राजु अधिकारीगधा फेर्ने उत्सव
गधा फेर्ने दिन नयाँ गधालाई गह्रुङ्गो भारी बोकाइन्थ्यो । खुशीले गदगद् हुँदै ऊ ठूलो स्वरमा कराउँथ्यो । उसका समर्थकहरूले अबिर लगाएर उसलाई बधाई दिन्थे र पशुपालकको प्रशंसामा हजारौँ शब्द प्रकट गर्थे ।

राजु अधिकारी :
त्यति धेरै समय भएको छैन । त्यो समय धर्तीको कुनै भागमा एउटा सुन्दर प्राकृतिक स्थान थियो । सुन्दर मात्र नभएर त्यो स्थान असीमित प्राकृतिक स्रोत र साधनहरूले भरिपूर्ण थियो । तर लामो समयसम्म पनि त्यहाँ कसैको नजर परेको थिएन र प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यो स्थान खासै प्रयोगमा आएको थिएन । त्यहाँ ठूलो जङ्गल थियो र प्रशस्त जनावरहरू पनि थिए । जनावरहरू सबै मिलेर बसेका थिए । शान्ति थियो तर उनीहरूको जीवन कष्टकर थियो । खाने कुराको ग्यारेन्टी थिएन । पेट पाल्नको लागि हरेक दिन लुछाचुँडी हुन्थ्यो । घाम पानीले सताउँथ्यो तर बस्ने गोठ थिएन । कहिलेकाहीँ जङ्गलको सिंह आएर उनीहरूको शिकार गर्थ्यो । उसलाई कसैले रोक्न सक्दैनथ्यो । कुन दिन कसको शिकार हुने हो थाहा हुँदैनथ्यो ।
त्यो शान्त जङ्गलको सूचना एक जना व्यापारीसम्म पुगेपछि त्यो जमिनमा आफ्नो व्यापारको प्रचुर सम्भाव्यता देखेर ती व्यापारीले आफ्नो पशु पालक कारिन्दालाई त्यो जमिन कब्जा गर्न पठाए । ती पशुहरूलाई व्यावसायिक रूपमा पाल्न सकियो भने पशुहरूको मासु, दुध, छाला र भुत्ला बेचेर अथाह द्रव्य आर्जन गर्न सकिने कुरा ती व्यापारीले बुझेका थिए । तर त्यो स्थान कब्जा गर्न त्यति सजिलो भने थिएन । त्यहाँका पशुहरू पूरै प्राकृतिक वातावरणमा जन्मे हुर्केका हुनाले अन्य घरपालुवा पशुहरू जस्ता थिएनन् । उनीहरू उग्र स्वभावका थिए भने स्वतन्त्र घुमफिर गर्न रुचाउँथे । तर व्यापारको प्रचुर सम्भावना देखेपछि ती व्यापारीले जसरी पनि त्यो स्थान र त्यहाँका पशुहरूलाई कब्जा गर्ने विचार गरे ।
व्यापारीको आदेश पाएपछि ती कारिन्दाले सुरुमा शहरमै बसेर पशु पालकले त्यहाँका पशुहरूलाई नियन्त्रण गर्न थाले । नियन्त्रणमा बस्न नमान्नेलाई धमाधम मार्न आदेश दिए । हजारौँ पशुहरूले ज्यान गुमाए । उनको क्रूरताको सामु पशुहरूको केही लागेन । पशुहरूले मारिनु भन्दा हार स्वीकार्नु ठीक ठाने । छोटो समयमै पशु पालकले त्यहाँ आफ्नो कब्जा जमाए ।
आफ्नो नियन्त्रणमा आइसकेपछि पशुपालकले त्यहाँ पुगेर आफूले त्यो सबै गरेको पशुहरूको भलाइकै लागि गरेको र आफू उनीहरूको मसिहा र रक्षक भएको बताए । सुरुमा त पशुहरूले विश्वास गरेनन् तर सिंहको ज्यादती भन्दा त तिनै पशु पालकको शासन ठिक होला भनेर उनलाई साथ दिए । पशु पालकले कब्जा गरेपछि त्यहाँको वातावरण पूरै परिवर्तन भयो । पशु पालकले उनीहरूलाई बन्धनमा राखे । तर उनीहरूलाई बस्नको लागि बस्ने गोठ बनाइदिए । खानाको लागि घाँस पनि उनले नै ल्याएर दिन्थे । त्यसैले गर्दा स्वतन्त्रता गुमाए पनि अधिकांश जनावरहरू पशुपालकसँग खुशी हुँदै गए ।
तर केही पशुहरूले पशुपालकले आफ्नो स्वतन्त्रता हरण गरेको भनेर विरोध गरे र उनको नियन्त्रणको प्रतिकार पनि गरे । तर पशु पालक एक्लै र खाली हात त्यहाँ गएका थिएनन् । व्यापारीले उनलाई हातहतियार र दर्जनौँ भोटे कुकुरहरू सहित पठाएका थिए । आफ्ना विरोध गर्नेहरूलाई उनले आफ्ना भोटे कुकुर लगाइदिन्थे । भोटे कुकुरले पनि सम्हाल्न नसकेपछि हतियार प्रयोग गरेर विरोधीहरूलाई सखाप पार्थे ।
उनलाई आफ्नो क्रूरतामा उनलाई पछुतो थिएन बरू गर्व थियो । उनी गर्वसाथ आफूले हजारौँको हत्या गरेको कुरा सुनाउँथे । तर जति क्रूर भए पनि आफ्नो मालिक व्यापारी प्रति भने उनी निकै वफादार थिए । व्यापारीको अगाडि उनी ठाडो शिर लगाएर उभिन सक्दैनथे । व्यापारीले अह्राएको कुरा कुनै प्रश्न नगरी उनले खुरुखुरु गर्थे ।
आफ्नो मालिकको आदेशमा पशुहरू प्रति पशुपालकको ज्यादती बढ्दै गयो । उनले स्वस्थ पशु काटेर व्यापारीकहाँ मासु पुर्याउन थाले । पशुका बच्चाहरूलाई दूधबाट वञ्चित गरेर आफै दुध जम्मा गर्न थाले । पशुका छाला र भुत्ला काट्न थाले । तर त्यति गर्दा पनि पशुहरू सहन बाध्य थिए ।
उनको ज्यादती खप्न नसकी अलि बुद्धि भएका गाईहरूले बिस्तारै त्यो स्थान छोडेर अन्त विस्थापित हुन थाले । गाई त अन्य बुद्धिमान् जनावरहरूले छोडेर जाने क्रम बढेपछि केही समयपछि त्यहाँ भेडा र गधाहरू मात्र बाँकी रहे । पशुपालकलाई पनि त्यही चाहिएको थियो । त्यसपछि उनको क्रूरताको विरोध गर्ने त्यहाँ कोही बाँकी रहेन । उनले जे गरे पनि त्यहाँ उनको जय जयकार हुन थाल्यो । कहिलेकाहीँ सानोतिनो विरोध हुन्थ्यो तर भेडा र गधाहरूको विरोधलाई उनले वास्तै गर्दैनथे ।
आफ्नो उत्पादन व्यापारीसम्म पुर्याउनको लागि उनले दुई वटा गधालाई निकै स्याहार गरेर पालेका थिए । ती गधाहरूलाई अन्य पशुको भन्दा विशेष सुविधा थियो । त्यही कारणले गर्दा ती दुई गधाले आफूहरू अन्य गधा र भेडाहरू भन्दा फरक ठान्थे । भेडाहरू पनि ती गधाहरू विशेष भएको र पशुपालकसँग राम्रो सम्बन्ध भएकोले गधाहरूको पछि लाग्थे ।
ती दुवै गधाहरू निकै बलिया पनि थिए । पशु पालकको बल गधाको भन्दा एक तिहाइ जति पनि थिएन । एक्लाएक्लै भिड्ने हो भने पशुपालकलाई एउटै गधाले एक लात्तीले ढलाउने क्षमता राख्थ्यो । झन् दुई गधा मिल्दा त पशुपालक र उनका भोटे कुकुरेहरू सबै गधाहरूको सामू निरीह साबित हुने थिए । तर ती दुई गधाहरू बीच कहिले पनि मिलाप भएन । त्यसैको फाइदा पशुपालकले उठाएका थिए । उनीहरू मिल्न लागेको जस्तो देखेपछि उनीहरूको बीचमा झगडा गराएर पशुपालकले सधैँ आफूलाई उनीहरूको मालिकको रूपमा राख्न सफल भएका थिए । भेडाको समूहमा पनि ती दुई गधाको आ-आफ्नै गुट थियो । एउटा समूहका भेडा एउटा गधाको पक्षमा थियो भने अर्को समूहका भेडा अर्को गधाको पक्षमा ।
ती दुई गधाहरूको बीचमा मिलाप नहुनुमा पनि अचम्मको कारण थियो- भारी बोक्न नपाउनु ।
पशु पालकले एउटा नियम बनाएका थिए- एक समयमा एउटा गधालाई मात्र भारी बोक्न लगाउने र अर्कोलाई पालेर मोटोघाटो बनाउने । केही समयपछि पहिलो गधा अलि थाक्न थाल्यो, अटेरी गर्न थाल्यो भनेर अर्को गधालाई भारी बोक्न लगाउने । त्यसरी नै उनले गधालाई काम लगाएका थिए ।
पशुपालकले आफूलाई भारी बोक्न दिएपछि गधाहरू मख्ख पर्थे । आफूले भारी बोक्न पाएमा उनीहरूले आफू मालिकको प्यारो भएको महशुस गर्थे । जति ठूला र गह्रुङ्गा भारी बोक्न पायो गधाहरू उति नै खुशी हुन्थे । आफूले भारी बोक्न पाउँदा त्यो गधाले मालिकको निकै प्रशंसा गर्थ्यो । उसको समर्थन गर्ने भेडाहरूले पनि पशु पालकको मुक्त कण्ठले भजन गाउँथे । तर भारी बोक्न नपाएको गधा र उसका समर्थक भेडाहरूले भने पशु पालकको विरोध गर्थे । तर उनीहरूको विरोधको कारण थाहा पाएका पशुपालकले त्यो विरोधलाई गम्भीरतापूर्वक लिँदैनथे र उनीहरूलाई केही महिना विरोध गर्न दिन्थे ।
केही समयपछि उनले फेरि काम गरिरहेको गधालाई विदामा राखेर अर्को गधालाई काम गर्न लगाउँथे । त्यसपछि दोश्रो गधा र उसका समर्थक भेडाहरूले मालिकको प्रशंसाका गीतहरू गाउँथे भने विरोध गर्ने काम भने कामबाट छुट्टी पाएको गधा र उसका समर्थक भेडाहरूको हुन्थ्यो ।
लामो समयदेखि त्यही क्रम चलिरहेको थियो । भेडाहरू काटिन्थे, उनीहरूको उन निकालिन्थ्यो, उनीहरूको दुध निकालिन्थ्यो । तर त्यसमा उनीहरूलाई कुनै सिकायत थिएन । त्यसलाई स्वाभाविक प्रक्रिया मानेर उनीहरू चुपचाप थिए । आफ्नो पक्षको गधालाई मालिकले काम नदिएपछि मात्र उनीहरूको सिकायत शुरु हुन्थ्यो ।
त्यसो त कुनै गुटमा नलागेका एक दुई स्वतन्त्र भेडाहरू पनि नभएका होइनन् । उनीहरूले पशु पालक र उसका गधाहरूको विरोध पनि गर्थे तर उनीहरूको विरोधको आवाज अलि बढ्न थाल्यो भने उनीहरूलाई ठीक गर्ने भोटे कुकुरहरू छँदै थिए । त्यसैले पशुपालकको व्यापार निकै राम्रैसँग चलेको थियो । व्यापारी पनि आफूले खटाएको कारिन्दाले राम्रो काम गरिरहेकोले खुशी थियो । तर व्यापारीको माझ पशु पालकको कुनै इज्जत थिएन । उनी त व्यापारीका एक वफादार कारिन्दा मात्र थिए । व्यापारीले सार्वजनिक रूपमै पशु पालकलाई गधा भन्थे । व्यापारी भन्ने गर्थे- उनको कारिन्दाका दुई गधा तबेलामा बस्थे भने अर्को गधा भने पशुपालक आफैँ थिए । तर त्यत्रो बेइज्जत हुँदा पनि पशुपालकले व्यापारीको कुनै विरोध गर्न सक्दैनथे किन भने उनको रक्षक नै व्यापारी थिए र चित्त नबुझेमा उनै व्यापारी भक्षक पनि हुन सक्थे ।
पशुपालक धन दौलतका प्यासी थिए । महङ्गा समानका लालची थिए । शक्तिका पिपासु थिए । र त्यो सबैमा उनलाई व्यापारीको साथ चाहिन्थ्यो । त्यो कुरा व्यापारीले पनि बुझेका थिए । हरेक महिना व्यापारीलाई आफ्नो उत्पादन पुर्याएपछि पशु पालकको पद सुरक्षित हुन्थ्यो । त्यस बापत व्यापारीबाट उनले केही पैसा पनि पाउँथे । आफ्नो कारिन्दालाई कसरी काममा लगाउने भन्ने राम्रो ज्ञान भएको व्यापारीले उनलाई र उनको परिवारलाई महङ्गा घडी, ब्याग र जुत्ता पनि उपहार स्वरूप दिन्थे । विशेष गरी उनलाई महङ्गा घडी निकै मन पर्थे । उनको नाडीमा सधैँ एउटा महङ्गो घडी हुन्थ्यो ।
आफ्ना मालिक र उनका परिवारले महङ्गा सामान लगाएको, प्रयोग गरेको देख्दा भेंडाहरू पनि मख्ख पर्थे र आफू त्यति सम्पन्न पशुपालकका भेंडा हुन पाएकोमा गर्वित हुन्थे । हरेक वर्ष गधा फेर्ने दिन आउँथ्यो । तर ठ्याक्कै कुन दिन भन्ने हुँदैनथ्यो । पशु पालकलाई जहिले फेर्न मन लाग्यो त्यही दिन फेर्थे । विदामा बस्न लागेको गधा र उसका समर्थकहरू अलिकति दुखी भए पनि त्यो दिन अधिकांश भेडाहरूमा रौनक छाउँथ्यो । फेरि अर्को पटक आफ्नो पालो आइहाल्छ भन्ने जानेको गधा र उसका समर्थक पनि चित्त बुझाएर बस्थे ।
गधा फेर्ने दिन नयाँ गधालाई गह्रुङ्गो भारी बोकाइन्थ्यो । खुशीले गदगद् हुँदै ऊ ठूलो स्वरमा कराउँथ्यो । उसका समर्थकहरूले अबिर लगाएर उसलाई बधाईं दिन्थे र पशुपालकको प्रशंसामा हजारौँ शब्द प्रकट गर्थे । त्यसपछि भोज हुन्थ्यो । गधा र भेडाहरू भोजमा रमाउँदै गर्दा पशुपालक भने आफ्नो चतुरता र गधा र भेडाहरूको मूर्खता देखेर मनमनै मख्ख पर्थे । हरेक वर्ष त्यसरी गधा फेर्न थालेपछि त्यो दिन गधा र भेडाहरूको लागि उत्सवको दिन हुन थाल्यो र केही वर्ष यता उनीहरूले त्यो दिनलाई गधा फेर्ने उत्सवको रूपमा मनाउँदै आएका छन् ।
०००
दाङ
Subscribe
Login
0 Comments
Oldest









































