सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मस्त व्यस्त अस्त !

दुनो सोझिएन भने व्यस्त भन्नुस् अस्तव्यस्त बनाउनुस् मस्त रहनुस् । कि कसो व्यस्तबहादुरजी ? जय होस् ! असारको पन्ध्र होस् । दहीचिउरा खानुस् दहीचिउरे नबन्नुस् ।

Nepal Telecom ad

हयारी- ८०

व्यस्त जीवन भनेकै अस्तव्यस्त हुनु हो कि क्या हो ? जता र जहाँ पनि व्यस्त नभएका मान्छे यो कलिजुगाँ पाउनैे पो गारो भयो बा ! व्यस्तताका बाबजुद पनि कुनै ठाउँमा पुग्नु चानचुने कुरा हो र ? व्यस्त हुनु नेपाली हुनाको पहिचान हो । विवाहमा ढिलो पुग्ने कारण व्यस्त भएरै हो । ढिला पुग्नाका लागि प्रतिस्पर्धा नै चल्छ । जो जति ढिला पुग्न सक्यो त्यो त्यति नै व्यस्त भएको मानिन्छ । मानौँ व्यस्तता हाम्रो आधुनिक पहिचान हो । जति ठूलो मानिस त्यति व्यस्त हुनु कुनै नौलो कुरा होइन ।

बनेका र बनाइएका ठूलाका गुण भनेकै अति बिजी लाइफ हो । उहाँको प्रगति भएको व्यस्त भएकैले हो । सक्नुहुन्छ भने सकेसम्म बिजी हुनुहोस्, यसले कतिपय कामै गर्नुपर्दैन । गर्नै परे पनि समयमा किन गर्नुपर्छ र ! आखिर व्यस्त भइएकै छ क्यारे । भोज खान, मोज गर्न, नचाहिँदामा बग्न र ठग्नबाहेक अरू कार्यका लागि हामी व्यस्त बनिदिनैपर्छ । विशेषतः भाषण गर्नेदेखि शासन गर्नेसम्मकाले व्यस्त छु भन्न जानेदेखि भुक्ति र मुक्ति पाइन्छ नै । हुन्डा चढेका गुन्डादेखि सुकुलगुन्डासम्मकाले पण्डितबाजेदेखि सेकुवा पोल्ने बाजेसम्मलाई फुर्सद नै कहाँ छ र ?

हिजोआज एउटा थेगो नै छ, भ्याइयो भने यति काम गरिदिइहाल्छु आइहाल्छु, भन्दिइहाल्छु, गृहकार्य गरिहाल्छु, भोलि नै पढाइहाल्छु, भोलि नै सकिहाल्छु, हो सबै कार्य तमाम गरिदिइहाल्छु तर अहिले चाहिँ व्यस्तु छु । एकथरी भन्छन्, “अस्तव्यस्त छु, रुटिन लाइफ जस्तो जिन्दगी बाँच्नु मरेकै जुनी हो भन्छन् तापनि व्यस्त नभने गोरु जोतिए झैँ जोतिनुपर्छ । त्यही भएर व्यस्त भएकैले म नबिग्रेको हुँ । कोही पनि बोलाउनेबित्तिक्कै आइपुग्छ भने त्यो काम नलाग्ने पत्रु हो । सोर सराद्का पण्डितले नभ्याउने भएपछि ट्यामै भएन, व्यस्त भएँ भन्दै सराद्धे बिहानको बेलुका र बेलुकाको राति गर्नुको रहस्य बल्ल खुल्दै छ । यो कुन ठुलो कुरा हो र ? हवाईजहाज त व्यस्त भएर डिले हुन्छ । व्यस्त लेखक, व्यस्त शिक्षक, व्यस्त पत्रकार, हरेक पेसा, वर्ग र तहका मानिस व्यस्त भएको जमाना हो यो । भोलि गरिदिने व्यवस्था गरौँला नि त आज व्यस्त छु भनिदिएपछि लुरुलुरु कामै नभए नि फर्कन्छन् बबुराहरू ।

व्यस्त नभएका भए आज प्रत्येक नेताले सबका सब काम गर्थे । काम नेताले मात्रै गर्ने होइन तर ठेकदारले नगरे कसले गर्ने ? आखिर देश सिङ्गापुर, स्विट्जरल्यान्डको त के कुरा तिनलाई पनि माथ गर्ने बनिसक्थ्यो । देशको विकास हुन नसकेकै विकास गर्ने हाम्रा परिवर्तनकारी शक्ति व्यस्त भएर हो; नभ्याएर हो है । व्यस्त भएरै त होला, कर उठाउन नभ्याएर सरकारी राजस्व सोचे जसरी उठाउन नसकिएको जानकार बताउँछन् । कति नेताले व्यस्त भएकैले विवाहै नगरी बसेको धेरैलाई थाह छ । हुँदाहुँदा व्यस्त भएकाले बच्चा पाउन पनि नभ्याएको हो । सन्दर्भ देशको जनसङ्ख्या घट्दो दरमा छ रहेको छ । घरमा दिनभर बसेर काममा नगएका, बकम्फुसे गफ गरेर काममा पुग्न व्यस्त भएका यस्ता धेरै बिजी मान्छेको इतिवृत्तान्त भन्न थाल्यो भने व्यस्तकाव्य नै महाकाव्य बन्छ होला ।

हुन पनि हो, विश्वेश्वरप्रसाद कोइरालाको शत्रु कथामा सबैलाई शत्रु देख्न थाले जस्तै यहाँ पनि साहित्यकार धरणीधरले जाग न जाग भने पनि व्यस्त भएपछि कसको बाउको केही नलाग्दो रहेछ । आफूलाई फाइदा हुने र स्वार्थ लुकेका कुरामा व्यस्त नहुने तर अरूका लागि अस्तव्यस्त हुने परिपाटी नेपाली घर, परिवारमा सामान्य कुरा हुन् । अरू लिन फुर्सद हुने तर सहकारीको पैसा फिर्ता गर्न व्यस्त हुने भएकाले हिजोआजै चर्चा हुदै गएको विषय पनि व्यस्तताले नै उठान गर्न सकिएको छैन । अस्पतालमा डाक्डरसाब व्यस्त हुनाले ठूलादेखि सानासम्म बिरामीहरू कुरेकै कुर्‍यै हुन्छन् तर फुर्सद कहिल्यै हुँदैन, व्यस्तका व्यस्त । तास खेल्न फुर्सद, जाँड खान फुर्सद, माड खानदेखि गाँड फुलाउनसम्म फुर्सद हुन्छ । मान्छेलाई यसो यताको फाइल उता लैजान व्यस्तताका बाबजुद पनि घुम्ने मेचमा घ्वार घ्वार घुरेर सुतेका हाकिम सा’बलाई बल्ल उठाउँदा भनिहाले, “यसो कारिन्दालाई चियासिया खुवाएर काम गराउनुस् न, म गरिदिन्थेँ के गर्नु व्यस्त छु ।”

बाटो टाल्न, बार फाल्न, भत्काउन, पच्काउन, दच्काउन कहिले अति व्यस्त हुने कहिले रातारात ध्वस्त हुने मुलुकाँ सबका सब व्यस्त हुँदा जताततै अस्तव्यस्त भएको पाइन्छ । आखिर व्यस्त हुनाले नै सबैतिर अस्तव्यस्त भएको हो । यसैकारण व्यस्त हुनेले लँुड्याउन पाएका छन् । बिसौँ शताब्दीसम्म व्यस्त हुँदा एक्काइसौँ शताब्दीलाई काम थाँती रहिरह्यो । यो शताब्दी त झन् व्यस्त ।

तँ बना म भत्काउँछु । तँ सफा गर् म गर्छु फोहोर, भत्किहाल्छ नि यो बाटो बनाएकै पोहोर । यी सब भएको व्यस्त भएकैले हो । मलामी गएका व्यस्त भएकैले दागबत्ती दिन नपाई फर्किन्छन्, जन्त गएकाहरू पुग्नेबित्तिक्कै भोज हजम गरी टाप कस्छन्, कर्मचारीका पुरानै रोग छन् । व्यस्त मान्छे कहाँ कार्यालयमा बस्न भ्याउँछन् भन्या हाजिर गर्‍यो टाप कस्यो ।

मुस्कानसहितको सेवा दिने कुरा नउठेको पनि कहाँ हो र ? होइन यति व्यस्त जमानामा पनि मुस्कान दिन सकिन्छ र भन्या । उसै त मुस्कान नदिँदै त कार्यालयमै चुप्पा काण्ड गीतसँगै भाइरल भएको अवस्था धेरैतिर छ भन्छन् । व्यस्त केमा हो कति हो कसले हेर्ने । व्यस्त छु भनेपछि सोधखोज नगरे नै भयो, नपुगे नि भयो । ढिला गए पनि भयो । जाँदै नगए पनि भयो । आखिर व्यस्त हुँदा मस्त हुने मस्त हुँदा नै अस्तव्यस्त हुने अनि पो मौकामा फाइदा लिन सकिन्छ कि कसो व्यस्तबहादुरजी । व्यस्त भएकैले त भ्रष्ट हुन पाइयो । फरक यत्ति हो कि एउटा श्रमिक व्यस्त हुँदा एउटै काममा जोतिइरहन्छ, एउटा मालिक व्यस्त हुँदा दशतिबाट दश थोक सोरिरहन्छ ।

जमाना व्यस्त हुनुमै फलिफाप छ । लोग्ने खाडी मुलुकमा व्यस्त हुँदा कतिका श्रीमती यता व्यस्त हुन्छन् । कति श्रीमती विदेशमा व्यस्त हुँदा लोग्ने अन्तै व्यस्त हुँदा रहेछन् । नेता एकातिर व्यस्त हुँदा जनता अर्कातिर व्यस्त हुँदा रहेछन् । रातो कार्पेटदेखि रातो पार्सपोर्टसम्म व्यस्त भएपछि कसका बाउको के लाग्छ ? व्यस्त हुनु उद्यमशीलताको लक्षण हो । लाइसेन्स व्यस्त हुँदा बिलले काम चल्दै छ । बिल व्यस्त हुँदा राष्ट्रिय परिचयपत्रैले काम चल्छ रे भन्ने हुइइयाँ छ ।

होइन जे गर्छन् नेपालीले गर्छन् । सच्चा नेपालीलाई म नेपाली हुँ भनेर व्यसतताले भन्न भ्याएन भने नागरिकता देखाउने, त्यसले नचिने मतदाता परिचयपत्र, त्यसले नचिने प्यान नम्बर भएको परिचय पत्र, कार्यालयको परिचय पत्र, नागरिकता, पासपोर्ट, विद्यार्थीको परिचयपत्र, खोपको कार्ड, सङ्घ सङ्गठनको कार्ड, वृद्ध भत्ताको कार्ड, स्वास्थ्य बीमाको कार्ड, रक्त सामूहको कार्ड, राष्ट्रिय परिचयपत्रको कार्ड, सञ्चयकोषको कार्ड, नागरिक लगानी कोषको कार्ड, एटिम कार्ड आदि आदि कार्ड सबै हेर्नै पर्छ आफ्नो परिचय दिन अनि कहाँबाट भ्याइन्छ भन्या । यसैले सबै नेपाली कार्ड बनाउन र देखाउनमा व्यस्त छन् । आखिर काम त गर्नै पर्‍यो होइन र ?

कर्ममा अधिकार भए जस्तै व्यस्त हुन पाउनु तपाईँ हाम्रो नैसर्गिक अधिार हो । वैज्ञानिकले पनि कुन मान्छे कति व्यस्त छ र साँच्चै व्यस्त हो कि होइन भनी ज्वरो मापन गर्ने डिग्री जस्तो उपकरण बनाउन सकेका छैनन् क्यारे । नत्र कसको कति व्यस्तता छ भनी निमन्त्रण गर्ने वेला मापन गरी निम्त्याइन्थ्यो होला । यसो गर्दा सयौँ मान्छेले निमन्त्रित मान्छेलाई कुरेर बस्नुपर्ने थिएन होला ।

एकपटक तथ्याङ्कलाई मिथ्याङ्क नबनाई मापन गरौँ न विश्वमा सबै मानिसले व्यस्तताका नाममा कतिलाई कुराएका होलान् ? कामै नभएका लबस्तराहरूले व्यस्त छु भन्ने ओठे जवाफ दिँदा पत्याएर बस्ने नेपालीको सनातनी संस्कृतिमा फेरबदल मात्र गर्न सके धेरै कुरा अस्तव्यस्त हुन्नथ्यो कि ? व्यस्त छु है अलि ढिला हुन सक्छु भन्ने ठूलाबडाहरूलाई मरिहत्ते गरेर निम्त्याएर घण्टौँ कुराई सबैको समय क्वाप्ल्वाक्क खाइदिने आयोजकप्रति मौन धारण गर्नबाहेक अरू के नै गर्न सकिन्छ र ! दुनो सोझिएन भने व्यस्त भन्नुस् अस्तव्यस्त बनाउनुस् मस्त रहनुस् । कि कसो व्यस्तबहादुरजी ? जय होस् ! असारको पन्ध्र होस् । दहीचिउरा खानुस् दहीचिउरे नबन्नुस् । अन्त्यमा मस्त व्यस्तको अस्त होस् !

०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८१ साल असार १५ गते

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई
सत्र हजारको कथा !

सत्र हजारको कथा !

उमेश रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
टोयलेट मोड़ (१४)

टोयलेट मोड़ (१४)

कृष्ण प्रधान
तपस्वी ढाडे

तपस्वी ढाडे

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x