राजु अधिकारीसिलौटो
अहिलेका नयाँ प्रविधिभन्दा निकै पिछडिएको, फोहर, हाम्रो परिवारको रोगको घर त्यो सिलौटो अहिले आफूलाई के के नै ठूलो ठान्दै निर्लज्ज रूपमा हाम्रो भान्छामा ठाउँ ओगटेर गजधुम्म परेर बसेको छ ।

राजु अधिकारी :
अधिकांश नेपालीको घरमा कुनै समय सिलौटो भान्छामा एउटा अनिवार्य ‘उपकरण’ जस्तै थियो । सिलौटोमा पिँधेको (पिसेको) पोलेको गोलभेँडाको अचार नखाने नेपाली त्यो बेला भेट्टाउन गाह्रो हुन्थ्यो । त्यो बाहेक मसलाको लागि जिरा र धनियाँ, लसुन, अदुवा अनि ज्यामिर र अमिलोसँग खानको लागि ढिके नुन र खुर्सानी पिस्ने सबै काम त्यही सिलौटोमै हुन्थ्यो ।
कसैले जाँतो (चाकी) भुत्तिएर काम नलाग्ने भएपछि फोडेर आधा भाग सिलौटोको निम्ती प्रयोग गर्ने गर्थे । कसैले खोलाबाट अलि राम्रो ढुङ्गा बोकेर ल्याएर सिलौटो बनाउँथे, अलि हुने खानेले खोपेर बनाएको बजारमा किन्न पाइने कलात्मक सिलौटो राख्थे । हाम्रो घरमा चाहिँ भमइ खोलाबाट उठाएर ल्याएको एउटा चिटिक्क मिलेको ढुङ्गो थियो । पछि पछि काठको, फलामको, इस्पातको र काँशको पनि सिलौटो देखिन थालेको थियो । तर जस्तो भए पनि अधिकांश नेपालीको हकमा सिलौटो भन्ने बित्तिकै ढुङ्गाकै भन्ने बुझिन्थ्यो ।
तर समय परिवर्तन भयो । प्रविधिको विकास र गाउँ गाउँमा बिजुली पुगेपछि भान्छाबाट सिलौटो बिस्तारै विस्थापित हुन थाल्यो । बजारमा ग्राइन्डर र मिक्सर आए, पोकाको नुन आयो, पोकाकै मसला आए, सिसिमा अचार आए । सिलौटो ओझेलमा पर्यो । तैपनि हाम्रो घरमा सिलौटोले लामै समयसम्म राज गरेको थियो । त्यसको एउटा कारण त पैसा थियो, अर्को कारण हजुरबा । हजुरबालाई सिलौटो निकै प्यारो लाग्थ्यो । प्राकृतिक जीवन शैली नै सर्वोत्तम जीवन शैली हो भन्ने हजुरबाको मान्यता थियो । त्यसैले हाम्रो गरमा सिलौटोलाई इज्जत थियो ।
“मलाई त यो ग्यान्डर हो कि मिस्चर हो त्यसमा पिस्या अचार मीठो लाग्दैन, ढुङ्गाको सिलौटोमा पिस्देओ न!” घरमा मिक्सर र ग्राइन्डर आए पनि हजुरबाले सकभर सिलौटो पिसेको अचार र मसला मन पराउनु हुन्थ्यो । तर परिवर्तनको यात्रा रोकेर रोक्न सकिने थिएन । हामीले बिस्तारै हजुरबाको मागलाई एक कानले सुनेर अर्को कानले उडाइदिँदै बेवास्ता गर्न थाल्यौँ । हाम्रो घरबाट पनि सिलौटो बिस्तारै विस्थापित भयो ।
तर केही समयदेखि फेरि हजुरबाले भान्छामा सिलौटो फिर्ता गर्न आफ्नो माग राखि रहनु भएको थियो । हामीले टार्दै आएका थियौँ । “जमाना काँ पुगिसक्यो, बाजे पनि ! अब त्यस्ता ढुङ्गा सुङ्गामा पिस्या खाने हैन के ! फोरो हुन्छ, रोग लाग्छ !” एक दिन मैले हजुरबालाई सम्झाउँदै भने । फोहर हुन्छ भन्नुमा मेरो ज्ञान भन्दा पनि हजुरबालाई डर हालिदिने बहाना मात्र थियो । सिलौटो पखाल, बल लगाई लगाई पिस, यता खस्छ, उता झर्छ । स्याहार्नै दुःख । अनि गह्रुङ्गो सिलौटोलाई उठाएर राख । मलाई मन पर्दैनथ्यो । तर हजुरबाले मेरो कुरा मान्नु भएन । उहाँको जिद्दी रोकिएन ।
त्यसपछि भने मैले साँच्चै नै सिलौटोमा पिसेको खाद्य पदार्थले हानी गर्दो रहेछ कि रहेनछ भनेर सोध खोज गर्न थालेँ । मैले हजुरबालाई बहाना बनाएको कुरा त सत्य पो रहेछ । मिक्सर र ग्राइन्डर भन्दा फोहर त हुने नै भयो । त्यसमा दुई मत थिएन । तर त्यो भन्दा पनि गम्भीर विषय त यदि सिलौटोमा प्रयोग हुने ढुङ्गा राम्रो परेन भने त्यसबाट स्वास्थ्यमा निकै गम्भीर नकारात्मक असर पनि पर्ने रहेछ । पिस्दा निस्केको ढुङ्गाको धूलो त खानाको माध्यमबाट शरीर भित्र जाने नै भयो । यति त्यो ढुङ्गामा अन्य गह्रौँ र विषालु धातु पनि मिसिएको रहेछ भने त त्यो भनेको त रोगको घर नै रहेछ । भमइ खोलाबाट टपक्कै टिपेर ल्याएको ढुङ्गाको गुणस्तर जाँचेर प्रयोग गर्ने कुरो भएन । पिस्दा पिस्दा बीचमा त्यो ढुङ्गो पातलो भएर प्वाल पर्न थालिसकेको थियो । हामीले कति धेरै ढुङ्गा खाएछौँ त भनेर म बल्ल झस्किएँ ।
हाम्रो घरमा तीन जनालाई मृगौलाको पत्थरी अनि एक जनालाई पित्तथैलीको पत्थरी परेको थियो । बुवाको पत्थरी र दिदीको पत्थरी त अपरेसन गरेर नै निकाल्नु परेको थियो । कतै हाम्रो घरमा त्यति धेरै जनालाई पत्थरी पर्नुमा त्यही ढुङ्गाको सिलौटोको करामत त हैन भन्नेमा मलाई शंका लाग्यो ।
हाम्रो गाउँमा सुस्त मनस्थितिका बच्चाहरू पनि जन्मेका थिए । कसैलाई क्यान्सर पनि लागेको थियो । कसैलाई रक्त अल्पता भएको थियो । त्यो सबैमा हामीले निकै गुणी ठानेको त्यही सिलौटोको करामत रहेछ भन्ने मलाई शंका लाग्यो । हरेक नेपालीको भान्छाको अभिन्न अङ्ग बनेर हामीलाई गुन लगाएको भन्ने सिलौटो त खासमा हामीलाई लुकेर हानी गरिरहेको रहेछ । त्यो त धोकेबाज पो रहेछ । लुकीलुकी हामीलाई पछाडिबाट छुरा हानिरहेको रहेछ ।
“बाजे, सिलौटोमा पिस्या अचारले त क्यान्सर बनाउनी रै’छ । अब खानी हैन !” आफूले पत्ता लगाएको कुरा सगर्व प्रस्तुत गर्दै मैले हजुरबालाई भने । “नचाहिने कुरा नगर् लाग्नी भा’ मलाई लाग्दैनथ्यो ? सिलौटोमा पिस्या जस्तो शुद्ध र स्वस्थ ऐलीका यिनि मिस्चरमा हुन्छ ? जमानादेखि हाम्रा पूर्खाले त्यै खाएर सय वर्ष भन्दा धेरै बाँचे । बरू ऐलिका के के कुरा आएर यो बिरामी त्यो बिरामी भन्या छ अनि सिलौटोलाई दोष !”
हजुरबाले मेरो कुरामा फेरि पनि विश्वास गर्नु भएन । मैले आफूले पत्ता लगाएको कुरा बताएपछि उहाँको सिलौटोमा पिसेको अचारको माग झन् बढ्यो । आजै चाहियो, अहिले नै चाहियो जस्तो गर्न थाल्नु भयो । बाल हठ, राज हठ र महिला हठलाई रोक्न सकिन्न भन्छन् । ती हठ कस्ता हुन्छन् मलाई थाहा थिएन तर ती सबै हठका हद पार गरेर हजुरबाको वृद्ध हठले हामीलाई हरायो । हामीले वर्षौँ देखि एउटा कुनामा थन्काएको सिलौटो निकाल्नै पर्ने भयो ।
नयाँ नयाँ आएका, छिटो छरितो, नयाँ प्रविधि, स्वास्थ्य वर्धक, सजिला उपकरणहरूसँग हारेर र थाकेर थन्केको सिलौटोलाई हजुरबाको हठले गर्दा केही दिन अगाडि मात्र फेरि भान्छामा ल्याइयो । धेरै पहिले विस्थापित भैसकेको, हामीलाई विगतमा धोका दिएको, अहिलेका नयाँ प्रविधिभन्दा निकै पिछडिएको, फोहर, हाम्रो परिवारको रोगको घर त्यो सिलौटो अहिले आफूलाई के के नै ठूलो ठान्दै निर्लज्ज रूपमा हाम्रो भान्छामा ठाउँ ओगटेर गजधुम्म परेर बसेको छ । तर हजुरबाको हठले भान्छामा भित्रिए पनि हामी सकभर त्यसलाई प्रयोग गर्ने पक्षमा छैनौँ। हामीलाई फेरि बिरामी हुनु छैन, हामीलाई फेरि धोका खानु छैन ।
०००
दाङ
Subscribe
Login
0 Comments
Oldest








































