साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चरित्र संरक्षणको उपाय

चरित्र संरक्षण आयोग जसले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको चरित्र मजबुतीका साथ त्यसरी नै संरक्षण गरिदेओस् । जसरी भ्रष्टाचार निर्मूल गर्ने सँस्थाले उनीहरूको संरक्षण गरिदिँदै आएको छ ।

Nepal Telecom ad

योगीश कृष्ण :

हिजो मात्र एकजना मन्त्रीले वक्तव्य प्रकाशन गरेर उनको चरित्र हत्या भएको खुलासा गरे । षडयन्त्रतापूर्वक योजनाबद्ध तवरले उनको चरित्र हत्या भएको रहेछ । चरित्रको हत्या पनि गजबको हुन्छ । जसको चरित्रको हत्या हुन्छ, उसलाई थाहा हुन्छ -उसको चरित्रको हत्यारा को हो । क-कसले उसको चरित्रको हत्या गर्ने षडयन्त्र गरे । तैपनि ऊ आफ्नो चरित्रको रक्षा गर्न सक्दैन ।लाचार छ । चुपचाप हेरिरहन्छ । कोही आउँछन् । हतियारसहित । उसको चरित्रको हत्या गर्छन् । हिँड्छन् । हत्या गरेपछि ऊ रोइकराइ गर्छ- लौ न नि । मेरो चरित्रको हत्या भयो ।

उनी बहालवाला मन्त्री । उनको चरिुत्रमाथि धेरैको आँखा लागेको हुन सक्छ । दलाल, दूतावास, आफ्नै पार्टीका अर्को गुटका साथीहरू, पत्रकार, विपक्षी दलका नेता, धेरै घुस माग्यो भनेर रिसाउने सेवाग्राही आदि । सब अहोरात्र खटिरहेका हुन्छन् । कतिखेर मौका मिल्ला र त्यसको चरित्रको निर्ममतापूर्वक हत्या गरिदिऊँ । जबसम्म उनी पदमा रहिरहन्छन्, उनको चरित्र सङ्कटमा हुन्छ । पदबिनाको चरित्र के चरित्र ?

चरित्र थरिथरिका हुन्छन् । एउटा विशिष्ट खालको पदसँग जोडिएको हुन्छ । उसको चरित्रको हत्या सामान्य ढङ्ले हुँदैन । ठूला ठूला आर्थिक घोटाला । विशेष प्रेम सम्बन्धका कारण तिनको चरित्र हत्या हुन्छ । यस्तो चरित्रको महत्व नै बेग्लै । यस्ताको चरित्र अरु धेरैको चरित्रसँग गाँसिएको हुन्छ । उसको चरित्र सँगसँगै अन्य कतिजनाको चरित्र स्वाहा हुन्छ । चरित्रको सामूहिक हत्या ।

सामान्य चरित्र लाबारिस कुकुर झैँ मारिन्छन् । बिना कुनै तामझाम । कहिले लोकल रक्शीको पसलमा । कहिले सय पचास सापटीको झन्झटमा । कथंकदाचित कसैलाई जिस्काएको कारणले । यस्तो चरित्रको हत्याको कुनै चर्चा हुन्न । भुईं मानिसको भुईं चरित्र । उसलाई मतलब पनि छैन, यस्तो चरित्र भए होस्, नभए नहोस् । चाहे कसैले हत्या गरोस् वा घाइते बनाओस् ।

बहालवालाको त हुने नै भयो । एक जना पूर्व मन्त्रीको चरित्र कैले सुखसँग बाँच्न पाउँदैन । घरिघरि उनको चरित्रको हत्या भइरहन्छ । पछिल्लो पटक एकजना अवकाशप्राप्त अधिकृतले आफ्नो संस्मरणात्मक कृतिमार्फत उनको चरित्रको हत्या गरिदिएछन् । उनी दुखी थिए ।

उनी पटक पटक सत्तामा पुगेका थिए । सत्ता जोगाउन सुरा, सुन्दरी र पैसाको छेलोखेलो गरेको आरोप लागेको थियो । नेपालका एक नम्बर भ्रष्टाचारी घोषित गर्दै उनको पुतला दहन भएको थियो । त्यतिबेला पनि उनले चरित्र हत्या भएको दुखेसो गरेका थिए । उनको चरित्रको चरित्र बडो विचित्र लाग्छ ।जो पनि उनको चरित्र हत्या गर्न उद्यत रहन्छन्। यहाँसम्म कि पोहर सुन तस्करीको राष्ट्रिय प्रसङ्ग चल्दा कारागारमा रहेका तस्करले पनि उनको चरित्र हत्या गरिदिए । मानौँ, उनको चरित्र चरित्र होइन, दन्त्यकथाको त्यस्तो राक्षस हो जो पटक पटक मारिन्छ । पुन ः पुनः जीवित भइरहन्छ ।

मलाई उनको चरित्रको माया लाग्यो । विचरा कति मारिनु ? आफ्नो चरित्र जति मारिए पनि उनी एकआध दिन कराउँथे । एक पटक उनको चरित्रको सडकदेखि सदनसम्म हत्या भयो । पहिले मन्त्री भएका थिए । त्यसपछि उपप्रधानमन्त्री भए ।चरित्र हत्या यिनलाई फाप्यो । अब अलि गतिलो खालको चरित्र हत्या भयो भने प्रधानमन्त्री हुन बेर छैन । उनले यस्तो गतिलो चरित्रको आपूर्ति कसरी कहाँबाट गर्दा हुन् कुन्नि ।

हालसालै एक जना सांसदको चरित्र हत्या भयो । पहिले पनि भइराखेकै थियो । तर यस पटक उनकी प्रेमिकाले चरित्र हत्या गरिदिइन् । मामला कानुनी तहमा पुग्यो । सयौँ काण्डमा यिनको चरित्रको सयौँ पटक हत्या भएको थियो । के यिनी बिनाचरित्र बाँचिरहेका थिए । बिना चरित्रकै मानिसलाई जनताले आफ्ना प्रतिनिधि किन चुने ? के जनता चरित्रहीनबाट शासित हुन चाहन्छन् ।

यसरी नै उत्पातसँग जनप्रतिनिधिहरूको चरित्रको हत्या हुँदै जाने हो भने चरित्रको खडेरी पर्ने संभावना बढदै जान्छ । भ्रष्ट मुलुक भनेर चिनिन्थ्यो, कतै अब चरित्रहीनहरूबाट शासित देश भनेर चिनिने त होइन ? पीर पर्नु स्वभाविक हो । के गर्ने त अब ?

हरेक समस्याको समाधान गर्ने हाम्रो मौलित तौरतरिका छ । एउटा ऐन बनाइदिने । अर्को आयोग बनाइदिने । मन्त्रिपरिषद्ले गरेका जस्तोसुकै देश र जनताघाती निर्णय गरे पनि कानुनले सजाय गर्न सक्दैन, त्यस्तै खालको गतिलो ऐन बनाएर चरित्रको संरक्षण गर्ने । अर्को हो, आयोग गठन गर्ने । चरित्र संरक्षण आयोग जसले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको चरित्र मजबुतीका साथ त्यसरी नै संरक्षण गरिदेओस् । जसरी भ्रष्टाचार निर्मूल गर्ने सँस्थाले उनीहरूको संरक्षण गरिदिँदै आएको छ ।
मलाई विश्वास छ- सरकारले यी दुवै काम तदारुकतासाथ चाँडै सम्पन्न गर्नेछ ।

०००
काठमाडौं
फित्कौली द्वैमासिक पूर्णाङ्क- ४१, २०८० (वैशाख-जेठ) 

इलस्ट्रेसन : टङ्क बहादुर आले, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x