फित्काैली डटकमदावाँ, भाेजपुरमा हास्यव्यङ्ग्य लेखन सम्बन्धी प्रशिक्षण
लेख्ने कुनै विषयबस्तु छनौट गरिसकेपछि अलि जाँगर चलाएर त्यसमै केन्द्रित भई भन्न खोजेको कुरालाई अलि घुमाउरो र बाङ्गोटिङ्गो पाराले व्यक्त गरियो भने त्यही नै हास्यव्यङ्ग्य हुने कुरा उहाँले विभिन्न दृष्टान्त र उदाहरणबाट प्रष्ट पार्नुभएकाे थियो।

भोजपुर, २०८०, मङ्सिर १०। फित्कौली अनलाइन मिडियाका संस्थापक एबं सम्पादक हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलद्वारा भोजपुर नगरपालिका- ४, दावाँ स्थित श्री सिद्धेश्वर मा. वि. मा मा वि तहका विद्यार्थीहरूका लागि हास्यव्यङ्ग्य साहित्य सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
आफ्ना २४ कृति मध्ये ५ कृति हास्यव्यङ्ग्य केन्द्रित भएको बताउदै लुइँटेलले हास्यव्यङ्ग्य के हो, कसरी लेखिन्छ भन्ने बारे विद्यार्थीहरूलाई जानकारी गराउनुभयो। भोजपुरको लेखर्क, ढुङ्गे जन्मेर झापा बसाइँ सर्नुभएका लुइँटेललेआफू पढेको विद्यालयका गुरुहरू र झापाबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरूबाट प्रेरित भएर २०३४ सालदेखि हास्यव्यङ्ग्य लेखन शुरू गरेकाे बताउनुभयो । हास्यव्यङ्ग्य साहित्यकै उत्थानको लागि विगत दुई वर्षदेखि फित्कौली डटकम सञ्चालन गर्दै आएको र ओझेलमा परेका कतिपय सर्जकहरूका रचना फित्कौलीमा प्रकाशन गरिदिएर उहाँहरूलाई पाठक समक्ष चिनाउने महत्वपूर्ण काम पनि आफूले गर्दैआएको उहाँले उल्लेख गर्नुभयो ।
लेख्ने कुनै विषयबस्तु छनौट गरिसकेपछि अलि जाँगर चलाएर त्यसमै केन्द्रित भई भन्न खोजेको कुरालाई अलि घुमाउरो र बाङ्गोटिङ्गो पाराले व्यक्त गरियो भने त्यही नै हास्यव्यङ्ग्य हुने कुरा उहाँले विभिन्न दृष्टान्त र उदाहरणबाट प्रष्ट पार्नुभएकाे थियो।
विद्यार्थीहरूलाई यसरी हास्यव्यङ्ग्य लेखनमा उत्प्रेरित गर्दै उनीहरूद्वारा सिर्जित हास्यव्यङ्ग्य रचनालाई फित्कौली डटकमबाट प्रकाशन गरिदिई लेखनमा थप हौसला र उर्जा प्रदान गर्ने प्रतिबद्धता पनि उहाँले जाहेर गर्नुभयो।
भाेजपुर, दावाँकै माटोमा जन्मेर हाल क्यानडा बस्दै आउनुभएका ‘ खाइराइड’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहका स्रष्टा राजेन्द्र कार्कीको लेखन शैलीको पनि प्रशंसा गर्दै भोलि यही माटोबाट अरू हास्यव्यङ्ग्य सर्जकहरू पनि जन्मिन सक्ने उहाँले बताउनुभयो ।
विद्यालयका निमित्त प्र.अ., शिक्षक, कर्मचारी एबं विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम अत्यन्त रमाइलो, मनोरञ्जनात्मक, उपलब्धिमूलक र प्रेरणादायी भएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
०००
– दावाँ, भोजपुरबाट शरण खत्री ‘मृदुल’द्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































