लोकतन्त्रको नौटङ्की
विधायकहरूले भने- हाम्रो स्वतन्त्र मत नै इन्दिराजीले जसलाई भन्नुहुन्छ उसैलाई नेता मान्ने हो । हामी मतपत्रमा योभन्दा बाहेक केही लेख्न तयार छैनौं । पर्यवेक्षकहरूले दिल्लीलाई यही खबर पठाइदिए ।
हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
केही मानिसहरू भन्छन्- चेन्ना रेड्डी के खराब थिए र ? अर्काथरी भन्छन्- अन्जैया पनि के खराब थिए ? त्यसो त धेरै पहिले सञ्जीव रेड्डी पनि खराब थिएनन् अनि ब्रह्मानन्द रेड्डी पनि खराब थिएनन् । यी सबै असल छन् । आन्ध्रका मुख्यमन्त्रीहरू त असलैअसल भएका छन् । वेङ्कटराम रेड्डी जो अहिले मुख्यमन्त्री छन् ती पनि असल छन् । सबै असल छन् – ‘सो आर दे अल आर अनरेबल मेन !’ तर हैदरावादमा एकसातासम्म जुन नाटक भएको थियो त्यो जरुरी थियो । लोकतान्त्रिक पक्रियाको एक चक्र पुरा भयो । अब म भारतमा लोकतन्त्रको भविष्यलाई लिएर पूर्ण आश्वस्त छु । लोकतन्त्रको पाउ अङ्गदको पाउझैँ जमेको छ । अब लोकतन्त्रविरोधी एक सयवटा रावणले पनि यस पाउलाई हल्लाउन सक्दैनन् ।
हैदरादको यो नाटक रोचक तथा अर्थपूर्ण पनि रह्यो । लोकतन्त्रको नौटङ्की थियो । ‘सरुप’ थिए । नगरा थिए । डायलग थिए । रहस्य थियो । तिलिस्म थियो । चमत्कार थियो । बर्नार्ड शले हैदरावाद र दिल्लीमा भएको नौटङ्की देखेको भए अर्को ‘एपिल कर्ट’ लेख्थ्यो ।
नगाराको चोटमा उद्घोषकले घोषणा गर्दै थियो- अन्जैया जाँदै हुनुहुन्छ । अन्जैयाले राजिनामा दिँदै हुनुहुन्छ । लौ, अन्जैयाले राजिनामा दिनु नै भयो । अब विधानसभा पार्टीको अर्को नेता चुनिने छ । अर्को नेता । अर्को मुख्यमन्त्री !!
कांग्रेसको हाइकमान छ । एउटा केन्द्रीय संसदीय बोर्ड छ । तर यी दुबैभन्दा माथि पनि एउटा परम नियन्त्रक छन्, इन्दिरा गान्धी । दिल्लीमा केन्द्रीय संसदीय बोर्डले घोषणा गर्छ, आन्ध्रका नयाँ नेताको चुनाव गराइनेछ । आखिर यो लोकतन्त्र हो, कुनै ठट्टा होइन !
नारायणदत्त र मूपनारलाई पर्यवेक्षकमा नियुक्त गरियो । यी दुबैले आफ्ना अगाडि आन्ध्र विधायक दलका नेताको चुनाव गराउने छन् । नारायणदत्त र मूपनारले सुटकेसमा मतपेटी र मतपत्र राखे अनि उडे हैदरावादका लागि घर्र घर्र… घर्र !
विधायक दल बसेको छ । नारायणदत्त तिवारी र मूपनार बसेका छन् । दुबै पर्यवेक्षक हुन् । पर्यवेक्षक भन्छन् – हामीलाई केन्द्रीय संसदीय बोर्डले पठाएको हो ।
विधायक भन्छन्- किन पठाएको हो ?
नारायणदत्त भन्छन्- तपाईंहरूले अन्जैयाको ठाउँमा नयाँ नेता चुन्नुहोस् भनेर ।
विधायक सोध्छन्- नेतालाई सँगै ल्याएका छौ ?
मूपनार भन्छन्- हामी किन ल्याउँछौ नेता ? नेता त तिमीले चुन्ने हो ।
विधायक सोध्छन्- कसलाई नेता चुन्ने हो ? केही खबर लिएर आएका छौ ? नाम ल्याएका छौ ?
नारायणदत्तले भने- हामीले कुनै नाम ल्याएका छैनौँ । तपाईंहरू स्वतन्त्र हुनुहुन्छ चुन्नका लागि ।
विधायले भने- हामीलाई स्वतन्त्र हुनु छैन ।
मूपनारले भने- यो मतपेटी र यी मतपत्र छन् । मतपत्रमा नेताको नाम लेखेर मतपेटीमा खसाऊ ।
विधायकले भने- अर्को पेटी खोल र त्यसबाट नेतालाई झिक ।
नारायणदत्तले भने- हामीले दिल्लीबाट कुनै नेता ल्याएका छैनौँ ।
विधायकले भने- ल्याएका छैनौ भने आउँदै होला । भन को आउँदै छ ?
नारायणदत्तले भने- दिल्लीबाट नेता पठाइने छैन । तिमीहरूले नै चुन्ने हो ।
विधायकहरूले भने- यस्तो हुँदैन । नेता पठाइन्छ ।
मूपनारले भने- अहँ, यस्तो हुँदैन । नेता चुन्ने तपाईंहरूको लोकतान्त्रिक अधिकार हो ।
विधायकहरूले भने- हामीलाई नेता नचुन्ने पनि लोकतान्त्रिक अधिकार छ ।
नारायणदत्तले भने- तिमीहरूमध्ये प्रत्येकलाई मत दिने अधिकार छ ।
विधायकहरूले भने- हामीमा प्रत्येकलाई मत नदिने पनि अधिकार छ । नलुकाउनुस् । हामीलाई भन्नुस्, इन्दिराजीले कसको नाम प्रस्तावित गर्नुभएको छ ?
त्यसै वेला कस्तो खबर फैलियो भने दिल्लीका गृहराज्यमन्त्री वेङ्कट सुवैया आउँदै छन् । हल्ला मच्चियो- आए, आए ! दिल्लीबाट पठाइएका आए । इन्दिराजीले वेङ्कट सुबैयालाई नेता बनाएर पठाइदिइन् । दिल्लीको विमान रोकियो । वेङ्कट सुबैया ओर्ले । कैयौँ काङ्ग्रेसी माला लिएर अगाडि बढे बधाई दिँदै । आन्ध्रका नेता र मुख्यमन्त्रीलाई स्वागत छ । बेङ्कट सुबैया आत्तिए र बोले, ‘यति हतार नगरौँ । मलाई नारायणदत्त तिवारी र मूपनारलाई भेट्न त दिऊँ !’
विधायकहरूले भने- उनीहरूसित के सोध्नुपर्यो ?
बेङ्कट सुवैयाले भने- उनीहरूसित नयाँ नेता कसलाई चुने भनेर सोध्नु छ ।
विधायकहरूले भने- उनीहरूसित के सोध्नु ? हामीले चुनेकै छैनौँ । इन्दिराजीले तपाईंलाई पठाउनुभएको छ भने हामीले तपाईंलाई नै चुन्यौँ ।
बेङ्कट सुबैयाले भने- हैन, हैन, म त पूर्वनिर्धारित अर्को कार्यक्रमका लागि आएको हुँ । …र कसै गरी राज्यको अतिथिगृहमा पुगे ।
त्यहाँ पनि माला लिनेहरूले उनलाई घेरे । आउनुभयो ! दिल्लीबाट पठाइनुभएका आउनुभयो ! आन्ध्रका नयाँ मुख्यमन्त्रलाई स्वागत छ ! बिचरा बेङ्कट सुबैया निकै आत्तिए ! के इन्दिरा गान्धीले पर्यवक्षकहरूलाई मलाई चुन्न लगाउने आदेश दिएर पठाएकी हुन् त ? के यिनीहरूले मलाई चुनेकै हुन् त ? कुरा के हो ?
उता नारा लागिरहेको छ- बेङ्कट सुबैया जिन्दावाद ! आन्ध्रका नयाँ मुख्यमन्त्री बेङ्कट सुबैया ! बेङ्कट सुबैयाले आत्तिएर भने- म त मन्दिर जाँदै छु । अनि अतिथि गृहबाट भागे ।
पर्यवेक्षहरूले दिल्लीसित कुरा गरे – यी विधायकहरू नेता चुन्न चाहँदैनन् ।
हाइकमानले भन्यो- उनीहरूलाई नेता चुन्न लगाओ । एउटा लोकतान्त्रिक प्रक्रिया पुरा हुनुपर्छ ।
पर्यवक्षकहरूले भने- तर उनीहरू चुन्न तयार छैनन् । के हामीले जबरदस्ती उनीहरूको हात समातेर मतपत्र भर्न लगाउनु ? उनीहरू भन्छन् ‘दिल्लीको हुकुमप्रमाङ्गी देखाऊ र भन इन्दिराजीले कसको नाम प्रस्ताव गर्नुभएको छ ?’
हाइकमानले भन्यो- इन्दिराजी भन्नुहुन्छ, ‘म अधिनायकवादी हुँ भनेर मलाई त्यत्तिकै बदनाम गरिएको हो । म कसैको पनि नाम प्रस्तावित गर्दिनँ । विधायकहरूले स्वतन्त्र मतबाट नेता चुनुन् ।’
पर्यवेक्षकहरूले यही कुरो विधायकहरूसित भने । विधायकहरूले भने- हाम्रो स्वतन्त्र मत नै इन्दिराजीले जसलाई भन्नुहुन्छ उसैलाई नेता मान्ने हो । हामी मतपत्रमा योभन्दा बाहेक केही लेख्न तयार छैनौं । पर्यवेक्षकहरूले दिल्लीलाई यही खबर पठाइदिए ।
लोकतान्त्रिक प्रक्रियाको यस नाटकमा घोर सस्पेन्सको क्षण हो यो ! अब के होला ? के बेङ्कट सुबैया नै नयाँ नेता बनाइएलान् ? के दिल्लीबाट उनकै नाम आउला ?
उता दिल्लीमा पर्दापछाडि केही हुन्छ । केन्द्रीय संसदीय बोर्ड बस्छ र बेङ्कटरामा नयाँ नेता हुने भन्ने निणर्य गर्छ ।
लोकतान्त्रिक प्रक्रियाको नाटक समाप्त हुन्छ । बेङ्कट सुबैया मञ्चबाट हराउँछन् । बेङ्कटरामा मञ्चमा छन् । भन्छन् – म आफ्ना साथी विधायकहरूसित सल्लाह गरेर मन्त्रिमण्डलको नामको निर्णय गर्नेछु र दिल्लीसित सल्लाह गरेर मन्त्रिमण्डल बनाउने छु ।
०००
परसाईं रचनावली भाग (४), ‘लोकतन्त्र की नौटंकी ’ बाट नेपाली अनुवाद