साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्डियन टाइम

हाम्रा राष्ट्रनायकले जीवनका सबै विषयहरूमा त हाम्रो नेतृत्व गर्न सक्छन् तर हामी कस्ता छौँ भने आँखा चिम्लेर उही गलत बाटामा हिँड्न मन पराउँछौँ । समयमा काम गर्न नसक्नाले हामी आफ्नो प्रतिबद्धता पालना गर्न पनि असमर्थ हुन्छौँ जुन हाम्रो चरित्रको ठुलो कमजोरी हो ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

प्रायः मानिसहरूलाई के भन्दै गरेको सुनिन्छ भने भाइ, यो त ‘इन्डियन टाइम’ हो । ‘इन्डियन टाइम’ भनेर हामी समयको पाबन्दीको उत्तरदायित्वबाट स्वयम्लाई मुक्त ठान्दछौँ । सभामा, भोजमा, उत्सवमा वा भेटघाटमा, कहीँ पनि समय दिइन्छ ८ बजेको अनि काम सुरु हुन्छ ९ बजे । अब यदि तपाईं भलादमी हुनुहुन्छ र आठ बजे नै पुग्नुभयो भने आत्तिएर साढे आठ बजे त पक्कै सोध्नुहुनेछ, भाइ, आठ बजे भनेको साढे आठ पनि भयो । अझै पनि किन कार्यारम्भ नगरेको भनेर । अनि तपाईंले उत्तर पाउनुहुनेछ उही, ‘हे हे हजुर, आठ बजे त ‘इन्डियन टाइम’ थियो नि !’ यो ‘इन्डियन टाइम’ले कति दुःख दिएको छ भने श्रोता त उपस्थित हुन्छन् तर वक्ता गायब रहन्छन् ! अनि वक्ता उपस्थित भए श्रोता हुँदैनन् । किनभने यो ‘इन्डियन टाइम’ हो भन्ने कुरो दुवैले बुझेका छन् ।

यो ‘इन्डियन टाइम’को ठिक ठिक इतिहास त मलाई थाहा छ्रैन तर केचाहिँ लाग्छ भने हाम्रो समयपालनको उदासीनतालाई देखेर नै अङ्ग्रेजहरूले हामीलाई यो अपमानजनक उपाधि दिएको हुनुपर्छ । अङ्ग्रेजहरू समयपालनका पाबन्द हुन्छन् रे ! त्यसैले जब उनीहरूले देखे यहाँ त आठ बजेको अर्थ साढे आठ र कहिलेकाहीँ त नौ पनि हुने रहेछ अनि उनीहरूले रबड तन्किएझैँ तन्किने यस समयलाई ‘इन्डियन टाइम’ भनिदिए । यसरी हाम्रो समयको न्वारान संस्कार भयो अनि हामीले यस उपाधिलाई गौरवका साथमा धारण गरेर मात्र बसेनौँ, बरू त्यसको सार्थकता सिद्ध गर्न कुनै कमी रहन दिएनौँ । भारतभूमि यति उर्वर छ कि बाहिरबाट आएका कुराहरू यहाँ खुब फल्छन् फुल्छन् पनि । विदेशबाट आएको प्लेग हाम्रो गाउँगाउँमा पुग्यो भने प्लेगजस्तै गरी आएको अङ्ग्रेज जाति पनि खुबै फल्यो फुल्यो । केही फुस्रा फुस्रा अङ्ग्रेज ‘बाबा’हरूलाई देख्नुभयो भने मेरो भनाइको सत्यता सिद्ध हुनेछ । अनि तिनै अङ्ग्रेजले दिएको यो ‘इन्डियन टाइम’ किन नमौलाओस् त ? यो हाम्रो कण्ठहार बन्न पुग्यो । कुरो कसो कसो कस्तो भयो भने कसैले हामीलाई भन्यो, ‘तिमी त कति मूर्ख हगि ?’ अनि हामीले पनि भनिदियौँ, ‘हो, हजुर !’ अनि आफ्नो समाजमा ‘हामी मूर्ख हौँ !’ भन्ने लेखिएको बिल्ला लगाएर घुम्यौँ । ‘इन्डियन टाइम’को कुरो पनि ठिक यस्तै हो । आज जुन गौरव र प्रसन्नताका साथमा हामी अधिकांश मानिसहरू ‘इन्डियन टाइम’ भन्छौँ त्यो देखेर र सुनेर आफ्नै असमझदारीप्रति लाज लाग्छ । शासकले दिएको अपमानजनक नाम पनि हामी शासितहरू बडो सान र प्रसन्नतासाथ अपनाउँछौँ भने हाम्रो पराधीन प्रवृतिको योभन्दा उपयुक्त उदाहरण अरू के नै पो पाइएला र ? हामीहरू ‘नेटिभ’ हौँ नि त !

बिस्तारै हाम्रा सबै कामबाट समयपालन विलीन हुँदै गयो र फलस्वरूप समय त नष्ट भयो नै, यस कुरामा एकअर्काप्रति विश्वास पनि बँचेन । यदि हामीले कसैलाई ११ बजे भोजनको निम्तो दिइहाल्यौँ भने पनि न निम्तो पाउनेले एघारै बजे खान पाउने कुरामा विश्वास गरेको हुन्छ न हामीले ऊ एघारै बजे आउला भन्ने विश्वास नै गरेका हुन्छौँ । कसैलाई ८ बजे भेट्ने समय दिएर न त हामी ८ बजे आफ्नो घरमा भेटिन्छौँ, न कसैलाई समयमै भेट्न पुग्छौँ । यस्ता ससाना कुराहरूमा समयजन्य अविश्वसनीयता हाम्रो जीवनका अन्य क्षेत्रहरूमा पनि विस्तार भएको छ र यो हाम्रो एउटा सामाजिक कुरीति नै बन्न पुगेको छ । पारस्परिक अविश्वासले सामाजिक सङ्ठनको जरो नै काटिरहेको छ ।

अशिक्षित वर्गमा त यस्तो खराबी केही सीमासम्म क्षम्य हुन सक्ला । तर जब उच्च शिक्षाप्राप्त समाजका आदरणीय व्यक्तिहरू पनि यसका सिकार बन्छन् भने उनीहरूलाई म के भनूँ ? मलाई एउटा घटनाको सम्झना हुन्छ – एक जना ठुलै प्रतिष्ठित विद्वान्लाई एक पटक मैले विद्यार्थीहरूको सभामा भाषण दिन आमन्त्रित गरेको थिएँ, अनि उनले चार बजे आउने वचन दिएका थिए । विद्यार्थीहरू तीन साढे तीन बजेदेखि नै प्रतीक्षामा बसिरहेका थिए र उता साढे चार बजेसम्म पनि महाशयको अत्तोपत्तो थिएन । जब साढे चार बजेपछि मैले विद्यार्थी कार्यकर्ताहरूलाई उनलाई भेट्न पठाएँ तब उनीहरूले के देखे भने महाशय त बसेर तास पो खेलिरहेका रहेछन् । बिचरो विद्यार्थीले भन्यो, “सबै विद्यार्थीहरू तीन साढे तीन बजेदेखि नै बसिरहेका छन् । तर हजुर पाल्नुभएन ।” यसमा उनले हाँसेर उत्तर दिए, ‘‘ए, मैले सोचेँ चार बजे त ‘इन्डियन टाइम’ हो । ल, ल, हिँड । म आउँछु ।’ अनि त्यसपछि पनि उनी आएनन् । विद्यार्थीहरू बसिरहे र गए । मलाई आफ्नो पतनमा टिठ लाग्यो, यस्तो गुलाम प्रवृत्तिमा लाज लाग्यो अनि साँच्चै भन्ने हो भने ती ‘प्रतिष्ठित विद्वान्’माथि रिस पनि उठ्यो । यो नराम्रो बानी कति व्यापक भएको छ भने अब त समाजको हरेक वर्गका व्यक्तिहरू आफ्नो काम पनि समय बितेपछि मात्र गर्नुमा आफ्नो सान देख्दछन् । अनि समयमा काम गर्नुलाई सानो हुुनु मान्दछन् र आफ्नो ठुल्याइँमा दाग लागेको ठान्दछन् ।

यो ‘इन्डियन टाइम’को बानीको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हाम्रो व्यक्तिगत जीवनमा पनि कस्तो असर परेको छ भने हाम्रा अधिकांश कामहरू अधुरै रहन थालेका छन् । जहाँ एक घण्टा लाग्नुपर्थ्याे त्यहाँ दुई घण्टा लाग्न थालेको छ र यसरी हिसाब गर्दा हाम्रो जीवनको आधा समय त यस्तै गरी व्यर्थमा बितिरहेको छ । यो कति डरलाग्दो सत्य हो ! दुई सय वर्षसम्म हाम्रो टाउकामा टेकेर अङ्ग्रेजहरूले हामीसितबाट त धेरै कुरा लिए र लगे पनि तर हामी घाटामा पर्‍यौँ । हामीले उनीहरूसँग समयको अनुशासन पनि सिक्न सकेनौँ । महात्मा गान्धी समयको निकै विचार गर्नुहुन्छ र आश्रममा बस्नेहरूलाई पनि यसको बानी पार्नुहुन्छ । उहाँको कम्मरमा झुन्डिएको घडी कुनै शोभाका निम्ति होइन । त्यसको एक एक मिनेटले उहाँको दिनचर्यालाई नियमित बनाउँछ । मानिसहरू त उहाँ यति धेरै काम कसरी गर्नुहुन्छ भनेर अचम्म मान्छन् । एक पटक एक जना प्रसिद्ध अमेरिकाली पत्रकारसित भेट्ने क्रममा गान्धीजीले एक घण्टा सकिनासाथ उनका सामु घडी राखिदिनुभयो, जसको तात्पर्य थियो मैले तिमीलाई दिएको समय सकियो । त्यसैले तिमी अब कुटीबाट जाऊ । ती पत्रकारले पछि लेखेका पनि थिए, “मैले संसारका महान् व्यक्तिहरूलाई भेटेको छु तर यति धेरै समयको अनुशासन मान्ने मान्छे कोही पाइनँ । अन्य मानिसहरूलाई त मैले कुुरा गर्दागर्दै अकैतिर पनि कता कता पुर्‍याएँ तर गान्धीजीलाई मैले झुक्याउन सकिनँ ।” हाम्रा राष्ट्रनायकले जीवनका सबै विषयहरूमा त हाम्रो नेतृत्व गर्न सक्छन् तर हामी कस्ता छौँ भने आँखा चिम्लेर उही गलत बाटामा हिँड्न मन पराउँछौँ । समयमा काम गर्न नसक्नाले हामी आफ्नो प्रतिबद्धता पालना गर्न पनि असमर्थ हुन्छौँ जुन हाम्रो चरित्रको ठुलो कमजोरी हो ।

अन्य देशहरूमा ‘इन्डियन टाइम’जस्तो कुनै आफ्नो कुरो छ कि छैन भन्ने त थाहा छैन तर हाम्रा निम्ति भने त यो कलङ्क नै हो । यो निश्चित हो । ‘इन्डियन टाइम’ भन्ने नामसित मेरो कुनै विरोध छैन तर जुन खराब अर्थमा यसको प्रयोग हामीबाट नै हुने गरेको छ त्यो भने अत्यन्त अहितकर र लाजमर्दो कुरो हो । यदि ‘इन्डियन टाइम’को अर्थ गान्धीजीको टाइम हुने हो र त्यस्तै नियमित हुने हो भने त यो नाम रहिरहेमा पनि कुनै समस्या छैन । अन्यथा यस अपमानपूर्ण उपाधिलाई त अब मिल्काउनैपर्छ । धेरै खिल्ली उडाइसके अरुले हाम्रो ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x