साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाका : पुसको पन्ध्र

यो जाडोमा खुकुरी रमको एक एक पेग चढाएपछि प्रकाशले प्रवीणलाई सोध्छ, “प्रवीण, तिमी आफूलाई भाकाको पक्का भन्थ्यौ, पुस पन्ध्रको भाका राखेर पच्चीस गतेसम्म पनि किन मुख देखाएनौ हँ ?”

Nepal Telecom ad

रमेश प्रभात :

प्रकाश र प्रवीण एउटै टोलका बासिन्दा मात्र होइनन्, उनीहरू मन मिल्ने साथी पनि हुन् । उमेरमा प्रकाश प्रवीणभन्दा पाँच वर्ष जेठो छ । एउटै अफिसमा काम गर्छन् उनीहरू । साँझको टेबुलका सहयात्री पनि हुन् उनीहरू ।

असारको अन्तिम साता । प्रवीणले घर नयाँ बनाएको छ । बाह्र आना जमिनमा बनेको तीन तले घर, अठार कोठा । उसको सम्पन्नताको बजारमा चर्चा छ ।

घर सरेको खुसीमा प्रवीणले प्रकाशलाई निम्ता गरेको छ मधुशालामा । तातो गर्मीमा चिसो कोठामा बसेर चिसै बियर पिउँदै छन् उनीहरू । खुसी देखिनुपर्ने प्रवीण उदास छ । उसको उदासी देखेर प्रकाश सोध्छ, “के भयो प्रवीण तिमी किन यति उदास ?”

प्रवीण नचाही नचाही मुख खोल्छ, “खै के भनौँ यार ?”
“भन न, मलाई नभने कसलाई भन्छौ त ?”
“असार मसान्त आउन थालेर नि ?”
“अलि खुलस्त भन न ।”
“साँच्ची भनूँ त ? रिन नपाएर क्या ।”
“किन चाहियो तिमीलाई रिन ?”
“घर त सरियो, तर साहु तिर्न सकिएन । उनीहरूले ताकेता गरेर हैरान पारिसके मलाई ।”

“अनि के त ?”
“अनि हुँदैन त तनाव मान्छेलाई ?”
“म केही सहयोग गर्न सक्छु ?”
“तिमीसँग कसरी मागूँ ? मलाई बीस लाख चाहिएको छ । बैँकले पनि यतिबेला कतै लगानी नगर्ने रे । कसरी जम्मा गर्नु त्यति रकम ?”
“कहिलेसम्म फिर्ता गर्छौ नि ?”
“पुस पन्ध्रसम्म ।”

“चिन्ता नलिनू, भोलि मकहाँ आउनू । चेक लिएर जानू । भाका फरक नपरोस् नि !”
“तिमीलाई थाहै छ त म भाकाको पक्का छु ।”

समय बितेको पत्तै भएन । आज पुसको पच्चीस गते । मौसम निकै चिसो छ । साँझपख मधुशालामा अचानक प्रकाश र प्रवीण भेटिन्छन् । यो जाडोमा खुकुरी रमको एक एक पेग चढाएपछि प्रकाशले प्रवीणलाई सोध्छ, “प्रवीण, तिमी आफूलाई भाकाको पक्का भन्थ्यौ, पुस पन्ध्रको भाका राखेर पच्चीस गतेसम्म पनि किन मुख देखाएनौ हँ ?”

वाक्पटु प्रवीण तुरुन्तै जवाफ फर्काउँछ, “बल्ल त पहिलो पुस सकिन लाग्यो, अझै चौधवटा पुस त बाँकी नै छन् त ।”

प्रवीणको कुरा सुनेर प्रकाशलाई हल्का चढ्न थालेको नशा पनि पुरै उत्रन्छ । अक्क न बक्क परेर प्रवीणको मुखमा हेरिरहन्छ ।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x