शरद जाेशीसमस्या समाधानमा बुद्धिजीवीको योगदान
लम्बेतान कुराकानीपछि शरद जोशी प्रहरीसमक्ष कुनै हत्याको मुद्धासित सम्बन्धित गहिरो अध्ययन लिएर पुगे । हत्याराको मनोविज्ञान, जसको हत्या भएको हुन्छ त्यसको आर्थिक स्थितिदेखि लिएर इतिहास र भूगोल पनि ।
शरद जोशी :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
समाजका बुद्धिजीवीवर्गलाई तारो बनाउने धृष्टता केवल लेखक शरद जोशीले नै गर्न सक्छन् । हाम्रो सेरोफेरोका समस्याहरू अनि त्यसमाथि बुद्धिजीवीहरूको विश्लेषणमाथि जोशीले बलियो कटाक्ष गरेका छन् । यस लेखका अंशहरू १९८५मा प्रकाशित उनको किताब ‘यथासम्भव’बाट लिइएका हुन् जसको प्रकाशन भारतीय ज्ञानपीठबाट भएको थियो । व्यङ्ग्यसम्राट्ले आफ्नो लेखमा नेताहरूदेखि प्रहरीहरूसम्मलाई चिमोटेका छन् । नयाँ पुस्ताले यो लेख पढ्नैपर्छ ।- अनु.
राष्ट्रको समस्यासमाधानमा सहयोग गर्नु बुद्धिजीवीहरूको कर्तव्य हो । नेताले हरेक भाषणमा यही कुरो फलाक्छन् । आपूmले त गर्दै गर्दैनन्, हाम्रा थाप्लामा थोपरिदिन्छन् । प्रश्न उठ्छ, बुद्धिजीवी को हो ? त्यसको उत्तर हो, म हुँ । तपाईं हुनुहुन्छ । यहाँ बसेका सबैजना हुनुहुन्छ । जब उनीहरू नेता हुन सक्छन् भने हामी के बुद्धिजीवी हुन सक्दैनौं ? जब उनीहरूलाई आफैलाई नेता भन्दा लाज लाग्दैन भने हामी आफैलाई बुद्धिजीवी भन्न किन लाज मानौं ?
तर यस देशमा समस्याहरू धेरै छन् र तुलनामा बुद्धिजीवी कम छन् । फेरि के पनि हुन सक्छ भने हामीले जुन कुरालाई समस्या ठानेका छौं नेताहरूका लागि त्यो समस्या नै नहोस् । मैले सोचें, लौ न त नेतासितै सोधौं न त समस्या के रहेछ !
मैले एउटा नेतालाई सोधें, ‘हजुर, हजुरको दृष्टिमा सबैभन्दा ठुलो समस्या के हो ?’
उसले भन्यो, ‘सबैभन्दा ठुलो समस्या त एक पटक जहाँबाट चुनाव जितियो त्यहीँबाट फेरि पनि जित्नु छ ।’
मैले भनें, ‘बुद्धिजीवीका नाताले मैले तपाईंलाई के सहयोग गर्न सक्छु ?’
उनले भने, ‘बुद्धिजीवीका नाताले त होइन, हो गुन्डा बदमासको नाताले भने तपाईंले मलाई अवश्य सहयोग गर्न सक्नुहुन्छ ।’
मैले भनें, ‘गुन्डा बदमास बन्नका लागि त मैले फेरि जन्म लिनुपर्ने छ ।’
उनले भने, ‘त्यसै बेला आउनुहोला । प्रजातन्त्र अमर छ र चुनाव त भइ नै रहन्छ ।’
मेरो पत्ता काटियो । यी नेताहरूको जुन प्रमुख समस्या छ त्यसमा त म कुनै सहयोग गर्न सक्दिनँ ।
शरद जोशीले नेताहरूपछि प्रहरीको व्यथा पनि आफ्नो कलमले लेखिदिए । उनी लेख्छन्, प्रहरी अधिकृतहरू कानुन र सुशासनको ठुलो समस्या छ भन्ने त मान्छन् तर के पनि मान्छन् भने त्यसको समाधानका लागि उनीहरूसित जनशक्ति कम छ । उनले (शरद)ले एउटा बुद्धिजीवी बनेर प्रहरीसित कुरा गर्दाको रमाइलो दृश्य कस्तो बन्यो हेनुस् न !
मैले सोधें, ‘कसो हजुर, प्रहरीको पोसाकमा कतै तपाईं कुनै बुद्धिजीवी त हुनुहुन्न ?’ उनी हाँसे, अनि भने, ‘बुद्धिजीवी हुन्थें भने कसले मलाई यो जागिर दिन्थ्यो र ? अनि तपाईंले जस्तै चप्पल चट्काउँदै हिँड्थें ।’
पुलिसले यस देशमा अपराध निकै बढेको कुरो गरे । ‘अपराध गर्नेहरूले के गर्ने भन्ने नै बुझ्न सकेका छैनन् । तात्पर्य के भने हत्या गरुन् कि बैंक लुटुन् , अपहरण गरुन् कि पसलमा पसेर नगद पैसा झिकुन् । न त प्रहरीसँग फुर्सद छ न अपराधीसँग ।’
मैले प्रहरी महोदयसँग सोधें, ‘तपाईंको रुचि केमा छ ? तपाईं हत्या बन्द गराउन चाहनुहुन्छ कि हत्यारालाई समाउन चाहनुहुन्छ ?’ अनि उनले भने, ‘जुन कारणले हत्याहरू हुन्छन् तिनको कुनै पनि सम्बन्ध हाम्रो विभागसित हुँदैन ।’
आठवटा दिशाहरू छन् । हत्यारा कुनै दिशामा पनि भाग्न सक्छ । यदि हरेक दिशामा हत्यारालाई समाउन दुई दुई जना प्रहरीलाई खटाइयो भने पनि एउटा हत्याका पछाडि सोह्र जना प्रहरीको आवश्यकता पर्छ । अनि उनीहरू दगुर्दा दगुर्दै आफ्नो घर नजाऊन् भनेर पनि केही थप चाहिन्छन् ।
लम्बेतान कुराकानीपछि शरद जोशी प्रहरीसमक्ष कुनै हत्याको मुद्धासित सम्बन्धित गहिरो अध्ययन लिएर पुगे । हत्याराको मनोविज्ञान, जसको हत्या भएको हुन्छ त्यसको आर्थिक स्थितिदेखि लिएर इतिहास र भूगोल पनि । लामो चौडा अध्ययन देखेपछि प्रहरीले शरद जोशीलाई नै गिरफ्तार गर्यो । जब जोशीले स्वयम्लाई बुद्धिजीवी बताउँदै उनले त केवल एउटा विश्लेषण प्रस्तुत गर्दै छन् भने अनि प्रहरीले भने, ‘आफैले हत्या नगरेसम्म यति राम्रो र स्पष्ट विवरण त दिनै सकिन्न ।’ अनि हप्काउँदै भने, ‘हिँड प्रहरी चौकी ।’
शरद जोशी लेख्छन् त्यसपछि जे भयो त्यो लेखको नभएर कविताको विषय हो । म त भन्छु, राष्ट्रको समस्या समाधान गर्न मबाट जेजति हुन सक्थ्यो त्यो मैले गरें । तपाईंहरूले नेताले बुद्धिजीवीलाई किन अपिल गर्छन् भन्ने पनि बुझ्नु नै भयो होला ! उनीहरूलाई कतै उनीहरू नै फँस्ने हुन् कि भन्ने डर रहन्छ ।
०००
जाेशीकाे कृति ‘यथासम्भव’ (१९८५) काे एउटा निबन्धबाट नेपालीमा अनुवाद
Subscribe
Login
0 Comments
Oldest




































