साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सगरमाथाले पनि आफ्नो उचाइ बढायो

भ्रष्टाचार बढेको छ, अनियमितता बढेको छ, कुशासन बढेको छ, दण्डहीनता बढेको छ, हामीले सरकारलाई तिर्ने करको दायरा बढेको छ । राजनीतिप्रति सामान्य जनताको अविश्वास पनि बढिरहेको छ । के छ र घटेको ? अनि किन निराश ?

Nepal Telecom ad

राजु अधिकारी :

नेपाल बनेन, खत्तम भयो भनेर निराशा पोख्नेहरूको जमात दिन प्रतिदिन बढिरहेको छ । आफूले सोचे जस्तो भयो भने, आफूलाई फाइदा हुने काम भइरहेको छ भने बनेको छ भन्ने आफूलाई मन परेको छैन, आफ्नो स्वार्थ विपरित भइरहेको छ भने बनेको छैन भन्ने मानव स्वभाव नै हो । त्यसमा पनि हामी नेपाली अरु देशका नागरिकहरू भन्दा एक कदम अगाडि छौँ ।

भनिन्छ नि, कुरो र कुलो जता लग्यो उतै जान्छ । त्यसैले यो कुरो पनि आ-आफ्नो स्वार्थ अनुसार जता लान चाह्यो हामी उतै लगिरहेका छौँ । त्यसो त नेपालीमा उखान छ नि- ‘बरू चरेस खानु तर हरेस नखानु । नेपालमा गाँजा चरेस प्रतिबन्धित भएर हो कि या अरू कुनै कारणले हो, नेपालीहरूले आजभोलि अलि बढी नै हरेस खाएको देखिन्छ । तर निराश हुनु राम्रो हैन । यसले कुनै फाइदा गर्दैन, हानी मात्र गर्छ । त्यसैले देशको अहिलेको परिस्थितिलाई हामीले निराश भएर हैन आशावादी भएर हेर्नु शासकहरूलाई मात्र हैन, हामी शासितहरूलाई पनि शारीरिक र मानसिक रूपमा उत्तम हुनेछ ।

धन्न देशमा बुद्धिजीवीहरू, अधिकारकर्मीहरू, पत्रकारहरू र वैचारिक अन्ध भक्तहरूको कमी छैन र नेपालमा केही बिग्रेको छैन, सरकारले देश र जनताको लागि दिन रात गए गरी काम गरिरहेको छ भनेर तथ्याङ्क र तर्क सहित भए जतिको बल बुता प्रयोग गरेर जनताहरूलाई सुसूचित गराउने महान काम गरिरहेका छन् । तर उनीहरूको शक्ति पनि त सीमित छ नि, सबै कुरा उनीहरूले पनि समेट्न सक्दैनन् । उनीहरूले हामीलाई भन्न बिर्सेका अझै कैयौँ कुराहरू छन् जसले हाम्रो देशको हरेक दिनको प्रगतिलाई झन् सशक्त रूपमा प्रमाणित गर्छन् र हामीलाई निराशाबाट उन्मुक्ति दिन्छन् ।

तिनै बिर्सिएका तथ्य र तथ्याङ्क यहाँ प्रस्तुत गरेर म यहाँहरूलाई देशको अहिलेको प्रगति हामीलाई सञ्चार माध्यमहरूमा देखाइएका, सुनाइएका र पढाइएका सूचना भन्दा कैयौँ गुणा धेरै छ भनेर देखाउन चाहन्छु । त्यसैले हामी निराश हुनुपर्ने स्थिति छैन । वृद्धि हुनुलाई हाम्रो समाजमा सकारात्मक मानिन्छ । हामी खुशी हुनुपर्छ कि हाम्रो देशमा अधिकांश कुराहरू वृद्धि भैरहेका छन् ।

हो, पक्कै पनि नेपालले पहिलेको अवस्थाको तुलनामा गुणात्मक रूपमा फड्को मारेको छ । हाम्रो देशका अधिकांश सूचकहरू बढिरहेका छन् । एक दुईवटा सूचकहरू पहिले भन्दा कम भएका पनि होलान् तर अधिकांश सूचकहरू बढिरहेको अवस्थामा त्यो ठूलो कुरो भएन । शत प्रतिशत नतिजा त के मा नै हासिल गर्न सकिन्छ र ?

अब एक एक गरेर ती सूचकहरूलाई अध्ययन गरौँ ।
कुनै पनि देशको लागि आर्थिक सूचकहरू सबभन्दा महत्वपूर्ण हुन्छन् । हाम्रो देशमा धेरैजसो आर्थिक सूचकहरू पहिलेको तुलनामा लगभग सबै बढेकै देखिन्छ ।

सबभन्दा पहिले त हाम्रो अर्थतन्त्रको आकार बढेको छ । कुल ग्राहस्थ उत्पादन बढेको छ । हाम्रो मुद्रा स्फीति अर्थात् हाम्रो मुद्राको सटही दर बढेको छ । दुई दशकमा नेपाली रुपैयाँको सटही दर अमेरिकी डलरको तुलनामा दुई गुणाले बढेको छ । यस्तो बढोत्तरीमा हामी किन दुखी हुने ? तर यति हुँदाहुँदै पनि हाम्रो आयात दुई दशक अगाडिको तुलनामा लगभग दश गुणाले बढेको छ । तर आयात मात्र बढेको हैन नेपालको संसारका सबैजसो देशसँग व्यापार घाटा पनि बढेको बढ्यै छ । यसैले देखाउँछ हाम्रो अर्थतन्त्र कति बलियो भएको रहेछ त ?

त्यति मात्र हैन देशको वैदेशिक ऋण पनि ह्वात्तै बढेको छ । विदेशसँग आर्थिक परनिर्भरता बढेको बढ्यै छ । लघु वित्त र मिटर ब्याजी पीडितको सङ्ख्या बढेको बढ्यै छ । बेरोजगार त झन् भन्नै परेन कहिले घटेको थियो र घटोस् ? झन् तीव्र गतिमा बढेको बढ्यै छ । हामीले प्रयोग गर्ने दैनिक उपभोगका सामानको मूल्य पनि बढेको छ । उत्पादन गर्ने भन्दा विचौलियाहरू धेरै छन् । देशको गरिबी बढेर संसारमै सबभन्दा गरिब देशहरूको सूचीमा परिसकेको छ । यति धेरै आर्थिक तथ्याङ्क बढेको देख्दा देख्दै पनि हामी केही नबुझी निराशामा बाँचिरहेका छौँ ।

देश कुन दिशातिर लम्किरहेको छ भनेर जाँच्ने अर्को आधार विकास हो । त्यसमा पनि हामी लगातार अगाडि बढिरहेका छौँ । सरकारी परियोजनाहरू सम्पन्न गर्ने समय सीमा कहिले नसकिने गरी बढेको बढ्यै छ । आयोजनाहरूका लागत हरेक वर्ष बढेको बढ्यै छ । भ्यू टावरहरूको सङ्ख्या र उचाइ पनि निरन्तर बढेकै छ । बाँझो जमिनको क्षेत्रफल बढिरहेको छ, घडेरी प्लटिङको क्रम बढेकै छ, नदीनाला र पहाडहरूको दोहन बढेकै छ, जल तथा वायुको प्रदूषण निरन्तर बढेकै छ । सडकमा धूलो बढेको छ, खाल्टाखुल्टी बढेकै छ, ट्राफिक जाम बढेकै छ, सडक र हवाइ दुर्घटना बढेकै छ । यो भन्दा हामीलाई अँझै कति बढी खोज्ने ? जति भए पनि नपुग्ने हो ?

विकासको अर्को पक्ष भनेको सामाजिक पक्ष हो । यसमा पनि राम्रै वृद्धि भइराखेको छ । हाम्रो जनसङ्ख्या बढेको छ । हाम्रा जनप्रतिनिधिहरू अतुलनीय र अभूतपूर्व रूपमा रेकर्ड बनाएर स्थानीय निकाय, प्रदेश र केन्द्रमा बढेकै छन् । समाजमा पनि हत्या र बलात्कार बढिरहेको छ । महिला र जातीय हिंसा बढेको बढ्यै छ । स्कुल र अस्पतालको बिल बढेकै छ । हामी मध्ये धेरैको भुँडी पनि बढेकै छ, रक्तचाप बढेकै छ, मधुमेह बढेकै छ । धर्म, जात, भूगोल, भाषा जस्ता विषयलाई मुद्दा बनाएर जनताहरू बीच असहिष्णुता बढेकै छ । भाषा र संस्कृतिमा आक्रमण बढेकै छ । के छ र घटेको ? अनि किन निराश ?

अर्को पक्ष भनेको शासन व्यवस्था हो। यसमा पनि सबै बढेकै देखिन्छ । भ्रष्टाचार बढेको छ, अनियमितता बढेको छ, कुशासन बढेको छ, दण्डहीनता बढेको छ, हामीले सरकारलाई तिर्ने करको दायरा बढेको छ । राजनीतिप्रति सामान्य जनताको अविश्वास पनि बढिरहेको छ । त्यो सँगै वर्तमान शासन पद्धतिप्रति जनताको वितृष्णा बढिरहेको छ । तर जनतामा वितृष्णा भए पनि आफ्नो स्वार्थ पूरा गर्न र अरु केही काम नभएर ज्यान पाल्न मात्र भए पनि राजनीतिमा लाग्नेहरूको जमात पनि बढेकै छ । नेपालमा बस्ने जनसङ्ख्याको सबभन्दा ठूलो पेशा भनेकै राजनीति हुन पुगेको छ । सबैतिर यस्तो बढोत्तरी देख्न पाउँदा हामी दुखी हुनुपर्ने कारण नै छैन ।

अर्को पक्ष भनेको देशको वैदेशिक नीति हो । त्यसमा पनि हामीले राम्रो वृद्धि हासिल गरेका छौँ । विदेशमा रोजगारी खोज्न जाने र पढ्न जाने युवाहरूको सङ्ख्या नियन्त्रण नै गर्न नसकिने गरी बढेको छ । विदेशमा हाम्रो बेइज्जत बढेकै छ । देशभित्र विदेशीको चलखेल बढेकै छ । नेपाली नागरिकता त्याग्ने नेपालीहरूको सङ्ख्या पनि बढेको छ र सीमा पारिकालाई नेपाली नागरिकता बाँड्ने क्रम पनि बढिरहेकै छ । विदेशमा मारिने नेपालीहरूको सङ्ख्या झनै बढेको छ । २०६२ सालमा ७६औँ स्थानमा रहेको नेपाली राहदानी अहिलेको सूचीमा १०३ औँ स्थानमा पुगिसकेको छ । दुई दशक पनि नपुग्दै ७६ बाट १०३ मा पुग्नु सानोतिनो उपलब्धि हो र ? जताकतै बढोत्तरी देखेर होला वर्षाैँ देखि नेपालको गतिविधि हेरेर अटल बसिरहेको सगरमाथा पनि शायद लजायो होला । त्यसैले आफ्नो इज्जत बचाउन अलिकति भएपनि आफ्नो उचाइ बढाउने निधो गर्‍यो जबर्जस्ती आफ्नो उचाइ बढायो । यति धेरै बढोत्तरी देख्दा देख्दै पनि हामी किन अझैँ पनि दुःखी ? मैले बुझ्न सकेको छैन ।

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी

नयाँ जोगी

राजु अधिकारी
गधा फेर्ने उत्सव

गधा फेर्ने उत्सव

राजु अधिकारी
सिलौटो

सिलौटो

राजु अधिकारी
0
Would love your thoughts, please comment.x
()
x