नै बिरादरी बटुली प्रेसिडेण्ट, सेक्रेटेरी, क्याशियर, एक्जिक्यूटिभ मेम्बर बनायो अनि आफू चाहिँ पछि बसेर लाटा किराजस्तो चूपो लागि नाम कमायो । बस् अरुको घोड़ामा चढ़ी आफू हिरो । संस्थाका अन्य लाटो सदस्यलाई कसैलाई गाउनु दियो, कसैलाई नाँच्नु, कसैलाई धन्यवाद ज्ञापन गर्नु दियो अनि तिनको पोज पोजको फोटो खिँची फेसबुकमा अपलोड । साँप ठहरै मर्यो, लट्ठी भने जस्ताको त्यस्तै ।
हुन त ती लाटा किरा कम्ति चलाख हुँदैन । उसलाई नाम कमाउने समाजका ठूलाठूला साहित्यकार, सङ्गीतकार, उच्च ओहोदाका उच्च अधिकारीसमेतले मलाई चिनोस् अनि गाउँका मेरा सोझा सिधा गाउँलेहरू छक्क परोस् ठान्ने तिनको स्वाभाव हुन्छ । गाउँमा मात्र होइन बाहिर पनि मेरो नाम सुवास चलोस् भनी बाहिरका धनाढ्य तथा समाजमा प्रतिष्ठित व्यक्तिसित टचमा बस्नु औधी रुचाउँछन् यस्ता नाम भोगी किराहरू । अनि जसोतसो गाउँमा कार्यक्रम गऱ्यो । आफूलाई फाइदा हुने व्यक्तित्वहरूलाई निम्ताएर मञ्चमा राखी खादा पहिराएर स्वागत गर्यो । फेरि हाम्रो समाजमा माथि मञ्चमा बसी खदा लाउने भुक्तभोगीहरू छँदैछन् ।
बस पालोको पैँचो । गिभ एण्ड टेक । ती व्यक्तिहरूले नाम भोगी किरालाई उनीहरूको संस्थामा सामेल गराउनु मात्र होइन साना तिना पद पनि दिएर उनलाई खटाउनुसम्म खटाउँछन् । विचारा नामभोगी किराले खोजेकै यस्तो । पोखरीको माछा नदीमा आएजस्तो छोप्ल्याङ छोप्ल्याङ गरी पनामा डाइभ हाले सरह यी नामभोगी फ्रुकेर, मातेर, पातेर, दोब्रेर, कुच्चिएर, ङालाक्-ङिलिक, नेप्टो चेप्टो भएर केही राख्दैन । उसलाई यति गर्व हुन्छ र उ मनमनै भन्छ देख्यौ मेरा गाउँका लाटासुधा साथीहरू हो । म कहाँ पुगेँ । मलाई कसलै चिन्दैन ?
तर दुःखलाग्दो कुरो गाउँका जुन युवा साथीहरूलाई च्याँखे थापी ती साथीहरूलाई लट्टाएर आफू अन्य संस्थामा जोडिन्छन् । तर गाउँका वा तिनका संस्थाका कुनै पनि साथीलाई अन्य कुनै संस्थामा जोडाउनु चाहँदैनन् । जोडायो कि उनको पखेटा काटिने डर । र मलाई लाग्छ आदिकवि भानुभक्त लिखित “धिक्कार हो मकन बस्नु नराखि कीर्ति” शब्द शब्द यिनले मात्रै बुझेका रहेछन् र त नाम कमाउन यिनले किसिम चाल चलेर आफू सर्वपरिचित हुनु मात्र होइन हिरो हुन खोजेका रहेछन् । यो उनको दोष हुँदै होइन भन्ने मेरो सोँच छ, यिनलाई बिगार्ने आदिकवि भानुभक्त नै हुन् कि । भानुभक्तले नै नाम कमाउनु धिक्कार हो भनिसकेका छन् ।
भनिन्छ नि, देखासिकी गरी खा, आह्रिसे मरिजा । यी नामभोगी किराको आह्रिस होइन देखासिकी गर्दै म पनि गाउँमा एउटा संस्था स्थापित गरूँ कि सोँचिरहेकी छु । त्यसपछि म पनि साहित्य, सङ्गीत, खेलकूद तथा उच्च ओहोदाका व्यक्तिहरूलाई प्रमुख अतिथि, विशिष्ट प्रमुख अतिथि, अतिविशिष्ट अतिथि अनि़ अतिथि बनाएर भत्किसकेको स्टेजमा राखी फूल माला लगाएर भाषण दिनु लगाई नाम कमाउनु मात्र होइन आर्थिक अवस्थापनि हेण्डसम बनाउने देखासिकी पो गरिरहेछु । कारण मलाई पनि यी नामभोगी किरा जस्तै नाम कमाउने अनि विभिन्न संस्थासित जोड़िएर फुर्की देखाउने रहर छ नि । यसैले फेरि पनि भन्छु आफैलाई –
“धिक्कार हो मकन बस्नु नराखि कीर्ति”॥
०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest







































