डा. मुकेशकुमार चालिसेपाका मान्छेका निद्रा र जाँगरका कुरा !
जाँगरमा उत्सुकता, शारीरिक स्वस्थता र असल काम प्रतिको चाहना जोडिएका छन् । यीनलाई व्यवस्थित गर्न उचित खानपान, व्यायाम र जीवनप्रतिको मोह जोल्ठिएर आएका हुन्छन् ।
डा. मुकेश चालिसे :
हरेक उमेरसमुहलाई उचित मात्रामा व्यायाम, खानपान र विश्राम सहितको मस्त निद्रा आवश्यक हुन्छ । भर्खर जन्मिएका शिशुहरूको सुताई बढि हुन्छ र दुध चुस्दाचुस्दै लोलाएर निदाउँछन् । उनीहरू प्राय भोक लागेपछि वा वाह्य हस्तक्षेपले मात्र उठ्ने गर्छन् भने तन्द्रामा त (कुटुनीले खेलाएको भनिने) रमाउँदै निदाएका देखिन्छन् । चार महिनादेखि एक वर्षसम्म उमेरका शिशुले कम्तीमा १२ देखि १६ घण्टा दैनिक मस्त सुतेकै हुनुपर्छ । त्यसो भएमा उनीहरू राम्ररी फस्टाउन सक्ने हुन्छन, कम सुताइले खिरिलो मात्र देखिने भए पनि बलिया नहुन सक्छन् । त्यस्तै उमेर बढ्दै जाँदा स्वस्थ मानिसको निद्रा लाग्ने समय घटदै जान्छ र पाको हुँदा त बढिमा ७ घण्टा मस्त निदाउने भए पुग्छ । अरु उमेरसमुहमा राती निद्रा कचमचिए दिउँसो उँघेर पूर्ताल गर्न सक्छन् तर पाको उमेरमा दिउँसोको बाह्य हस्तक्षेप बढि हुने भएर मस्त निदाउन अप्ठ्यारो पर्छ । त्यसैले त ‘एक रातको निद्राले सात रात पिर्छ, निद्रा कम हुने उमेरिएका पाका चाँडै थला पर्छन्, कम सुत्ने वा धेरै सुत्ने पाका मान्छेले अन्त्य अवस्थामा झुक्क्याउँछन्’ भन्ने चलन नै छ । यस्ता लोकोक्तिहरूबाट पाका मान्छेलाई व्यवधान बिनाको ठिक्क मस्त निद्राको अती महत्व छ, भन्ने नै जनाउँछ ।
निद्रा हराउँदाः
विश्व प्रसिद्ध नेचर प्रत्रिकामा विज्ञान र प्रविधि स्तम्भमा गत अप्रिल २०२४ को अङ्कमा शरीरमा दुखाई र मानसिक तनाव निद्रा कचमचिएर नपुगी वा अनिदो भएर कसरी हुन्छ भन्ने लेख छापिएको थियो । निद्राबिहिन वा अनिदो भनेको प्रयाप्त निद्रा नहुनु र मस्त निद्रामा नपर्ने एउटा विशेष अवस्था हो । यस्तो धेरै रातमा हुँदा मान्छेको प्रवृत्ति, स्वभाव, सँस्मरण र शरीरको उर्जामा असर गरिरहेको हुन्छ । त्यसो भएमा जीउ आलस्य हुने, जाँगर नलाग्ने, शरीर सुन्निने, दुख्ने प्रक्रियालाई सघाउँछ । अनुसन्धानले पत्तो लगाएअनुसार अनिद्राले दिक्कलाग्दो दुखाई र तनाव पनि लिएर आउन सक्छ किनकी त्यस अवस्थामा शरीरभित्र दुखी गराउने अणुहरूलाई बढाउन थाल्दछ । त्यस्ता समस्या बढाउनेहरूमा कोषभित्र साइटोकाइन, इन्टरल्युकिन-६, सि-रियाक्टिभ प्रोटिन र अरु (मान्छेका मुटुरोग तथा मधुमेह समस्या बढाउन मद्दत गर्ने) बस्तुहरू बढाउन उत्प्रेरित गर्ने नै हुन्छन् ।
यस्ता दिक्क लगाउने लक्षणहरू देखाउन त उदाहरणको लागि चिन्ता, धुमपान, मोटोपनाहरूले ग्रसित पाका मान्छेहरूलाई पनि योगदान गरिरहेका हुनसक्छन् । त्यसैले यस्ता रोगहरू भएका मान्छेमा कम निद्राको प्रभावले झन बढी समस्या हुने प्रक्रियामा भूमिका खेलिरहेको देखिन्छ । वाक्क लाग्ने र शरीर दुख्ने/सुन्निने भनेको वास्तवमा रोगलाग्न थालेको र घाउचोट लागेको प्रतिक्रियास्वरुप जानकारी दिने पूर्वप्रतिक्रिया अवस्था पनि हो । यस्तो सबै मानिसको शरीरमा लाग्नसक्ने रोगव्याधको अग्रिम सूचना दिने अल्पकालिन प्रणालीका साथै रोगविरुद्धको प्रभावकारी शारीरिक प्रतिरक्षात्मक प्रक्रिया पनि हो । केहिगरी त्यस्ता अवस्था नदेखाई शारीरिकरुपले पूर्वजानकारी नहुने त शरीर सचेत नभएको अवस्थाले हो । रक्षात्मक उपायहरू सुरु नभएकाले हृदयरोग, मधुमेह, घात, अवुर्दरोग र अल्ज्हाइमर (अल्झाउने रोग) समेत हुनलाई तिनले बलियो भूमिका खेलेको देखिन्छ ।
निद्रा हराउँदा वा हरेक रात कचमचिने र शरीरको प्रतिक्रियास्वरुप दुख्ने/सुन्निने/दिक्कलाग्ने लक्षणहरूबिच अन्तरसम्बन्धहरू अध्ययनले मात्र कम निदाउने मान्छेमा किन अरु असाध्य अवस्थाहरूका साथै भित्र्याँसका रोगहरू, उच्चरक्तचाप र मधुमेहका खतरामा भएको हुन्छन् भन्ने थाह हुन्छ । शारीरिक डाह र पोलाई किन निद्राको कमीसँग जोडिएको हुन्छ त ? एउटा सिद्धान्तको भनाइमा यस्तो प्रक्रियामा रक्तनलीहरूसँग सम्बन्धित भएकोतिर एकाग्रता गर्नुपर्ने भनाइ छ । सुताईको क्रममा रक्तचाप घटेको हुन्छ र ती रक्तनलीहरू आरामीमा रहेका हुन्छन् । कम निद्रा र सुताई नै कचमचिँदा प्राकृतिकरुपले रक्तचाप कम हुने समयमा बिउँझिएकाले हुनुपर्ने जति कम हुन पाउँदैन । यस्तो अवस्थामा रक्तनलीका भित्ताका कोषहरूलाई उत्तेजित पारिदिन सक्छन् जस्लेगर्दा दुखाई, सुन्निने र दिक्कलाग्ने प्रक्रियालाई सक्रिय बनाइदिन सक्छन् । सुताइको कमिले चिन्ता, तनाव बढाउने र दिक्कलाग्दो अल्छी, औडाह हुने शरीर बनाइदिन्छ साथै चिन्तालाई व्यवस्थित गर्ने शारीरिक प्रणालीलाई निस्तेज पार्नसक्छ ।
समस्याहरूको पोकोः
निद्रा चाहिनेभन्दा कमि भयोभने मस्तिष्कमा निदाउँदामात्रै हुने जैविक सुघ्घर-सफाई गर्ने प्रक्रिया अवरुद्ध हुनसक्छ । शरीरले कामलाग्ने पोषक सोसेर लिन्छ र नलाग्ने, सँक्रमण गर्नसक्ने पदार्थहरूलाई बाहिर निस्काशन गराउँछ । त्यस्तो निस्काशनमा मलमूत्र, पसिना, राल, सिँगान, खकारजस्ता पदार्थहरू मिर्गौलासङ्ग सम्बन्धित लिम्फ्याटिक प्रणालीको धेरै योगदान रहेको हुन्छ । मस्तिष्कमा दिनभरीको कामकाज र सोचाईबाट उत्पादन भएका अनुचित फोहरहरूको सफाइ गर्न त्यहाँ लिम्फ्याटिक प्रणालीमा जोडिने नली नभएकाले यस्तै काम गर्ने ग्लिम्फ्याटिक प्रणालीले सफाई गर्दछ । मस्तिष्कमा उत्पादनभई र मेरुदण्डतिर पनि प्रसारित हुने मगजकै तरल पदार्थमध्ये मस्तिष्कमा कोषहरू नष्ट गर्ने बिटाएम्ल्वाइड प्रोटिनलाई निस्काशन गर्न मस्त निन्द्रामा सुत्दा मात्र सघाउँछ । रातीको निद्रा नभइकन मगजमा सफाई अति न्युनमात्र हुनसक्छ । फलस्वरुप, त्यो हानिकारक पदार्थ जम्मा हुन थाल्छ र यसले पिडा, आक्रोश, दुखाई साथै दिक्क होइने मनस्थिति विकास गराउँछ । त्यसपछि शरीरमा एउटा भिषण दुष्ट्याइँको श्रृङ्खलाचक्र सुरु हुन थाल्छ । त्यो नकारात्मक प्रभाव पार्ने बिटाएम्ल्वाइड मस्तिष्कको अगाडिको भागमा जम्मा भएर बढ्न थालेमा निद्रा बिथोल्ने र कम भएर सुत्ने प्रक्रियामा नै व्यवधान गर्दछ । अति हुन लागेमा यस्को प्रभावले ननिदाउने त हुन्छ नै साथै पहिलेका कुरा बिर्सने र सम्झनाहरू मगजमा जम्मा हुन छाड्छन् ।
एकरात मात्रै सुत्नै नसक्दा पनि अरु दिनमा दैनिक बढ्नेभन्दा बढि बिटाएम्ल्वाइड बढेर समस्या पारिदिएको हुन्छ । एक रातकै सुताई गडबडी र अनिदोले त्यति धेरै कुप्रभाव पारिसकेको हुँदैन, किनकी अर्को रातको मस्त निद्राले क्षतिपूर्ति गर्न सक्छ । तर लगातारको अनिदो र अल्पनिद्राले त्यो खराब उत्पादन यति बढ्छ कि त्यस्को थुप्रोले मस्तिष्कका विभिन्न भागका हुनुपर्ने आकार, अस्तित्व, क्रियाकलाप र सक्रियता ह्रास हुनथाल्छ । त्यसो हुँदै गएमा सूचनाको थलो थालामस, मगजको तलतिर कञ्चटको पछाडी दायाँबायाँ रहेको सानो स्नायु भाग हिप्पोक्याम्पसले गन्ध, भावना, जोश, जाँगर, स्मृति साथै मुटुको चाल, श्वासप्रश्वास र पसिना आउनेजस्ता स्वचालित प्राकृतिक कुरामा नियन्त्रण बिग्रने पनि हुन्छ । यस्तो हुनु भनेको अल्ज्हाइमरको प्रारम्भिक सुरुवात भएको पनि भन्न सकिन्छ र त्यसको मूल जरो भनेको त अनिदोपनको कारणले नै हो ।
पीडा हुँदा र चोटपटक लाग्दा हुने सुन्निने र औडाहा हुने प्रक्रियाले प्राकृतिक तवरले शरीरले स्थिति सामान्य नरहेको जानकारी दिएको हो । श्वासप्रश्वासको सङ्क्रमण हुँदा र शारीरिक चोटपटकमा शरीरले तपाइँको प्रतिरक्षा प्रणालीलाई सकृय गराउँछ । यस्तोगर्दा पहिलेकोभन्दा बढि सेता रक्तकण बढाई शैनिकजस्ता ती कणहरूले कोषभित्र रहेका जैविक साइटोकाइनेज पदार्थ र अरु दुखदिने अणु विरोधीहरू उत्पादन गर्न थालिहाल्छन् । ती दुबै पदार्थहरूले शरीरमा प्रविष्ट भएका हानिकारक बस्तुमाथि निर्मम हमला गरी नष्ट गर्छन् र शरीरका तन्तुहरूलाई नोक्सान हुनबाट जोगाउँछन् । सङ्क्रमण अल्पकालिन र घाउचोट सामान्य हुँदा त ती बस्तुबाट रोकथाम नै हुनसक्छ तर त्यो पीडा र औडाह निरन्तर खालको भएमा तिनैले मुटुरोग, मधुमेह, घात, अवुर्दरोग क्रमैसँग भएर अन्त्यमा अल्ज्हाइमर विकसित गरिदिन्छन् ।
नोबेल पुरस्कार विजेताको कुराः
वेन्की रामाकृष्णनले जैविक कोषभित्र रहेका जीवित ससाना कोषिकाङ्ग मध्येको प्रोटिन सम्श्लेषण गर्ने राइबोसोमको आकार र उस्को कामहरू बारेमा अध्ययन गरेकाले २००९को विश्व प्रसिद्ध नोबेल पुरस्कार हात पारेका थिए । त्यस अनुसन्धानको बलमा उनले मानिसका उमेर सँगसँगै यसले के प्रभाव पार्छ र उमेरिएका अवस्थामा पाका मान्छेलाई पर्ने सकारात्मक नकारात्मक प्रभावमा अध्ययन गरे । उनको अनुसन्धानका विविध पक्षमा विश्लेषण गरी ‘हामी किन उमेरिने गर्छौं र किन मृत्यु हुन्छ ?’ भन्ने शीर्षकमा एक गहकिलो बहुचर्चित पुस्तक प्रकाशित गरेका छन् । गत अप्रिल २०२४ मा प्रकाशित एक संक्षिप्त लेखबाट अहिले संसारभरीका
मानिस अमरता प्राप्त गर्न मानिसले के के गर्नुपर्छ भनि उनले सुझाएको बाटोमा हुन्छ कि भनि लागेका छन् ।
मानिसहरू वा अरु कुनै जीव उमेर धेरैभएको वा बुढो भएको वा धेरै उमेरका पाका मान्छेलाई उमेरिएको भन्नु भनेको के हो ? यस जिज्ञासाको सरल जवाफमा वैज्ञानिक रामाकृष्णन भन्नुहुन्छ, ‘उमेरिनु भनेको शरीरभित्रका हाम्रा सबै तन्तु र कोषहरूमा क्रमिकरुपले रासायनिक क्षति भएर व्यतित समयसँगै अति बढेको अवस्थामा पुग्नु हो ।’ उमेर बढ्दै जाँदा शरीरभित्र ससाना कमी वा नकारात्मक बस्तु बढेका हुन्छन् । प्राकृतिक तरिकाले नै तिनलाई हटाउन र धोइपखाली गरी निस्काशन गर्न नसक्दा तिनै खराब बस्तुहरू एकएक गरेर शरीरभित्रै थुप्रिन्छन् । यसरी जम्मा भएका कलुषित पदार्थकै कारणले विभिन्न स्वास्थका समस्याहरू पाको उमेरका मान्छेमा आउन थाल्छन् । एक पछि अर्को आन्तरिक जैविक प्रणालीमा समस्या बल्झिएर समस्याहरूको बोझ बढ्छ र अन्त्यमा सबै भित्र्याँसका महत्वपूर्ण प्रणालीहरूले कामगर्न छाडेर मानिसको मृत्यु हुन्छ ।
मानिसको मृत्यु र पिरपिराउ बारेमा गत एक दशकमा वैज्ञानिक अनुसन्धानको निकै बृद्धि भएर तिन लाखभन्दा बढि लेखहरू प्रकाशित भएका छन् । ती सबै लेखहरूमा विश्व्यापी प्रयाशचाहिँ ‘मुत्युलाई बुझ्न, उमेर बढिमा किन भइहाल्छ तथा मृत्युलाई झुक्क्याउन सकिन्छ कि ?’ भन्ने नै छ । यस वैज्ञानिक तथ्यलाई अत्मसात् गरेर आर्थिक लगानीका आधारमा मृत्युलाई पर सार्न उमेरिने विरुद्धमा अरबौँ डलर खर्च भएको छ । अहिले संसारका अरबपति धनाढ्यहरू पनि आयु लम्ब्याउने र सकेमा अमरत्व प्राप्त गर्न उत्सुक भएका समाचारहरू छ्यापछ्याप्ती थाहा पाइएका छन् । अरबपतिहरू जस्तैः एलोन मस्क, पिटर थेल, लार्री पेज, सेर्गेइ ब्रिन, जेफ बिजोस, मार्क जुकरबर्ग लगायत नेपालका भौतिकवादी धनाढ्यहरू पनि कसरी आयु बढाउने भन्दै विभिन्न उपाय, ध्यान, योग र भैँसीपूजामा समेत सक्रिय भएका देखिन्छन् । यस्ता कतिपयले मानवहितमा भन्दै आफ्नो उमेरिएको ज्यान नहोस् भन्ने लोभले बढ्दो उमेर विरुद्धमा भएका अनुसन्धानमा लगानी गर्न पनि चाहेका पाइन्छन् । यसले प्रमाणित गर्दछ, मानिसहरू सकेसम्म धेरै बाँच्न चाहन्छन् र उमेरिएको जीर्ण शरीर हुँदै मर्नै नपरोस् ! भनि लागेका छन् । ओहो, जीवन जिउने लिप्सा कति प्रबल छ, हँ ?
अहिलेको संसारको जनसाङ्खिक आँकडा हेर्दा उल्लेख्यरुपले बाँच्ने उमेरमा परिवर्तन आएको पाइन्छ । विश्वव्यापी रुपमा मान्छेका उमेरसमुहमासमेत व्यापक घटबढ भएको छ । संसारभरिको यस परिवर्तनलाई सन १९१३ देखि २०२२ सम्मको आयु सम्भाव्यता द्रुत गतिमा बढेको देखिन्छ । त्यस अवधिमा ३४ वर्षबाट मानिसको सम्भाव्य सरदर आयु बढेर ७२ वर्ष पुगेको छ । चिकित्सा प्रणालीको विकास, महामारीमा रोकथाम र खानपानमा आएको उन्नत तरिकाले गर्दा आायु बृद्धि भएको छ । जनसङ्ख्याको बृद्धिलाई रोकथाम गरेकाले जन्मदर घटेको छ भने उपरोक्त कारणले बाँच्ने आयु बढेको छ । त्यसैले उमेरिएका पाका मान्छेको सङ्ख्या र प्रतिशत पनि बढेको छ । नेपालमै जनगणनाको लिखत हेर्दा आयुसम्भाव्यता वि.सं. २०४८ सम्म ५४.३ वर्षबाट बढेर तिस वर्षपछि २०७८ को जनगणनामा ७१.३ वर्ष पुगेको छ । त्यसैगरी पहिले हातका अाैँलामा गनिने भएका उमेरिएका पाका मान्छे हाल कुल जनसङ्ख्याको १०.२१% भए पनि मतदाताको हिसाबले नेपालमा ४०% बढि देखिन्छन् ।
विश्व स्वास्थ सङ्गठनका अनुसार सन २०३० सम्ममा हरेक छ जनामा संसार भरिमा एक ६० वर्ष माथिका उमेरिएका पाका मान्छे हुनेछन् । यस्तो अवस्था भएकाले त सन २०२० मा करिब दश करोड रहेका पाका मान्छे यसै थोरै अवधिमा चौध करोड पुगिसक्ने छन् । अझै पछाडिको अनुमानित आङ्कलन गर्ने हो भने सन २०५० सम्ममा उमेरिएका पाकाहरू दोब्बर भएर करिब २१ करोड भइसक्ने छन् । यसको सोझो प्रभाव आयुसम्भाव्यता पनि बढेको हुनेछ भने निश्कृय भनिएका ज्येष्ठ नागरिक नै विश्व समुदायमा बहुसङ्ख्यक भएको मानवसमाज बन्ने छ । त्यस्तो अवस्थामा अनुमानित असि वर्ष माथिका पाका नागरिकको सङ्ख्यामा तिनगुना बृद्धि भई सन २०५० सम्ममा सन २०२०को गणनामाभन्दा तिनगुना बढेर चार करोड २६ लाख भन्दा बढि हुनेछन् । यसप्रकारको प्रक्षेपणको आँकडा अनुमान गर्दा त अबका विश्वव्यापी कार्यक्रम र स्थानिय अवशरका लागि पाकाउन्मुख रहेर उमेरिएकाको लागि नै धेरै परियोजना केन्द्रित गरिनुपर्ने हुन्छ ।
आधुनिक चिकित्सा विज्ञानको प्रगतिले मान्छेलाई चाँडै मृत्युसँग जम्काभेट गराउन नदिएका प्रसस्त उदाहरण नेपालमा पनि धेरै जना पाइन्छन् । गत २०७८ जनगणनामा ८० वर्ष नाघेका पाका उमेरिएका मान्छेहरू २,८७,५२३ जना भएकोमा एक सय वर्ष नाघेका पनि हरेक जिल्लाजसोमा पाइएका थिए । कलावती चालिसे बागलुङमा १०५ वर्ष, बाटुली लामिछाने नुवाकोटमा ११९ वर्ष (संसारकै जेठी महिला) लगायत करिब ४हजार पाका १०० वर्ष नाघेर उमेरिएका मान्छेहरू नेपालमा भएको आँकडा छ । सन १९९७ मा बितेका जीने कामेन्ट १२२ वर्षमा बितेर त्यस अघिको शताव्दीमा भएको आयु साम्भाव्यता भन्दा दोब्बर बाँचेको मान्छेको उपाधि पाए । यसरी हरेक शताव्दीमा बाँच्न सकिने आयुसम्भाव्यता बढेर जाने हो भने संसारको अर्थव्यवस्था, राजनीति र क्रियाशील वातावरणमा उलटफेर हुने नै छ । अहिलेका मानिसका आवश्यक्ता, जनसाङ्खिक वितरण, गरिनुपर्ने कार्यक्रमहरूको सट्टा नयाँ खालको विधिप्रविधि तथा उमेरिएका मानिस लक्षित काममै दृष्टि दिनु जरुरी भएको हुन्छ । आज संसारले उमेरिएकाहरूको बढ्दो सङ्ख्यालाई अवको अवस्थामा सामाजिक संरचनामा विष्फोटक घडीमा आइपुगेको अनुभव गरेका छन् ।
उमेरिएकाहरूको समुहगत आवश्यक्ता र व्यवस्थापन वर्तमानमा देखा परिसकेका छन् भने बहुसङ्ख्यामा हुँदा अहिलेकै सोचले विकराल समस्या आउने भएकाले बेलैमा व्यवहारिक चाँजोपाँजो मिलाउन ढिलो भइसक्यो । संसारका सबै मान्छेको उत्पादकत्व श्रमशक्ति चुलीमा पुग्ने भनेको लगभग ४५ वर्षको उमेरतिर हुने भएको देखिन्छ । तर पनि धेरै पाका मान्छे उही गतिमा नभए पनि उमेरिदा असाध्य रोगव्याध नभए अझै उल्लेखनिय रुपले योगदान गर्नसक्ने प्रमाणहरू देखिएका छन् । उनीहरूमा निद्राको समस्या नभए धेरै रोगव्याधले सताउने हुँदैन भने भित्र्याँसको पीडा, सङ्क्रमणको सम्भावना पनि रहन्न । यस्तो भएरनै हिजोआज ओखती र सचेतनाको कारण उमेरिएका पाका मान्छे सय वर्ष बाँच्नु नौलो भएको छैन । अरु प्राणीमासमेत गरिएको अनुसन्धानले देखाएको छ, ‘यदि मानिस प्रजातिले उचित खानपान, व्यायाम र यथेष्ठ सुताई गरेमा नै दीर्घजीवन, स्वस्थ शरीर र शताव्दि नाघ्ने अवशर पाउँछ’ वैज्ञानिक रामाकृष्णन आशावादी हुनुहुन्छ । हेर्दै जाऔँ आउँदा अझै धेरै पछिका शताव्दिमा अमरत्व पाउने लिप्सा पनि पुरा गर्ने मौका पाउँछ कि ? हुन त, पाकाले आँटे र गर्ने वातावरण हुन बयस्कले सहयोग गरे अहिलेसम्मको प्रकृतिक नियम जीत्न मानव जाति सक्षम बन्छ कि बन्दैन भविष्यले साञ्चै देखाउला कि ?
जाँगरका कुराः
संसारमा जहाँ बसे पनि नियमितता र सतर्कताले मानिसको आयु बढ्न सक्छ । स्वास्थप्रति हेलचक्र्याइँ, केटाकेटी अवस्थादेखिको लगातारको भिन्नभिन्न तलमाथिको परिवेशले स्वास्थ बिग्रिएको मानिसमा मृत्युले चाँडै आँखा गाड्न सक्छ । पहिले जे भए पनि अहिले पाको उमेरिएको अवस्थामा अलिकति स्वास्थप्रति ख्यालराखी खानपान, व्यायाम र उचित ओखतीमूलोले हरेक व्यक्तिले लामो आयु पाउन सक्छ । पाका मान्छेले सुहाउँदो र सक्ने व्यायाम कायम राखेमा मांसपेशीहरू बलिया भएर बल, जाँगर र कामप्रति इच्छा जागेर चिन्तित रहने, नकारात्मक कुरा घटने आदि भएर लामो सकृय आयु बनाउन सक्छन् । उचित कसरतले हामी पाकाले मुटुरोग, मधुमेह, बाथ, हाड खिइएर जोर्नी दुख्ने र सुन्निएर हिँडडुलमा बाधा परेको व्यवस्थापन गर्न साथै रोकथाममा मद्दत पुग्छ । व्यायामले नै रक्ततचापको गडबडी, शरीरको मोटोपन, तौल, उमेर र उचाइअनुसार ठिक्क राख्न सकिन्छ । ‘बुढा-बुढी भइयो’ भनेर पाका मान्छे निसोखेभएर जीवनप्रति निच मारेर बस्ने होइन बरु सकेको सकृय हुनु सुखद उमेरिनुमा पर्दछ ।
हार्वाड मेडिकल कलेजले दिएको जानकारीमा हरेक दिन पाका मान्छे उत्सुकतासाथ बिहान उठ्ने र दिनभरिको सकेको कामको फेहरिुस्तमा गम्भीर भएर मनन् गरी लाग्ने इच्छा जगाउनु पर्छ भनेको छ । दिनभरिनै आफूलाई मर्का पर्ने, नराम्रो लाग्ने, अरुले घोचपेच र छनक हान्ने कामतिर नलाग्ने बरु बाधा नदिई आफूलाई मनपर्ने उत्पादनशील कामतिर ध्यान दिनु सुखद हुन्छ । व्यायाम गर्न लाग्दा कस्तो, कतिबेर कहाँ परिवारलाई सबै जानकारी दिएर व्यस्त रहने गर्नुपर्दछ । जहिले पनि व्यायाम गर्दा लामोलामो श्वासप्रश्वास गरेर प्राणवायुको सहज आपूर्ति गर्ने काम राम्रो हुन्छ । चाँडै थकाइ लाग्ने, जोर्नीहरू दुख्ने व्यायाम कम गर्नुहोस्, हातखुट्टाको व्यायाम गर्दा बिस्तारै एकछिन घुँडा र कुहिना बङ्ग्याएकै अवस्थाबाट सुरु गरी अनि तन्काउने गर्नुहोस् । व्यायामले राम्रो हुन्छ भन्दै एकै पटक धेरैबेर र शक्ति पनि धेरै लाग्ने व्यायाम यो पाको ज्यानले धान्दैन, परिणाम चाँडै आउने आशले खतरा नमोल्नुहोस् । सामान्य कमजोरी हुँदा त व्यायाम उमेरिदा छोड्नु पर्छ भने ‘यस्तै पर्यो घरपरिवारमा रहँदा बस्दा’ भनेर नसक्ने कुरामा पनि ज्यानै फाल्ने दौडधुप नगर्नोस् ।
बिरामी हुँदा पनि सकेमा सुतिसुती वा बसेर गाह्रो नहुनेगरी जीउ तन्काउनु होस्, यसले शरीरलाई हल्का कसरत भइहाल्छ अनि स्वस्थ हुँदै गएपछि आफ्नो तालिकामा फर्कनुहोस् । आफ्नै शरीरको अवाज अर्थात प्रतिक्रिया शूक्ष्मढङ्गले अध्ययन गर्नुहोस् र शरीरले मागेको तथा चाहेको आराम कसरत गरेमा शरीर स्वस्थरही जीवन पनि धेरै लम्व्याउन सकिन्छ । सुखद भविष्यको कल्पनामात्र होइन, काममा सक्रियता बढाएमा पक्कै हामी सफल हुन कुनै चमत्कार चाहिँदैन र कुनै ‘जगतका मालिक प्रकट हुने’ आशामा निन्याउरो, मलिन र पिञ्चे अनुहार लगाइरहन पर्दैन, हामी नै सक्छौं ! शारीरिक अवस्थामा विवेकी भई सकृयता, मानसिकरुपले निश्छल पूर्वाग्रहरहित बिचार र नयाँ कुरा प्रतिको उत्सुकतासहित बहुजनहितायको चेतना भएका हामी पाका उमेरिएका मानिसहरूमा जाँगर त बिचारले हरपल विकसित गरी हाल्छ नि !
अन्त्यमा,
निद्राको कमी र चिन्तित मन ‘उमेरिएकाको लागि कालको भाई’ हुन्, यिनलाई टाढै राख्नु पर्छ । जाँगर त चिन्तनप्रणालीको सहज, सकारात्मक चिन्तनले उल्क्याउने कुरा हुन्, केवल निम्नपूँजिवादी, व्यक्तिवीर महत्वाकाङ्क्षी र पैसाको पछि दगुर्ने द्रव्यपिसाच हुन छाड्नुहोस् । एकबारको जीवनमा कसरी लामो समय सर्वसाधारणको हितमा धेरैले मन पराइने ‘आँखामा हाले पनि नबिझ्ने होइन्छ ?’ त्यता सोच्नुहोस्, सकारात्मक भई पल्टेमा निद्राले ओछ्यान नपुग्दै च्यापि सक्छ । जाँगरमा उत्सुकता, शारीरिक स्वस्थता र असल काम प्रतिको चाहना जोडिएका छन् । यीनलाई व्यवस्थित गर्न उचित खानपान, व्यायाम र जीवनप्रतिको मोह जोल्ठिएर आएका हुन्छन् । तिनलाई अंशबण्डा नगरिदिनोस्, बस हाम्रो कर्तव्य पुग्छ, अनि जीवन धेरै लामो र रमाइलो हुन्छ ! अरुको हितमा त अनुभवयुक्त ज्ञान अर्पित गर्ने उमेरिएका पाकाहरूले आफ्नो हितमा यति गर्न पछिपरौँला त ! पक्कै पर्दैनौँ !
०००
११ असोज, २०८१
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest




































