लक्ष्मी रिजालसमानुपातिक
उसले बोली टुङ्ग्याउन नपाउँदै गुरुनेताले भनिहाले; ‘बमबहादुर थापा पछि मगर जोड्ने गर् । हाम्रो भागमा परेको आदिवासीजनजाति कोटामा तँलाई नै पारौँला !’

लक्ष्मी रिजाल :
‘यत्रो वर्ष तपाईंको पछि लागेँ । पाउँछु भन्ने लोभ थियो । भएको पनि गुमाएँ ।’ मुटु मिचेर बमबहादुरले गुरुदत्तसामु मुख खोल्यो ।
शिक्षकबाट अवकास भएपछि राजनीतिमा सक्रिय भएकाले गुरुदत्त गुरुनेता कहलिएका थिए । उनको कुटनीति पक्ष बलियो थियो । आफ्नो गाउँबाट पार्टीको रथ कुसलतापूर्वक हाँकिरहेका थिए ।
उनी भन्दै गए-
-तँ राहत मास्टरमा लगाइदिनु भन्थिस् । आहत हुन्छ भनेर फेल पार्दिएको ।
-सरकारी अफिसमा पियन भए पनि लगाइदिनुसम्म भन्थिस् । हाकिम हुने योग्यता भएकालाई सानो जागिर सुहाउन्न भनेर पछि पारिदिएको ।
-स्थानीय निकायमा कुनै पदको टिकट दिनु भन्थिस् । हेर्दै ठूलो ओहोदाको लाग्ने मान्छेलाई स्थानीयमा अलमल्याउनुहुन्न भनेर लिस्टबाट तँलाई हटाएको ।
-तपाईंको झोला बोकेको ठ्याक्कै बीस वर्ष नाध्यो भन्छस् । यसपाला चाहिँ तँलाई झोला बोक्नेबाट प्रमोसन गर्दिएको छु । ढुक्क भएर चुनावमा होमिई ।
सुकेको अनुहारमा हरियाली ल्याउँदै बमबहादुरले सोध्यो; ‘गुरु, अब मलाई के बनाइदिने ?’
हत्तपत्त गुरुनेताले भने; ‘अहिले समानुपातिक सांसद बन्दै छस् । खट्दै जा । डट्दै जा । मौका मिले मन्त्री नै बनाइदिऊँला ।’
‘तर गुरु हाम्रो पार्टीको भागमा बाहुनक्षेत्रीको कोटा परेको छैन त !’
उसले बोली टुङ्ग्याउन नपाउँदै गुरुनेताले भनिहाले; ‘बमबहादुर थापा पछि मगर जोड्ने गर् । हाम्रो भागमा परेको आदिवासीजनजाति कोटामा तँलाई नै पारौँला !’
०००
कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी ।
Subscribe
Login
0 Comments
Oldest








































