साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हास्यव्यङ्ग्य निबन्ध (१)

हास्यव्यङ्ग्य स्वयम्मा विधा होइन, यो सबै विधामा प्रयोग हुन सक्ने एक विशिष्ट शैली हो । हास्य स्वतन्त्र रूपमा लेखिन सक्छ, तर व्यङ्ग्यमा हास्य अन्तर्निहित हुन्छ । यस शैलीले पाठकका मन-मस्तिष्कमा अत्यन्त तीव्र प्रभाव पार्ने हुँदा यस शैलीको आफ्नै किसिमको महत्त्व रहेको छ ।

Nepal Telecom ad

प्रमोद प्रधान :

(क) पृष्ठभूमि
मानिसका जीवन विविध घटना, अनुभव र अवलोकनहरूको मिश्रण हो। मानिसको जीवनमा दुःख र सुख दुवै आउँछन् । मानिस भएर जन्मेपछि उसले आशा- निराशा, घात-प्रतिघात, पीडा-सन्तोषलगायतका धेरै सम-विषम परिस्थिति झेल्नुपर्छ । साथै मानवसमाजमा अनेकानेक परिवेश र परिस्थितिमा देखा पर्ने विदुपता, विकृति र विसङ्गतिहरू पनि भोग्नैपर्ने बाध्यता हुन्छ । कतिपय यस्ता परिस्थितिजन्य कुराहरू देखेर मानिसका मन-मस्तिष्कमा बेग्लै प्रकारको भाव उत्पन्न हुनु स्वाभाविक हो । कतिपय मानिस स्वयम्का बानी-बेहोरा र आचरण पनि मानिसकै लागि आश्चर्यलाग्दो हुन्छ । यस प्रकार संसारमा मानवमात्रको अवतरणसँगै हास्य र व्यङ्ग्यभाव दुवैको उत्पत्ति भएको पाइन्छ । “मान्छेले आदिम युगदेखि नै प्रसन्नता, उपलब्धि र उमङ्गको अवसर पाएका बेला हाँस्ने गर्यो। उसका हँसाइमा व्यक्त हुन आउने पवित्रतामा स्वच्छ प्रसन्नता मात्र रहेमा त्यहाँ स्मित मुस्कान, सन्तोष, हर्ष आदिको परिणाम हाँसोमा खित्कासमेत भएर व्यक्त हुन सक्ने अवस्था आइदिन्छ । तर हास्यमा प्रयोजनमूलक प्रतिक्रियासमेत अभिव्यक्त हुन थाल्यो भने हास्य स्मित नरहेर उपहास वा व्यङ्ग्यका कोटिमा पुगिदिन्छ ।” (राजेन्द्र सुवेदी, भूमिका, नेपाली हास्यव्यङ्ग्य निबन्ध, ललितपुर : साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पू. क।)

मानिसका ‘जीवनका ऊहापोह, आरोह र अवरोहहरू, घटना र दुर्घटना, सङ्गति र विसङ्गतिहरू नै साहित्यका विषयवस्तु’ (नरनाथ लुइँटेल, नेपाली हास्यव्यङ्ग्य, काठमाडौंः सिस्नुपानी नेपाल,, २०५८, पृ. २ ।) हुन् । यी विषयवस्तुलाई साहित्यकार एवम् लेखकहरूले गद्य र पद्यअन्तर्गतका विभिन्न विधामा प्रकट गर्छन् । यिनलाई प्रस्तुत गर्ने विविध शैली हुन्छन् । यिनै शैलीहरूमध्ये हास्यव्यङ्ग्य शैली पनि एक हो र धेरै पहिलेदेखि यस शैलीमा साहित्य लेखिदै आएको छ । वास्तवमा मानिसले भाषाको विकास गर्नुअघि पनि हाउभाउद्वारा दुःख-सुख, खुसी, रिस, आवेगलगायतका मानवीय भावहरू प्रकट गर्दै आएको थियो । भाषाको विकाससँगै मानिसलाई आफ्ना मनका भावगुम्फनहरू प्रकट गर्न सजिलो हुन पुग्यो। साहित्यमा पनि यसको प्रभाव पर्नु स्वाभाविक थियो । यसरी मानवमनका भाव प्रकट गर्ने क्रममा हास्य र व्यङ्ग्यभावको सिर्जना हुन पुगेको देखिन्छ । हाँस्नु र हँसाउनु मानिसको स्वभावगत विशेषता हो भने व्यङ्ग्य चाहिँ प्रवृत्ति। यी दुवैको सम्मिश्रणबाट नै हास्यव्यङ्ग्य शैलीको निर्माण भएको देखिन्छ।

(ख) हास्यव्यङ्ग्य : विभिन्न दृष्टिकोण

‘हास्य’ र ‘व्यङ्ग्य’ दुई शब्दको योगबाट निर्माण हुने ‘हास्यव्यङ्ग्य’ साहित्यको विधा नभई सम्प्रेषणको शैली मात्र हो । यो ‘पद्य’ र ‘गद्य’ दुवै विधामा उत्तिकै प्रभावकारी ढङ्गले प्रयोग हुन्छ । नेपाली साहित्यमा गद्य र पद्य दुवैमा हास्यव्यङ्ग्यको प्रयोग हुँदै आएको देखिए पनि नेपाली निबन्ध विधामा यो शैली बढी फस्टाएको देखिन्छ । नेपाली बृहत् शब्दकोशले हास्यव्यङ्ग्यको अर्थ तीनवटा दिएको छ- “छेडखानका साथै हाँसो उठाउने काम-कुरो, हँसाउने र छेडपेच हान्ने काम; साहित्यमा यथार्थ तर अनुचित काम-कार्यवाहीमाथि हँसाउने गरी गरिने व्यङ्ग्य र साहित्यमा विशेषतः कथा, कविता, निबन्ध आदिका माध्यमबाट प्रयोग गरिने एक उपविधा ।” (पृ. १४१७)

निबन्धबारे अघिल्ला अध्यायहरूमा नै विवेचना गरिसकिएकाले यहाँ हास्यव्यङ्ग्यबारे विभिन्न लेखक-साहित्यकारहरूका विचार तथा धारणा प्रस्तुत गरिएको छ-

“हास्यले व्यङ्ग्य बोकेको हुन सक्छ जस्तो गद्यले कवितात्मक अभिव्यञ्जना दिन सक्छ । यसो भन्दा पद्मको विधागत पृथक्तालाई भन्दा पनि स्वभावगत गुणलाई मानेको बुझिन्छ । यस्तै हास्यभित्र व्यङ्ग्य हुन्छ, चाहे हल्का किसिमको होस् वा गहिरो, तर जुन विपरीतताको लाक्षणिक स्थिति छ यसलाई नकारेर हास्य जीवित रहन सक्दैन । यस कारण हास्य भन्नासाथ व्यङ्ग्यलाई पनि भनिएको ठानिदिनाले हास्य र व्यङ्ग्यबारे स्पष्ट विभाजन नभएर होइन, सहोदर हुनाले हो । हास्यबिना व्यङ्ग्यको महत्त्व घट्दैन । बरू व्यङ्ग्यबिना हास्यको व्यवहार नचल्ने भएको तथ्य नेपालीहरूमा पाइन्छ ।” (कृष्णचन्द्रसिंह प्रधान, छ्याकन, सम्पादक भैरव अर्याल, काठमाडौँ कौवा प्रकाशन, २०४४, तेस्रो संस्करण, पृ. ३० ।)

“अवश्यै हास्य र व्यङ्ग्य शब्दका छुट्टाछुट्टै निजी अर्थ छन् र साहित्यिक सन्दर्भमा पनि यिनको स्वतन्त्र निजत्व देखिन्छ ।… विशुद्ध हास्यको महत्त्व अवश्यै छ, शरीरदेखि मनसम्म कुतकुत्याउने निर्दोष मनोरञ्जन (तनाउदेखि मुक्ति) यसको प्राप्ति हो भनिन्छ । यो रूप कतिपय परिहास र चुट्किला आदिका माध्यमबाट स्वतन्त्र ढङ्गले प्रकटिएको पनि छ । तर त्यहाँ व्यङ्ग्य (सामान्य र विशिष्ट दुवै अर्थ । को न्यूनतम आभास छैन भन्न नसकिएला । त्यस्तै व्यङ्ग्य (छेड) पनि स्वतन्त्र हुन खोज्ला तर त्यो हास्यबाट पूरै पृथक् सायद हुन नसक्ला। हो, प्राधान्यका हिसाबले चाहिँ हास्य पुनः अन्तर्निहित व्यङ्ग्य वा व्यङ्ग्य पुनः अन्तर्निहित हास्यको भालेपन भएको विकास सम्भाव्य देखिन्छ । तर फेरि प्रश्न उठी नै हाल्छ, हास्यव्यङ्ग्यको संयुक्त शक्ति जति होला त्यति सायद सम्बन्ध विच्छेदित हास्य वा व्यङ्ग्य एक्लैमा नहोला । (वासुदेव त्रिपाठी, हास्यव्यङ्ग्य परिचर्चा (लेख), रचना, द्वैमासिक, वर्ष १५, अङ्क ४, २०३५, पृ. ३३-३४। )

“समाजले नै भोगेका र अनुभव गरेका कुराहरू तर तत्काल सम्झनामा राखी अगाडि ल्याएर अर्थ्याउन नसक्ने समस्याहरूलाई अर्थ्याएर प्रकट गरिदिनु लेखकको विशेषता हो। तिनै सामाजिक अनुभूतिभित्रका दर्दनाक र मार्मिक पीडाहरूलाई मार्मिक दृष्टिले व्यङ्ग्य गरेर देखाउनु व्यङ्ग्यकारको विशेषता हो। सामाजिक विकृति र कमजोरी नै उपहासका आधारहरू हुन्छन् । त्यस्तै आधारहरू समातेर सामाजिक मर्ममाथि वा सामाजिक चरित्रमाथि उपहास गर्नु नै हास्यव्यङ्ग्यकारको मुख्य लक्ष्य हो ।” ( अच्युतरमण अधिकारी, हास्यव्यङ्ग्यात्मक परम्पराका सन्दर्भमा नरेन्द्रराज पौडेल, विवेचनैविवेचना, समालोचनाग्रन्थ, काठमाडौंः उन्नयन प्रकाशन, २०४६, पृ. १२६।)

“हास्यव्यङ्ग्यको मुख्य उद्देश्य समाजमा प्रचलित कुरीति एवम् विकृतिहरूलाई सहज किसिमले प्रहार गर्नुका साथै पाठकलाई मनोरञ्जन प्रदान गर्नु हो ।… वास्तवमा हास्यव्यङ्ग्य विधामा कलम चलाउनेहरू त्यस्ता शल्यचिकित्सक हुन् जसले समाजमा रहेको घाउ खटिरा आदिको चिरफार गर्छन् ।” (वालमुकुन्ददेव पाण्डे, आधुनिक नेपाली हास्यव्यङ्ग्य, सम्पादक भाउपन्थी, काठमाडौंः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०६०, पृ. ४४ ।)

“हास्यमा हृदय पक्ष बलियो हुन्छ भने व्यङ्ग्यमा बुद्धि पक्ष । आजको हास्यव्यङ्ग्य मनोरञ्जनका लागि मात्र हैन, यथार्थ जीवन र दृष्टिकोणमा ध्वनित हुनुपर्छ ।… हास्यव्यङ्ग्य भनेको व्यक्तिको आकृतिदेखि समाजका विकृतिसम्मको चित्र-विचित्र खिचिने कला हो । विकृति र विरोधाभास, विसङ्गति र बेबकुफीका दुर्गतिलाई नौरङ्गी हास-परिहासद्वारा प्रकट गर्ने विचित्रको वाड्मय कला हास्यव्यङ्ग्य हो ।” (रामकुमार पाँडे, हास्यव्यङ्ग्य वाड्मय, १०१ हास्यव्यङ्ग्य, हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, काठमाडौं : रत्न पुस्तक भण्डार, २०५१, पृ. य-श ।)

“हास्य र व्यङ्ग्य दुई साहित्यिक प्रभाव हुन् । हास्यलाई अपेक्षाकृत स्थूल एवम् बाह्य प्रभाव मानिन्छ भने व्यङ्ग्यलाई त्यसभन्दा सूक्ष्म र आन्तरिक प्रभाव मानिन्छ । रचनामा यी दुई प्रभावहरू छुट्टाछुट्टै पनि रहन सक्छन् र एउटैमा मिसिएर पनि रहन सक्छन् । रचनामा उपहासको प्रधानता हुँदा हास्यको सिर्जना हुन्छ भने कटाक्षको प्रधानता हुँदा व्यङ्ग्यको सिर्जना हुन्छ । कतिपय रचनामा उपहास र कटाक्षको सहउपस्थिति हुँदा हास्यव्यङ्ग्यको समन्वित सिर्जना हुन्छ ।… हास्यव्यङ्ग्य साहित्यको छुट्टै वा स्वतन्त्र विधा होइन । यो साहित्यको छुट्टै वा स्वतन्त्र शैली पनि होइन ।… हास्यव्यङ्ग्य भन्ने कुरा कविता, कथा, उपन्यास, नाटक, एकाङ्की, निबन्ध आदि सबै विधाको बुई चढेर अभिव्यक्त हुन्छ ।… खासमा सबै साहित्यिक विधा र सबै साहित्यिक शैली हास्यव्यङ्ग्यका क्रीडाभूमि हुन् ।” (मोहनराज शर्मा, आधुनिक नेपाली हास्यव्यङ्ग्य, पूर्ववत्, पृ. ७९ ।)

“हास्य असङ्गतिको प्रतिक्रिया हो भने व्यङ्ग्य त्यो प्रतिक्रियाभन्दा एक कदमअघि बढी गरिएको प्रहार हो । पहिलोमा कार्यको भावमूलक अभिव्यक्ति हुन्छ भने दोस्रोमा परिणाम तीव्रतम अपेक्षा गरिएको हुन्छ । यस अर्थमा हास्य र व्यङ्ग्य एकअर्कामा नजिकको सम्बन्ध पर्ने दाजुभाइ भए पनि बेग्लाबेग्लै स्थितिबाट जन्मने उत्पत्ति हुन् ।… व्यक्तिले व्यक्ति, समाज, संस्कृति तथा जीवनका अनेकानेक प्रसङ्गका विभिन्न रीतिको असङ्गतिमा असन्तोष भएर व्यक्त गरेका सुधारात्मक अभिव्यक्ति नै व्यङ्ग्यवृत्तिका असल नमुना हुन् । व्यङ्ग्य कमजोरी र सङ्कीणर्ताप्रतिको प्रहार हो तापनि यो प्रहारको अभीष्ट तत्त्व भने सुधार हो ।” (गङ्गाप्रसाद उप्रेती, हास्य र व्यङ्ग्य तथा साहित्यिक विधामा तिनको निर्वाह, दृष्टिकोणका विविध बिसाउनी, समालोचनाग्रन्थ, काठमाडौँ प्रतिभा प्रकाशन, २०४६, पृ. १२१ ।)

“हास्यव्यङ्ग्य रचना सुगरकोटेड ट्याबलेटजस्तो हुनुपर्दछ । अर्थात् पढ्दा तीतो नलाग्ने तर पढेपछि त्यसले असर गरिहाल्ने । कसैलाई सिधा किटान गरेर व्यङ्ग्य प्रहार गर्नु हुँदैन । त्यसो हुन गयो भने त्यो गाली हुन पुग्दछ । कुनै नराम्रा कुरालाई व्यङ्ग्य प्रहार गर्दाखेरि भन्ने तरिका त कलात्मक हुनैपर्दछ ।” (सूर्यबहादुर पिवा, आधुनिक नेपाली हास्यव्यङ्ग्य, पूर्ववत्, पृ. ८९ ।)

जीवनका स्वस्थ मूल्य-मान्यताको विघटन र राजनीतिक, सामाजिक विसङ्गति-विकृतिहरूका कारण जटिलता बढेको आधुनिक कालमा साहित्यमा हास्य गौण भएर व्यङ्ग्यको प्रधानता बढ्दै आएको पाइन्छ । प्रजातान्त्रिक व्यवस्थामा व्यङ्ग्यको दायित्व राजनीतिक भ्रष्टाचार, आर्थिक व्यभिचार, सामाजिक अन्याय, सत्ताको दुरुपयोगका कारण सम्बन्धित देश र जनताको अवचेतनमा अव्यक्त स्तरमा गुम्फिएर रहने उकुसमुकुसहरूलाई वाणी दिनुमा रहन आएको छ । हास्यको न्यूनता जीवनको जटिलताको बोधक हो । हास्य हराउनु चिन्ताजनक नै हो ।” (भाउपन्थी, भूमिका, ऐजन, पृ. २०-२१ ।)

“हास्यव्यङ्ग्य मानवप्रवृत्तिका दुई विशेषता हुन्, दुई गुणधर्म हुन् । यसमा हाँसोसँगै छाँसाको मिश्रण भएर आएको हुन्छ । हाँस्नु मानवजन्य प्राकृतिक गुण हो भने छास्नु सामाजिक सीमा र सदाचारको प्रश्न हो । मनको आनन्दमा अभिव्यक्त हुने प्रतिक्रियास्वरूप हाँसो पैदा हुन्छ । प्रकृतिद्वारा प्राप्त हुने सहज गुणसँग समाजद्वारा प्राप्त असहज अनुभूति मिसिँदा हाँसो रसमय नभएर भावमय बन्न पुग्दछ । हँसाउने अन्तर्वस्तुमा छसाइका रूपहरू रम्दछन् । हँसाई-हँसाई गरिने छसाइलाई हास्यव्यङ्ग्य भनिन्छ ।” (विष्णु प्रभात, नेपाली हास्यव्यङ्ग्यको विधागत अवलोकन, प्रज्ञा, त्रैमासिक, वर्ष ३२, पूर्णाङ्क ९६, २०५९ ।)

“… हास्यव्यङ्ग्य स्वयम् विधा नभएर भाव अभिव्यक्तिको एउटा मनोरम शैली हो । यसको उपस्थिति या प्रयोग अन्तर्विधात्मक छ । हास्यव्यङ्ग्य भावप्रस्तुतीकरणको मीठो तरिका हो र निजात्मक अनुभूति वा वस्तुगत प्रस्तुति जे भए पनि यसको चिनारी गद्य वा पद्य दुवैमा शैलीकै रूपमा रहेको छ ।… यथार्थमा हास्यव्यङ्ग्य विधा नभएर साहित्यको एउटा विशिष्ट शैली हो र मानकका रूपमा स्थापित विभिन्न विधामा यसको उपस्थिति हुने हुँदा अन्तर्विधात्मक भएरै यसले आफ्नो विशिष्ट अस्तित्व कायम गरेको छ ।” (नरनाथ लुइँटेल, पूर्ववत्, पृ. १७ ।)

माथि उल्लिखित विचारहरूका आधारमा हामी के भन्न सक्छौँ भने हास्यव्यङ्ग्य स्वयम्मा विधा होइन, यो सबै विधामा प्रयोग हुन सक्ने एक विशिष्ट शैली हो । हास्य स्वतन्त्र रूपमा लेखिन सक्छ, तर व्यङ्ग्यमा हास्य अन्तर्निहित हुन्छ । यस शैलीले पाठकका मन-मस्तिष्कमा अत्यन्त तीव्र प्रभाव पार्ने हुँदा यस शैलीको आफ्नै किसिमको महत्त्व रहेको छ । यसले मनोरञ्जनका साथसाथै सुधारका लागि सन्देश पनि दिने गर्छ । हास्यव्यङ्ग्यका माध्यमबाट व्यक्त विचार र भनाइ पाठकका लागि रुचिकर- समेत हुने हुँदा यसको महत्त्वलाई सबैले स्वीकार गरेका छन् ।
क्रमशः

०००
काठमाडौं
‘नेपाली निबन्धको इतिहास (२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x