कोमल भट्टपाइन्न नेपालमा
छैनन् उच्च विचारका अनुभवी खाँचो छ उत्कृष्टता मारामार मुटावले मनपरी कच्चा छ आत्मीयता सारा पद्धति जीर्ण जर्जर हुँदा टालिन्न नेपालमा निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।

कोमलप्रसाद भट्ट :
साँच्चै सुन्दर शान्त देश सबको आँखा थियो हर्दम
गर्थ्यो आदर विश्वले हरघडी ठानेर सर्वोत्तम
आफ्नो मान इमान आज किन हो चाहिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।१
भ्रष्टाचार तथा कुकर्म चुलिए भण्डार सुक्दै गयो
फ्याँके इज्जत नालमा कपुतले दुर्गन्ध हाबी भयो
चर्का घूस र लेनदेन घटिया रोकिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।२
जस्को शक्ति अपार भक्ति निजकै पूजा तथा प्रार्थना
गर्दा चाप्लुस पाइने निकटता पूरा हुने चाहना
उम्दा हो कि अयोग्य हो सबकुरा जाँचिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।३
हिंसाका व्यभिचारका मनपरी सोचाइ खोटो अति
हर्ने प्राण समेत निर्दयहरू दुर्वृत्तिका दुर्मति
लोहाको मुटु हुन्छ दुष्ट जनको पग्लिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।४
चढ्ने शूली सुधो र सज्जन सदा चौतारीमा दुर्जन
कल्ले न्याय निशाफ गर्छ सहजै सुन्दै सही क्रन्दन
राम्राको गुणगान शुद्ध मनले गाइन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।५
संज्ञानी सरिता गुणी गहकिला खोजिन्न कैले पनि
कालाकर्तुतका कुपात्र कपटी रोजिन्छ जैले पनि
नौनी निर्मल नम्र नायकहरू छानिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।६
मिल्ने लुब्ध लबस्तरा जति यहाँ खानापिना खातमा
झूटा झेल र जालमा झडपमा जङ्गी खुराफातमा
सच्चाइ र सुमार्गका तरुहरू रोपिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।७
पर्दाभित्र असंख्य काम बहुतै गर्ने दुराचारका
सौदा लाख करोडमा तय हुने सङ्कीणर् व्यापारका
कोशेली उपहार भेट भरिला त्यागिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।८
छैनन् उच्च विचारका अनुभवी खाँचो छ उत्कृष्टता
मारामार मुटावले मनपरी कच्चा छ आत्मीयता
सारा पद्धति जीर्ण जर्जर हुँदा टालिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।९
झार्छिन् आँशु बलिन्द्र जन्मजननी सन्तानका कर्मले
गैह्रा घाउ जताततै भतभती पोल्ने कडा मर्मले
मर्यादा मृदु भाव मानमनितो राखिन्न नेपालमा
निष्ठा नैतिकता नखोज अहिले पाइन्न नेपालमा ।१०
०००
चन्द्रागिरि नपा -१३, काठमाडौँ ।
हालः – न्युयोर्क अमेरिका ।
Subscribe
Login
0 Comments
Oldest








































