साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक भूतपूर्व मन्त्रीसँग भेटघाट

एकातिर देशका बच्चालाई दुध पुगिरहेको छैन, अर्कोतिर भैसी पूरै दोहिएको छैन । र, जहिलेसम्म आफ्नो स्रोतको पूरै दोहन गरिंदैन, देशको विकास असम्भव छ।" उनी आफ्नो स्रोतको दोहन गर्न लागे ।

Nepal Telecom ad

शरद जाेशी :

व्यङ्ग्यानुवाद : सुदर्शन ढुङ्गाना

मन्त्री छँदा उनको ढोकामा कार बाँधिएको हुन्थ्यो । आजकल क्वार्टरमा बस्छन् र उनको ढोकामा भैंसी बाँधिएको छ। म जब उनकहाँ पुगें, उनी आफ्नो छोरालाई दुध दुहुन सिकाइरहेका थिए र भन्दै थिए- कस्तो नयाँ पिँढी आइरहेको छ, जसलाई भैंसी दुहुन पनि आउँदैन । मलाई देखेपछि भने – “जलेको माथि नुनचुक छर्किन आउनु भो ?”

“नुन त्यति सारै सस्तो छैन, नाश गर्नलाई । काङ्ग्रेसको शासनमा नुन पनि सस्तो रहेन” मैले भनें ।

“काङ्ग्रेसलाई किन दोष दिनुहुन्छ ! हामीले नै त ‘नमक-आन्दोलन’ चलायौँ”- फेरि बड़बडाउन थाले, “जो आउँछ काङ्ग्रेसलाई नै दोष दिन्छ । तपाईं पनि के विरोधी दलको हो ?”

“आजकल त काङ्ग्रेस नै विरोधी दल छ ।”

उनी चुप बने । फेरि भने- “काङ्ग्रेस विरोधी दल हुनै सक्दैन । यसले त सधैं शासन गर्छ । अङ्ग्रेजले हामीलाई राज्य सुम्पेर गए । बीस वर्षदेखि चलाइरहेका छौं र सबै तरिका जान्दछौं । विरोधीहरूलाई के आउँछ र ? फाइल समेत ठिकसँग जम्मा गर्न जान्दैनन् । हामी छँदा हाकिमहरूलाई फट्‌कार्ने गथ्यौं। जस्तो चाहन्थ्यौं, त्यस्तै गराउँथ्यौं । हिम्मतले काम लिन्थ्यौं । नातेदारलाई जागिर लगाइयो र आफ्ना मान्छेहरूलाई ठेक्का दिलाइयो । हाकिमहरूको केही लागेन । विरोधी दलले गरेर देखाओस् न । एक जमाना थियो, हाकिमहरूले आफै घुस लिन्थे र खान्थे । हामीले भन्यौं- हामीले के पाउँछौं, पार्टीले के पाउँछ ?”

“हामीले हाकिमहरूलाई घुस लिनबाट रोक्यौं र आफैले लियौं । काङ्ग्रेसलाई चन्दा दिनुपर्ने बनायौं । हामीले जस्तो यिनले के गर्लान् ?”

“तर तपाईंहरूका नीतिहरू गलत थिए, त्यसैले जनता तपाईंका विरुद्ध गए !”

“काङ्ग्रेससँग तपाईं यस्तो कुरा गर्ने सक्नुहुन्न । हामीले जुन पनि नीति बनायौँ, काम चाहिँ तिनको उल्टो गरेका छौं । फेरि तपाईं केको टिप्पणी गर्नुहुन्छ ? जसले त्यो नीति मन पराए, उनीहरू हाम्रा समर्थक भए । र, जो ती नीतिका विरुद्ध भए, तिनीहरू पनि हाम्रा समर्थक भए, किनभने हामी ती नीतिमा चल्दै चलेनौं ।” म निरुत्तर बनें ।

“तपाईंलाई आशा छ, फेरि यो देशमा काङ्ग्रेस विजयी हुन्छ ?”

“किन नहुनु ? आशा त हरेक पार्टीलाई छ । जब विरोधी दल असफल हुनेछन् र बेकार साबित हुनेछन् । जब दुई गलत र असफल पार्टीहरूका बिचमा छनोट गर्नुपर्नेछ, त्यतिखेर काङ्ग्रेस के नराम्रो ? बस्, त्यतिखेर हामी फेरि ‘पावर’ मा आउनेछौँ। काङ्ग्रेस विरोधी दलहरू त्यही बाटोमा गइरहेका छन्, जुन बाटोमा हामी हिँडेका थियौं । र, यिनीहरूको पतन निश्चित छ ।”

“जसरी तपाईंहरूको भयो ?”

“बिलकुल ।”

“जहिलेदेखि मन्त्रीपद छोड्नु भो, तपाईंको हालचाल कस्तो छ ?”

“त्यसरी नै मस्त छु जसरी पहिले थिएँ। हामीलाई कुनै फरक पर्दैन । हामीले पहिले नै बन्दोबस्त गरिसकेका थियौं । घर, वङ्गला, जमिन सबै जोडिसकेका छौं। भाडा आउँछ । छोराले भैंसी दुहुन सिक्यो भने डेरी खोल्छौं र दुध बेच्छौं । राजनीतिमा लाग्छौं र बिजनेस पनि गछौं। हामी त नेहरू-गान्धीका चेला न हौं । नेहरूजस्तै ठाँटले पनि रहन सक्छौं र गान्धीजी जस्तै झुपडीमा बस्न पनि सक्छौं । खैर, झुपडीको त कुरै गर्नु पर्दैन। देशको भविष्यका बारेमा विचार गर्यो भने आफ्नो भविष्यको बारेमा नसोचौंला ? कान्छो भाइलाई ट्रक मिलाइदिएको थिएँ ।

ट्रकको नाम राखेको छ, देश-सेवक । परिवहनको समस्या समाधान गर्छ ।”

उनले भन्दै गए- “जतिखेर कृषिमन्त्री थिएँ, आफ्नो एउटा फार्म खोलेको थिएँ। अहिले राम्रो आम्दानी दिइरहेको छ । जहिले मन्त्री थिएँ, एकछिन खाली बसिनं। परिश्रम गरेँ, त्यसैले आज सुखी र सन्तुष्ट छु । हामी त कर्ममा विश्वास गछौँ । धन्धा कहिल्यै छोडिनँ, जब मन्त्री थिएँ, त्यतिखेर पनि गरिरहें ।”

“तपाई आगामी चुनाव लड्नुहुन्छ ?”

“किन नलड्नु ? सधैं लड्‌दै आएको छु। अहिले पनि लड्छु । काङ्ग्रेसले टिकट दिएन भने स्वतन्त्र लड्छु ।”

“तर त्यसो गर्नु त काङ्ग्रेस विरुद्ध हुँदैन र ?”

“म काङ्ग्रेसको हुँ र काङ्ग्रेस मेरो हो । काङ्ग्रेसले मलाई मन्त्री बन्न भन्यो र बनें। सेवा गरेको छु । मलाई टिकट दिनै पर्छ । दिएन भने त्यसको अर्थ काङ्ग्रेसले मलाई आफ्नो नठानेको ठहर्छ । नमानोस् । पहिले प्रेम, अहिंसाबाट काम बनाउँछु । केही लागेन भने असहयोग आन्दोलन चलाउँछु । अर्को पार्टीबाट उठ्छु ।”

“जब तपाई मन्त्री हुनुहुन्थ्यो, आफ्ना जातिका र नातेदारलाई खुवै फाइदा पुर्याउनु भो भनिन्छ नि !”

“हेर्नोस् भाइ, यसको पनि इतिहास छ । म जब काङ्ग्रेसमा लागेँ, मेरा बारेमा हल्ला चल्यो- म दलितहरूसँग उठबस गर्छु र उनीहरूसँग बसेर दालभात खान्छ । मेरा जातका मान्छेले मलाई बहिष्कार गरे र मसँग सम्बन्ध नै तोडे । म पनि जातिवादको विरुद्धमा रहें र जब मन्त्री बनें, सुरुसुरुमा जातिवादीलाई जमेर गाली गरें ।”

“वास्तवमा मैले पहिलो मन्त्रिमण्डलमा जातिवादीलाई जरैबाट उखेलेर फालिदिएँ। त्यसैले सुरुमा म जातिवादको विरुद्ध रहें। तर जब पछि जातिवादीहरूलाई आफ्नो गल्ती थाहा भयो, उनीहरू मेरो बङ्गलाको वरिपरि घुम्न थाले । हाम्रो जातिको सभा भयो र मलाई सम्मानपत्रसहित ‘जाति-कुलभूषण’ उपाधि प्रदान गरियो। मैले सोचें ठिकै छ, बिहान हराएको गाई साँझ गोठमा आयो। जब मेरा जातिका मान्छेले मलाई प्रेम गर्छन् भने मेरो पनि त केही कर्तव्य हुन्छ।

मैले पनि हाम्रो जातिका केटाहरूलाई जागिर ख्वाउने, उनीहरूको सरुवा रोक्ने, बैंकबाट ऋण दिलाउने आदि काममा सहयोग गर्न थालें। यसरी जातिको उन्नति र विकासमा योगदान दिंदै गएँ। आज हाम्रो जातिका मान्छेहरू ठुला-ठुला पदमा बसेका छन् र मैले देशसेवाको अवसर दिएकोमा मप्रति आभारी छन् । मैले केटाहरूलाई भनेको छु- चाहे यर्ड डिभिजनमै किन नहोस्, एम.ए गरेर आओ, सबैलाई लेक्चरर बनाइदिन्छु । हाम्रो जाति बुद्धिमान् व्यक्तिहरूको जाति हुनुपर्छ । र, हेर्नोस् भाइ, मेरो चुनाव क्षेत्रमा मेरो जातिका घर सबभन्दा धेरै छन् । त्यहाँका सबै बोट सोलिड छन् ।

त्यसैले यो कुरामा ध्यान दिनुपर्छ । सबै दुनियाँले जानेको छ, म जातिवादको विरुद्ध छु त्यसैले सधैं मन्त्रिमण्डलमा दलित र राजपूतको सङ्ख्या बढ्न दिइनँ । मैले जातिवादसँग सङ्घर्ष गरिरहें, त्यसैले आफ्नो जातिको मेजोरिटी सधैं रहिरहेको छ ।” छोराले दुध दुहिसकेको थियो र भित्र जाँदै थियो। भूतपूर्व मन्त्री महोदयले उसको हातबाट दुधको बाल्टी समाते ।

“अझै दुई लिटर दुध बाँकी छ बच्चा ! पूरै दुहेको छैनस् तैंले। ले म दुहुन्छ फेरि मतिर फर्केर भने-“एकातिर देशका बच्चालाई दुध पुगिरहेको छैन, अर्कोतिर भैसी पूरै दोहिएको छैन । र, जहिलेसम्म आफ्नो स्रोतको पूरै दोहन गरिंदैन, देशको विकास असम्भव छ।”

उनी आफ्नो स्रोतको दोहन गर्न लागे ।

छोरो भित्र गएर रेकर्ड बजाउन थाल्यो। ‘चा चा चा’ को स‌ङ्गीत यस आदर्शवादी वातावरणमा गुञ्जिन थाल्यो ।

मैले नमस्कार गरें र फर्किएँ।

०००
समकालीन साहित्य (पूर्णाङ्क ९०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x