सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आलोचना

यदि आफ्नो प्रकाशकले कुनै लेखकको पुस्तक छापेको छ भने केही किताब बिकाउनका लागि पनि त्यसको प्रशंसा गर्नैपर्‍यो । अनि जुन पत्रिकामा आलोचना छपाउने हो त्यसको गुटको पनि ख्याल गर्नुपर्छ ।

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

“लेखक विद्वान् होस् नहोस्, आलोचक सधै विद्वान् हुन्छ । विद्वान् प्रायः सिङ न पुच्छरका र तुक नभएका कुरा गरिबस्छ । यस्तै कुराले नै साहित्यमा स्थापनाहरू हुने गर्दछन् । अनि तिनै स्थापनाको कुहिगन्धबाट वातावरणको निर्माण हुन्छ जसमा कविताहरू मौलाउँछन् । त्यसैले जेसुकै भने पनि आलोचक मानिस कामको हुन्छ ।” आजभन्दा आठदश वर्षपूर्व आलोचनामाथि आफ्ना मित्रहरूको समूहमा बोल्दै मैले यी विचारहरू प्रकट गरेको थिएँ । ती ढुङ्गाका रेखा बनेका छन् । साहित्यको विकासमा लेखकको महत्त्व छ कि छैन भन्ने विषय विवादास्पद हुन सक्दछ तर कुनै पनि साहित्यको विकासमा कुनै आलोचकको महत्त्व सर्वस्वीकृत छ । साहित्यको वैतरणी तर्नु छ भने कुनै आलोचक गाईको पुच्छर समात । त्यसपछि सिङ चलाउने काम उसको अनि यश कमाउने काम कमलमुखको ।

आलोचनाप्रति आफ्नो प्राइभेट राय व्यक्त गर्नुभन्दा पहिले म तपाईंलाई आलोचना के हो भन्ने बताउँछु । यो प्रश्न मसित प्रायः सोध्ने गरिन्छ । साहित्यरत्नका छात्राहरू आलोचना बुझ्नका निम्ति सबैभन्दा बढी उत्सुक देखिन्छन् । त्यसैले के मान्नु गलत हुँदैन भने आलोचना भनेको साहित्यको सबैभन्दा अप्ठ्यारो विषय हो । अप्ठ्यारो विषय किन हो भने म आफैं यसको सही उत्तर दिन कहिल्यै सक्दिनँ । मैले ती केटीहरूलाई छड्के आँखाले हेरेर र मुसुक्क मुस्कुराएर भनिदिन्छु, “यो प्रश्न कुनै आलोचकलाई सोध्नुस् । म त कलाकार हुँ ।”

खैर, विषयमा प्रवेश गरौँ । आलोचना शब्द ‘लुच्’ धातुबाट बनेको हो जसको अर्थ हुन्छ हेर्नु । अनि ‘लुच्’ बाटै बनेको हो ‘लुच्चो’ पनि । यसरी हिन्दीमा ‘आलोचक’ का ठाउँमा ‘आलुच्चा’ वा ‘लुच्चा’ पनि खप्न सक्छ । एक पटक त मैले खपाउने कोसिस पनि गरेको थिएँ । एक सुप्रसिद्ध आलोचक महोदयलाई सभामा परिचित गराउने क्रममा गएको जनवरीमा वातावण निकै भाँडियो । मैले यस शब्दको समर्थनमा भयङ्कर सङ्घर्ष गर्नुपरेको थियो । आलोचक महोदयले मलाई मेरो शब्द फिर्ता लिन भने । जनताले पनि मलाई चारैतिरबाट घेरे । मलाई पहिलो पटक के अनुभव भयो भने हिन्दी भाषामा नयाँ शब्द दिनु कति खतरा उठाउनु रहेछ । मैले भनेँ, “म शब्द फिर्ता त लिन्छु तर तपाईंले के नबिर्सनुस् भने ‘आलोचना’ शब्द ‘लुच्’ धातुबाट नै बनेको हो ।”

अस्तु, कुरो आयो अनि गयो । मैले पनि यस विषयमा सोच्ने र चर्चा गर्ने काम बन्दजस्तै गरिदिएँ । तर आलोचकको दायित्व के हो त भन्ने गाँठो भने मनमा सधैं रहिरह्यो । वास्तवमा साहित्यको विशाल गोदाममा पसेर बेकार वस्तु छाँटेर हटाउनु र राम्रा वस्तुलाई सोकेसमा राख्न लगाउनु नै आलोचकको काम मानिन्छ जुन काम ऊ गर्दैन । ऊ त सधै आफ्ना, परिचित र समर्थकका माल त रहन दिऊँ, बाँकी सबैको मिल्काइदिऊँ भन्ने चक्करमा रहेको हुन्छ । यो प्रवृत्ति शुभ पनि हो किनभने आज नभए भोलि त यसको लाभ देखिन थाल्नेछ । कोसिस गरिरहनु नै समीक्षकको धर्म हो । जस्तो हिन्दीमा अझैसम्म मैथिलीशरण गुप्त, निराला र कविवर कमलमुखमध्ये कुन सर्वश्रेष्ठ हुन् भन्ने निणर्य अझै हुन सकेको छैन । एकजना राष्ट्रकवि हुन्, एकजना बहुप्रशंसित छन् र अर्काबाट ठुलाठुला आशाहरू छन् ।

समीक्षकहरूको यस्तो उत्तरदायित्वविहीन मुड हुँदाहुँदै पनि गएको दशक हिन्दी आलोचनाको स्वणर्युग थियो । जति पुस्तकहरू प्रकाशित भएका छैनन् त्योभन्दा बढी आलोचकहरूलाई ‘सादर उपहार’ प्राप्त भएका छन् । केही किताबको पुरै संस्करण आलोचकहरूलाई सादर उपहार दिनमै सकिएको छ । गएको दशकमा समीक्षाको नयाँ भाषा र नयाँ शैलीको विकास भएको छ । (दशककै चर्चा गर्दै छु किनभने मेरो आलोचक व्यक्तित्वको कण्टकयुक्त विकास पनि यसै दशकमा भएको हो ।) हिन्दीको मैदान त्यति वेलासम्म सुनसान थियो जबसम्म आलोचनाको यस खन्जर शब्दावलीको जन्म भएको थिएन । यस शब्दावलीका विशेषज्ञहरूको प्रकाशकको पसलमा ठुलै स्वागत हुने गरेको देखेको हुँ । प्रकाशकहरू आलोचकहरूलाई पाल्छन् । अनि यस क्षेत्रमा मेरो अलिकति पनि नाम आयो भने त विश्वास गर्नुस् कुनै प्रकाशकसित मेरो पनि लाभको सिलसिला जम्न थाल्नेछ ।

मैले मेरो आलोचक जीवनको शैशवकालमा कतिपय प्रचलित शब्दावली, टुक्कावली अनि वाक्यावलीको अनौठो सङ्कलन गरेको थिएँ जसलाई आज पनि यदाकदा उपयोग गरिरहन्छु । कुनै पुस्तकको समर्थन र विरोधमा कस्ता प्रकारका वाक्यहरू लेख्नुपर्छ भन्ने कुराका चारपाँचवटा थर्ड क्लास नमुना उदाहरणार्थ यहाँ प्रस्तुत गर्दै छु । हाम्रा अनेक समीक्षकहरूले त्यसको र उपयोग गर्न थाल्लान् भनेर राम्रा उदाहरण दिइनँ ।

समर्थनका कुराहरू
यस दृष्टिले यो रचना बेजोड छ । (दृष्टि जुनसुकै भए पनि हुन्छ ।) रचनामा लुकेको निष्कलुष वात्सल्य र निश्छल अभिव्यक्तिले मन छुन्छ ।
छपाइ र सफाइ विशेष आकर्षक छ ।
रूप र भावसँगै जुन विचारहरूका प्रतीकहरू उजागर हुन्छन् तिनबाट कविको सम्भावनाप्रति आस्था उत्पन्न हुन्छ ।
कमलमुखको कलमको म्वाइँ खान मन लाग्छ । (दत्तु पानवालाले मेरो विषयमा व्यक्त गरेको राय यहाँ दिँदै गर्दा सङ्कोच हुँदै छ तर उनको विशेष आग्रहलाई टाल्न पनि त सकिएन नि !)
मनोगुम्फनको तहमा यति भित्रसम्म पस्न सक्ने कलाकार हिन्दी उपन्यासले अर्को जन्माउन सकेको छैन ।
तपाईंले प्रेमचन्दको परम्मपरालाई अघि बढाउनुभएको छ । यदि मैले तपाईँलाई अर्को प्रेमचन्द भनेँ भने पनि गलत नहोला ।
कथामा सङ्गीतात्मकताले गर्दा गीतहरूमा पत्रकारिताबाट निस्किने मधुर आनन्दको सृष्टि हुन्छ ।

विरोधका कुराहरू
यसलाई कविता नभनेर असमर्थ गद्य भन्नु उपयुक्त होला । भावाङ्कनमा शून्यता छ अनि भाषा छिरलिएको छ ।
छपाइ, सफाइ तथा प्रुफसम्बन्धी यति धेरै गल्तीहरूले बिझाउँछन् ।
लेख कोर्सका लागि लेखिएको जस्तो लाग्छ ।
रचनाले यस्ता यशस्वी लेखकप्रति हामीलाई निराश पार्छ । यस्ता पुस्तकको अभावभन्दा प्रकाशन बढी असहज लाग्छ ।
सन्तुलन र सङ्गठनको अभावले राम्रो भाषा हुँदाहुँदै पनि रचनालाई घटिया बनाइदिएको छ । आक्रोशजन्य र विवेकशून्यतामा हातखुट्टा फालिरहेका लेखक त्रिशङ्कुजस्ता लाग्छन् ।
यी निष्प्राण रचनाहरूमा कविको खस्रो असन्तुष्टि मात्र निस्केर आएको छ ।
पूर्वाग्रहग्रस्त दृष्टिकोण, पराजित साहस, प्रतिक्रियाग्रस्त छट्पटी र घृणा, शाब्दिक चमत्कारबाट कागज रँगाउने चुत्थो शक्तिको खोक्रो प्रदर्शन मात्र देखिन्छ यी कविताहरूमा ।

लेखक स्वयम्को दमित तथा कुण्ठित वासनाको घिनलाग्दो अभिव्यक्ति यत्रतत्र मात्र नभएर सर्वत्र पाइन्छ । सामाजिकतासितको यो अनास्थाले लेखकलाई कहाँ पुर्‍याउला जबकि पुस्तकको मूल्य पनि बढी छ ।
यी सजिला र लन्ठ्याङलुन्ठुङ कुरा हुन् जसको सहायतामा कुनै पनि पुस्तकलाई उफार्न वा पछार्न सकिन्छ ।
आलोचनाभन्दा पनि महत्त्वपूणर् कुरो त आलोचकको व्यक्तित्व हो । पुस्तक र त्यसको लेखक त निहुँ र माध्यम मात्र हुन् । यसको माध्यमबाट आलोचकले यश आर्जित गर्छ । प्रसिद्धिको मार्ग त पुरै खुल्ला छ । आफै किताब लेखेर नाम कमाउनुहुन्छ या अर्काका किताबमा विचार व्यक्त गरेर नाम कमाउनुहुन्छ ? बरू कडा आलोचना गरेर मौलिक लेखकको भन्दा ठुलो यश कमाउन सकिन्छ ।

यसै सन्दर्भमा मलाई एउटा कुराकानीको सम्झना हुन्छ जुन साहित्यरत्नकी छात्रा र मेरा बिचमा भएको थियो –
रातिको दश बजे/गहिरो जाडो/पार्कको बेन्च/उनी र म/तारामण्डित आकाश/लोभलाग्दो मौन एकान्त ।
उनी- “आलोचना त म बुझ्दै बुझ्दिनँ सर !”
म- “आहा सुलोचना, यसको अर्थ हो तिमीमा असीम प्रतिभा छ । सृजनको प्रचुर शक्ति छ । महान् लेखकहरू आलोचना कहिल्यै बुझ्दैनन् ।”
उनी- “तपाईं आलोचना किन गर्नुहुन्छ ?”
म- नगरेर अरू के गरूँ त ? अर्काको आलोचनाको पात्र बन्नुभन्दा त आफै आलोचक बनेको जाती भो नि !
उनी- कसैको आलोचना गरेर तपाईं के पाउनुहुन्छ ?
म- उसको पुस्तक ।
केही बेर मौनता रह्यो ।

उनी- साँच्चै भन्नुस् त सर, तपाईंलाई मेरो गलाको कसम, ढाँट्नुभयो भने मेरो मरेको मुख देख्नुहुनेछ, आलोचनाको मापदण्ड के हो ? तपाईं समीक्षकको उत्तरदायित्व कसरी निर्वाह गर्नुहुन्छ ?
त्यस रात सुलोचनाका सुकोमल हात आफ्ना हातमा नराखेरै मैले साँचो कुरा भनिदिएँ- “सुलोचना ! आलोचनाका मापदण्ड परिस्थितिअनुसार फेरिँदै गर्छ । सिङ्गो हिन्दी जगत् दुई भागमा बाँडिएको छ । मेरा मित्रहरू, मेरा शत्रुहरू र तेस्रो त्यो जो मेरा निम्ति अपरिचित छ । सबैभन्दा ठुलो यही तेस्रो हो । यदि मित्रको पुस्तक रहेछ भने त्यसको गुणगान हुन्छ र सुरक्षा गरिदिन्छु । यदि शत्रुको पुस्तक रहेछ भने निम्नस्तरको शब्दावली लिएर पछारिदिन्छु । अनि तेस्रो वर्गको पुस्तक रहेछ भने पढ्दा पनि नपढी र आलोचना नै नगरी सकिदिन्छु । अथवा कहिलेकसो एकदुई भाग पढि पनि हाल्छु ।

यदि आफ्नो प्रकाशकले कुनै लेखकको पुस्तक छापेको छ भने केही किताब बिकाउनका लागि पनि त्यसको प्रशंसा गर्नैपर्‍यो । अनि जुन पत्रिकामा आलोचना छपाउने हो त्यसको गुटको पनि ख्याल गर्नुपर्छ । रेडियोका निर्माता, पत्रिकाका सम्पादक तथा हिन्दी विभागका अध्यक्ष आलोचनाका पात्र हुँदैनन् । सुलोचना ! नढाँटेरै भन्छु, प्रयोगवादी धाराको एउटा सामान्य उम्मेदवार हुँ । अतः हरेक प्रगतिशील बन्न खोज्ने लेखकको विरोधमा लेख्नु आफ्नो धर्म मान्दछु । फेरि पनि म केही होइनँ । वर्षमा मुस्किलले एक्का दुक्का किताब मात्र समीक्षार्थ मकहाँ आउँछन् । बस यत्ति हो ।”
(सुलोचनाले पछि भनेकी थिइन् त्यस रातमा मेरा आँखामा आँसु आएको थियो रे !)

०००
शरद जोशी के कमलमुख से ‘आलोचना’ काे नेपाली अनुवाद

Fitkauli Publication Books comming soon
Nepal Telecom ad