साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधा फेर्ने उत्सव

गधा फेर्ने दिन नयाँ गधालाई गह्रुङ्गो भारी बोकाइन्थ्यो । खुशीले गदगद् हुँदै ऊ ठूलो स्वरमा कराउँथ्यो । उसका समर्थकहरूले अबिर लगाएर उसलाई बधाई‌ दिन्थे र पशुपालकको प्रशंसामा हजारौँ शब्द प्रकट गर्थे ।

Nepal Telecom ad

राजु अधिकारी :

त्यति धेरै समय भएको छैन । त्यो समय धर्तीको कुनै भागमा एउटा सुन्दर प्राकृतिक स्थान थियो । सुन्दर मात्र नभएर त्यो स्थान असीमित प्राकृतिक स्रोत र साधनहरूले भरिपूर्ण थियो । तर लामो समयसम्म पनि त्यहाँ कसैको नजर परेको थिएन र प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यो स्थान खासै प्रयोगमा आएको थिएन । त्यहाँ ठूलो जङ्गल थियो र प्रशस्त जनावरहरू पनि थिए । जनावरहरू सबै मिलेर बसेका थिए । शान्ति थियो तर उनीहरूको जीवन कष्टकर थियो । खाने कुराको ग्यारेन्टी थिएन । पेट पाल्नको लागि हरेक दिन लुछाचुँडी हुन्थ्यो । घाम पानीले सताउँथ्यो तर बस्ने गोठ थिएन । कहिलेकाहीँ जङ्गलको सिंह आएर उनीहरूको शिकार गर्थ्यो । उसलाई कसैले रोक्न सक्दैनथ्यो । कुन दिन कसको शिकार हुने हो थाहा हुँदैनथ्यो ।

त्यो शान्त जङ्गलको सूचना एक जना व्यापारीसम्म पुगेपछि त्यो जमिनमा आफ्नो व्यापारको प्रचुर सम्भाव्यता देखेर ती व्यापारीले आफ्नो पशु पालक कारिन्दालाई त्यो जमिन कब्जा गर्न पठाए । ती पशुहरूलाई व्यावसायिक रूपमा पाल्न सकियो भने पशुहरूको मासु, दुध, छाला र भुत्ला बेचेर अथाह द्रव्य आर्जन गर्न सकिने कुरा ती व्यापारीले बुझेका थिए । तर त्यो स्थान कब्जा गर्न त्यति सजिलो भने थिएन । त्यहाँका पशुहरू पूरै प्राकृतिक वातावरणमा जन्मे हुर्केका हुनाले अन्य घरपालुवा पशुहरू जस्ता थिएनन् । उनीहरू उग्र स्वभावका थिए भने स्वतन्त्र घुमफिर गर्न रुचाउँथे । तर व्यापारको प्रचुर सम्भावना देखेपछि ती व्यापारीले जसरी पनि त्यो स्थान र त्यहाँका पशुहरूलाई कब्जा गर्ने विचार गरे ।

व्यापारीको आदेश पाएपछि ती कारिन्दाले सुरुमा शहरमै बसेर पशु पालकले त्यहाँका पशुहरूलाई नियन्त्रण गर्न थाले । नियन्त्रणमा बस्न नमान्नेलाई धमाधम मार्न आदेश दिए । हजारौँ पशुहरूले ज्यान गुमाए । उनको क्रूरताको सामु पशुहरूको केही लागेन । पशुहरूले मारिनु भन्दा हार स्वीकार्नु ठीक ठाने । छोटो समयमै पशु पालकले त्यहाँ आफ्नो कब्जा जमाए ।

आफ्नो नियन्त्रणमा आइसकेपछि पशुपालकले त्यहाँ पुगेर आफूले त्यो सबै गरेको पशुहरूको भलाइकै लागि गरेको र आफू उनीहरूको मसिहा र रक्षक भएको बताए । सुरुमा त पशुहरूले विश्वास गरेनन् तर सिंहको ज्यादती भन्दा त तिनै पशु पालकको शासन ठिक होला भनेर उनलाई साथ दिए । पशु पालकले कब्जा गरेपछि त्यहाँको वातावरण पूरै परिवर्तन भयो । पशु पालकले उनीहरूलाई बन्धनमा राखे । तर उनीहरूलाई बस्नको लागि बस्ने गोठ बनाइदिए । खानाको लागि घाँस पनि उनले नै ल्याएर दिन्थे । त्यसैले गर्दा स्वतन्त्रता गुमाए पनि अधिकांश जनावरहरू पशुपालकसँग खुशी हुँदै गए ।

तर केही पशुहरूले पशुपालकले आफ्नो स्वतन्त्रता हरण गरेको भनेर विरोध गरे र उनको नियन्त्रणको प्रतिकार पनि गरे । तर पशु पालक एक्लै र खाली हात त्यहाँ गएका थिएनन् । व्यापारीले उनलाई हातहतियार र दर्जनौँ भोटे कुकुरहरू सहित पठाएका थिए । आफ्ना विरोध गर्नेहरूलाई उनले आफ्ना भोटे कुकुर लगाइदिन्थे । भोटे कुकुरले पनि सम्हाल्न नसकेपछि हतियार प्रयोग गरेर विरोधीहरूलाई सखाप पार्थे ।

उनलाई आफ्नो क्रूरतामा उनलाई पछुतो थिएन बरू गर्व थियो । उनी गर्वसाथ आफूले हजारौँको हत्या गरेको कुरा सुनाउँथे । तर जति क्रूर भए पनि आफ्नो मालिक व्यापारी प्रति भने उनी निकै वफादार थिए । व्यापारीको अगाडि उनी ठाडो शिर लगाएर उभिन सक्दैनथे । व्यापारीले अह्राएको कुरा कुनै प्रश्न नगरी उनले खुरुखुरु गर्थे ।

आफ्नो मालिकको आदेशमा पशुहरू प्रति पशुपालकको ज्यादती बढ्दै गयो । उनले स्वस्थ पशु काटेर व्यापारीकहाँ मासु पुर्‍याउन थाले । पशुका बच्चाहरूलाई दूधबाट वञ्चित गरेर आफै दुध जम्मा गर्न थाले । पशुका छाला र भुत्ला काट्न थाले । तर त्यति गर्दा पनि पशुहरू सहन बाध्य थिए ।

उनको ज्यादती खप्न नसकी अलि बुद्धि भएका गाईहरूले बिस्तारै त्यो स्थान छोडेर अन्त विस्थापित हुन थाले । गाई त अन्य बुद्धिमान् जनावरहरूले छोडेर जाने क्रम बढेपछि केही समयपछि त्यहाँ भेडा र गधाहरू मात्र बाँकी रहे । पशुपालकलाई पनि त्यही चाहिएको थियो । त्यसपछि उनको क्रूरताको विरोध गर्ने त्यहाँ कोही बाँकी रहेन । उनले जे गरे पनि त्यहाँ उनको जय जयकार हुन थाल्यो । कहिलेकाहीँ सानोतिनो विरोध हुन्थ्यो तर भेडा र गधाहरूको विरोधलाई उनले वास्तै गर्दैनथे ।

आफ्नो उत्पादन व्यापारीसम्म पुर्‍याउनको लागि उनले दुई वटा गधालाई निकै स्याहार गरेर पालेका थिए । ती गधाहरूलाई अन्य पशुको भन्दा विशेष सुविधा थियो । त्यही कारणले गर्दा ती दुई गधाले आफूहरू अन्य गधा र भेडाहरू भन्दा फरक ठान्थे । भेडाहरू पनि ती गधाहरू विशेष भएको र पशुपालकसँग राम्रो सम्बन्ध भएकोले गधाहरूको पछि लाग्थे ।

ती दुवै गधाहरू निकै बलिया पनि थिए । पशु पालकको बल गधाको भन्दा एक तिहाइ जति पनि थिएन । एक्लाएक्लै भिड्ने हो भने पशुपालकलाई एउटै गधाले एक लात्तीले ढलाउने क्षमता राख्थ्यो । झन् दुई गधा मिल्दा त पशुपालक र उनका भोटे कुकुरेहरू सबै गधाहरूको सामू निरीह साबित हुने थिए । तर ती दुई गधाहरू बीच कहिले पनि मिलाप भएन । त्यसैको फाइदा पशुपालकले उठाएका थिए । उनीहरू मिल्न लागेको जस्तो देखेपछि उनीहरूको बीचमा झगडा गराएर पशुपालकले सधैँ आफूलाई उनीहरूको मालिकको रूपमा राख्न सफल भएका थिए । भेडाको समूहमा पनि ती दुई गधाको आ-आफ्नै गुट थियो । एउटा समूहका भेडा एउटा गधाको पक्षमा थियो भने अर्को समूहका भेडा अर्को गधाको पक्षमा ।

ती दुई गधाहरूको बीचमा मिलाप नहुनुमा पनि अचम्मको कारण थियो- भारी बोक्न नपाउनु ।
पशु पालकले एउटा नियम बनाएका थिए- एक समयमा एउटा गधालाई मात्र भारी बोक्न लगाउने र अर्कोलाई पालेर मोटोघाटो बनाउने । केही समयपछि पहिलो गधा अलि थाक्न थाल्यो, अटेरी गर्न थाल्यो भनेर अर्को गधालाई भारी बोक्न लगाउने । त्यसरी नै उनले गधालाई काम लगाएका थिए ।

पशुपालकले आफूलाई भारी बोक्न दिएपछि गधाहरू मख्ख पर्थे । आफूले भारी बोक्न पाएमा उनीहरूले आफू मालिकको प्यारो भएको महशुस गर्थे । जति ठूला र गह्रुङ्गा भारी बोक्न पायो गधाहरू उति नै खुशी हुन्थे । आफूले भारी बोक्न पाउँदा त्यो गधाले मालिकको निकै प्रशंसा गर्थ्यो । उसको समर्थन गर्ने भेडाहरूले पनि पशु पालकको मुक्त कण्ठले भजन गाउँथे । तर भारी बोक्न नपाएको गधा र उसका समर्थक भेडाहरूले भने पशु पालकको विरोध गर्थे । तर उनीहरूको विरोधको कारण थाहा पाएका पशुपालकले त्यो विरोधलाई गम्भीरतापूर्वक लिँदैनथे र उनीहरूलाई केही महिना विरोध गर्न दिन्थे ।

केही समयपछि उनले फेरि काम गरिरहेको गधालाई विदामा राखेर अर्को गधालाई काम गर्न लगाउँथे । त्यसपछि दोश्रो गधा र उसका समर्थक भेडाहरूले मालिकको प्रशंसाका गीतहरू गाउँथे भने विरोध गर्ने काम भने कामबाट छुट्टी पाएको गधा र उसका समर्थक भेडाहरूको हुन्थ्यो ।

लामो समयदेखि त्यही क्रम चलिरहेको थियो । भेडाहरू काटिन्थे, उनीहरूको उन निकालिन्थ्यो, उनीहरूको दुध निकालिन्थ्यो । तर त्यसमा उनीहरूलाई कुनै सिकायत थिएन । त्यसलाई स्वाभाविक प्रक्रिया मानेर उनीहरू चुपचाप थिए । आफ्नो पक्षको गधालाई मालिकले काम नदिएपछि मात्र उनीहरूको सिकायत शुरु हुन्थ्यो ।

त्यसो त कुनै गुटमा नलागेका एक दुई स्वतन्त्र भेडाहरू पनि नभएका होइनन् । उनीहरूले पशु पालक र उसका गधाहरूको विरोध पनि गर्थे तर उनीहरूको विरोधको आवाज अलि बढ्न थाल्यो भने उनीहरूलाई ठीक गर्ने भोटे कुकुरहरू छँदै थिए । त्यसैले पशुपालकको व्यापार निकै राम्रैसँग चलेको थियो । व्यापारी पनि आफूले खटाएको कारिन्दाले राम्रो काम गरिरहेकोले खुशी थियो । तर व्यापारीको माझ पशु पालकको कुनै इज्जत थिएन । उनी त व्यापारीका एक वफादार कारिन्दा मात्र थिए । व्यापारीले सार्वजनिक रूपमै पशु पालकलाई गधा भन्थे । व्यापारी भन्ने गर्थे- उनको कारिन्दाका दुई गधा तबेलामा बस्थे भने अर्को गधा भने पशुपालक आफैँ थिए । तर त्यत्रो बेइज्जत हुँदा पनि पशुपालकले व्यापारीको कुनै विरोध गर्न सक्दैनथे किन भने उनको रक्षक नै व्यापारी थिए र चित्त नबुझेमा उनै व्यापारी भक्षक पनि हुन सक्थे ।

पशुपालक धन दौलतका प्यासी थिए । महङ्गा समानका लालची थिए । शक्तिका पिपासु थिए । र त्यो सबैमा उनलाई व्यापारीको साथ चाहिन्थ्यो । त्यो कुरा व्यापारीले पनि बुझेका थिए । हरेक महिना व्यापारीलाई आफ्नो उत्पादन पुर्‍याएपछि पशु पालकको पद सुरक्षित हुन्थ्यो । त्यस बापत व्यापारीबाट उनले केही पैसा पनि पाउँथे । आफ्नो कारिन्दालाई कसरी काममा लगाउने भन्ने राम्रो ज्ञान भएको व्यापारीले उनलाई र उनको परिवारलाई महङ्गा घडी, ब्याग र जुत्ता पनि उपहार स्वरूप दिन्थे । विशेष गरी उनलाई महङ्गा घडी निकै मन पर्थे । उनको नाडीमा सधैँ एउटा महङ्गो घडी हुन्थ्यो ।

आफ्ना मालिक र उनका परिवारले महङ्गा सामान लगाएको, प्रयोग गरेको देख्दा भेंडाहरू पनि मख्ख पर्थे र आफू त्यति सम्पन्न पशुपालकका भेंडा हुन पाएकोमा गर्वित हुन्थे । हरेक वर्ष गधा फेर्ने दिन आउँथ्यो । तर ठ्याक्कै कुन दिन भन्ने हुँदैनथ्यो । पशु पालकलाई जहिले फेर्न मन लाग्यो त्यही दिन फेर्थे । विदामा बस्न लागेको गधा र उसका समर्थकहरू अलिकति दुखी भए पनि त्यो दिन अधिकांश भेडाहरूमा रौनक छाउँथ्यो । फेरि अर्को पटक आफ्नो पालो आइहाल्छ भन्ने जानेको गधा र उसका समर्थक पनि चित्त बुझाएर बस्थे ।

गधा फेर्ने दिन नयाँ गधालाई गह्रुङ्गो भारी बोकाइन्थ्यो । खुशीले गदगद् हुँदै ऊ ठूलो स्वरमा कराउँथ्यो । उसका समर्थकहरूले अबिर लगाएर उसलाई बधाई‌ं दिन्थे र पशुपालकको प्रशंसामा हजारौँ शब्द प्रकट गर्थे । त्यसपछि भोज हुन्थ्यो । गधा र भेडाहरू भोजमा रमाउँदै गर्दा पशुपालक भने आफ्नो चतुरता र गधा र भेडाहरूको मूर्खता देखेर मनमनै मख्ख पर्थे । हरेक वर्ष त्यसरी गधा फेर्न थालेपछि त्यो दिन गधा र भेडाहरूको लागि उत्सवको दिन हुन थाल्यो र केही वर्ष यता उनीहरूले त्यो दिनलाई गधा फेर्ने उत्सवको रूपमा मनाउँदै आएका छन् ।

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नयाँ जोगी

नयाँ जोगी

राजु अधिकारी
सिलौटो

सिलौटो

राजु अधिकारी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x