साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा मिनी भ्रष्टाचार

भ्रष्टाचार पनि गरूँ अनि आफूलाई धिक्कारी धिक्कारी सन्त बन्ने चेष्टा पनि गरूँ ? ठुलो भवन पाउनका लागि वर्षाैँ प्रयत्न पनि गरूँ अनि भवन हातलागी भएपछि त्यसलाई एउटा काठेघेरो र कैदखाना घोषित गरेर स्वयम्लाई पीडित पनि देखाऊँ ?

Nepal Telecom ad

शरद् जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

बितेका दिनमा मैले एउटा भ्रष्टाचार गरेँ । त्यसलाई भ्रष्टाचार भन्नु देशमा परम भ्रष्टाचारीको सम्मानमा धृष्टता हुनेछ तर मेरो कामका निम्ति यसका अतिरिक्त कुनै शब्द छैन जसको प्रयोग गरूँ अनि यस कलङ्कबाट मुक्त होऊँ । मेरा एकजना मित्रले दुईवटा शब्दको सुझाव दिएका थिए, ‘समझदारी र व्यावहारिकता’ जसलाई मैले भ्रष्टाचारका ठाउँमा प्रयोग गर्न सक्थेँ । उनको आग्रह त यही थियो तर मैले मानिनँ । उसको भनाइ के थियो भने जसजसले भ्रष्टाचार गर्छन् उनीहरू यसैलाई समझदारी र व्यावहारिकता भन्छन् त तिमीले आफ्ना कर्महरूलाई उक्त नाम दिएर कुनै अनौठो गर्ने छैनौ तर मैले अस्वीकार गरिदिएँ ।

मैले भनेँ मलाई भ्रष्टाचारलाई भ्रष्टाचार भन्न कुनै नराम्रो लाग्दैन । तर यो शब्द कति सर्वव्यापी छ र यसका सन्दर्भमा कति यस्ता ठुल्ठुला हरकतहरूका बारेमा सुनिन्छ भने मलाई मेरो कर्म निकै क्षुद्र लाग्छ । मेरो भ्रष्टाचार एउटा पुड्के भ्रष्टाचार हो, भ्रष्टाचारको स्वर्णिम दिशामा एउटा नम्र प्रयास हो, एउटा फुच्चे क्रिया हो र एउटा टुच्चे हरकत हो । मैले शब्द बनाएँ ‘मिनी भ्रष्टाचार’ अर्थात् एउटा बिरुवातुल्य र घुँडाभन्दा माथि नै टुङ्गिएको फ्रकजस्तो भ्रष्टाचार । भ्रष्टाचारको पर्वतीय उँचाइमा एउटा बालकको एउटा काम, महाकाव्यहरूको तुलनामा एउटा हाइकु । मित्रले भने, ‘सानो भए पनि ठुलो भए पनि भ्रष्टाचार त भ्रष्टाचार नै हो ।’ यस कुराले मलाई निकै पिर पर्‍यो । एकेडेमिक बहसहरूमा यदि कटु सत्य एकाएक कतैबाट उद्घाटित भयो भने विशेष गरेर यस्ता नैतिक प्रश्नहरूलाई लिएर बुद्धिवादीहरूलाई निकै पीडा हुन्छ ।

शरद् जोशीका साथमा के भएको थियो ? त्यो पढ्नुस् ।
कुरो के भएको थियो भने टाढाको सहरमा रहेको एउटा संस्थाले मलाई ‘वर्तमान समयमा गान्धीवादको सार्थकता’ विषयमा आयोजित विचारगोष्ठीमा भाषण गर्न बोलायो । अचेल वर्षभरिका लागि देशमा गान्धीको मौसम चलिरहेको हुनाले यो आयोजन स्वाभाविक थियो । जुन गान्धीवादी विचारहरू वर्षौंदेखि गोदामहरूमा थन्किएर कुहिँदै थिए तिनै विचारलाई ओइलाएका व्यक्तिको लडियामा लादेर मन्डीमा ल्याएपछि निकै हल्लीखल्ली भयो । भाषणहरूको यो विराट् निष्क्रियता केन्द्रमा विनम्र तोतेबोलीमा मैले पनि मेरो पींपीं प्रस्तुत गरें अनि वन्दनाका बेसुरहरूमा एउटा सुर आफ्नो पनि मिसाएर आफ्नो अहम्को तुष्टि गरेँ । संस्थाले लेखेको थियो – हामीले बस्ने र खाने प्रबन्धबाहेक तपाईंलाई तीनवटा फर्स्ट क्लासको भाडा दिने छौँ अनि तपाईंले दुई दिन बस्नुपर्ने छ । मैले सोचेँ, गान्धीको नाउँमा देशमा कतिजनाले जीवनभरका लागि आफ्नो खानेबस्ने बन्दोबस्त गरेका छन् भने दुई दिनका लागि मेरो पनि भयो भने के पो होला त ? मैले अनुहारमा गम्भीरता ल्याएर आफूलाई विचारकको उपयुक्त हाउभाउमा आफ्नो शरीरलाई शिथिल पारेँ अनि डुबिरहेका आँखाले आकाशलाई हेरिरहेँ । औपचारिकता, सौजन्य र आभार, स्वीकारका सडेगलेका शब्दावलीहरूलाई घोकें अनि यात्रामा निस्केँ ।

स्टेसनमा आएपछि मैले आफैसित एउटा प्रश्न गरेँ । यस्ता प्रश्न गर्नुमा बिनाटिकट मसँगै यात्रा गरिरहेको मेरै अलच्छिना आत्माको कुनै षड्यन्त्र पो थियो कि ? (कार्टुन आइडिया- टिकटघरको झ्यालका अगाडि टिकटबिक्रेता एकजना ठुलै सन्यासीलाई भनिरहेका थिए, ‘बाबा, तिम्रो त दुईवटा टिकट लाग्छ । एउटा तिम्रो शरीरको र अर्को तिम्रो आत्माको ।’) प्रश्न के थियो भने मैले त्यो यात्रा फस्र्ट क्लासमा नै गर्नुपछ कि थर्ड क्लासमा ?

यस्तै रङ्गरूपको प्रश्न कुनै बेला गान्धीजीको मनमा पनि उठेको थियो अनि गान्धीजीको निजी ईश्वरले उनलाई थर्ड क्लासमा यात्रा गर्नुपर्ने सुझाव दिएको थियो । किनभने देश गरिब छ र सही अर्थमा थर्ड क्लास नै छ । त्यसैले दुःख बेहोरेर भए पनि तिमी थर्ड क्लासका यात्रीहरूका साथमा बस । यस्तै आकारप्रकारको प्रश्न स्वतन्त्रतापछि कांग्रेसी मन्त्रीहरूको मनमा पनि उठेको थियो र मन्त्रीका निजी सचिवहरूले उहाँहरूलाई भत्ता प्राप्त हुने र उहाँहरू थर्ड क्लास यात्रीहरूभन्दा माथिल्लो तहका होइस्येका हुनाले रेल विभागले फस्र्ट क्लासको बर्थमा उहाँहरूको जन्मसिद्ध अधिकार निश्चित गरिदिइसकेको हुनाले फर्स्ट क्लासमा यात्रा गर्नुपर्ने सल्लाह दिएका थिए । मेरो प्रश्न यस्तै रूपरङ्ग र आकारप्रकारको भएर पनि फरक थियो । प्रश्न के थियो भने जब संस्थाले मलाई फर्स्ट क्लासको भाडा दिँदै छ भने के मैले थर्ड क्लासमा यात्रा गर्नु उपयुक्त हुन्छ ? आत्माले भन्यो, ‘यदि तैँले उनीहरूसित फर्स्ट क्लासको भाडा लिँदै छस् भने त फर्स्ट क्लासमै बसेर जा । अनि यदि तँ थर्ड क्लासमा बसेर जाँदै छस् भने उनीहरूसित थर्ड क्लासकै भाडा ले ।’

मैले भनेँ, ‘आत्माजी, हजुर शरीरमा विराजमान हुनुहुन्छ । हजुरले त मेरो थैलीमा र खल्तीमा निवास गर्नुपर्ने थियो । अनि बल्ल तपाईंले मेरो पीडा बुझ्न सक्नुहुन्थ्यो । म टिकट नम्बर दिनुपर्ने सरकारी नोकर त हैनँ । म त संस्थाको सम्माननीय अतिथि हुँ जसले वर्तमान परिस्थितिहरूमा गान्धीवादको सार्थकतामाथि बोल्नु छ, भाषण दिनु छ । म फर्स्ट क्लासमै आएँ र गएँ भन्ने कुरामै मेरो फाइदा छ । सत्यबाट संस्थाको बचत हुनेछ भने असत्यबाट मेरो बचत हुनेछ । म आफ्नो बचत गर्छु, अनि आफ्नो फाइदाका बारेमा सोच्छु । मैले थर्ड क्लासको टिकट लिएँ अनि प्लेटफर्ममा पुगेँ । केही समयपछि रेल आयो । थर्ड क्लासमा प्रवेश गर्नु कठिन समस्या थियो तर मैले चुनौतीलाई स्वीकार गरें अनि आफ्नो पौरुषलाई प्रमाणित गर्दै भित्र छिरेँ । मेरो आरामप्रिय आत्माको केही लागेन र म ठाउँ बनाएर जसोतसो बसेँ ।
शरद् जोशीले त्यहाँ गएर भाषण त दिए तर त्यसपछि के भयो भन्ने कुरो रोचक छ ।

अन्तमा त्यो स्वर्णिम घडी पनि आयो जब मलाई फर्स्ट क्लासको भाडा एक सय पचास रुपैयाँ राखेको खाम दिइयो । खर्च पचास मात्र र सय रुपैयाँ नाफा । गान्धीवाद नराम्रो लागेन । मैले भनेँ, ‘ह्या…चल्छ ।’ खाम खल्तीमा राखेँ । त्यसै बेला आत्माले मुड्कीले हिर्काएझैं भयो । उसले व्यङ्ग्यमा मैले गरेको भाषण दोहोर्‍याउन थाल्यो ।
कैयौँ दिनहरू बिते तर आत्माले आफ्नै शैलीमा चिमोटिरहन्छ । मित्रको भनाइमा मैले जे गरें त्यो निकै राम्रो समझदारी र व्यावहारिकता हो । म भन्छु, चाहे त्यो मिनी भ्रष्टाचार होस् तर हो त भ्रष्टाचार नै । उनीहरूमा र ममा के पो फरक भयो र ?

यसरी त म ठगमा गनिन्छु भन्ने कुराको मलाई डर लागिरह्यो । भ्रष्टाचार पनि गरूँ अनि आफूलाई धिक्कारी धिक्कारी सन्त बन्ने चेष्टा पनि गरूँ ? ठुलो भवन पाउनका लागि वर्षाैँ प्रयत्न पनि गरूँ अनि भवन हातलागी भएपछि त्यसलाई एउटा काठेघेरो र कैदखाना घोषित गरेर स्वयम्लाई पीडित पनि देखाऊँ ?

अन्तमा शरद् जोशीले आफ्नो लेखमा यस विषयमा उनले आफ्ना मित्रसित चर्चा गरेको कुरा लेखेका छन् ।
मेरो साथी भन्छ, ‘हेर बाबु, हरेक समयमा कुनै न कुनै नयाँ टेन्सन निम्त्याएर तनावमा पर्नु तिमीजस्ता लेखकहरूको विशेषता हो । यहाँबाट त्यहाँसम्म तिमी बोल्न गयौ । के तिम्रो र गान्धीजीको कुनै साइनो छ ? या कुनै डाक्टरले तिमीलाई त्यहाँ गएर भाषण गर भनेर भनेको थियो ? तिमी गयौ, दुई दिन नष्ट गर्‍यौ, चिन्तन गर्‍यौ, विचार प्रकट गर्‍यौ अनि कार्यक्रमलाई सफल बनायौ । यस परिश्रमको मूल्य त तिमीले पाउनैपर्छ । पाएका छौ । संस्थावालालाई थाहा र तिमीलाई थाहा छ कि थर्ड क्लासको बाटोखर्च र फर्स्ट क्लासको बाटोखर्चमा जेजति अन्तर छ त्यो नै तिम्रो मूल्य हो ।’

०००
जोशीको ‘यथासम्भव’ (१९८५) कृतिबाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x