साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ जोगी

उनको कान अझैँ खाली थियो तर उनले तुरुन्तै आफ्ना कानमा कुण्डल झुन्ड्याउनेछन् भन्नेमा मलाई विश्वास लाग्यो किनभने चल्ले जोगीले उनलाई आफ्नो वशमा ल्याइसकेको मैले देखेँ ।

Nepal Telecom ad

राजु अधिकारी :

बुवालाई धर्मकर्ममा त्यति आस्था थिएन । न त घरमा पूजा गर्नु हुन्थ्यो न त मन्दिर जानु हुन्थ्यो । तर जोगीहरूप्रति बुवाको अचम्मको आसत्ति थियो । उहाँले जोगीहरूलाई निकै आदर र सम्मान गर्नुहुन्थ्यो । म बुवाका धेरै गुणहरू लिएर जन्मेको थिएँ तर जोगी प्रतिको आसत्ति भने त्यसमा परेन छ । मलाई जोगीहरू पटक्कै मन पर्दैनथ्यो । मन नपर्ने कारण पनि अचम्मको थियो- उनीहरूले लगाउने कुण्डल । जोगीले लगाउने कुण्डल कम्तीमा पनि चार पाँच तोलाका हुन्छन् जस्तो मलाई लाग्थ्यो । त्यति गह्रुङ्गो कुण्डल कानका लोतीमा झुन्ड्याउँदा उनीहरूलाई भन्दा मलाई अप्ठ्यारो लाग्थ्यो । आफ्नै कानमा कुण्डल झुण्डिएको जस्तो लागेर मेरो जिउ नै सिरिङ्ङ हुन्थ्यो ।

बुवाको जोगी प्रतिको सद्भावले गर्दा हाम्रो घरमा जोगीहरू आइरहन्थे । कहिलेकाहीँ ‘अलख निरञ्जन !’ भन्दै दैलोमा झुल्कने जोगी त छँदै थिए, हाम्रो घरमा आइरहने एक जना स्थायी जोगी थिए । ती जोगी अरु भन्दा अलि भिन्न थिए । उनी कुलापारी बाँसबोटे भारतीका घरमा बस्थे । सायद ती भारतीका कुनै नातेदार पनि पर्थे जस्तो लाग्छ । त्यहीँ खान्थे । अरु जोगी जस्तो घरघरमा माग्न जाँदैनथे । कतै गएको बेला कसैले भिक्षा दिइहाले भने झोलामा हालेर लान्थे नत्र दैलो चहार्दैनथे ।

मानिसहरूले उनलाई चल्ले जोगी भन्थे । त्यसो भन्नुको कारण प्रष्टै थियो- उनले कुखुरा पनि खान्छन् रे भन्ने हल्ला थियो । खान्थे या खाँदैनथे त्यो त उनलाई नै थाहा होला तर चल्ले जोगी भनेपछि उनलाई नचिन्ने मान्छे कमै थिए ।
उनको कपाल अरू जोगीहरूको जस्तो त्यति लामो थिएन । लोती लत्रिएका उनका लामा कानमा स्फटिकका जस्ता देखिने काँचका कुण्डल झुन्डिएका हुन्थे । उनको घाँटीमा सधैँ गेरुको गम्छा हुन्थ्यो भने शरीरमा गेरु वस्त्र अनि कम्मरमुनि पहेँलो धोती । उनको चिनारी त्यही थियो ।

उनी बस्ने भारतीको घर हामी घोराही जाने तल्लो बाटोमा पर्थ्यो । बुवा कामै नभए पनि हप्तामा १-२ पटक घोराही गइरहनु हुन्थ्यो । बाटोमा ती जोगीलाई भेटेपछि “महाराजजी धेरै भयो न’आको, भात खान आउनुस् न मिलाएर !” भन्न बिर्सनु हुँदैनथ्यो ।
उनी पनि बुवाको त्यही निमन्त्रणा कुरेर बसे झैँ गरी अर्को दिन टुप्लुक्कै भात खान हाम्रो घर पुगिहाल्थे ।
मलाई जस्तै आमालाई पनि ती जोगी मन पर्दैनथ्यो । तर आमाले उनलाई मन नपराउनुको कारण मेरो भन्दा फरक थियो- उनको लागि भनेर अघिपछि भन्दा मीठो र धेरै पकाउनुपर्ने बाध्यता । आमाले बुवालाई जोगी नबोलाउन भन्नुहुन्थ्यो । तर आमाको के नै लाग्थ्यो र ? बुवाले आमाको कुरा सुने पो ?

हाम्रो भान्छामा भान्छालाई दुई भागमा विभाजन गर्ने एउटा मसिनो डिल थियो । प्रायः सबै बाहुनहरूको भान्छामा हुन्थ्यो । खाना खाने बेलामा त्यो डिलभित्र खाना पकाउने मान्छे र जनै हालेका ब्राह्मणहरू मात्र पस्न पाउँथे । जनै नहालेका हामी केटाकेटी सधैँ त्यो रेखा भन्दा मुनि बसेर खानु पर्थ्यो । तर ती जोगी जातले सन्यासी भए पनि जोगी दीक्षा धारण गरेपछि ब्राह्मण जस्तै शुद्ध भएका थिए । उनले हाम्रो भान्छाको घेराभित्र बुवासँगै ठूलो पिर्कामा बसेर ठूलो थालामा खान पाउँथे ।
उनी हाम्रो लागि बाहिरका पाहुना भन्दा पनि ज्वाइँ चेला जस्तै भइसकेका थिए । अलिकति मीठो मसिनो पाक्यो भने टुप्लुक्कै हाम्रो आँगनमा देखा परिहाल्थे ।
लिच्ची पाक्यो, टुप्लुक्कै !
आँप पाक्यो, टुप्लुक्कै !
कटहर पाक्यो, टुप्लुक्कै!
खीर खाने दिन आयो, टुप्लुक्कै !
मकै चढाउने दिन आयो, टुप्लुक्कै !
श्राद्धको दिन आयो, टुप्लुक्कै !
तिहारका राता पहेँला चिल्ला रोटी खान तिहारको दुई दिनपछि टुप्लुक्कै !
देवाली आयो, टुप्लुक्कै !
न्वागी खाने दिन आयो, टुप्लुक्कै !
माघे सङ्क्रान्ति आयो, टुप्लुक्कै !
अक्षय तृतीया आयो, टुप्लुक्कै !
यस्तो लाग्थ्यो हाम्रो घरमा कुन दिन मीठो मसिनो खाने दिन हुन्छ उनलाई पहिले देखि नै थाहा हुन्थ्यो । उनी आएपछि बुवा पनि मख्ख । ‘महाराजजी’ भनेर उनको सत्कार गर्नुहुन्थ्यो । सम्मान र सत्कार पाइने घरमा उनी नआउन पनि किन ?

तर हामीले चिनेका जोगीमा ती मात्र एक्ला जोगी थिएनन् । अर्का एक जना जोगी पनि सबैका परिचित थिए । तर उनी गाउँ डुल्दैनथे । उनको क्षेत्र घोराही बजार थियो । उनी लेटारतिरका थारू थिए । मानिसहरूले उनको मानसिक सन्तुलन त्यति ठिक छैन भन्थे । जोगी भएर मानसिक सन्तुलन बिग्रेको हो या मानसिक सन्तुलन बिग्रेर जोगी भएका हुन् कसैलाई थाहा थिएन । उनीसँग सधैँ एउटा एकतारे जस्तो देखिने काठको उपकरण हुन्थ्यो । तर त्यो एकतारे थिएन, त्यो एउटा मान्छेको आकृति थियो। लगभग उनकै उचाइको। त्यो काठको मान्छे विशेष थियो । विशेष यस अर्थमा कि उनले त्यो मान्छेको दुई खुट्टा बीचमा एउटा डन्डी बियोको बियो जत्रै आकारको काठको टुक्रो झुण्याएका थिए। त्यो काठको टुक्रोलाई डोरी प्रयोग गरेर तल माथि चलाउन मिल्ने बनाएका थिए । त्यो सबै आफै बनाएका थिए रे । जब उनले नजिकमा केटाकेटीहरू देख्थे, डोरी तानेर त्यो काठको टुक्रो ठाडो पारिदिन्थे । केटाकेटीलाई हाँस्नलाई के चाहियो र ? उनीहरू खित्का छोडेर हाँस्न थाल्थे ।

केटाकेटीहरू मात्र हैन उमेर पुगेका पुरुषहरू पनि ती जोगीको त्यो हर्कत रमाइलो मानेर हेर्थे । महिलाहरू भने सकभर उनको नजिक पर्दैनथे । उनको त्यो मनोरञ्जनको लागि कसैले पैसा त कसैले खाने कुरा पनि दिन्थे । त्यसैबाट उनको गुजारा चलेको थियो ।
अरु जोगीहरूको जस्तै ती जोगीको कानमा पनि गह्रुङ्गो कुण्डल झुण्डिएको थियो । त्यसैले उनी पनि मेरो लागि आकर्षण भन्दा विकर्षण थिए ।

ती सबै देखेका हामीहरू जोगी भनेका मागेर, ठगेर खाने, लुकीलुकी कुखुराको मासु नै हसुर्ने, बाहिर एउटा रूप देखाउने भित्र अर्कै काम गर्ने, भगवानको नाममा पाप गर्ने ढोँगीहरू हुन् भन्ने भावना थियो ।
एक दिन गाउँमा अचानक नयाँ जोगी देखि ए। उनी अरु जोगीहरू जस्तो उमेर खाएका थिएनन् । उनी ऊर्जावान् थिए र चेहरा पनि निकै तेजस्वी थियो । काला बाक्ला दाह्रीले छपक्कै छोपेको उनको चेहरा र लामो कालो केशमा उनी निकै आकर्षक देखिन्थे । गेरु वस्त्र पनि उनलाई निकै सुहाएको थियो । खरानी पनि मिलाएर अलि धेरै लगाएका थिए ।
उनले आफू काशीबाट दिक्षित भएर आएको र चौघेराको मठमा एक वर्ष पीरको सेवा गरेको भन्थे ।

“अलख निरञ्जन !” भन्दै हाम्रो आँगनमा झुल्किएपछि काँसको थालमा चामल बोकेर आमा बाहिर निस्कनु भयो । आमाको धोतीको सप्को समात्दै म पनि उनलाई हेर्न पछिपछि आएँ ।
“नयाँ महाराजजी आउनु भा’रैछ त !” भन्दै आमाले उनको झोलामा भिक्षा हालिदिनु भयो ।
“भर्खरका हुनुनि रै’च । कसरी जोगी बन्ने इच्छा जागेछ ?” आमाले त्यत्तिकै टिप्पणी गर्नु भयो ।
आमाले उत्तरको अपेक्षा गरेर पक्कै भन्नु भएको थिएन तर नयाँ जोगीले धारा प्रवाह प्रवचन छाँट्न थाले । उनको ज्ञानको दायरा जति फराकिलो थियो उनको वाचन कला पनि त्यत्तिकै प्रखर रहेछ ।

उनले भने, “माते ! अधर्म, अन्याय, अत्याचारले व्याप्त यो कलियुगमा मानव जातिको मुक्ति नित्य, निरञ्जन र निराकार भगवान श्री शङ्करको ज्ञानले मात्र सम्भव छ । अहिलेको स्वार्थी र भौतिकवादी सोचबाट समाजलाई आध्यात्मिक बाटोमा डोर्‍याएर चराचर जगतको कल्याण गर्नको लागि मैले आफ्नो प्रयास स्वरूप यो रूप धारण गरेको हुँ । यति नगरी संसारमा व्याप्त अन्धकार र अज्ञानताबाट हामी मुक्त हुन सक्दैनौ । शान्ति, सदाचार र सत्यको मार्गमा हिँड्नको लागि उमेरको पावन्दी हुँदैन । भगवानको चरणमा आफूलाई सुम्पन बाल, युवा वृद्ध सबै स्वतन्त्र छन्। असत्यको प्रभावले गर्दा हाम्रा मानिसहरू भ्रष्ट हुँदै गइरहेका छन्, हाम्रो धर्म नष्ट हुँदै गइरहेको छ । यो भनेको पतनको मार्ग हो । यसबाट मुक्ति पाउनको लागि एक मात्र मार्ग छ त्यो हो भक्तिमार्ग । म त्यही मार्गमा आफू पनि हिँड्न र अरुलाई पनि हिँड्न प्रेरित गर्न आफ्नो सारा भौतिक आवश्यकता र व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर यो मार्गमा लागेको हुँ । भगवान श्री शंकरले सदा सबैको कल्याण गरून् !”

“यसको त कुण्डल रै’नछ !” उनले आफ्नो ‘प्रवचन’ सिध्याएपछि मैले सानो स्वरमा आमालाई भने ।
“के भन्नुहुन्छ बाबुले ?” जोगीले मैले बोलेको सुने जसरी भने ।
मलाई कसैले तपाईं भनेको सुन्दा अचम्म मात्र हैन आनन्द पनि आयो । उनले मलाई तपाईं भने पनि आमासँग सोध्दा मैले उनलाई ‘तँ’ भनेको थिएँ । आफ्नो कुरा उनले सुनेको थाहा पाएर मलाई लाज लाग्यो ।
“तपाईंको कानमा कुण्डल छैन भन्छ!” आमाले भन्नुभयो ।
“कुण्डल लगाउँदैमा जोगी हुने हैन। बरू कुण्डल लगाउने जोगीहरूले जोगीको बदनाम गरेका छन् । जोगी भनेको मागेर खाने, ढोगी जस्तो मान्न थालेका छन् मानिसहरूले । म चाहिँ कुण्डल लगाएर अरु जोगी जस्तै जोगीको बेइज्जत गर्ने हैन, कुण्डल नलगाएरै जोगीहरूको साख फर्काउन र मानव मात्रलाई सत्यको बाटोमा फर्काएर ल्याउन लागेको छु,” उनले भने ।
त्यति भनेर उनी आफ्नो बाटो लागे ।

उनको छोटो प्रवचनले मलाई लट्ठ बनायो । जोगी प्रतिको वितृष्णाको कुहिरो एकाएक मेरो मनबाट हटेर त्यसको स्थान सम्मानको किरणले लियो । मनै प्रफुल्ल भयो । विकृत हुँदै गइरहेको हाम्रो समाजलाई असत्यको मार्गबाट सत्यको मार्गमा फिर्ता ल्याउने उनै हुन् जस्तो लाग्यो ।
त्यसपछि उनी भिक्षाटनको लागि बारम्बार गाउँ आइरहन्थे । जोगी भएपछि उनको सङ्गत चल्ले जोगीसँग पनि बढेको थियो ।

एकदिन हाम्रो घरमा भिक्षाटनको लागि आएको बेला आमाले, “महाराजजी कति वर्षको हुनुभयो ?” भनेर सङ्कोच नमानी सोध्नुभयो ।
“उमेर कति भयो भन्ने भन्दा पनि हामी कति बाँच्न सक्छौँ र त्यो समयमा हामीले समाजलाई के योगदान दिन सक्छौँ भन्ने महत्वपूणर् कुरा हो माते !” उनले आमाको प्रश्नको उत्तर नदिई कुरा अर्कैतिर मोडे ।
“अनि कति बाँच्ने इच्छा छ त ?” आमाले हाँस्दै सोध्नुभयो ।
“कम्तीमा पनि चौरासी पूजा त गर्नै पर्ला !” उनले भने ।
“महाराजजीहरूले पनि चौरासी पूजा गर्छन् र ?” आमाले आफ्नो अनभिज्ञता प्रकट गर्नु भयो ।
“अरुले गरून् नगरून्, मैले चाहिँ चौरासी गर्ने नै हो !” त्यति भनेर उनी भिक्षा लिएर गए ।
त्यसपछि गाउँमा उनी चौरासी जोगीको नामले चिनिन थाले । चौरासीको नामले भर्खर आएको फुच्चे जोगी चिनिन थालेपछि चल्ले जोगीलाई इर्ष्या जाग्यो । त्यसपछि चल्ले जोगीले पनि आफू पनि चौरासी वर्ष बाँचेर चौरासी पूजा गर्ने भन्दै हिँड्न थाले ।

चौरासी जोगीको चर्चा निकै छिटो जताततै फैलियो । मलाई पनि उनी मन पर्थ्यो । उनी फेरि कहिले हाम्रो घरमा भिक्षा माग्न आउलान् भनेर म प्रतीक्षा गर्थेँ र उनी आएको दिन मेरो मनै प्रफुल्ल हुन्थ्यो ।
“आमा चौरासी जोगी कैले आउँछन् ?” धेरै दिनसम्म चौरासी जोगीले हाम्रो दैलोमा आफ्नो उपस्थिति नदेखाए पनि मैले आफ्नो अधीरता लुकाउन नसकी आमालाई सोधेँ ।
“मलाई के था’त ? जा दोकान गएर सलाई ल्याएर आ” भन्दै मेरो उत्तर नदिएर आमाले उल्टै अर्को काममा लगाउनु भयो ।

घरमा सलाई सक्केको तीन चार दिन भइसकेको थियो । आमाले तावामा आगो मागेर ल्याएर काम चलाइरहनु भएको थियो। बुवा घोराही गएको बेला ल्याउने भन्ने कुरा थियो तर बिर्सनु भएछ ।
सलाई ल्याउनको लागि आमाले पचास पैसाको ढ्याक मेरो हातमा राखिदिनुभयो ।
सिक्काको एकातिर शङ्क, चक्र, गर्दा, पद्मको बीचमा त्रिशूल अनि श्री ५ विरेन्द्र वीर विक्रम शाहदेव लेखेको, अर्कोतिर श्री भवानी र गोलो आकारमा श्री श्री श्री गोरखनाथ लेखेर बीचमा दुई फुलका लहराले जोगाइराखेको राजदण्डको चित्र थियो । ओल्टाइपल्टाई त्यही सिक्का हेर्दै र मनमनै श्री श्री श्री गोरखनाथ जप्दै म बुढाथोकीको पसल पुगेँ ।

बुढाथोकीको पसल भारतीको घरको उत्तरतिर लगभग तीन सय मिटरको दूरीमा घोराही जाने माथिल्लो बाटोमा पर्थ्यो । पसल नजिकै योगेन्द्र विक्रम ठकुरीको भट्टी पनि थियो । ठकुरीको भट्टी र बुढाथोकीको पसल मानिसहरू भेला भएर गफ गर्ने स्थानहरू थिए । मङ्सिरको महिना थियो । केही मानिसहरू खेतमा धान काट्दै थिए भने कसैले बाटोको छेउमा बसेर घाम ताप्दै थिए । तिनै घाम ताप्ने मानिसहरू मध्येमा चल्ले जोगी र चौरासी जोगी पनि थिए । चौरासी जोगीको दर्शन पाएपछि मेरो मुहार अनायासै उज्यालो भयो ।

म उनीहरूको नजिकैबाट पसल जाँदै थिए । मैले उनीहरूलाई पुलुक्क हेरेँ र उनीहरूको संवाद पनि सुनेँ ।
“तिम्रो कानमा त कुण्डल नै छैन, त चौरासी ! कान चिर्‍याए छैनौ ?” चल्ले जोगीले सोधे ।
“चिर्न त चिर्‍या हो, तर कुण्डल लगाएको छैन । अब त प्वाल पनि पुरियो होला” चौरासीले आफ्नो कानतिर छाम्दै भने ।
“जोगी भएर कुण्डल नलगाएर हुन्छ ?” चल्ले जोगीले चुनौती र सल्लाह एकै वाक्यमा दिए ।
“तर मलाई लगाउन मन लाग्दैन । कान चिर्दैमा, कुण्डल लगाउँदैमा मात्र जोगी हुने त हैन नि ?” चौरासीले आफ्नो तर्क राखे ।
“किन हैन ? कान पनि चिर्नैपर्छ, कुण्डल पनि लगाउनै पर्छ” चल्ले जोगीले प्रष्टसँग आफ्नो अडान राखे र “भोलि म कुण्डल खोजेर ल्याएर लगाइदिन्छु,” भने ।
“हुन्छ, लगाएर पनि के बिग्रने हो र ?” चौरासीले स्वीकृति जनाए ।

उनको कुरा सुनेपछि मैले दोहोर्‍याएर नयाँ जोगीलाई हेरेँ । उनको कान अझैँ खाली थियो तर उनले तुरुन्तै आफ्ना कानमा कुण्डल झुन्ड्याउनेछन् भन्नेमा मलाई विश्वास लाग्यो किनभने चल्ले जोगीले उनलाई आफ्नो वशमा ल्याइसकेको मैले देखेँ । अचानक मेरो दिमागमा उनको कानमा पनि चल्ले जोगीका जस्तै गह्रुङ्गा कुण्डल कानका लोतीलाई तलै झारेर झुन्डिएको चित्र बन्यो । त्यो काल्पनिक चित्रले मेरो आँग जिरिङ्ग भयो । शरीरमा काँडा उठेँ । सबै जोगी उस्तै हुने रहेछन् भन्ने लाग्यो र नयाँ जोगीप्रतिको मेरो सम्मान एकाएक उड्यो ।
त्यो बेलादेखि गुमेको जोगीप्रतिको मेरो सम्मान अहिलेसम्म पनि फर्कन सकेको छैन ।
आज सम्झँदा लाग्छ- जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान त्यसै आएको रहेनछ ।
(भन्नुपर्ने- यो एउटा व्यङ्ग्य लेख हो । यसमा जोगी पात्रलाई प्रतीकात्मक रूपमा मात्र प्रयोग गरिएको हो, न कि जोगीहरूलाई उपहास गरिएको हो । त्यसैले पाठकहरूले यो लेखमा ‘जोगी’ शब्दलाई शाब्दिक रूपमा नबुझिदिनुहोला भन्ने आग्रह गर्न चाहन्छु ।)

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गधा फेर्ने उत्सव

गधा फेर्ने उत्सव

राजु अधिकारी
सिलौटो

सिलौटो

राजु अधिकारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x