साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लबटे चिउरा

सायद खुवाउनु पर्नेलाई मिठो नलागेर भनौ वा खुवाउनेले अवसर नपाएर हो वा चिउराको महत्व बुझेर हो लबटे चिउरा खान पाउने अधिकारबाट वञ्चित गर्नु भनेको अधिकार खोस्नु हो भन्दा कुनै फरक पर्दैन ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

चिउरा कति थरीका हुन्छन् भन्ने कुरा साँच्चै भन्ने हो चिउरा बनाएर बिक्री गर्नेलाई पनि थाहा नहोला तर कुन चिउरा मिठो हुन्छ भनेर मलाई कसैले सोध्यो भने म खुसीसाथ भन्नेछु लबटे चिउरा नै सबैभन्दा मिठो हुन्छ भनेर । किनभने यो चिउरा एक पटक खाएपछि कसैका लागि जीवनभरी नै पेट डम्म हुन्छ भने कसैका लागि दिनहुँ खाँदा पनि चित्त बुझ्दैन । कोही भने क्षण क्षणमा लबटे चिउरा खाइरहन्छन । कोही दिनै पिच्छे लबटे चिउरा खाएर पनि मरन्च्यासे जस्तो देखिन्छन् भने कोही यो चिउरा नखाए पनि मोटाएर धमरधुस भएका देखिन्छन् ।

कतिपयलाई यो कस्तो चिउरा हो भन्ने जिज्ञासा जाग्दो हो । जिज्ञासा र खुलदुली जाग्नु स्वभाविक नै हो । यो चिउरा प्राय सबैेले खाएको हुन्छन् । बाल्यावस्थामा हामी धेरैले नमिठो भए पनि मिठो मानेर आफ्नै बा, आमा, दिदी, दाजुले खुवाएका छन् तर हामीले पहिले खाएको लबटे चिउरा खाएको धेरैले बिर्सेका छौँ । कतिपयलाई याद होला लबटे चिउरा खाएको ।

खास गरी यो चिउरा खाने भोक जाग्दैन । तर हामीले आफ्नै कारणले यो चिउरा खान्छौँ । त्यतिबेला जाग्छ जतिबेला हामी बा, आमा, दिदी, दाजुसँग रोड्याईँ गर्छौ वा भनेको मान्दैनौ, बदमासी गर्छौ, कुनै काम बिगार्छौ, काम गर्न अल्छी गर्छौ , पढ्न जाँदैनौ वा लाए अह्राएको काम नगर्दा यो चिउरा खाइन्छ । आफूलाई चिउरा खाने भोक नजाग्दा पनि बाध्य भएर खाइन्छ । तर कतिपय ठाउँमा भने यो चिउरा खाँदा साह्रै बेइज्जत पनि हुन्छ भने कतिपयले यो चिउरा खाँदा वा खुवाउँदा अदालतमा मुद्दा मामिला पनि गर्नु परेको कुरामा हामी अचेतका मान्छेले सचेत हुनु पर्दछ । हाम्रो चेत हुने हो भने लबटे चिउरा खानबाट हामी बञ्चित हुन्छौँ । कतिपयलाई यो सुवणर् अवसर पनि हुन सक्छ र उसले भविष्य बनाउने मौका पनि पाएको हुन सक्छ लबटे चिउरा खाएर ।

यो चिउरा कुनै अन्नबाट तयार पारिँदैन । यो चिउरा अकस्मात वा योजनावद्ध तरिकाले पनि तयार हुन्छ । कतिपयले घरमै बा,आमाको हातबाट र विद्यालयमा गुरुहरूको हातबाट, साथीभाइको हातबाट अकस्मात यो चिउरा खाएका हुन्छन् । यो चिउरा खाएपछि तीन त्रिभुवन र चौध लोक देखिन्छ । एक दुई पटक यो चिउरा खाएपछि पुनः खान मन लाग्दैन । तर कतिपयलाई खान मन नलागे पनि खाने अवसर जुर्छ ।

अब प्रश्न उठ्ला तैले चाहिँ यो चिउरा खाएको छ कि छैन भनेर । म निर्धक्कसँग भन्छु कि म सानो छँदा काकी हजुरआमाको हातबाट, पिताजीको हातबाट, दाइको हातबाट भने यो लबटे चिउरा खाएको छु । सानोमा म जिद्दीवाल थिएँ । अरुले भनेको नमान्ने फकाउँदा पनि नफकिने भएपछि यो लबटे चिउरा अर्थात् अर्को शब्दमा भन्नु पर्दा चड्कन चिउरा खाएको थिएँ । तर मलाई उक्त चिउरा साह्रै नमिठो लाग्यो । गालाबाट खाइने यो चिउराले तिरिमिरी झ्याईँ र तोरीका फूलसमेत देखिएको मलाई सम्झना छ । अर्को शब्दमा भन्नुपर्दा तीन त्रिभुवन र चौध लोक नै देख्ने अवसर पाएको छु मैले लबटे चिउरा खाएपछि । उस्तै दुब्लो पातलो मान्छे त यो चिउरा एक लवटो खाने बित्तिकै ढल्न पनि सक्छ भने कोही अघाएर जीवनभरी सुतिरहने पनि हुन्छन् ।

अब सबैले आ आफूले लबटे चिउरा खाएको सम्झनु होला । कतिपयले भोक लागेको बेलामा धानको चिउरा खान नपाए पनि हातको लबटे चिउरा खाएर गरम भएको दिमागलाई ठण्डा पारेका होलान् । पेटको भोकलाई मार्न नसक्ने तर रिसको झोंकलाई मार्न सक्ने यो लबटे चिउराले मान्यता भने कतैबाट पनि पाउन सकेको छैन । न अदालतले नै मान्यता दिएको छ, न प्रशासनले, न प्रहरीले, न सरकारी वकिलले यसलाई मान्यता दिएका छन् । यो चिउरा वितरण गर्न हालसम्म कुनै कानून पनि निर्माण हुन सकेको छैन । भनौ यो चिउरा बनाउने विधि नै आकस्मिक हुन्छ । कानून पनि तत्कालै बन्छ । प्राविधिक विषयसँग सम्बन्धित यो चिउराको रुपरङ रौद्र हुन्छ । बौद्धिक जमातले यो चिउरालाई मौनतासँग साँधेर खानु अघि नै अपाच्य ठानेका हुन्छन् ।

धसिएर माया प्रेममा कसिनेहरूले पनि यदाकदा असमदारीमा यो चिउरा खाएर पचाउन सक्छन् । यो चिउरा खाएको कुरा बाहिर आयो भने समाजमा नाकमुख देखाउन गाह्रो हुन्छ । तर कतिपय भने लाज, घिन, शरम पचाएर ढमरढुस भएर हिँड्छन् । यो चिउरा खाएर हाम्रा घरका गृहिणीहरू त झन परिपक्क भएका छन् । साँझ परेपछि मद्यशालामा परिपाठ घोकेर आउने रौद्र गुणले युक्त रातरस मार्का विद्वान श्रीमानले आफ्नी दिल खुसकी अधेरीकी परीलाई यो चिउरा साहै नमिठो गरी खुवाउँछन् । यो चिउरा खाँदा खाँदा कतिपयले त सम्बन्धलाई परिच्छेद परिच्छेदमा विभक्त पनि गरेका छन् । कतिपय रुखमा, घरको कोठाचेटा दलिनमा फलेका छन् । कतिपयले नयाँ घरजम गरेका छन् । कतिपय एकल भएर बसेका छन् । कतिपय विदेशमा स्वदेशको तीतोपिरो अमिलो टर्रो सम्झेर आँशु चुहाउँदै बसेका छन् ।

लबटे चिउराको शक्तिको कुरा गर्ने हो भने यसमा परिवर्तनकारी शक्ति लुकेको हुन्छ । कसैको जीवनमा एक लवटो चिउराको महत्व ठूलो हुन्छ किनकि त्यो एक लवटोले उसको जीवन नै परिवर्तन भएको हुन्छ भने उन्नति प्रगति पनि सोही अनुरुप भएको हुन्छ । भनौँ लबटे चिउरा खानु भनेको कसैका लागि शिक्षा लिनु पनि हो । यदि कोही बाङ्गो बाटोमा हिँडेको छ र अभिभावकबाट वा गुरु वर्गबाट लबटे चिउरा खाएको छ भने उसले त्यसपछि सही बाटोमा हिँडेर जीवनको पाठ पढेर राम्रो उन्नति प्रगति गर्न सक्छ । तर कतिपय भने लबटे चिउरा खाएर पनि थेत्तरो भएर अझै चिउरा खाइरहन बानी परेका छन् । भनौँ कतिपयले लबटे चिउराबाट गतिलो शिक्षा लिएका छन् भने कतिपयले भिक्षा मागेर हिँड्नु परेको छ । लबटे चिउरा खानु भनेको आफ्नो गल्ती अस्विकार गर्नु हो । गल्ती गरेपछि दण्ड सजाय स्वरूप दिइने उपहार नै लबटे चिउरा हो भन्दा कुनै फरक पर्दैन ।

लबटे चिउरा खान मन नगर्नेहरू पहिलेदेखि नै होशियार हुन्छन् । कतिपयले भने अकस्मात रूपमा लबटे चिउरा खान पाउँदा आफूलाई भाग्यमानी ठान्दै दङ्ग पर्छन् । हामीले सबैभन्दा बढी लबटे चिउरा अभिभावकहरूबाट नै खाएका हुन्छौँ । भनौ अभिभावकले खुवाएको लबटे चिउरा मित्रताको, अपनत्वको, माया, प्रेम र स्नेहताको उपहार हो भन्दा कुनै फरक पर्दैन । किनभने अभिभावकले लबटे चिउरा खुवाएपछि सायद पछि पछुतो लागेर होला सुम्सुम्याउँदै फकाउने गर्छन् । चिउरा खाए्र दुखेको गालामा चुम्मा खाएर फकाउने प्रयास गरिन्छ तर जसले चिउरा खाएको छ उसले दुखाइको पीडाले चपाउन सकेको हुँदैन । र सुम्सुम्याएर फकाउँदा पनि चिउरा खाने अझ घुँक्क घुँक्क गर्दै रोइरहन्छ ।

लबटे चिउरा हामो्र देशमा आसन जमाएर शासन गर्नेहरूले पनि कुनै बेला खाएको चर्चा चलेको थियो । कुनै समयमा नेताले लबटे चिउरा खाएको चर्चाले शिखर चुमेको थियो भने चिउरा खुवाउनेलाई कार्वाही गरेको कुरा पनि चर्चामा थियो । युवाहरूको आक्रोस लबटे चिउरामा पुगेर शान्त हुन्छ वा भयो भन्ने होइन । चिउरा खानु त आफ्नै कामको परिणाम हो भन्दा कुनै फरक पर्दैन । कर्म गरे अनुसारको फल पाइन्छ भन्ने बुढापाकाको उखान अहिले आएर सत्य सावित भएको हो कि भन्ने म गोज्याङ्ग्रेलाई लागेको छ ।

लबटे चिउरा खानु पर्ने र खुवाउनु पर्ने शिखर यात्रामा रहेका धेरै रहेका छन् । तर कतिपयले मौका हेरिरहेका छन् भने कतिपयले आफू कार्वाहीमा पर्ने भयले पनि लबटे चिउरा खुवाउने काममा पछि परेका छन् । नेपाली राजनीतिमा लबटे चिउराको महत्व ठूलो छ । त्यसैले ठूलो कुरा भएका कारण लबटे चिउरा खाएको घटना बिरलै सुन्न पाइन्छ । खाने र खुवाउने दुबै एउटै ड्याङका परे भने वा फरक भए पनि एकले अर्कालाई चिउरा खुवाउन आइतबार पर्खनु पर्दैन । तर नेपालमा लबटे चिउरा खानु पर्नेले खान पाएका छैनन् । सायद खुवाउनु पर्नेलाई मिठो नलागेर भनौ वा खुवाउनेले अवसर नपाएर हो वा चिउराको महत्व बुझेर हो लबटे चिउरा खान पाउने अधिकारबाट वञ्चित गर्नु भनेको अधिकार खोस्नु हो भन्दा कुनै फरक पर्दैन ।

बजारमा खरिद गर्न नपाइने अमूल्य तर निशुल्क पाइने लबटे चिउरा खाएपछि शिक्षा, भिक्षा, ज्ञान बुद्धि विवेक लगायतका सबै कुरा पाइन्छ । लबटे चिउरा यस्तो चिज हो जसले गर्दा एक अर्कामा सम्बन्ध विच्छेद, बोलचाल बन्द, पानी बाराबार कुटाकुट मारामार लगायतका धेरै अप्रिय कुराहरूलाई जन्माउछ । सामाजिक रूपमा वद्नाम गराउँछ र नकारात्मक सोचलाई बढावा दिन्छ ।

विद्रोहको संवाहकको रूपमा रहेको लबटे चिउरा परिवर्तनको संवाहक पनि हो । निशुल्क खान पाएको लबटे चिउराले कतिपयको जीवन परिवर्तन भएको छ । भनौ लबटे चिउराले इख पनि जन्माउँछ र विष पनि उत्पादन गर्दछ । इख नभएको मान्छे र विष नभएको सर्पको कुनै काम हुँदैन भन्ने उखान बुढापाकाहरूले त्यसै चलाएका होइन रहेछन भन्ने कुरा यतिबेला आएर म गोज्याङ्ग्रेले बुझ्दैछु । मेरो ढिलो कुरा बुझ्ने चलनले गर्दा मैले पनि लबटे चिउरा खाएको कुरा पहिले नै पुराण वाचन गरिसकेको छु ।

लबटे चिउराका बारेमा अब धेरै कुरा के भनौँ । बुझ्नेलाई यो कुरो गहिरो छ नबुझ्नेलाई घर छेउमै पहिरो छ भन्ने गीत भनौ वा उखान भनौँ जे भने पनि लबटे चिउरा चपाउन नसक्ने, दाँत नभएकालाई खुवाउनु उचित हुँदैन तर दाँत भएका चपाउन सक्ने बौद्धिक पाराका हुतिहाराले भने कहिलेकाहीँ झुकिएर अकस्मात खान्छन । जेसुकै भए पनि यो चिउरा मिठो चाहिँ हुँदैन । त्यसैले यो चिउरा खाने प्रयास वा प्रयत्न र रहर पनि नगुर्न होला भन्ने मेरो अनुरोध हो ।

०००
गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x