साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हास्यव्यङ्ग्य निबन्ध (३)

नेपाली निबन्धमा हास्यव्यङ्ग्य शैलीको प्रवेशअघि कविता, कथा र प्रहसनमा हास्यव्यङ्ग्यको प्रयोग हुँदै आएको देखिन्छ। नेपाली निबन्धमा हास्यव्यङ्ग्यको प्रयोग यी विधाहरूभन्दा पछि भएको हो।

Nepal Telecom ad

प्रमोध प्रधान :

नेपाली हास्यव्यङ्ग्य निबन्ध : कालविभाजन

नेपाली हास्यव्यङ्ग्य निबन्धको विकासको चर्चा गर्नुअघि नेपाली भाषामा हास्यव्यङ्ग्यलेखनको प्रारम्भबारे केही चर्चा गर्नु युक्तिसङ्गत देखिन्छ। नेपाली साहित्यका इतिहासकार एवम् समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्यलेखन आरम्भ भएको बताउँदै आएका छन् । वि. सं. १८५५ मा शक्तिवल्लभ अर्ज्यालद्वारा संस्कृतमा लिखित एवम् उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिक रूपमा अघि बढेको पाइन्छ । हुन त यसअघि नै ‘सुवानन्ददासका कवितामा र पृथ्वीनारायण शाहका दिव्योपदेशका गद्यमा ध्वन्यात्मक रूपले व्यङ्ग्य आविर्भाव भएको’ समालोचक राजेन्द्र सुवेदीको भनाइ रहेको छ । उनका अनुसार त्यस बेला व्यङ्ग्यको आविर्भाव भए पनि कलात्मक रूपले सचेततापूर्वक गरिने गरेको व्यङ्ग्य सो अवधिको शिल्पमा पाइँदैन । (राजेन्द्र सुवेदी (सम्पादक), नेपाली हास्यव्यङ्ग्य निबन्ध, पूर्ववत्, पृ. ध ।) समालोचक कृष्णचन्द्रसिंह प्रधानले कवि सुवानन्ददासको पृथ्वीनारायण शीर्षक कवितामा रहेको ‘नाम रहचा गजानी धरम त रे तरा भरले ते’ जस्ता पङ्क्तिबाट नेपाली साहित्यमा हास्यव्यङ्ग्य गर्ने प्रचलन सुरु भएको बताएका छन् ( कृष्णचन्द्रसिंह प्रधान, नेपाली साहित्यमा हास्यव्यङ्ग्यः प्राप्ति र पर्यवेक्षण, समालोचना, मधुपर्क, हास्यव्यङ्ग्य अङ्क २०५४, पृ. छ ।)

नुवाकोट, ककनी कब्जा गर्ने कार्यमा समान योगदान दिएका गजानी र कवि सुवानन्ददासमध्ये सुवानन्द पछि परी सम्पूणर् श्रेय गजानीले पाएको प्रसङ्गलाई लिएर सुवानन्दले आफ्नो मनको भावना यो पङ्क्तिमार्फत प्रस्तुत गरेको पाइन्छ । साथै शक्तिवल्लभ अर्ज्याल, राधावल्लभ अर्याल, गुमानी पन्तलगायतका कविहरूले तत्कालीन युद्धका बेला युद्धको सेरोफेरोमा रहेर लेखेका कविताहरूमा पनि व्यङ्ग्यात्मक प्रस्तुति भेटिन्छ। त्यस्ता कविताले राष्ट्रप्रेमका साथै विजयोन्माद, आपसी व्यक्तित्वको टकराव र अङ्ग्रेजप्रतिको हेय भावना प्रस्तुत गरेका छन् । तनहूँ भकुन्डो, साँढ्याको कवित्त, धन्य गोर्खाली राजाजस्ता कवितालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यी कविताहरू हास्यव्यङ्ग्यतर्फका सचेत प्रयास भने होइनन् । तर अङ्ग्रेजसँगको युद्धको समाप्तिपछि भएको सुगौली सन्धिले हाम्रो स्वाभिमानमा ठूलो धक्का दियो र वीरकालीन उन्मादबाट स्रष्टाहरू भक्तिभावतिर उन्मुख हुन थाले ।

यिनै परिवेशमा नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अवतरण भएको देखिन्छ । नेपाली भाषामा मौलिक हास्यव्यङ्ग्यरचनाको सिर्जना गर्ने श्रेय भने आदिकविलाई नै जान्छ । उनका बिन्ती डिट्ठा बिचारीसित…, रोज् रोज् दर्शन पाउँछू चरणको… गजाधर सोतीकी घरवूढी अलच्छिन्की रहिछिन् जस्ता लघु कविताहरूले हास्यव्यङ्ग्यको मौलिक स्वरूप निर्धारण मात्र गरेनन्, नेपाली भाषामा सुरुमै उत्कृष्ट हास्यव्यङ्ग्य रचना गर्न सकिन्छ भन्ने तथ्यलाई प्रमाणित गरेर देखाए ।

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्‍या झै अनि पछि दिनदिन् भन्दछन् भोलिभोली
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोली
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछु
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयनमा म छु
लाम्खुट्टे उपियाँ उडुस् यी सँगी छन् यिन्कै लहड्मा बसी
लाम्खुट्टेहरू गाउँछन् यि उपियाँ नाच्छन् म हेर्छ बसी ।

भानुभक्त आचार्यका कविताले तत्कालीन सामाजिक, प्रशासनिक र पारिवारिक विकृक्तिहरूलाई तीव्र प्रहार गरेका छन् । “हास्यको मूल स्रोतको उठान विकृतिबाट र व्यङ्ग्यको मूल स्रोतको उठान विसङ्गतिबाट हुन्छ । यस सन्दर्भमा नेपाली समाजमा विकसित विक्ति र विसङ्गतिको स्वरूपलाई देख्ने प्रथम सचेत द्रष्टा भानुभक्त आचार्य देखिएका छन् । सामाजिक जीवनमा देखिने विकृतिलाई र विसङ्गतिलाई, आफैले भोगेका विषम परिस्थितिलाई सचेततापूर्वक साहित्यिक परिधान र आवरण दिने काम भानुभक्तले नै गरे ।

यसरी जीवनका पारिवारिक, सामाजिक, प्रशासनिक विसङ्गतिलाई भानुभक्तले साधारणीकरण गरेको स्थिति हामीले देख्न पाएका छौँ । यसरी हेर्दा नेपाली साहित्यमा हास्यव्यङ्ग्यको प्रारम्भिक उठान भानुभक्तको लेखनसँगै भएको हो भन्ने तथ्य स्पष्ट रूपमा देख्न सकिन्छ । भानुभक्तको सामाजिक व्यङ्ग्यलेखन अत्यन्त तीव्र छ ।” (राजेन्द्र सुवेदी (सम्पादक), पूर्ववत्, पृ. न ।) वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानका अनुसार पनि भानुभक्त आचार्यले “विनोदी शैली, शालीन, स्वच्छ र परिहासयुक्त व्यङ्ग्यको प्रयोग गरेर सुरुमै हास्यव्यङ्ग्यलाई प्रतिष्ठा प्रदान गरे ।” ( कृष्णचन्द्रसिंह प्रधान, नेपाली साहित्यमा हास्यव्यङ्ग्य…, पूर्ववत्, पृ. ७ ।)

यस्तै ज्ञानदिलदास (१८७८-१९४०) का भजन र गीतहरू उदयलहरीमा सङ्ग्रहीत छन् र तिनमा ब्राह्मणवादप्रति तीव्र व्यङ्ग्य भेटिन्छ । उनका रचनामा धार्मिक अन्धविश्वास र रूढिवाद, सामाजिक विसङ्गतिलाई विषय बनाएको पाइन्छ । यसपछि माध्यमिक कालमा रचिएका शृङ्गारिक कविताहरूमा फाटफुट रूपमा हास्यव्यङ्ग्यका झिल्काहरू भेटिन्छन् । मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, कृष्णप्रसाद रेग्मी, रेवतीप्रसाद उपाध्याय, गोपीनाथ लोहनी, शिखरनाथ सुवेदी, पहलमानसिंह स्वाँर आदिका रचनालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यसै अवधिमा प्रकाशित सङ्गीत चन्द्रोदय, गफाष्टक श्लोकसङ्ग्रह, शृङ्गारदर्पण, कविता कल्पद्रुम, शिखरनाथ भाष्य, सूक्तिसिन्धु, विवाहलीलाजस्ता कृतिमा फुटकर हास्यव्यङ्ग्यात्मक कविताहरू रहेका छन् ।

यसताक शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौडेल, सोमनाथ सिग्द्याललगायतका साहित्यकारहरूले पनि हास्यव्यङ्ग्यात्मक रचनाको लेखनमा दृष्टि दिएको पाइन्छ ।

सोमनाथ सिग्द्यालको हास्यपूर्ण अपूर्ण प्रहसन दिगम्बर विवाह वि. सं. १९६३ मा सुन्दरीमा प्रकाशित भएको समीक्षक नरनाथ लुईटेलले उल्लेख गरेका छन् । यसरी हास्यव्यङ्ग्य शैली कविता विधामा मात्र सीमित भइरहेको तत्कालीन स्थितिमा सिग्द्यालको प्रयासलाई महत्त्वपूर्ण मान्नुपर्छ ।

यस प्रकार नेपाली निबन्धमा हास्यव्यङ्ग्य शैलीको प्रवेशअघि कविता, कथा र प्रहसनमा हास्यव्यङ्ग्यको प्रयोग हुँदै आएको देखिन्छ। नेपाली निबन्धमा हास्यव्यङ्ग्यको प्रयोग यी विधाहरूभन्दा पछि भएको हो। नेपाली हास्यव्यङ्ग्य निबन्धको विकासलाई निम्न कालखण्डमा विभाजन गरी अध्ययन गर्न सकिन्छ- प्रारम्भिक वा पहिलो चरण (वि. सं. १९९० भन्दा अघि), विकासशील वा दोस्रो चरण (वि. सं. १९९१-२०१६) र आधुनिक वा तेस्रो चरण (वि. सं. २०१७ देखि हालसम्म) ।

क्रमश:

०००
काठमाडौं
‘नेपाली निबन्धको इतिहास’ (२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x