साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरालाहरूको अर्थशास्त्र

. एउटा मुसालाई मर्दै गरेको देखेर उनीहरूको बढ्दो जनसङ्ख्याको समाधान भइरहेको ठानेर समस्त मुसासमुदायलाई प्रसन्नता हुनुपर्दछ । यसका निम्ति उनीहरू बिरालाप्रति आभारी रहनुपर्छ ।

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

रोटी बाँड्नका लागि बिरालाहरूले बाँदरको सहायता लिनु पर्‍यो भन्ने विषय अत्यन्त खेदजनक छ । मुसाहरू मरेपछि बिरालाको घरबाट दुधको कचौरासित स्थापित गरिएको कन्ट्रयाक्ट दाउराले हिर्काएर समाप्त गरिएझैं यो पनि एउटा गम्भीर समस्या हो । आखिर बिरालाहरू कहिलेसम्म मूर्ख बनिरहने ? उनीहरूले मानिसले झैं एउटा आफ्नो अर्थशास्त्र तयार पार्नुपर्ने भएको छ । यस शास्त्रअनुसार काम गरेपछि न मुसो खानु अनैतिकता हुनेछ न दूध पिउनु चोरी मानिने छ । अब सबै काम नियमसम्मत गरिनुपर्ने समय आइसकेको छ ।

पछिल्ला केही वर्षहरूमा बिरालाको उपयोगमा आउने वस्तुहरूको तीव्रताका साथ कमी भइरहेको छ । दूध पातलो भएको छ अनि घिउ नक्कली बन्न थालेको छ । नौनी सोझै मेसिनबाट निस्केर टिनको डिब्बामा प्याक हुन्छ । मुसा समाप्त पार्नु व्यक्तिगत दायित्व मानिन थालेको छ र चराहरूको रक्षाका साधनहरू खोजिएका छन् । यता कुकुरलाई घरैभित्र व्यवस्थापन गरिएको छ । बिरालो जातिका लागि यस्तो अप्ठ्यारो स्थिति कहिल्यै आएको थिएन । सङ्क्रमण काल भनेर सायद यसैलाई भन्छन् । यता मानवमूल्यमा पनि तीव्र रूपमा ह्रास आएको छ जसको प्रत्यक्ष असर स्वास्थ्यमाथि परेको छ । बिरालाहरूले सामग्री, साधन, शक्ति र आवश्यकताको ठिक ठिक आँकलन गरेर आफ्नो लक्ष्यअनुसार क्रमबद्धता सुनिश्चित गरे भने मात्र समस्याको समाधान हुन्छ । बिरालाहरूलाई आज अर्थशास्त्रको खाँचो स्पष्ट देखिएको छ अनि समयोचित ठानेर यसैलाई प्रकाशित गरिँदै छ ।

मानिसहरूको अर्थशास्त्रले उसको लक्ष्य समस्त विश्वकल्याण हो भन्ने दावा गर्छ । बिराला पनि विश्वकै प्राणी हुन् तापनि उनीहरूको कल्याणको कुनै गुन्जाइस मनुष्यको अर्थशास्त्रमा छैन । अतः बिरालाहरूका हितहरूलाई ध्यानमा राखेर यस शास्त्रको रचना बिरालासँगै मुसाहरूको कल्याणको समस्यालाई पनि समाधान गर्न सकियोस् भन्ने उदारताका साथ गरिँदै छ । वास्तवमा बिरालाको तृप्ति र मुसाको मृत्युमा अन्योन्याश्रित सम्बन्ध छ । यसलाई कार्यकारण सम्बन्ध पनि भन्न सकिन्छ किनभने एउटाका विषयमा विचार गर्दा दोस्राको विषय स्वतः उपस्थित हुन्छ । अतः यस सिद्धान्तअनुसार यो अर्थशास्त्र एक प्रकारले मुसाबिरालाको अर्थशास्त्र हो । जस्तो मानिसहरूले लेखेको अर्थशास्त्रले उच्च वर्गको मात्र हित गर्दागर्दै पनि त्यसलाई दुवै वर्गको अर्थशास्त्र मानिन्छ ।

‘अर्थ’ शब्दका अनेक अर्थ हुन्छन् तर यस पुस्तकमा यो शब्द त्यसै अर्थमा आउने छ जुन अर्थमा स्वाथर्मा प्रयोग हुन्छ । अर्थात् जहाँ बिरालाहरूको स्वार्थ हुन्छ । यस पुस्तकको प्रारम्भमा बिरालाहरूको अर्थशास्त्रको परिभाषा दिनु उचित हुनेछ । यो सबै औपचारिकता हो तर एउटा राम्रो परिभाषा बनाइनु शास्त्रको नियमको बाध्यता हो । त्यो यस्तो हुनेछ , ‘बिरालाहरूको अर्थशास्त्र एउटा शास्त्र हो जसमा बिरालो एउटा परमार्थी प्राणी भएकाले संसारमा बिरालाका आवश्यक दायित्व एवम् कार्यकलापहरूको क्रमबद्ध विवेचन गरिन्छ ।’

प्राणीले मात्र आफ्ना इच्छाहरूको तृप्तिमा सुखानुभव गर्दछ । बिरालो पनि इच्छाको तृप्तिबाट सुखी हुन्छ । तर उससँग साधनहरूको सीमितता छ । किनभने बिरालामा सामाजिक भावना हुन्छ । बिरालाहरू गाईभैंसीले दूध दिन्छन् भन्ने जान्दाजान्दै पनि तिनको नजिक जाँदैनन् । जस्तो एउटा व्यापारी खेतबारीमा गहुँको उब्जनी हुन्छ भन्ने जानेर पनि जोत्न जाँदैन । उसले किसानबाट गहुँ प्राप्त गर्दछ । ठिक त्यसै गरी बिरालाले मान्छेका माध्यमबाट दूध प्राप्त गर्दछ । केही स्वार्थीहरूलाई अपवादका रूपमा छाडिदिने हो भने आम मानिसले आफै दूध खाँदैन बरु सन्तानलाई दिन चाहन्छ । अर्थात् ऊ खुवाएर तृप्त हुन्छ । बिरालाले मानिसले आर्जन गरेको दूध खाएर मानिसलाई पनि तृप्त पार्छ र आपूm पनि तृप्त हुन्छ । जसरी श्रमिक उत्पादन गरेर र मालिक उत्पादन पाएर तृप्त हुन्छ । यही हो बिरालाको सामाजिकता । यही उसको तृप्ति हो । बिरालाको सामाजिकता दूध खाएर पनि त्यत्तिकै अक्षुण्ण रहन्छ जति कुनै साहू । यो अर्थशास्त्रको सिद्धान्त हो ।

मुसालाई उसको सङ्ख्याविस्तारभन्दा ठुलो चिन्ताको विषय अर्को हुन सक्दैन । यसको असर स्वयम् उनीहरूमाथि नै पर्छ किनभने यसरी बढ्दो सङ्ख्याका निम्ति भोजन जुटाउन गाह्रो छ । परिणामस्वरूप हरेक मुसो दुब्लो हुनेछ र यसले उसको नस्ल बरबाद हुनेछ । अतः मुसाहरूको हित केमा छ भने उनीहरूमा जन्मदर कम होस् या मृत्युदर जन्मदरभन्दा बढी होस् । यस समस्याको समाधानका निम्ति उनीहरूले बिरालाको सहायता लिनुपर्छ । बिरालाहरू मूल रूपमा दूध खाने प्राणी हो भन्ने थाहा पाएर मुसाहरूलाई पिर पर्न सक्छ । उसलाई नन भेजिटिरियन भन्न कठिन भए पनि असम्भव छैन ।

अर्को कुरो, बिरालाको सङ्ख्या पनि त थोरै छ । बिरालाको नस्ललाई समाप्त हुनुबाट रोक्ने काम पनि मुसाहरूकै हो । वास्तवमा मुसाहरू भाग्यमानी हुन् किनभने बिरालाहरू भएकैले उनीहरूको बढ्दो जनसङ्ख्यावृद्धि सन्तुलनमा छ । आज विश्वमा एक हजार मुसाका निम्ति एउटा बिरालाको अनुपात आउँछ । जबकि प्रतिसय मुसा बराबर एउटा बिरालो हुनु जरुरी छ । एउटा बिरालाले सरदर प्रतिदिन एउटा मुसो घटाउन सक्छ । उता यसको उल्टो मुसाको जन्मदर तीव्र गतिमा हुन्छ । अर्थशास्त्रको यो एउटा गम्भीर समस्या हो जसको समाधानका लागि हरेक मुसाले विचार गर्नुपर्ने भएको छ ।

मूल्यको निर्धारण समाजको वस्तुविशेषको आवश्यकता तथा त्यसको प्राप्तिमा निर्भर रहन्छ । जुन वस्तु जति थोरै हुन्छ त्यो उति नै मूल्यवान् हुन्छ । जस्तै यदि सिसी बढी र बिर्को थोरै भए भने सिसीको तुलनामा बिर्काको मूल्य बढी पनि हुन सक्छ । समाजमा बुद्धिजीवीको सङ्ख्या थोरै भएकै कारणले बुद्धिजीवी यति मूल्यवान् भएको हो । ज्ञानप्राप्ति, राम्रो स्वास्थ्य बनाउन या कविता लेख्ने कामको मूल्यमा मानिसले ज्ञानवान्, स्वस्थ अथवा कवि बनेर आफ्नो मूल्य बढाउन सक्दछ भन्ने अर्थशास्त्रको यसै नियमले काम गरिरहेको हुन्छ । तर जब शिक्षाको विस्तार भएर सबै वा धेरै जना बुझ्ने हुन थाल्नेछन् अनि बुद्धिजीवीको मूल्य रहने छैन । त्यस बेलामा मूर्खहरूको मूल्य बढ्नेछ । जस्तो धेरै कवि भए भने कविताको मूल्य घटाइन्छ । संसारमा जति मानिसहरू छन् तिनीहरूलाई चाहिने जति दूध छैन ।

यसले दूधको मूल्य बढाएको छ । यसको समाधानमा सामान्य मानिसले पनि दूध किन्न सकोस् भनेर त्यसमा पानी मिसाइन्छ । मात्रा बढेपछि मूल्य घटिहाल्छ । अनि मूल्यको यस गिरावटलाई रोक्न बिरालाको प्रयत्न मूल्यवान् हुन्छ । यदि एक माना दूधबाट आधा दूध बिरालाले खाइदियो भने बाँकी रहेका आधा माना दूधको मूल्य हुन्छ एक माना दूधबराबर । मूल्य बढेपछि बजारमा स्थायित्व आउँछ । मानिसले आफ्नो आवश्यकताको पूर्तिका लागि बढी प्रयत्न गर्छ र वैज्ञानिक दृष्टिकोण अपनाउँछ जसको अर्थ जीवनस्तर उठाउनु हुन्छ । मानिसको जीवनस्तर उठाउने काममा बिरालाले प्रमुख भूमिका निर्वाह गर्दछ । यसैले जुन व्यक्तिको जीवनस्तर उठेको हुन्छ प्रायः उनीहरूले बिरालो पालेको पाइन्छ । उनीहरू आफैं आफ्ना हातले बिरालालाई दूध खुवाउँछन् । यसरी बिरालो पाल्ने चलनमा जति बढोत्तरी हुन्छ उति मान्छेको जीवनस्तर उठेको मानिन्छ ।

मानिसको सङ्ख्या पनि मुसाको जस्तै गरेर बढिरहेको छ अनि धर्तीले आवश्यकताअनुरूप अन्नको उत्पादन दिइरहेको छैन । यता बिरालाले मानिसलाई पोलेका मकै पनि नखाइदिएर सहयोग गरिरहेको छ । यति मात्र हैन, बिरालाले त हाम्रो अन्न नष्ट गरिदिने चरा र कुखुराहरूलाई नै नष्ट गरिदिन्छ । त्यसो त मुसालाई समाप्त पार्नुमा पनि बिरालाको मूल उद्देश्य मानिसलाई सहयोग गर्नु नै हो । यसरी बिरालाले अन्नको बचत गरिदिन्छन् । अनि मानिसलाई जीवित राख्नुमै त बिरालाको पनि कल्याण छ नि । मानिस मुसा पनि बस्न पाउने र पालिने गरी घर बनाउने प्राणी भएकाले मानिसको हितमै बिरालाको पनि हित निहित छ । बिरालाहरूको अर्थशास्त्रको उद्देश्य यसरी साँचो अर्थमा विश्वकल्याणको हो जहाँ सबै सुखी रहुन् भन्ने छ ।

मानिसहरूको अर्थशास्त्र प्रकाशित हुनाले जसरी अनेक प्रकारका निजी लाभ, आक्रमण, शोषण अनि विनाशका लागि शोषणको सहारा प्राप्त भएको छ त्यसै गरी अब बिरालाको अर्थशास्त्रको प्रकाशनबाट पनि बिरालाहरूकाृ पनि कार्यकलाप सिद्धान्तः उचित भएको मानिने छ । जस्तो –

१. एउटा मुसालाई मर्दै गरेको देखेर उनीहरूको बढ्दो जनसङ्ख्याको समाधान भइरहेको ठानेर समस्त मुसासमुदायलाई प्रसन्नता हुनुपर्दछ । यसका निम्ति उनीहरू बिरालाप्रति आभारी रहनुपर्छ ।

२. मानिसहरूद्वारा अर्जित दूधको परिमाण बिरालाहरूले घटाइदिँदा यसबाट दुग्धउत्पादकहरूलाई लाभ हुनेछ किनभने यसबाट दुधको भाउ घट्न पाउन्न र सामान्य जीवनस्तर माथि उठ्छ ।

३. यदि बिरालाले रुखमाथि चढेर शान्तिपूर्वक चरा समातिरहेको छ भने मानिसले ताली बजाएर त्यसलाई प्रोत्साहित गर्नुपर्छ किनभने यसबाट उसको अन्नको सुरक्षा हुन्छ ।
म्याऊँ !

०००
भारतीय ज्ञानपीठद्वारा १९८५ मा प्रकाशित शरद् जोशीको पुस्तक ‘यथासम्भव’मा सङ्कलित ‘बिल्लियों का अर्थशास्त्र’बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x