साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेका निद्रा र जाँगरका कुरा !

जाँगरमा उत्सुकता, शारीरिक स्वस्थता र असल काम प्रतिको चाहना जोडिएका छन् । यीनलाई व्यवस्थित गर्न उचित खानपान, व्यायाम र जीवनप्रतिको मोह जोल्ठिएर आएका हुन्छन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

हरेक उमेरसमुहलाई उचित मात्रामा व्यायाम, खानपान र विश्राम सहितको मस्त निद्रा आवश्यक हुन्छ । भर्खर जन्मिएका शिशुहरूको सुताई बढि हुन्छ र दुध चुस्दाचुस्दै लोलाएर निदाउँछन् । उनीहरू प्राय भोक लागेपछि वा वाह्य हस्तक्षेपले मात्र उठ्ने गर्छन् भने तन्द्रामा त (कुटुनीले खेलाएको भनिने) रमाउँदै निदाएका देखिन्छन् । चार महिनादेखि एक वर्षसम्म उमेरका शिशुले कम्तीमा १२ देखि १६ घण्टा दैनिक मस्त सुतेकै हुनुपर्छ । त्यसो भएमा उनीहरू राम्ररी फस्टाउन सक्ने हुन्छन, कम सुताइले खिरिलो मात्र देखिने भए पनि बलिया नहुन सक्छन् । त्यस्तै उमेर बढ्दै जाँदा स्वस्थ मानिसको निद्रा लाग्ने समय घटदै जान्छ र पाको हुँदा त बढिमा ७ घण्टा मस्त निदाउने भए पुग्छ । अरु उमेरसमुहमा राती निद्रा कचमचिए दिउँसो उँघेर पूर्ताल गर्न सक्छन् तर पाको उमेरमा दिउँसोको बाह्य हस्तक्षेप बढि हुने भएर मस्त निदाउन अप्ठ्यारो पर्छ । त्यसैले त ‘एक रातको निद्राले सात रात पिर्छ, निद्रा कम हुने उमेरिएका पाका चाँडै थला पर्छन्, कम सुत्ने वा धेरै सुत्ने पाका मान्छेले अन्त्य अवस्थामा झुक्क्याउँछन्’ भन्ने चलन नै छ । यस्ता लोकोक्तिहरूबाट पाका मान्छेलाई व्यवधान बिनाको ठिक्क मस्त निद्राको अती महत्व छ, भन्ने नै जनाउँछ ।

निद्रा हराउँदाः
विश्व प्रसिद्ध नेचर प्रत्रिकामा विज्ञान र प्रविधि स्तम्भमा गत अप्रिल २०२४ को अङ्कमा शरीरमा दुखाई र मानसिक तनाव निद्रा कचमचिएर नपुगी वा अनिदो भएर कसरी हुन्छ भन्ने लेख छापिएको थियो । निद्राबिहिन वा अनिदो भनेको प्रयाप्त निद्रा नहुनु र मस्त निद्रामा नपर्ने एउटा विशेष अवस्था हो । यस्तो धेरै रातमा हुँदा मान्छेको प्रवृत्ति, स्वभाव, सँस्मरण र शरीरको उर्जामा असर गरिरहेको हुन्छ । त्यसो भएमा जीउ आलस्य हुने, जाँगर नलाग्ने, शरीर सुन्निने, दुख्ने प्रक्रियालाई सघाउँछ । अनुसन्धानले पत्तो लगाएअनुसार अनिद्राले दिक्कलाग्दो दुखाई र तनाव पनि लिएर आउन सक्छ किनकी त्यस अवस्थामा शरीरभित्र दुखी गराउने अणुहरूलाई बढाउन थाल्दछ । त्यस्ता समस्या बढाउनेहरूमा कोषभित्र साइटोकाइन, इन्टरल्युकिन-६, सि-रियाक्टिभ प्रोटिन र अरु (मान्छेका मुटुरोग तथा मधुमेह समस्या बढाउन मद्दत गर्ने) बस्तुहरू बढाउन उत्प्रेरित गर्ने नै हुन्छन् ।

यस्ता दिक्क लगाउने लक्षणहरू देखाउन त उदाहरणको लागि चिन्ता, धुमपान, मोटोपनाहरूले ग्रसित पाका मान्छेहरूलाई पनि योगदान गरिरहेका हुनसक्छन् । त्यसैले यस्ता रोगहरू भएका मान्छेमा कम निद्राको प्रभावले झन बढी समस्या हुने प्रक्रियामा भूमिका खेलिरहेको देखिन्छ । वाक्क लाग्ने र शरीर दुख्ने/सुन्निने भनेको वास्तवमा रोगलाग्न थालेको र घाउचोट लागेको प्रतिक्रियास्वरुप जानकारी दिने पूर्वप्रतिक्रिया अवस्था पनि हो । यस्तो सबै मानिसको शरीरमा लाग्नसक्ने रोगव्याधको अग्रिम सूचना दिने अल्पकालिन प्रणालीका साथै रोगविरुद्धको प्रभावकारी शारीरिक प्रतिरक्षात्मक प्रक्रिया पनि हो । केहिगरी त्यस्ता अवस्था नदेखाई शारीरिकरुपले पूर्वजानकारी नहुने त शरीर सचेत नभएको अवस्थाले हो । रक्षात्मक उपायहरू सुरु नभएकाले हृदयरोग, मधुमेह, घात, अवुर्दरोग र अल्ज्हाइमर (अल्झाउने रोग) समेत हुनलाई तिनले बलियो भूमिका खेलेको देखिन्छ ।

निद्रा हराउँदा वा हरेक रात कचमचिने र शरीरको प्रतिक्रियास्वरुप दुख्ने/सुन्निने/दिक्कलाग्ने लक्षणहरूबिच अन्तरसम्बन्धहरू अध्ययनले मात्र कम निदाउने मान्छेमा किन अरु असाध्य अवस्थाहरूका साथै भित्र्याँसका रोगहरू, उच्चरक्तचाप र मधुमेहका खतरामा भएको हुन्छन् भन्ने थाह हुन्छ । शारीरिक डाह र पोलाई किन निद्राको कमीसँग जोडिएको हुन्छ त ? एउटा सिद्धान्तको भनाइमा यस्तो प्रक्रियामा रक्तनलीहरूसँग सम्बन्धित भएकोतिर एकाग्रता गर्नुपर्ने भनाइ छ । सुताईको क्रममा रक्तचाप घटेको हुन्छ र ती रक्तनलीहरू आरामीमा रहेका हुन्छन् । कम निद्रा र सुताई नै कचमचिँदा प्राकृतिकरुपले रक्तचाप कम हुने समयमा बिउँझिएकाले हुनुपर्ने जति कम हुन पाउँदैन । यस्तो अवस्थामा रक्तनलीका भित्ताका कोषहरूलाई उत्तेजित पारिदिन सक्छन् जस्लेगर्दा दुखाई, सुन्निने र दिक्कलाग्ने प्रक्रियालाई सक्रिय बनाइदिन सक्छन् । सुताइको कमिले चिन्ता, तनाव बढाउने र दिक्कलाग्दो अल्छी, औडाह हुने शरीर बनाइदिन्छ साथै चिन्तालाई व्यवस्थित गर्ने शारीरिक प्रणालीलाई निस्तेज पार्नसक्छ ।

समस्याहरूको पोकोः

निद्रा चाहिनेभन्दा कमि भयोभने मस्तिष्कमा निदाउँदामात्रै हुने जैविक सुघ्घर-सफाई गर्ने प्रक्रिया अवरुद्ध हुनसक्छ । शरीरले कामलाग्ने पोषक सोसेर लिन्छ र नलाग्ने, सँक्रमण गर्नसक्ने पदार्थहरूलाई बाहिर निस्काशन गराउँछ । त्यस्तो निस्काशनमा मलमूत्र, पसिना, राल, सिँगान, खकारजस्ता पदार्थहरू मिर्गौलासङ्ग सम्बन्धित लिम्फ्याटिक प्रणालीको धेरै योगदान रहेको हुन्छ । मस्तिष्कमा दिनभरीको कामकाज र सोचाईबाट उत्पादन भएका अनुचित फोहरहरूको सफाइ गर्न त्यहाँ लिम्फ्याटिक प्रणालीमा जोडिने नली नभएकाले यस्तै काम गर्ने ग्लिम्फ्याटिक प्रणालीले सफाई गर्दछ । मस्तिष्कमा उत्पादनभई र मेरुदण्डतिर पनि प्रसारित हुने मगजकै तरल पदार्थमध्ये मस्तिष्कमा कोषहरू नष्ट गर्ने बिटाएम्ल्वाइड प्रोटिनलाई निस्काशन गर्न मस्त निन्द्रामा सुत्दा मात्र सघाउँछ । रातीको निद्रा नभइकन मगजमा सफाई अति न्युनमात्र हुनसक्छ । फलस्वरुप, त्यो हानिकारक पदार्थ जम्मा हुन थाल्छ र यसले पिडा, आक्रोश, दुखाई साथै दिक्क होइने मनस्थिति विकास गराउँछ । त्यसपछि शरीरमा एउटा भिषण दुष्ट्याइँको श्रृङ्खलाचक्र सुरु हुन थाल्छ । त्यो नकारात्मक प्रभाव पार्ने बिटाएम्ल्वाइड मस्तिष्कको अगाडिको भागमा जम्मा भएर बढ्न थालेमा निद्रा बिथोल्ने र कम भएर सुत्ने प्रक्रियामा नै व्यवधान गर्दछ । अति हुन लागेमा यस्को प्रभावले ननिदाउने त हुन्छ नै साथै पहिलेका कुरा बिर्सने र सम्झनाहरू मगजमा जम्मा हुन छाड्छन् ।

एकरात मात्रै सुत्नै नसक्दा पनि अरु दिनमा दैनिक बढ्नेभन्दा बढि बिटाएम्ल्वाइड बढेर समस्या पारिदिएको हुन्छ । एक रातकै सुताई गडबडी र अनिदोले त्यति धेरै कुप्रभाव पारिसकेको हुँदैन, किनकी अर्को रातको मस्त निद्राले क्षतिपूर्ति गर्न सक्छ । तर लगातारको अनिदो र अल्पनिद्राले त्यो खराब उत्पादन यति बढ्छ कि त्यस्को थुप्रोले मस्तिष्कका विभिन्न भागका हुनुपर्ने आकार, अस्तित्व, क्रियाकलाप र सक्रियता ह्रास हुनथाल्छ । त्यसो हुँदै गएमा सूचनाको थलो थालामस, मगजको तलतिर कञ्चटको पछाडी दायाँबायाँ रहेको सानो स्नायु भाग हिप्पोक्याम्पसले गन्ध, भावना, जोश, जाँगर, स्मृति साथै मुटुको चाल, श्वासप्रश्वास र पसिना आउनेजस्ता स्वचालित प्राकृतिक कुरामा नियन्त्रण बिग्रने पनि हुन्छ । यस्तो हुनु भनेको अल्ज्हाइमरको प्रारम्भिक सुरुवात भएको पनि भन्न सकिन्छ र त्यसको मूल जरो भनेको त अनिदोपनको कारणले नै हो ।

पीडा हुँदा र चोटपटक लाग्दा हुने सुन्निने र औडाहा हुने प्रक्रियाले प्राकृतिक तवरले शरीरले स्थिति सामान्य नरहेको जानकारी दिएको हो । श्वासप्रश्वासको सङ्क्रमण हुँदा र शारीरिक चोटपटकमा शरीरले तपाइँको प्रतिरक्षा प्रणालीलाई सकृय गराउँछ । यस्तोगर्दा पहिलेकोभन्दा बढि सेता रक्तकण बढाई शैनिकजस्ता ती कणहरूले कोषभित्र रहेका जैविक साइटोकाइनेज पदार्थ र अरु दुखदिने अणु विरोधीहरू उत्पादन गर्न थालिहाल्छन् । ती दुबै पदार्थहरूले शरीरमा प्रविष्ट भएका हानिकारक बस्तुमाथि निर्मम हमला गरी नष्ट गर्छन् र शरीरका तन्तुहरूलाई नोक्सान हुनबाट जोगाउँछन् । सङ्क्रमण अल्पकालिन र घाउचोट सामान्य हुँदा त ती बस्तुबाट रोकथाम नै हुनसक्छ तर त्यो पीडा र औडाह निरन्तर खालको भएमा तिनैले मुटुरोग, मधुमेह, घात, अवुर्दरोग क्रमैसँग भएर अन्त्यमा अल्ज्हाइमर विकसित गरिदिन्छन् ।

नोबेल पुरस्कार विजेताको कुराः
वेन्की रामाकृष्णनले जैविक कोषभित्र रहेका जीवित ससाना कोषिकाङ्ग मध्येको प्रोटिन सम्श्लेषण गर्ने राइबोसोमको आकार र उस्को कामहरू बारेमा अध्ययन गरेकाले २००९को विश्व प्रसिद्ध नोबेल पुरस्कार हात पारेका थिए । त्यस अनुसन्धानको बलमा उनले मानिसका उमेर सँगसँगै यसले के प्रभाव पार्छ र उमेरिएका अवस्थामा पाका मान्छेलाई पर्ने सकारात्मक नकारात्मक प्रभावमा अध्ययन गरे । उनको अनुसन्धानका विविध पक्षमा विश्लेषण गरी ‘हामी किन उमेरिने गर्छौं र किन मृत्यु हुन्छ ?’ भन्ने शीर्षकमा एक गहकिलो बहुचर्चित पुस्तक प्रकाशित गरेका छन् । गत अप्रिल २०२४ मा प्रकाशित एक संक्षिप्त लेखबाट अहिले संसारभरीका
मानिस अमरता प्राप्त गर्न मानिसले के के गर्नुपर्छ भनि उनले सुझाएको बाटोमा हुन्छ कि भनि लागेका छन् ।

मानिसहरू वा अरु कुनै जीव उमेर धेरैभएको वा बुढो भएको वा धेरै उमेरका पाका मान्छेलाई उमेरिएको भन्नु भनेको के हो ? यस जिज्ञासाको सरल जवाफमा वैज्ञानिक रामाकृष्णन भन्नुहुन्छ, ‘उमेरिनु भनेको शरीरभित्रका हाम्रा सबै तन्तु र कोषहरूमा क्रमिकरुपले रासायनिक क्षति भएर व्यतित समयसँगै अति बढेको अवस्थामा पुग्नु हो ।’ उमेर बढ्दै जाँदा शरीरभित्र ससाना कमी वा नकारात्मक बस्तु बढेका हुन्छन् । प्राकृतिक तरिकाले नै तिनलाई हटाउन र धोइपखाली गरी निस्काशन गर्न नसक्दा तिनै खराब बस्तुहरू एकएक गरेर शरीरभित्रै थुप्रिन्छन् । यसरी जम्मा भएका कलुषित पदार्थकै कारणले विभिन्न स्वास्थका समस्याहरू पाको उमेरका मान्छेमा आउन थाल्छन् । एक पछि अर्को आन्तरिक जैविक प्रणालीमा समस्या बल्झिएर समस्याहरूको बोझ बढ्छ र अन्त्यमा सबै भित्र्याँसका महत्वपूर्ण प्रणालीहरूले कामगर्न छाडेर मानिसको मृत्यु हुन्छ ।

मानिसको मृत्यु र पिरपिराउ बारेमा गत एक दशकमा वैज्ञानिक अनुसन्धानको निकै बृद्धि भएर तिन लाखभन्दा बढि लेखहरू प्रकाशित भएका छन् । ती सबै लेखहरूमा विश्व्यापी प्रयाशचाहिँ ‘मुत्युलाई बुझ्न, उमेर बढिमा किन भइहाल्छ तथा मृत्युलाई झुक्क्याउन सकिन्छ कि ?’ भन्ने नै छ । यस वैज्ञानिक तथ्यलाई अत्मसात् गरेर आर्थिक लगानीका आधारमा मृत्युलाई पर सार्न उमेरिने विरुद्धमा अरबौँ डलर खर्च भएको छ । अहिले संसारका अरबपति धनाढ्यहरू पनि आयु लम्ब्याउने र सकेमा अमरत्व प्राप्त गर्न उत्सुक भएका समाचारहरू छ्यापछ्याप्ती थाहा पाइएका छन् । अरबपतिहरू जस्तैः एलोन मस्क, पिटर थेल, लार्री पेज, सेर्गेइ ब्रिन, जेफ बिजोस, मार्क जुकरबर्ग लगायत नेपालका भौतिकवादी धनाढ्यहरू पनि कसरी आयु बढाउने भन्दै विभिन्न उपाय, ध्यान, योग र भैँसीपूजामा समेत सक्रिय भएका देखिन्छन् । यस्ता कतिपयले मानवहितमा भन्दै आफ्नो उमेरिएको ज्यान नहोस् भन्ने लोभले बढ्दो उमेर विरुद्धमा भएका अनुसन्धानमा लगानी गर्न पनि चाहेका पाइन्छन् । यसले प्रमाणित गर्दछ, मानिसहरू सकेसम्म धेरै बाँच्न चाहन्छन् र उमेरिएको जीर्ण शरीर हुँदै मर्नै नपरोस् ! भनि लागेका छन् । ओहो, जीवन जिउने लिप्सा कति प्रबल छ, हँ ?

अहिलेको संसारको जनसाङ्खिक आँकडा हेर्दा उल्लेख्यरुपले बाँच्ने उमेरमा परिवर्तन आएको पाइन्छ । विश्वव्यापी रुपमा मान्छेका उमेरसमुहमासमेत व्यापक घटबढ भएको छ । संसारभरिको यस परिवर्तनलाई सन १९१३ देखि २०२२ सम्मको आयु सम्भाव्यता द्रुत गतिमा बढेको देखिन्छ । त्यस अवधिमा ३४ वर्षबाट मानिसको सम्भाव्य सरदर आयु बढेर ७२ वर्ष पुगेको छ । चिकित्सा प्रणालीको विकास, महामारीमा रोकथाम र खानपानमा आएको उन्नत तरिकाले गर्दा आायु बृद्धि भएको छ । जनसङ्ख्याको बृद्धिलाई रोकथाम गरेकाले जन्मदर घटेको छ भने उपरोक्त कारणले बाँच्ने आयु बढेको छ । त्यसैले उमेरिएका पाका मान्छेको सङ्ख्या र प्रतिशत पनि बढेको छ । नेपालमै जनगणनाको लिखत हेर्दा आयुसम्भाव्यता वि.सं. २०४८ सम्म ५४.३ वर्षबाट बढेर तिस वर्षपछि २०७८ को जनगणनामा ७१.३ वर्ष पुगेको छ । त्यसैगरी पहिले हातका अाैँलामा गनिने भएका उमेरिएका पाका मान्छे हाल कुल जनसङ्ख्याको १०.२१% भए पनि मतदाताको हिसाबले नेपालमा ४०% बढि देखिन्छन् ।

विश्व स्वास्थ सङ्गठनका अनुसार सन २०३० सम्ममा हरेक छ जनामा संसार भरिमा एक ६० वर्ष माथिका उमेरिएका पाका मान्छे हुनेछन् । यस्तो अवस्था भएकाले त सन २०२० मा करिब दश करोड रहेका पाका मान्छे यसै थोरै अवधिमा चौध करोड पुगिसक्ने छन् । अझै पछाडिको अनुमानित आङ्कलन गर्ने हो भने सन २०५० सम्ममा उमेरिएका पाकाहरू दोब्बर भएर करिब २१ करोड भइसक्ने छन् । यसको सोझो प्रभाव आयुसम्भाव्यता पनि बढेको हुनेछ भने निश्कृय भनिएका ज्येष्ठ नागरिक नै विश्व समुदायमा बहुसङ्ख्यक भएको मानवसमाज बन्ने छ । त्यस्तो अवस्थामा अनुमानित असि वर्ष माथिका पाका नागरिकको सङ्ख्यामा तिनगुना बृद्धि भई सन २०५० सम्ममा सन २०२०को गणनामाभन्दा तिनगुना बढेर चार करोड २६ लाख भन्दा बढि हुनेछन् । यसप्रकारको प्रक्षेपणको आँकडा अनुमान गर्दा त अबका विश्वव्यापी कार्यक्रम र स्थानिय अवशरका लागि पाकाउन्मुख रहेर उमेरिएकाको लागि नै धेरै परियोजना केन्द्रित गरिनुपर्ने हुन्छ ।

आधुनिक चिकित्सा विज्ञानको प्रगतिले मान्छेलाई चाँडै मृत्युसँग  जम्काभेट गराउन नदिएका प्रसस्त उदाहरण नेपालमा पनि धेरै जना पाइन्छन् । गत २०७८ जनगणनामा ८० वर्ष नाघेका पाका उमेरिएका मान्छेहरू २,८७,५२३ जना भएकोमा एक सय वर्ष नाघेका पनि हरेक जिल्लाजसोमा पाइएका थिए । कलावती चालिसे बागलुङमा १०५ वर्ष, बाटुली लामिछाने नुवाकोटमा ११९ वर्ष (संसारकै जेठी महिला) लगायत करिब ४हजार पाका १०० वर्ष नाघेर उमेरिएका मान्छेहरू नेपालमा भएको आँकडा छ । सन १९९७ मा बितेका जीने कामेन्ट १२२ वर्षमा बितेर त्यस अघिको शताव्दीमा भएको आयु साम्भाव्यता भन्दा दोब्बर बाँचेको मान्छेको उपाधि पाए । यसरी हरेक शताव्दीमा बाँच्न सकिने आयुसम्भाव्यता बढेर जाने हो भने संसारको अर्थव्यवस्था, राजनीति र क्रियाशील वातावरणमा उलटफेर हुने नै छ । अहिलेका मानिसका आवश्यक्ता, जनसाङ्खिक वितरण, गरिनुपर्ने कार्यक्रमहरूको सट्टा नयाँ खालको विधिप्रविधि तथा उमेरिएका मानिस लक्षित काममै दृष्टि दिनु जरुरी भएको हुन्छ । आज संसारले उमेरिएकाहरूको बढ्दो सङ्ख्यालाई अवको अवस्थामा सामाजिक संरचनामा विष्फोटक घडीमा आइपुगेको अनुभव गरेका छन् ।

उमेरिएकाहरूको समुहगत आवश्यक्ता र व्यवस्थापन वर्तमानमा देखा परिसकेका छन् भने बहुसङ्ख्यामा हुँदा अहिलेकै सोचले विकराल समस्या आउने भएकाले बेलैमा व्यवहारिक चाँजोपाँजो मिलाउन ढिलो भइसक्यो । संसारका सबै मान्छेको उत्पादकत्व श्रमशक्ति चुलीमा पुग्ने भनेको लगभग ४५ वर्षको उमेरतिर हुने भएको देखिन्छ । तर पनि धेरै पाका मान्छे उही गतिमा नभए पनि उमेरिदा असाध्य रोगव्याध नभए अझै उल्लेखनिय रुपले योगदान गर्नसक्ने प्रमाणहरू देखिएका छन् । उनीहरूमा निद्राको समस्या नभए धेरै रोगव्याधले सताउने हुँदैन भने भित्र्याँसको पीडा, सङ्क्रमणको सम्भावना पनि रहन्न । यस्तो भएरनै हिजोआज ओखती र सचेतनाको कारण उमेरिएका पाका मान्छे सय वर्ष बाँच्नु नौलो भएको छैन । अरु प्राणीमासमेत गरिएको अनुसन्धानले देखाएको छ, ‘यदि मानिस प्रजातिले उचित खानपान, व्यायाम र यथेष्ठ सुताई गरेमा नै दीर्घजीवन, स्वस्थ शरीर र शताव्दि नाघ्ने अवशर पाउँछ’ वैज्ञानिक रामाकृष्णन आशावादी हुनुहुन्छ । हेर्दै जाऔँ आउँदा अझै धेरै पछिका शताव्दिमा अमरत्व पाउने लिप्सा पनि पुरा गर्ने मौका पाउँछ कि ? हुन त, पाकाले आँटे र गर्ने वातावरण हुन बयस्कले सहयोग गरे अहिलेसम्मको प्रकृतिक नियम जीत्न मानव जाति सक्षम बन्छ कि बन्दैन भविष्यले साञ्चै देखाउला कि ?

जाँगरका कुराः
संसारमा जहाँ बसे पनि नियमितता र सतर्कताले मानिसको आयु बढ्न सक्छ । स्वास्थप्रति हेलचक्र्याइँ, केटाकेटी अवस्थादेखिको लगातारको भिन्नभिन्न तलमाथिको परिवेशले स्वास्थ बिग्रिएको मानिसमा मृत्युले चाँडै आँखा गाड्न सक्छ । पहिले जे भए पनि अहिले पाको उमेरिएको अवस्थामा अलिकति स्वास्थप्रति ख्यालराखी खानपान, व्यायाम र उचित ओखतीमूलोले हरेक व्यक्तिले लामो आयु पाउन सक्छ । पाका मान्छेले सुहाउँदो र सक्ने व्यायाम कायम राखेमा मांसपेशीहरू बलिया भएर बल, जाँगर र कामप्रति इच्छा जागेर चिन्तित रहने, नकारात्मक कुरा घटने आदि भएर लामो सकृय आयु बनाउन सक्छन् । उचित कसरतले हामी पाकाले मुटुरोग, मधुमेह, बाथ, हाड खिइएर जोर्नी दुख्ने र सुन्निएर हिँडडुलमा बाधा परेको व्यवस्थापन गर्न साथै रोकथाममा मद्दत पुग्छ । व्यायामले नै रक्ततचापको गडबडी, शरीरको मोटोपन, तौल, उमेर र उचाइअनुसार ठिक्क राख्न सकिन्छ । ‘बुढा-बुढी भइयो’ भनेर पाका मान्छे निसोखेभएर जीवनप्रति निच मारेर बस्ने होइन बरु सकेको सकृय हुनु सुखद उमेरिनुमा पर्दछ ।

हार्वाड मेडिकल कलेजले दिएको जानकारीमा हरेक दिन पाका मान्छे उत्सुकतासाथ बिहान उठ्ने र दिनभरिको सकेको कामको फेहरिुस्तमा गम्भीर भएर मनन् गरी लाग्ने इच्छा जगाउनु पर्छ भनेको छ । दिनभरिनै आफूलाई मर्का पर्ने, नराम्रो लाग्ने, अरुले घोचपेच र छनक हान्ने कामतिर नलाग्ने बरु बाधा नदिई आफूलाई मनपर्ने उत्पादनशील कामतिर ध्यान दिनु सुखद हुन्छ । व्यायाम गर्न लाग्दा कस्तो, कतिबेर कहाँ परिवारलाई सबै जानकारी दिएर व्यस्त रहने गर्नुपर्दछ । जहिले पनि व्यायाम गर्दा लामोलामो श्वासप्रश्वास गरेर प्राणवायुको सहज आपूर्ति गर्ने काम राम्रो हुन्छ । चाँडै थकाइ लाग्ने, जोर्नीहरू दुख्ने व्यायाम कम गर्नुहोस्, हातखुट्टाको व्यायाम गर्दा बिस्तारै एकछिन घुँडा र कुहिना बङ्ग्याएकै अवस्थाबाट सुरु गरी अनि तन्काउने गर्नुहोस् । व्यायामले राम्रो हुन्छ भन्दै एकै पटक धेरैबेर र शक्ति पनि धेरै लाग्ने व्यायाम यो पाको ज्यानले धान्दैन, परिणाम चाँडै आउने आशले खतरा नमोल्नुहोस् । सामान्य कमजोरी हुँदा त व्यायाम उमेरिदा छोड्नु पर्छ भने ‘यस्तै पर्‍यो घरपरिवारमा रहँदा बस्दा’ भनेर नसक्ने कुरामा पनि ज्यानै फाल्ने दौडधुप नगर्नोस् ।

बिरामी हुँदा पनि सकेमा सुतिसुती वा बसेर गाह्रो नहुनेगरी जीउ तन्काउनु होस्, यसले शरीरलाई हल्का कसरत भइहाल्छ अनि स्वस्थ हुँदै गएपछि आफ्नो तालिकामा फर्कनुहोस् । आफ्नै शरीरको अवाज अर्थात प्रतिक्रिया शूक्ष्मढङ्गले अध्ययन गर्नुहोस् र शरीरले मागेको तथा चाहेको आराम कसरत गरेमा शरीर स्वस्थरही जीवन पनि धेरै लम्व्याउन सकिन्छ । सुखद भविष्यको कल्पनामात्र होइन, काममा सक्रियता बढाएमा पक्कै हामी सफल हुन कुनै चमत्कार चाहिँदैन र कुनै ‘जगतका मालिक प्रकट हुने’ आशामा निन्याउरो, मलिन र पिञ्चे अनुहार लगाइरहन पर्दैन, हामी नै सक्छौं ! शारीरिक अवस्थामा विवेकी भई सकृयता, मानसिकरुपले निश्छल पूर्वाग्रहरहित बिचार र नयाँ कुरा प्रतिको उत्सुकतासहित बहुजनहितायको चेतना भएका हामी पाका उमेरिएका मानिसहरूमा जाँगर त बिचारले हरपल विकसित गरी हाल्छ नि !

अन्त्यमा,
निद्राको कमी र चिन्तित मन ‘उमेरिएकाको लागि कालको भाई’ हुन्, यिनलाई टाढै राख्नु पर्छ । जाँगर त चिन्तनप्रणालीको सहज, सकारात्मक चिन्तनले उल्क्याउने कुरा हुन्, केवल निम्नपूँजिवादी, व्यक्तिवीर महत्वाकाङ्क्षी र पैसाको पछि दगुर्ने द्रव्यपिसाच हुन छाड्नुहोस् । एकबारको जीवनमा कसरी लामो समय सर्वसाधारणको हितमा धेरैले मन पराइने ‘आँखामा हाले पनि नबिझ्ने होइन्छ ?’ त्यता सोच्नुहोस्, सकारात्मक भई पल्टेमा निद्राले ओछ्यान नपुग्दै च्यापि सक्छ । जाँगरमा उत्सुकता, शारीरिक स्वस्थता र असल काम प्रतिको चाहना जोडिएका छन् । यीनलाई व्यवस्थित गर्न उचित खानपान, व्यायाम र जीवनप्रतिको मोह जोल्ठिएर आएका हुन्छन् । तिनलाई अंशबण्डा नगरिदिनोस्, बस हाम्रो कर्तव्य पुग्छ, अनि जीवन धेरै लामो र रमाइलो हुन्छ ! अरुको हितमा त अनुभवयुक्त ज्ञान अर्पित गर्ने उमेरिएका पाकाहरूले आफ्नो हितमा यति गर्न पछिपरौँला त ! पक्कै पर्दैनौँ !

०००
११ असोज, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x