हर फूल दिल्लीमुखी
साहित्य, संस्कृति र राजनीति आदि सबैमाथि फन फैलाएर फुत्कार्छ दिल्लीधर्मी चालबाज मानस सबैमाथि प्रभुत्व देखाउँदै । दिल्ली दर्पण नभएर केवल एउटा दर्प हो । उखेलिएकाहरूको नसा हो । दिल्ली हाम्रो वा तिम्रो होइन, उनीहरूको हो ।
शरद जोशी :
व्यङ्यानुवाद :: रमेश समर्थन
जब तानसेन र बिरबल राजधानी आए या गालिबले घुमीफिरी अन्ततः दिल्लीकै गल्लीमा मर्ने निश्चय गरे त्यति बेला उनीहरूले जानी नजानी यस देशका महत्त्वाकाङ्क्षी बुद्धिजीवी तथा कलाकारहरूको नियति निश्चित गर्दै छन् भन्ने चाल पाएनन् । त्यसै बेलादेखि देशको हरेक प्रतिभाशाली लेखक, कवि, नेता, सम्पादक, पत्रकार, कुरौटे, आलोचक, कलाकार, चित्रकार, चाटुकार चम्चा राजधानी जाने, बस्ने अनि चर्चित बन्ने एक थान सपना लिएर घुम्न थाल्यो । उसको भित्रभित्रै आकाङ्क्षाहरूको एउटा धरहरा बन्न थाल्यो माथि चढ्नका लागि । उसको मक्का, तीर्थ, परम लक्ष्य, आखिरी गन्तव्य, चरम सिमाना, सबै थोक बन्यो दिल्ली ।
प्रजातन्त्रको चौतारो, एक अर्काको खुट्टा तान्ने केन्द्र, कल्पवृक्षहरूको नन्दनवन जहाँ पद, पुरस्कार र चुनावको टिकट रुखमा फलिरहेका पाइन्छन् । जहाँ संस्थाहरूका ढाबा खुलेका छन् तिकडमबाजहरूका निम्ति, जो स्थायी छाता हो ती परेवाका निम्ति जो उडिरहन चाहन्छन् हरेक हाउभाउ र चालमा देशको राजनीतिक तथा सांस्कृतिक आकाशमा । दिल्ली पसेको छ सबैको मनमा, मस्तिष्कमा र आत्मामा । अब त यो देशकै पर्याय लाग्न थालेको छ । बिस्तारै मेरो अलच्छिन सहर, टोल वा गाउँमा बसेर पनि एक थान दिल्ली आफ्नो पिठ्युँमा बोकेर घुम्न थाल्यो । जहाँ बसे पनि उसको आत्मा दिल्लीमा बस्छ । दिल्ली उसको सपनाको कन्तुर बनेको छ ।
सबै सन्तहरू उनीहरूलाई आफ्नो जस्केलाको आवश्यकता छैन भनेर सफासफी भनिदिनका लागि दिल्ली आउन थाले र प्रेस कन्फ्रेन्स आयोजित गरेर के भन्न थाले भने केही छैन, उनीहरू दिल्ली नगएरै पनि काम चलाउन सक्छन् । तर अन्ततः दिल्लीका विरोधीहरू दिल्लीका कुर्सीहरूमा बसे ।
दिल्ली नामको एउटा मूलढोका हरेक सहरमा बन्यो अनि हर स्थानीय स्वप्नजीवीले त्यस दिल्लीढोकाबाट पसेर नै आफ्नो गन्तव्यसम्म पुग्ने कुरो सोच्न थाल्यो । सबै रेलहरूको आखिरी स्टेसन बन्यो दिल्ली । गाउँका पञ्चायतहरूमा जुन बिरुवा हुर्किन्थे ती बढेर र पछि सुकेर काटिए दिल्लीमा । मित्रहरूको टोलेगोष्ठीमा जुन नयाँ स्वर पहिले ध्वनित भयो त्यसले आफ्नो अन्तिम सोलो परफरमेन्स दिल्लीमा दियो । जो आफ्नो सहरमा हुटिङमा परेका थिए उनले पलेटी कसे दिल्लीमा । सबैको भाग्यनिर्धारण गर्न थाल्यो दिल्लीले । हाम्रो जन्मकुण्डलीको लग्नमा आफ्नो शनि, मङ्गल, राहु र केतुका साथमा पसेर बस्यो । हाई हाई दिल्ली ! कसैको झोलुङ्गो कहीँ रहोस् तर पलङ लाग्छ त दिल्लीमा । पीडाबोधलाई भजाउने चक्करमा फँसेकाहरू अन्ततः पुग्छन् निगमबोधको घाटमा । एक्लोपनका रोगीहरूको वार्ड हो कनाटप्लेस, गोलाइमा सबै मानहरूको बेनामी र बेमानीमा अर्थ खोज्दै गरेको ।
दिल्ली एउटा कम्पलेक्स हो, एउटा ग्रन्थी हो अनि एउटा सिलौटो हो छातीमाथि राखिएको । दिल्ली भुसको लड्डु हो जसलाई तपाईं न त खान सक्नुहुन्छ न छोड्न सक्नुहुन्छ । तपाईंमा अल्झेको छ तपाईंसँग अकारण नै फँसेको काम्लोजस्तो जसले तपाईंलाई छोड्न नसकेर बेरिएकोजस्तो दिल्ली । एउटा जालो हरेक व्यक्तिको चाहनामा बेरिएको छ । रहर ओकल्नका लागि एउटा स्थायी वासबेसिन हो दिल्ली । एउटा काँटी जुन सिङ्गो शरीरको तुलनामा बढेको छ । आत्मामाथि शरीर र शरीरमाथि खद्दर ओढेको दिल्ली । भावका लागि शब्द, शब्दहरूको पुस्तक र पुस्तकहरूको समर्पण दिल्ली । आक्रोशरूको छुरीले चटाचट काटिने केकजस्तै सिँगारिएको, विद्रोहीहरूको पदाधिकारी बनाउँदै गरेको, क्रान्तिहरूलाई पुरस्कृत गर्दै दोसल्ला ओढाउँदै गरेको, लासहरूलाई तक्मा बाँडिरहेको, समझौताहरूको स्टक एक्सचेन्ज, जनभावनाका दलालहरूको विराट् बजार हो दिल्ली । देशको काउन्टर जहाँ मानिसहरू आफ्नो आवेशलाई जमाएर सुविधाहरू भजाउँछन् । आवेग जमाएर सहायता प्राप्त गर्छन् । दिल्ली जहाँ देशका हरेक इलाकाका चालु इसामसिह आाफ्नो सलिब बेचेर दुईवटा रोटी पाउनका लागि पङ्क्तिबद्ध भएका छन् ।
दिल्ली आखिरमा कसी हो, खटिया त्यहीं ओछ्याइन्छ । त्यसैले भोका प्रान्तका सुक्खा मुख्यमन्त्री आफ्नो पुँजीटाट भएको हवाईजहाजमा जोल्टिङ खाँदै प्रतिदिन दिल्लीको दिशातिर जान्छन् । जान्छन् मौलिक चिन्तनको कुटुरो कोखिलामा च्यापेर रेलका डब्बामा उँघिरहेका साहित्यकार दिल्लीतर्फ । दौडिरहन्छन् चित्रकार आफ्नो अधुरो क्यानभास कोखिलामा च्यापेर दिल्लीतर्फ आफ्नो आशाको तस्विर पूर्ण गर्ने चक्करमा दिक्क परेर । अड्किरहन्छन् नाटककारहरू त्यस बहुला आकाङ्क्षी भिडमा मुठीभरि शुद्ध दर्शक खोज्दै ।
दिल्ली मर्तबान (एउटा भाँडो) हो सिसाको जसमा प्रतिभाहरू साँदिएर एउटा छुट्टै आनन्द र स्वाद दिन थाल्छन् । दिल्ली घाट हो जहाँ मानिसहरू नियतिको धोबीका पछि खुसी खुसी पुच्छर हल्लाउँदै पुग्छन् । उफानहरू सेलाउँछन् र भरिएका बुँदीहरू निथ्रिन्छन् । दिल्ली यथास्थितिको गौरीशङ्कर हो जसमा चढ्ने कोसिसमा हरेक पर्वतारोही जीवनभरि जुत्ताका तुना बाँधेर तलतिर चिप्लिरहेको हुन्छ । जहाँ त्यागीहरू आफ्ना निम्ति प्रमाणपत्रको खोजी गर्छन् र रसिला निजी झरनाहरूको खोजी गर्छन् । दुवैको केन्द्र त्यही हो । देशमा कतै पनि तार बजाउनु पर्यो भने पेच कस्ने ठाउँ दिल्ली हो ।
बितेका वर्षहरूमा दिल्ली एउटा तौलजस्तै गरी हामीसित बाँधिएको छ । आफ्नो पिन्जरामा हरेक सुगाले दिल्लीको हरियो खुर्सानी खाने सपना देख्छ । कर्म र त्यागको आनन्दभावलाई छोडेर जो मानिसहरू ऐस तथा आकाङ्क्षाहरूको विलिङ्ग्ड क्रिसेन्ट गए उनीहरू जयपराजय, मानअपमान, आशानिराशाको हरेक स्थितिमा दिल्लीसित टाँसिइरहे । रिटायरमेन्टरूपी टाढाको सत्य आश्रममा उनीहरूलाई कसैले पनि सोध्ने छैन भन्ने डरले सताइरह्यो । कुर्सीलाई अन्तिम बिछ्यौना बनाउने काममा जोडतोडले लागेका उनीहरू मेडिकल इन्स्टिच्युटमा आफ्ना थकित फोक्साहरूको जाँच गराउँदै उही बसिरहे । हरेक सहर, हरेक गाउँले आफ्नो श्रेष्ठ व्यक्ति दिल्लीको प्यासी अप्रियकुण्डमा हवन गरिदिए अनि आफू पनि त्यहीँ हामफाले आफ्नो जरो र जमिनलाई बिर्सेर ।
जुन मानिसहरू बोक्छन् आआफ्नो बस्ती दिल्लीमा ती खतरनाक होइनन् । उनीहरू त असहाय हुन् र करुणाका पात्र हुन् । खतरनाक ती हुन् जो एउटा दिल्लीलाई सधैँ आफ्नो शिरमा उठाएर आफ्नो सानो सहर वा बस्तीतिर हिँडिरहन्छन् । दिल्लीले उनीहरूलाई फ्रड बनाउँछ अनि उनीहरू सहरका मानिसहरूमा हीनता वितरण गर्दछन् । दिल्ली उनीहरूलाई भ्रष्ट बनाउँछ र उनीहरू स्थानीय कृपा फिँजाउँछन् । दिल्लीले उनीहरूलाई शब्द दिन्छ र उनीहरू सानो सहरमा चिच्याउँछन् । एउटा बालिकाजस्तो दिल्ली घुम्दै रहन्छ हर सानो सहरको छातीमा । त्यहाँका साहित्य, संस्कृति र राजनीति आदि सबैमाथि फन फैलाएर फुत्कार्छ दिल्लीधर्मी चालबाज मानस सबैमाथि प्रभुत्व देखाउँदै । दिल्ली दर्पण नभएर केवल एउटा दर्प हो । उखेलिएकाहरूको नसा हो । दिल्ली हाम्रो वा तिम्रो होइन, उनीहरूको हो ।
यस देशको हर फूल सूर्यमुखी हुँदैन । त्यो हुन्छ त दिल्लीमुखी हुन्छ । उसलाई सूर्यसँग केको मतलब ? ऊ पुरै समय दिल्लीतिर दृष्टि लगाएर बिस्तारबिस्तारै ओइलाउँछ । तानसेन, बिरबल या गालिबले सोचेका होओइनन् कि एक दिन यस देशको हरेक रागको तान दिल्लीमा बज्नेछ, हरेक समझदारी दिल्लीबाट कराउँदै इनाम माग्ने छ र हरेक गजलले आफ्नो अन्तिम सेरमा भन्ने छ – हाई दिल्ली ! हाई दिल्ली !!
०००
(यो निबन्ध १९८५ मा प्रकाशित जाेशीको किताब ‘यथासम्भव’बाट लिइएको हो । यसको प्रकाशन भारतीय ज्ञानपीठबाट भएको हो ।)
Subscribe
Login
0 Comments
Oldest