सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

इन्डियन टाइम

हाम्रा राष्ट्रनायकले जीवनका सबै विषयहरूमा त हाम्रो नेतृत्व गर्न सक्छन् तर हामी कस्ता छौँ भने आँखा चिम्लेर उही गलत बाटामा हिँड्न मन पराउँछौँ । समयमा काम गर्न नसक्नाले हामी आफ्नो प्रतिबद्धता पालना गर्न पनि असमर्थ हुन्छौँ जुन हाम्रो चरित्रको ठुलो कमजोरी हो ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

प्रायः मानिसहरूलाई के भन्दै गरेको सुनिन्छ भने भाइ, यो त ‘इन्डियन टाइम’ हो । ‘इन्डियन टाइम’ भनेर हामी समयको पाबन्दीको उत्तरदायित्वबाट स्वयम्लाई मुक्त ठान्दछौँ । सभामा, भोजमा, उत्सवमा वा भेटघाटमा, कहीँ पनि समय दिइन्छ ८ बजेको अनि काम सुरु हुन्छ ९ बजे । अब यदि तपाईं भलादमी हुनुहुन्छ र आठ बजे नै पुग्नुभयो भने आत्तिएर साढे आठ बजे त पक्कै सोध्नुहुनेछ, भाइ, आठ बजे भनेको साढे आठ पनि भयो । अझै पनि किन कार्यारम्भ नगरेको भनेर । अनि तपाईंले उत्तर पाउनुहुनेछ उही, ‘हे हे हजुर, आठ बजे त ‘इन्डियन टाइम’ थियो नि !’ यो ‘इन्डियन टाइम’ले कति दुःख दिएको छ भने श्रोता त उपस्थित हुन्छन् तर वक्ता गायब रहन्छन् ! अनि वक्ता उपस्थित भए श्रोता हुँदैनन् । किनभने यो ‘इन्डियन टाइम’ हो भन्ने कुरो दुवैले बुझेका छन् ।

यो ‘इन्डियन टाइम’को ठिक ठिक इतिहास त मलाई थाहा छ्रैन तर केचाहिँ लाग्छ भने हाम्रो समयपालनको उदासीनतालाई देखेर नै अङ्ग्रेजहरूले हामीलाई यो अपमानजनक उपाधि दिएको हुनुपर्छ । अङ्ग्रेजहरू समयपालनका पाबन्द हुन्छन् रे ! त्यसैले जब उनीहरूले देखे यहाँ त आठ बजेको अर्थ साढे आठ र कहिलेकाहीँ त नौ पनि हुने रहेछ अनि उनीहरूले रबड तन्किएझैँ तन्किने यस समयलाई ‘इन्डियन टाइम’ भनिदिए । यसरी हाम्रो समयको न्वारान संस्कार भयो अनि हामीले यस उपाधिलाई गौरवका साथमा धारण गरेर मात्र बसेनौँ, बरू त्यसको सार्थकता सिद्ध गर्न कुनै कमी रहन दिएनौँ । भारतभूमि यति उर्वर छ कि बाहिरबाट आएका कुराहरू यहाँ खुब फल्छन् फुल्छन् पनि । विदेशबाट आएको प्लेग हाम्रो गाउँगाउँमा पुग्यो भने प्लेगजस्तै गरी आएको अङ्ग्रेज जाति पनि खुबै फल्यो फुल्यो । केही फुस्रा फुस्रा अङ्ग्रेज ‘बाबा’हरूलाई देख्नुभयो भने मेरो भनाइको सत्यता सिद्ध हुनेछ । अनि तिनै अङ्ग्रेजले दिएको यो ‘इन्डियन टाइम’ किन नमौलाओस् त ? यो हाम्रो कण्ठहार बन्न पुग्यो । कुरो कसो कसो कस्तो भयो भने कसैले हामीलाई भन्यो, ‘तिमी त कति मूर्ख हगि ?’ अनि हामीले पनि भनिदियौँ, ‘हो, हजुर !’ अनि आफ्नो समाजमा ‘हामी मूर्ख हौँ !’ भन्ने लेखिएको बिल्ला लगाएर घुम्यौँ । ‘इन्डियन टाइम’को कुरो पनि ठिक यस्तै हो । आज जुन गौरव र प्रसन्नताका साथमा हामी अधिकांश मानिसहरू ‘इन्डियन टाइम’ भन्छौँ त्यो देखेर र सुनेर आफ्नै असमझदारीप्रति लाज लाग्छ । शासकले दिएको अपमानजनक नाम पनि हामी शासितहरू बडो सान र प्रसन्नतासाथ अपनाउँछौँ भने हाम्रो पराधीन प्रवृतिको योभन्दा उपयुक्त उदाहरण अरू के नै पो पाइएला र ? हामीहरू ‘नेटिभ’ हौँ नि त !

बिस्तारै हाम्रा सबै कामबाट समयपालन विलीन हुँदै गयो र फलस्वरूप समय त नष्ट भयो नै, यस कुरामा एकअर्काप्रति विश्वास पनि बँचेन । यदि हामीले कसैलाई ११ बजे भोजनको निम्तो दिइहाल्यौँ भने पनि न निम्तो पाउनेले एघारै बजे खान पाउने कुरामा विश्वास गरेको हुन्छ न हामीले ऊ एघारै बजे आउला भन्ने विश्वास नै गरेका हुन्छौँ । कसैलाई ८ बजे भेट्ने समय दिएर न त हामी ८ बजे आफ्नो घरमा भेटिन्छौँ, न कसैलाई समयमै भेट्न पुग्छौँ । यस्ता ससाना कुराहरूमा समयजन्य अविश्वसनीयता हाम्रो जीवनका अन्य क्षेत्रहरूमा पनि विस्तार भएको छ र यो हाम्रो एउटा सामाजिक कुरीति नै बन्न पुगेको छ । पारस्परिक अविश्वासले सामाजिक सङ्ठनको जरो नै काटिरहेको छ ।

अशिक्षित वर्गमा त यस्तो खराबी केही सीमासम्म क्षम्य हुन सक्ला । तर जब उच्च शिक्षाप्राप्त समाजका आदरणीय व्यक्तिहरू पनि यसका सिकार बन्छन् भने उनीहरूलाई म के भनूँ ? मलाई एउटा घटनाको सम्झना हुन्छ – एक जना ठुलै प्रतिष्ठित विद्वान्लाई एक पटक मैले विद्यार्थीहरूको सभामा भाषण दिन आमन्त्रित गरेको थिएँ, अनि उनले चार बजे आउने वचन दिएका थिए । विद्यार्थीहरू तीन साढे तीन बजेदेखि नै प्रतीक्षामा बसिरहेका थिए र उता साढे चार बजेसम्म पनि महाशयको अत्तोपत्तो थिएन । जब साढे चार बजेपछि मैले विद्यार्थी कार्यकर्ताहरूलाई उनलाई भेट्न पठाएँ तब उनीहरूले के देखे भने महाशय त बसेर तास पो खेलिरहेका रहेछन् । बिचरो विद्यार्थीले भन्यो, “सबै विद्यार्थीहरू तीन साढे तीन बजेदेखि नै बसिरहेका छन् । तर हजुर पाल्नुभएन ।” यसमा उनले हाँसेर उत्तर दिए, ‘‘ए, मैले सोचेँ चार बजे त ‘इन्डियन टाइम’ हो । ल, ल, हिँड । म आउँछु ।’ अनि त्यसपछि पनि उनी आएनन् । विद्यार्थीहरू बसिरहे र गए । मलाई आफ्नो पतनमा टिठ लाग्यो, यस्तो गुलाम प्रवृत्तिमा लाज लाग्यो अनि साँच्चै भन्ने हो भने ती ‘प्रतिष्ठित विद्वान्’माथि रिस पनि उठ्यो । यो नराम्रो बानी कति व्यापक भएको छ भने अब त समाजको हरेक वर्गका व्यक्तिहरू आफ्नो काम पनि समय बितेपछि मात्र गर्नुमा आफ्नो सान देख्दछन् । अनि समयमा काम गर्नुलाई सानो हुुनु मान्दछन् र आफ्नो ठुल्याइँमा दाग लागेको ठान्दछन् ।

यो ‘इन्डियन टाइम’को बानीको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हाम्रो व्यक्तिगत जीवनमा पनि कस्तो असर परेको छ भने हाम्रा अधिकांश कामहरू अधुरै रहन थालेका छन् । जहाँ एक घण्टा लाग्नुपर्थ्याे त्यहाँ दुई घण्टा लाग्न थालेको छ र यसरी हिसाब गर्दा हाम्रो जीवनको आधा समय त यस्तै गरी व्यर्थमा बितिरहेको छ । यो कति डरलाग्दो सत्य हो ! दुई सय वर्षसम्म हाम्रो टाउकामा टेकेर अङ्ग्रेजहरूले हामीसितबाट त धेरै कुरा लिए र लगे पनि तर हामी घाटामा पर्‍यौँ । हामीले उनीहरूसँग समयको अनुशासन पनि सिक्न सकेनौँ । महात्मा गान्धी समयको निकै विचार गर्नुहुन्छ र आश्रममा बस्नेहरूलाई पनि यसको बानी पार्नुहुन्छ । उहाँको कम्मरमा झुन्डिएको घडी कुनै शोभाका निम्ति होइन । त्यसको एक एक मिनेटले उहाँको दिनचर्यालाई नियमित बनाउँछ । मानिसहरू त उहाँ यति धेरै काम कसरी गर्नुहुन्छ भनेर अचम्म मान्छन् । एक पटक एक जना प्रसिद्ध अमेरिकाली पत्रकारसित भेट्ने क्रममा गान्धीजीले एक घण्टा सकिनासाथ उनका सामु घडी राखिदिनुभयो, जसको तात्पर्य थियो मैले तिमीलाई दिएको समय सकियो । त्यसैले तिमी अब कुटीबाट जाऊ । ती पत्रकारले पछि लेखेका पनि थिए, “मैले संसारका महान् व्यक्तिहरूलाई भेटेको छु तर यति धेरै समयको अनुशासन मान्ने मान्छे कोही पाइनँ । अन्य मानिसहरूलाई त मैले कुुरा गर्दागर्दै अकैतिर पनि कता कता पुर्‍याएँ तर गान्धीजीलाई मैले झुक्याउन सकिनँ ।” हाम्रा राष्ट्रनायकले जीवनका सबै विषयहरूमा त हाम्रो नेतृत्व गर्न सक्छन् तर हामी कस्ता छौँ भने आँखा चिम्लेर उही गलत बाटामा हिँड्न मन पराउँछौँ । समयमा काम गर्न नसक्नाले हामी आफ्नो प्रतिबद्धता पालना गर्न पनि असमर्थ हुन्छौँ जुन हाम्रो चरित्रको ठुलो कमजोरी हो ।

अन्य देशहरूमा ‘इन्डियन टाइम’जस्तो कुनै आफ्नो कुरो छ कि छैन भन्ने त थाहा छैन तर हाम्रा निम्ति भने त यो कलङ्क नै हो । यो निश्चित हो । ‘इन्डियन टाइम’ भन्ने नामसित मेरो कुनै विरोध छैन तर जुन खराब अर्थमा यसको प्रयोग हामीबाट नै हुने गरेको छ त्यो भने अत्यन्त अहितकर र लाजमर्दो कुरो हो । यदि ‘इन्डियन टाइम’को अर्थ गान्धीजीको टाइम हुने हो र त्यस्तै नियमित हुने हो भने त यो नाम रहिरहेमा पनि कुनै समस्या छैन । अन्यथा यस अपमानपूर्ण उपाधिलाई त अब मिल्काउनैपर्छ । धेरै खिल्ली उडाइसके अरुले हाम्रो ।

०००
रुपन्देही

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं
लोकतन्त्रको नौटङ्की

लोकतन्त्रको नौटङ्की

हरिशंकर परसाईं
पैसाकाे खेल

पैसाकाे खेल

हरिशंकर परसाईं
ओ. हेनरी

ओ. हेनरी

हरिशंकर परसाईं