कलानिधि दाहालशब्दयात्रा !!
शब्द प्रशान्त हुन् शान्त दौडिन्छन् यी अझै उता विनानारा पुगेका छन् सुदूर दूरमा उता ! जसका साथमा हुन्नन् शब्दसारथीका रथ बुख्याँचा रूप हुन् मान्छे कहाँ हुन्छन् र सत्पथ !!

कलानिधि दाहाल :
विराट् विश्व म छाम्दै छु बसेको छु यता कतै
बित्ता जमिन टेकेर मात्र दुई यता कतै !
अक्षरका उघारेर ढोका हेर्छु समग्र म
ध्वनिको छ महायात्रा यात्रामा अग्र हुन्छु म !!
चर्म, मांस, नसा हाम्रा भएझैँ जनजिन्दगी
वर्ण, मात्रा यी सङ्केत शब्दका जनजिन्दगी !
प्रवाह रक्तका धार भएझैँ तनका मुनि
भित्रभित्रै छ संवेद्य सञ्चार शब्दमा ध्वनि !!
हृद्धड्कन धधक् खेल्ने मान्छेमा मुटु धड्कन
बिम्बालङ्कारका व्यङ्ग्य शब्दब्रह्म विहङ्गम !
फेरिने गतिका श्वास जनजीवनका पन
अर्थालङ्कारका कार शब्दका स्वरगुञ्जन !!
मूर्तिको ब्रह्म यो हुन्न जिउँदो ब्रह्मको छत
ज्योति ललाट चम्कन्छ नभई मन लत्पत !
उडूँ आकाशको यान शब्द नै बन्छ सारथि
चुमूँ धरा सधैँ जिब्रा शब्द नै छन् महारथी !!
बोलूँ बोली यिनै शब्द जिब्रा झङ्कार खुल्दछन्
पदचाप हिँडूँ छम्छम् शब्द नै छम्छमाउँछन् !
बसूँ खुइय्य यिनै शब्द नादमा ध्वनि छर्दछन्
झल्झलाकार ताराझैँ अन्तराकाश झर्दछन् !!
शब्द प्रशान्त हुन् शान्त दौडिन्छन् यी अझै उता
विनानारा पुगेका छन् सुदूर दूरमा उता !
जसका साथमा हुन्नन् शब्दसारथीका रथ
बुख्याँचा रूप हुन् मान्छे कहाँ हुन्छन् र सत्पथ !!
आस्था आकाश अग्लन्छ शब्दप्वाँख बनेपछि
जिन्दगी जिन्दगी हुन्छ शब्दयात्रा चुनेपछि !
न ठेस लाग्दछन् औँला शब्ददिल बुनेपछि
शान्त सौन्दर्य सोल्लास शब्दयात्रा चुनेपछि !!
दिग्दिगन्त हुँने आफैँ आफैँ प्रश्न र उत्तर
सृजना सृष्टि संसार समग्र सारको घर !
विनाचिन्तनको चिन्ता जम्मै छ्याङ्ग गराउँने
ब्रह्म मान्छे उही हुन्छ शब्दमा भर्भराउँने !!
यथार्थ पाइला टेकी कल्पनाको अनन्तमा
सखाबहार जो घुम्छ कहीँ पुग्दैन अन्त्यमा !
न आदिको कतै आदि न अन्त्यको निधान छ
शब्द छैन कतै छैन छ को ब्रह्मविधान छ !!
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































