गाेपेन्द्रप्रसाद रिजालजिन्दगी : अनेक अनुभूति
तै पनि मलाई आँसु बेचेर हाँसो किन्ने एउटा बजार चाहिएको छ लाजै मात्र छोप्ने टालो किन्न एउटा हजार चाहिएको छ बिचरा भनेर गोहीका आँसु नझार सरकार सक्छस् भने दे न त मलाई मेरै माटोमा बाँच्न तेरो नजर चाहिएको छ ।

गोपेन्द्रप्रसाद रिजाल :
मलाई आँसु बेच्ने एउटा
बजार चाहिएको छ ।
नुन चामल किन्न एउटा
हजार चाहिएको छ
बुझ्नु है !
कहिले नायकको
कहिले खलनायकको
अभिनय मात्र गर्छ जिन्दगीले
यसो हेर्दा
घाँटी खुइलिएको भाले जस्तो
बच्चाको घाँटीमा झुन्डिएको राले जस्तो
सेक्युरिटीमा खटिएको पाले जस्तो ।
गोलियामा टाँचा हान्ने वनपाले जस्तो
या
जुवामा हारेर डबका निथार्ने खाले जस्तो
जेमा पनि जतापनी मिल्ने
आलु, गुन्द्रुक, टमाटर जस्तो
अनि त यो जिन्दगी
कहिले साहुको भोजमा पुग्छ
कहिले झुप्राको भतेरमा पुग्छ
पाहुना लाग्न जान्दैन यो जिन्दगी
साहुको कुम्लो झोला बोक्दा कुम्ले बन्छ
गधाले भारी नतान्दा सिर्कनु खाएर
सुम्ले बन्छ
कहाँ पाउँछ र तातो न्यानु ताप्न
सधैँ सधैँ तुसारो झर्ने लुम्ले बन्छ
खै के भन्नू र ए जिन्दगी !!
तँ त उखुको खोइला होस्
नेवारी खाजा घरको छोइला होस्
बासी भातको चोइला होस्
तै पनि मलाई
आँसु बेचेर हाँसो किन्ने
एउटा बजार चाहिएको छ
लाजै मात्र छोप्ने टालो किन्न
एउटा हजार चाहिएको छ
बिचरा भनेर गोहीका आँसु नझार सरकार
सक्छस् भने दे न त
मलाइ मेरै माटोमा बाँच्न
तेरो नजर चाहिएको छ ।
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































