नेपाली हास्यव्यङ्ग्य निबन्ध (४)
समाजका अव्यवस्था र असङ्गत तत्त्वमाथि तीव्र प्रहार भएको प्रस्तुत निबन्ध निजात्मक अभिव्यक्तिको प्रदर्शन गर्न, विकृति र विसङ्गतिको उछित्तो पार्न समर्थ भएर उभिएको छ ।
प्रमोद प्रधान :
प्रारम्भिक वा पहिलो चरण
शारदा पत्रिकाको प्रकाशन प्रारम्भ हुनुअघि नै नेपाली निबन्धमा हास्यव्यङ्ग्य शैली भित्रिसकेको देखिन्छ । तत्कालीन निबन्धहरूमा सामाजिक वेथिति र विसङ्गतिप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति सुरु भएको पाइन्छ । वास्तवमा यो प्रवृत्ति नै हास्यव्यङ्ग्य निबन्धतर्फको प्रारम्भिक प्रयास हो । यस चरणमा हास्यव्यङ्ग्य निबन्धले स्पष्ट आकार लिन नसकेको भए पनि स्रष्टाहरूमा हास्यव्यङ्ग्यतर्फ अभिरुचि बढेको त्यस बेलाका पत्रपत्रिकामा प्रकाशित रचनाहरूले पुष्टि गर्छन् । यस चरणमा हास्यव्यङ्ग्य निबन्धकारका रूपमा देखिएका केही महत्त्वपूर्ण व्यक्तित्व र तिनका रचनाको चर्चा तल गरिन्छ ।
१.१ पहिलो चरणका प्रमुख हास्यव्यङ्ग्य निबन्धकार
वेदनिधि शर्मा (?)
विशेषतः देहरादुनबाट प्रकाशित गोर्खासंसार पत्रिकामा वि. सं. १९९० भन्दा अघि नै केही लेखकका लेख-रचनाहरूमा हास्यव्यङ्ग्यका आसलाग्दा झिल्काहरू देखिन्छन् । भारत, राँचीका वेदनिधि शर्माको जातीय रोगको अचुक औषधी (१९८३) यस दृष्टिले अत्यन्त उल्लेखनीय रचना हो । “समाजका अव्यवस्था र असङ्गत तत्त्वमाथि तीव्र प्रहार भएको प्रस्तुत निबन्ध निजात्मक अभिव्यक्तिको प्रदर्शन गर्न, विकृति र विसङ्गतिको उछित्तो पार्न समर्थ भएर उभिएको छ ।” (राजेन्द्र सुवेदी, हास्यव्यङ्ग्यको जगत्मा अशिष्टताको प्रधानता, समालोचना, गरिमा, पूर्णाङ्क २५, २०४१, पृ. ७४ ।) शर्माको प्रस्तुत निबन्धमा हास्य र व्यङ्ग्य दुवैको प्रयोग भएको देखिन्छ । उनको सो लेखको निम्न अंशले माथिको भनाइलाई पुष्टि गर्छ-
तल लेखेबमोजीं विधिपूर्वक औषधि तैय्यार गरी पथ्यका साथ सेवन गर्नाले जातिय रोग ता एक दम फूः मंत्रर होई जानेछ यस्मा सन्देह छैन ।
(नुसखा)
१. प्रपञ्चको धुलो ४ तोलाकम १ छटांकभर १
२. कपटका ताजा जरा २ तोलाकम आधा छटांकभर १
३. धोखाको फूल १२ मासाकम १ तोलाभर १
४. दगाबाजीको टुसा ९ मासाकम पौने १ तोलाभर १
५. फरेबको हरीयो पात ६ मासाकम आधा तोलाभर १
६. विश्वासघातको गुदी ६ रत्तिकम सवा तोलाभर १
७. कुटिलता को गूँद १२ रत्ति डेढ माशभर १
इ सबै औषधीहरूलाई तौलेर बराबर गरी सर्वसंहारको बोक्रासमेत मिलाई विद्रोहका तराजुमा ठीक २ संग तौली अविचारका खलमा कूटेर फूटका हांडीमा १६ छटांककम १ सेर मूर्खताका जलमा खरल गरी कुबुद्धिका चूह्लामा बसाउनु र झगडाका दाउरामा वैमनस्यको लगाउनु । यसलाई बीच २ मा अभिमानका चमचाले चलाउदै जानु । यस्ता प्रकारले जब ६० मिनटकम १ घंटाकम हुन्छ, तब वेहानदेखि बसालेको सूर्य कपालमाथी आयेपछि उतारनु र कलहका कटौरामा कुसङ्गतीको कपडा बिछायेर छानी वेईमानीको मह मिलाउनु र रोज २ साउं प्रातः आफना हातमा खुराक निकालेर मैहना २ मा १, २, ३, ४, जति पटक मौका पर्छ पीउने गरनु। (सयपत्री, पृ. ११२-११३)
विद्यावती (?)
देहरादुन, नाहानकी लेखिका विद्यावतीका गोर्खासंसार पत्रिकामा प्रकाशित भएका निबन्धहरूको पनि चर्चा गर्नु यहाँ आवश्यक छ । देहरादुनेली भाषिकाको प्रयोग भएको विद्यावतीका तरुणी औ तरुण, कुन्न छन्न र उन्नतिका आवश्यक अङ्ग शीर्षकका निबन्ध हास्यव्यङ्ग्यको प्रयोगका दृष्टिले नेपाली साहित्यका महत्त्वपूर्ण प्रारम्भकालीन रचना हुन्। वि. सं. १९८६ मा प्रकाशित यी रचनाहरूमा हास्यव्यङ्ग्यगत स्तरीयता भएको समालोचक राजेन्द्र सुवेदीले उल्लेख गरेका छन् । (राजेन्द्र सुवेदी, हास्यव्यङ्ग्यको जगत्मा अशिष्टताको प्रधानता, पूर्ववत्, पृ. ७५।)
यस चरणमा विशद अध्ययन र अनुसन्धान गरिएमा गोरखापत्र, सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका र जन्मभूमिजस्ता पत्रिकाहरूमा पनि हास्यव्यङ्ग्यात्मक गद्यरचनाहरू प्राप्त हुने सम्भावना देखिन्छ । यो हास्यव्यङ्ग्य निबन्धलेखनको प्रारम्भिक चरण हो ।
२. विकासशील वा दोस्रो चरण
नेपाली साहित्यमा शारदा पत्रिकाको प्रकाशन वास्तवमै एक युगान्तकारी घटना थियो । साहित्यका विभिन्न विधामा जस्तै हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा पनि यस पत्रिकाले महत्त्वपूर्ण योगदान गरेको देखिन्छ । यस चरणमा बोधविक्रम अधिकारी, प्रेमराज शर्मा, सिलवाल पण्डित, हरिनाथ खनाल, हृदयचन्द्रसिंह प्रधान, लक्ष्मीप्रसाद देवकोटा, गणेशमान सिंह, नारायणप्रसाद भट्टराई, केशवराज पिँडालीलगायतका लेखकहरूले आफ्ना गद्यरचनाहरूमा हास्य र व्यङ्ग्यको प्रयोग गरी नेपाली निबन्धलाई एक विशिष्ट स्वरूप प्रदान गर्ने कार्यमा सघाउ पुऱ्याएका थिए । शारदा पत्रिकाले ’हँसी-दिल्लगी’ शीर्षकको स्तम्भको व्यवस्था गरी हास्यव्यङ्ग्यको विकास र विस्तारमा विशेष ध्यान दिएको पाइन्छ ।
०००
‘नेपाली निबन्धको इतिहास’ (२०६६)
Subscribe
Login
0 Comments
Oldest