लक्ष्मी रिजालअनपेक्षित दुलहा
सीता नजिक पुगिन् । आँखामा आश्चर्य र श्रद्धाको मिश्रण थियो । जनकले सोधे, “नाम ?” युवकले हल्का मुस्कान फाल्दै भने, “नामले होइन, कर्मले चिनिन्छ मानिस ।
लक्ष्मी रिजाल :
“अन्धकारमै चम्कने मान्छे को हो त्यो ?” भीड पछाडिबाट उठेको आवाजले जनकपुरको रङ्गभूमि झस्कियो ।
“साइत डुब्दै छ,” पुरोहित गुनगुनाए, “धनुष मौन छ, को उठाउँछ अब ? कसैले हल्लाउन त सकेको होइन ।”
विवाह पञ्चमीको रङ्गीन मैदानमा अचानक चिसो हावा चल्यो । सीताको आँखामा आफ्नो भाग्य झरीजस्तै थामिन थालेको देखियो । राजा जनकको स्वर काँप्यो, “के मेरी सीता आजै दिनदेखि आजीवन कुमारी रहने निश्चित भयो ?”
भीडले एकैपटक फुटेर बाटो बनायो, जसरी रहस्यले समय चिरिदिन्छ । तत्कालै एक अपरिचित युवक अगाडि बढ्यो । साधारण वस्त्र, तर अनुहारमा असामान्य शान्ति झल्किएको थियो ।
राजा जनकले चकित हुँदै सोधे, “हे अतिथि, तपाईं…?”
युवक मुस्कुराए मात्र- न बोले, न रोकिए ।
उनी धनुषअगाडि उभिए । तयारी गर्दागर्दै धनुष नै दुई टुक्रा भयो । भीडमा थामिन नसकिने गरी हर्षले वर्षा भयो ।
सीता नजिक पुगिन् । आँखामा आश्चर्य र श्रद्धाको मिश्रण थियो । जनकले सोधे, “नाम ?”
युवकले हल्का मुस्कान फाल्दै भने, “नामले होइन, कर्मले चिनिन्छ मानिस । आज त्यो कर्मले तपाईंकी छोरीलाई मेरो बनायो ।”
सीताले थरथराउँदै सोधिन्, “तपाईं…?”
उनले पहिलोपटक स्पष्ट बोले; “राम । बस्, घोषणा सुनेर आएको राम ।”
०००
२०८२ मङ्सिर ९ गते ।
Subscribe
Login
0 Comments
Oldest






































