साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजलमञ्च चितवनले गजल साँझमा छजना गजल गायकलाई उभ्यायो

चिटिक्क सजाइएको मञ्चमा सांगीतिक गजल साँझको बोर्ड अडाइएको थियो । ७ बजे झमक्कै साँझ परेको थियो । केहीबेर पानी परेपछि मञ्चलाई यताउता गर्न आयोजकलाई निकैबेर सास्ती देखियो । पछि पानी रोकियो । आयोजकले खुला ठाउँ मै कार्यक्रम गर्ने निणर्य गर्यो र अगाडि बढ्यो ।

Nepal Telecom ad

भरतपुर, ०८०  भदौ  ३० । गजलमञ्च चितवनले १५७ औँ मोती जयन्ती मनाउने सन्दर्भमा यो चाँजोपाँजो मिलाएको हो । भरतपुर महानगरपालिका-४ लंकू धारापानीस्थित पुङ्गी खोलाको ढिकैमा रहेको द ग्रीन पार्क रेस्टुरेन्टमा भदौ २८ गते बिहीबार साँझ सांगीतिक गजलको विशेष कार्यक्रम सुन्न हेर्न चितवन, नवलपरासी र तनहुँ क्षेत्रबाट थुप्रै गजलपारखी आएका थिए ।

गजल मञ्च चितवनले स्थानीय ६ जना स्रस्टालाई गजल गाउनका लागि मञ्च उपलब्ध गराएको हो । कार्यक्रमको सुरुवातमा युवा गजलकार निर्दोष जीवन मञ्चमा देखिए । निर्दोषले नजिकै रहेका प्राविधिकलाई ट्रयाक बजाउन अनुरोध गर्दै आफ्नो प्रस्तुति सुरु गरे

घटोस् भन्छु उनको माया बढिरहेको छ
एउटा मान्छे प्रेमयुद्ध लडिरहेको छ

धेरै माया नगर्नु है भनिन् उनले पनि
उनको कुरा हृदयमा गडिरहेको छ

कति लडे कति बने ताज महलहरु
प्रेम मन्दिर आजसम्म अडिइरहेको छ ॥

यस गजलका सेरहरू गजलकार धनराज गिरीका हुन् । गिरी गजल मञ्च चितवनका संस्थापक हुन् । यस गजलमा संगीत र आवाज निर्दोष जीवनको रहेको छ । उनको तिमी बिना एल्बममा यो गजल समावेश छ ।

निर्दोष जीवनपछि गजलकार परिविक्रम प्रस्तुत भए । नागडाँडा कास्कीका परिविक्रम अहिले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा अध्ययन गर्छन् । कार्यक्रममा परिविक्रम यसरी पोखिए

रहरले रहरलाई सेरिरहेछ
अझै जिम्मेवारीले घेरिरहेछ

ए हावा यहाँ सास फेरेर जाउ
त्यहाँ मान्छेले सास फेरिरहेछ ॥

त्यसपछि गजल सुनाउन अपेक्षा गिरी आइन् । अपेक्षा विशेषगरी लोकपप संगीतमा रुचि राख्ने स्रष्टा हुन् । स्थानीय मेला महोत्सवमा गाउँदै हिँडेकी अपेक्षा गजल गायनको आधिकारिक कार्यक्रममा भने पहिलोपटक प्रस्तुत भएकी हुन् । अपेक्षाले मेला, महोत्सव र सांगीतिक कार्यक्रममा भने सबै प्रकारका प्रस्तुति दिँदै आएकी छन् । गजल साँझको सुरुवातमा उनले विपिन किरणको शब्द, महेश खड्काको संगीत र अन्जु पन्तको आवाज रहेको न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई ‘बोलको गजल प्रस्तुत गरिन् । गजल साँझमा निर्दोष र अपेक्षाले ट्र्याकलाई पछ्याउँदै आफ्ना प्रस्तुति दिएका थिए । निर्दोषले कुल ४ वटा र अपेक्षाले तीन वटा प्रस्तुति दिइन् । त्यसैगरी विष्णु तिवारी उषा, प्रमिला सानु र सपना रैला अर्यालले पनि प्रस्तुति दिए । परिविक्रम सहित यी ४ जनाले तबलाको साथमा प्रस्तुति दिएका थिए । संगीतकार सुरज बज्राचार्य र विनोद थापामगरले तबलाको साथमा यी गायक गायिकालाई पछ्याउँदै गए ।

सपना रैला अर्यालले सुरुमा विष्णु तिवारी उषाको गजलमा आवाज भरिन् । तिवारीले लेखेको ञउनीसँगको यो लगावले गजलपछि अर्यालले तिलक सिंह पेलाको ‘के लत बस्यो मलाई’ र रामकृष्ण अनायासको ‘मुर्ती बिना सुनसान’ गजलमा आवाज भरिन् । अर्की गजलकार एवम् गजल मञ्च चितवनकी सहसचिव प्रमिला सानुले आफ्नै शेरहरूलाई आवाजले सजाइन् । उनले ञचञ्चले यी नयनका ‘समयको माग एउटा भूल’ प्रस्तुत गरिन् ।

त्यसैगरी विष्णु तिवारी उषाले पनि तीन वटा गजल प्रस्तुत गरिन् । उनले सुनाएको पहिलो गजल यस्तो थियो ः

जलिसकेपछि घर अनि बल्ल होश खुल्यो
बलिसकेपछि घर अनि बल्ल होश खुल्यो ॥

कार्यक्रममा गजल सुन्न उत्साहजनक सहभागिता थियो । द ग्रिन पार्क रेस्टुरेन्टको आँगन स्रस्टाहरूले भरिभराउ थियो । रेस्टुरेन्टका सञ्चालक जोन कँडेल गजल सुन्न आएकाहरूको उपस्थिति देखेर दङ्ग परे । यस्तो भव्य उपस्थिति होला भन्ने मेरो अनुमान थिएन । गजलप्रति स्रोताहरूको छुट्टै अनुराग रहेछ, सञ्चालक कँडेलले भने- ‘आगामी दिनमा विशेष अवसर पारेर रेस्टुरेन्टमा गजल साँझ गर्न मन लागेको छ ।’

गजलमञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले कार्यक्रममा स्रष्टाहरूले सोचे अनुरुपको प्रस्तुति दिएको बताए । ‘छ जना स्रष्टाले अत्यन्तै राम्रो प्रस्तुति दिनु भयो । स्थानीय स्रष्टाको यो प्रस्तुतिलाई हामीले राष्ट्रिय रूपमा चर्चा गर्नुपर्छ’, अध्यक्ष सापकोटाले भने- ‘चितवनमा गजलको गतिविधि धेरै अगाडिदेखि नै लोभलाग्दो छ । आजको प्रस्तुतिले गजल साँझहरू निरन्तर गर्नुपर्ने आवश्यकता महसुस गरेका छौँ ।’

गजलमञ्च चितवन २०६३ सालमा स्थापना भएको संस्था हो । यो संस्थालाई धनराज गिरी, किसान प्रेमी, ऋषिप्रसाद लामिछाने गोर्खे साइँलो, पुष्प अधिकारी अञ्जलि, रमेश प्रभात, प्रभाकर पण्डित र स्व. द्वारिका नेपालले नेतृत्व गरिसकेका छन् ।

०००
चितवनबाट रमेश प्रभात

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x