शरद जाेशीएक जना भूतपूर्व मन्त्रीसितको भेट
एकातिर देशका बालबालिकाले दूध खान पाएका छैनन्, अर्कातिर भैँसी दुहुँदा पनि निथारेर दुहिन्न । अनि जबसम्म तपाईंले आफ्नो स्रोतहरूको दोहन पूर्ण रूपले गर्नुहुन्न तबसम्म देशको विकास असम्भव छ ।’

शरद जोशी :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
जब उनी मन्त्री थिए तब उनको आँगनमा कार बाँधिएको हुन्थ्यो । अचेल क्वार्टरमा बस्छन् त्यसैले आँगनमा भैँसी बाँधिएको हुन्छ । जति बेला म उनीकहाँ पुगेँ त्यति बेला उनी आफ्नो छोरालाई दूध दुहुन सिकाउँदै थिए र यो नयाँ पुस्तालाई भैँसी दुहुन पनि आउँदैन भन्ने कुराको अपसोच गर्दै थिए । मलाई देख्नेबित्तिकै भने, ‘काटेमाथि नुनचुक थप्न आएका हौ ?’
‘नुनचुक यति सस्तो पनि त छैन नि जसलाई नष्ट गर्न सकियोस् । कांग्रेसको राजमा त नुन पनि सस्तो थिएन ।’
‘कांग्रेसलाई किन दोष दिन्छौ ? ‘नमकआन्दोलन’ हामीले नै त चलाएका हौं !’- फेरि बर्बराउन थाले, ‘जो आउँछ उसैले कांग्रेसलाई दोष दिन्छ । तपाईं पनि विपक्षी दलको हुनुहुन्छ ?’
‘अचेल त कांग्रेस नै विपक्षी दल छ ।’
उनी चुप लागे । अनि बोले, ‘कांग्रेस विपक्षी दल हुनै सक्दैन । उसले त राज गर्छ राज ! अङ्ग्रेजले सत्ता हामीलाई सुम्पेर गएका हुन् । बिस वर्षदेखि चलाइरहेका छौं अनि सबै तरिका जानेका छौंँ। विरोधीहरूलाई के थाहा छ ? ठिकसित फाइल पनि जम्मा गर्न सक्दैनन् । हामी थियौं त अधिकृतहरूलाई पनि झपार्थ्याैँ र जस्तो चाहन्थ्यौँ त्यस्तै गराउँथ्यौँ । हिम्मतले काम गर्थ्याैँ । नातेदारहरूलाई जागिर खुवायौं अनि आफन्तलाई ठेक्का दिलायौँ । अधिकारीहरूको केही चल्नै दिएनौँ । गरेर त देखाओस् विरोधी दलले ! एउटा समय थियो जब अधिकारीहरू आफै घुस लिन्थे र खाइदिन्थे । अनि हामीले हाम्रो भाग खोइ र पार्टीको खोइ भनेर प्रश्न उठायौँ । हामीले अधिकारीहरूलाई घुस लिन रोक्यौँ अनि आफै लियौंँ । कांग्रेसलाई चन्दा दिन लगायौँ । यिनीहरूले हाम्रो बराबरी के गर्लान् ?’
‘तर तपाईंका नीतिहरू गलत थिए, त्यसैले जनता तपाईंहरूका विरुद्ध भए ।’
‘कांग्रेससित तपाईं यस्तो गुनासो गर्नै सक्नुहुन्न । हामीले जुन जुन नीतिहरू बनायौं काम त्यसैको उल्टो गर्यौँ । अनि गुनासो कुन कुराको ? जसले त्यो नीति मन पराउँथे ती हाम्रा समर्थक थिए र जो त्यसका विरुद्ध थिए ती पनि हाम्रै समर्थक थिए किनभने हामी त्यस नीतिमा चल्दै चल्दैनथ्यौंँ ।’
म निरुत्तर भएँ ।
‘के कांग्रेस फेरि यस राज्यमा कुनै दिन विजयी होला भन्ने तपाईंलाई आशा छ र ?’
‘किन नहुनु ? आशामै त सबै पार्टीहरू टिकेका छन् नि ! जब विरोधी दलहरू असफल भएर बेकार सावित हुनेछन् तब त दुबै असफल र गलत दलहरूका बिचमा नै चुनाव गराउनुपर्ने छ । त्यस्तो स्थितिमा कांग्रेस के खराब छ त ? अनि त हामी फेरि शक्तिमा आइहाल्ने छौं । यी विरोधी दलहरू त्यही बाटामा हिँडिरहेका छन् जुन बाटामा हामी हिँडिसकेका छौं । त्यसैले यिनको पनि पतन निश्चित हुनेछ ।’
‘जस्तो तपाईंको भयो ।’
‘पक्कै पनि ।’
‘जबदेखि मन्त्रपद छुट्यो तपाईंको अवस्था के छ नि ?’
‘उस्तै मस्ती छ जस्तो पहिले थियो । हामीलाई कुनै फरक परेको छैन । हामीले पहिलदेखि नै प्रबन्ध मिलाइसकेका थियौं । घर, घडेरी, बङ्गला सबैको व्यवस्था गरिसकेका छौं । भाडा आउँछ । छोराले दूध दुहुन सिक्यो भने डेरी खोल्छौं अनि दूध बेच्छौं, राजनीतिमा पनि रहिरहन्छौं अनि व्यापार पनि गर्छौं । हामी त नेहरू गान्धीका चेला हौं ।’
‘नेहरूजीजस्तै ठाटमा पनि बस्न सक्छौं र गान्धीजीजस्तै छाप्रामा पनि बस्न सक्छौं । जे होस्, छाप्राको त कुरै उठ्दैन । देशको भविष्यका बारेमा सोचिरहँदा के आफ्नो भविष्यका बारेमा सोचेनौं होला त ? भाइलाई ट्रक मिलाइदिएको थिएँ । ट्रकको नाम पनि देशसेवक राखेको छु । यसले यातायातको समस्या समाधान गर्नेछ ।’
‘जति बेला कृषिमन्त्री थिएँ त्यति बेला आफ्नै कृषिफर्म बनाउन लगाएको थिएँ जहाँबाट अहिले राम्रो उत्पादन हुन्छ । जबसम्म मन्त्री पदमा रहें एक मिनेट पनि खाली बसिनँ । परिश्रम गरें । त्यसैले गर्दा आज सुखी तथा सन्तुष्ट छु । हामी त कर्ममा विश्वास गर्छौं । पेसा कहिल्यै छोडेनौं । मन्त्री हुँदा पनि गरिरह्यौं ।’
‘तपाईं अर्को चुनावमा पनि लड्नुहुन्छ ?’
‘किन नलड्नु ? सधै लड्छु भने फेरि पनि लड्छु । कांग्रेसले टिकट दिएन भने स्वतन्त्र भएर लड्छु ।’
‘तर यो त कांग्रेसको विरोध होला नि !’
‘म कांग्रेसको हुँ र कांग्रेस मेरो हो । कांग्रेसले मलाई मन्त्री बन्न भन्यो, बनें । सेवा गरेको छु । मलाई त टिकट दिनैपर्छ । दिएनछन् भने त्यसको अर्थ हुनेछ कांग्रेसले मलाई आफ्नो मान्दैन । नमानोस् । पहिले प्रेम र अहिंसाबाट काम निकाल्ने प्रयत्न गर्छु, भएन भने असहयोग आन्दोलन चलाउँछु । अर्को पार्टीबाट उठ्छु ।’
‘जति बेला तपाईं मन्त्री हुनुहुन्थ्यो, आफ्ना जाति र नातेदारहरूलाई ठुलै पाइदा पुर्याउनुभयो नि !’
‘बाबु, त्यसको पनि इतिहास छ । जब म कांग्रेसमा आएको थिएँ त्यति बेला मेरा बारेमा म दलितहरूसँग उठबस गर्छु र एउटै थालीमा खाना खान्छु भन्ने कुरो खुब उडाएर मेरा जातिवालाले मलाई निकालिदिए र मसँग सम्बन्धै राखेनन् । म पनि जातिवादको विरोधमा रहें, अनि जब मन्त्री बनें जातिवादलाई सत्तोसराप पनि गरें ।’
‘वास्तवमा मैले आफ्नो पहिलेको मन्त्रिमण्डललाई जातिवादका नामले उखेलेको थिएँ । त्यसैले सुरुमा त म जातिवादको विरोधमा नै रहें । तर पछि जब मेरा जातिकाहरूले आफ्नो गल्ती थाहा पाए अनि उनीहरूले मेरो निवासको परिक्रमा गर्न थाले । जातिको सभा बस्यो अनि मलाई जातिकुलभूषणको उपाधिसहित सम्मानपत्र अर्पण गरियो । मैले सोचें, ठिकै छ बिहान बाटो बिराएको मान्छे साँझ घर फर्कियो । जब जातिका मानिसहरू मलाई माया गर्छन् भने मेरो पनि केही त कर्तव्य बन्छ । मैले पनि स्वजातिका युवकहरूलाई जागिर दिलाउन, सरुवा थमौती गराउन, ऋण दिलाउन सहयोग गर्न थालें । यसरी जातिको उन्नति र विकासमा योगदान गर्न थालें । आज मेरो जातिका मानिसहरू ठुल्ठुला पदहरूमा पुगेका छन् र उनीहरूले देशको सेवा गर्ने अवसर पाएकामा मेरो आभारी पनि बनेका छन् । मैले केटाहरूलाई भनें, तृतीय श्रेणीमै भए पनि एम. ए. गरेर आओ अनि म सबैलाई लेक्चरर बनाइदिने छु । हाम्रो जाति बुद्धिमान् जातिका रूपमा चिनिनुपर्छ । अनि नि बाबु, मेरो निर्वाचनक्षेत्रमा मेरै जातिका घरहरू नै सबैभन्दा बढी छन् । सबै ठोकुवा भोट हुन् । त्यसैले तिनीहरूको सहयोग गर्नैपर्यो । म जातिवादको विरोधी हुँ भन्ने त दुनियाँले थाहा पाएको छ । जबसम्म म थिएँ, सधै मन्त्रिमण्डलमा राजपुत र हरिजनको सङ्ख्या बढ्न दिइनँ । मैले जातिवादसित सङ्घर्ष गरिरहें । त्यसैले मेरो जातिको बहुमत सधै रहिरह्यो ।’
छोराले भैँसी दुहिसकेको थियो र भित्र जाँदै थियो । भूतपूर्व मन्त्रीमहोदयले उसको हातबाट बाल्टिन लिए ।
‘अझै दुई किलो दूध अरू आउँछ हजुर ! तिमीले निथारेर दुहेकै छैनौ । लेऊ म दुहुन्छु ।’ अनि मतिर हेरेर भने, ‘एकातिर देशका बालबालिकाले दूध खान पाएका छैनन्, अर्कातिर भैँसी दुहुँदा पनि निथारेर दुहिन्न । अनि जबसम्म तपाईंले आफ्नो स्रोतहरूको दोहन पूर्ण रूपले गर्नुहुन्न तबसम्म देशको विकास असम्भव छ ।’
उनले आफ्नो स्रोतको दोहन गर्न थाले । छोराले भित्र गएर रेकर्ड बजाउन थाल्यो अनि ‘चा चा चा’ को सङ्गीत यस आदर्शवादी वातावरणमा गुन्जिन थाल्यो । म पनि नमस्कार गरेर चल्दिएँ ।
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest


































