प्रमाेद प्रधाननेपाली हास्यव्यङ्ग्य निबन्ध (५)
वासुदेव शर्माका यी सङ्ग्रहका शीर्षकबाट पनि उनको हास्यव्यङ्ग्यप्रिय व्यक्तित्वको झलक पाइन्छ। सात सालपछि छापिएका उनका रचनाहरू भने तत्कालीन समयका राजनीतिकलगायतका विकृतिहरूतिर बढी केन्द्रित देखिन्छन्।

प्रमाेद प्रधान :
विकासशील वा दोस्रो चरण
नेपाली साहित्यमा शारदा पत्रिकाको प्रकाशन वास्तवमै एक युगान्तकारी घटना थियो। साहित्यका विभिन्न विधामा जस्तै हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा पनि यस पत्रिकाले महत्त्वपूर्ण योगदान गरेको देखिन्छ। यस चरणमा बोधविक्रम अधिकारी, प्रेमराज शर्मा, सिलवाल पण्डित, हरिनाथ खनाल, हृदयचन्द्रसिह प्रधान, लक्ष्मीप्रसाद देवकोटा, गणेशमान सिंह, नारायणप्रसाद भट्टराई, केशवराज पिंडालीलगायतका लेखकहरूले आफ्ना गद्यरचनाहरूमा हास्य र व्यङ्ग्यको प्रयोग गरी नेपाली निबन्धलाई एक विशिष्ट स्वरूप प्रदान गर्ने कार्यमा सघाउ पुऱ्याएका थिए। शारदा पत्रिकाले ‘हंसी-दिल्लगी’ शीर्षकको स्तम्भको व्यवस्था गरी हास्यव्यङ्ग्यको विकास र विस्तारमा विशेष ध्यान दिएको पाइन्छ।
दोस्रो चरणका प्रमुख हास्यव्यङ्ग्य निबन्धकार
नेपाली हास्यव्यङ्ग्य निबन्धको यस चरणको महत्त्वपूर्ण प्राप्ति भने हास्यव्यङ्ग्यको सचेत प्रयोग र प्रायः सबै निबन्धकारहरूमा व्यङ्ग्यधर्मिता देखिन थाल्नु नै हो। समाजमा विद्यमान विक्ति र विसङ्गतिप्रति लेखकहरूमा देखिएको सचेतताका कारण त्यस्ता विकृति र मानवका कमी-कमजोरी एवम् गलत प्रवृत्तिलाई व्यङ्ग्य गर्ने परम्पराको सुरुवात यस चरणको महत्त्वपूर्ण उपलब्धि मान्नुपर्छ। वास्तवमा यस चरणमा मात्रै नेपाली हास्यव्यङ्ग्यले गद्यमा स्पष्ट आकार र स्वरूप लिएको हो। दोस्रो चरणका प्रमुख हास्यव्यङ्ग्य निबन्धकारका बारेमा तल चर्चा गरिएको छ।
वासुदेव शर्मा लुइँटेल (१९७४-२०६३)
‘पुगिसरी आउनेहरू पेट मिचीमिची हाँस्तछन्। भोका, नाङ्गा, मरन्च्याँसे र खोपडी खोक्रिएकाहरू चाहिँ मुसुक्क हाँसेका पनि देखिदैनन् । हाँस्नु-हँसाउनु हरेक मान्छेको अधिकार हो भने त्यस किसिमका साहित्यिक कृतिहरू तयार पारिदिनु लेखकहरूको कर्तव्य हो’ (भानु, विचार विशेपाङ्क, २०३४) भन्ने विचार राख्ने वासुदेव शर्मा लुइँटेल नेपाली हास्यव्यङ्ग्यलेखनका क्षेत्रमा बिर्सिन नसकिने एक महत्त्वपूर्ण सर्जकको नाम हो। हास्यव्यङ्ग्यको विकास एवम् प्रवर्द्धनमै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने उनी नेपाली हास्यव्यङ्ग्यको प्रारम्भिक अवस्थादेखि नै लागिपरेका व्यक्तित्व हुन्। ‘भूतको भिनाजु’ उनको प्रसिद्ध उपनाम हो। यसबाहेक ‘बाउँटे बाजे’, ‘धुपौरे काका’, ‘म’, ‘कवि’, ‘ताहाचलको स्याल’, ‘टपरीनाथ’, ‘माउसुली’, ‘भूतपूर्व जुँगे दाइ’, ‘झाँक्री झम्पाट’, ‘डेढ अक्कली’, ‘ढाडे विरालो’, ‘अढाइ अक्कली’, ‘एकतारे सीताराम’, ‘लम्फू’, ‘खत्री कान्छा’, ‘कुमारी शोभा’, ‘जम्वु मन्त्री’ लगायतका थुप्रै उपनामबाट पनि चिनिने उनको ‘भूत छैन’ कृति २००६ सालमै प्रकाशित भएको छ।
चाहँदाचाहँदै पनि हाँस्न नपाउने गरिव, भोका र पीडितहरूका लागि हास्यरचनाहरू तयार गरिदिनुपर्ने विचारले उनको तल्लो तहका जनताप्रतिको जिम्मेवारीबोध प्रकट भएको देखिन्छ। सम्भवतः त्यही जिम्मेवारी पूरा गर्ने क्रममा उनले हास्यव्यङ्ग्यलेखनका अतिरिक्त प्रकाशन र प्रोत्साहनका कार्यहरू पनि सक्रियता र समर्पणका साथ गरेका हुन्। उनले स्थापना गरेको कौवा प्रकाशन र एक लाख एघार हजार रुपियाँको ‘वासुदेव लुइँटेल पुरस्कार’ लाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । यसरी नेपाली हास्यव्यङ्ग्यको विकास एवम् प्रवर्द्धनमा उनको योगदान अविस्मरणीय रहेको छ।
उनले यस क्षेत्रमा प्रवेश गरेको समय २००७ सालअगाडिको एकतन्त्रीय जहाानिया शासनकाल हो। त्यस बेला हास्यव्यङ्ग्य लेखनका लागि चाहिने मुक्त एवम् स्वतन्त्र वातावरणको अभाव भए पनि उनले जुन निर्भीकता र साहसका साथ यस क्षेत्रमा कलम चलाए त्यसको ऐतिहासिक महत्त्व छ। उनले आफ्ना हास्यव्यङ्ग्य निबन्धहरूका माध्यमबाट नेपाली समाजमा व्याप्त अन्धविश्वास, अन्धपरम्परा, रूढि-मान्यता र विकृतिजन्य व्यवहारलाई कठोर प्रहार गरेका छन्। उनी समाजमा विभिन्न वर्गका कुचरित्रलाई निबन्धबाट उछित्तो काढ्न ढिलो गर्दैनन्। उनले २००७सालपछिको समयमा पनि यस क्षेत्रमा विभिन्न पत्रपत्रिकाका माध्यमबाट योगदान पुऱ्याएको देखिन्छ। यस्ता हास्यव्यङ्ग्य निबन्धहरूका उनका सङ्ग्रह पछि विभिन्न नामबाट प्रकाशित भएका देखिन्छन्। तीमध्ये चिठीचपेटा (२०२२), … बाट (२०४३), … बाटको बाँकी (२०४६), काकाका कुरा (२०४६), व्यक्तिगत चिठी (२०५२), सोहरसाहर (२०५६), पुछपाछ (२०६१) आदि प्रमुख छन्। यी सङ्ग्रहका शीर्षकबाट पनि उनको हास्यव्यङ्ग्यप्रिय व्यक्तित्वको झलक पाइन्छ। सात सालपछि छापिएका उनका रचनाहरू भने तत्कालीन समयका राजनीतिकलगायतका विकृतिहरूतिर बढी केन्द्रित देखिन्छन्।
समाज र राष्ट्रप्रतिको जिम्मेवारी वहन गर्दै उनी आफ्ना हास्यव्यङ्ग्य निबन्धबाट समाजलाई मार्गनिर्देश गर्न चाहन्छन् र त्यसैको प्रतिविम्व उनका रचनामा पाइन्छ। साथै उनका कतिपय निबन्धमा विभिन्न साहित्यकारहरूसँगको संस्मरण पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। चिठीचपेटामा उनले २००७ सालदेखि २०२२ सालसम्मका पत्रपत्रिकामा प्रकाशित सम्पादकलाई लेखेका छपन्न पत्र सङ्गृहीत छन्। सङ्ग्रहमा भएका सुर्के चन्दन लाउन छाडेर फुर्के मोटरमा किन ?, कुरो केही बुझिएन है।, तेल हालेर बल्ने बिजुली बत्ती, तालुमा आलु फल्यो, पुच्छर गाँस्न सिक्नुहोस्, हल्लो, कविता छपाउने सजिलो उपाय, पेस्की धन्यबाद, आलुकं भण्टाकं हजरोजम् शीर्षकमा लेखिएका पत्रहरूमा उनले समसामयिक विषयमा छोटा प्रतिक्रिया व्यक्त गर्दै सुधारका लागि सन्देश दिएका छन् । … बाट’मा मेरो मनको कुरो, मास्टरहरू मध्येका शिरोमणि, तेल हालेर बल्ने बिजुली बत्ती, पं. चक्रपाणिको निधारको टीका, क्या फसाद, पुरानो मान्छेको नयाँ अनुभव, भीमनिधिजी, वाबुछोरा जिन्दाबाद, उत्तमसित आखिरी क्षण, कटुवालको नाउँमा एउटा पत्र मृत्युउपरान्त, बहुलाउनुभन्दा मर्नु जाती, ‘गाईजात्रा, घोडेजात्रा, हावाजात्रा, भोटेजात्राजस्तै यो पनि एउटा जात्रा हो’, हाँस्न-हँसाउन, गोरखापत्रमा काम गर्दाका केही गन्थन, स्वस्ति श्री ६ भवानी भानुजी विशेषाङ्कज्यू साहित्यकार संस्कार संस्थान डिल्लीबजार-नेपाल, चिनारी, फेरि दर्शन पाइनँ, मैले मन थाम्न सकिनँ, कुवेर र कृति, परिचय, सोझो कुरा, देखे-सुने-सम्झेका कुरा, ठाडो कुरा, गाउँसेविका विद्यालय मनोहरा र कति राम्री कान्छी दिदी जात्रामा शीर्षकका संस्मरणात्मक निबन्ध छन् ।
… बाटको बाँकीमा आहार-निद्रा-भय-मैथुनञ्च, श्रीगणेशाय नमः, कवि तीन जातका हुन्छन् आदि शीर्षकका निबन्धहरू सङ्गृहीत छन्। उनका कृतिहरू पछिसम्म छापिएको देखिए पनि हास्यव्यङ्ग्य निबन्धहरूलाई विषय, भाषा र शैलीका दृष्टिकोणले पहिलो चरणमा राख्न सकिन्छ। उनका संस्मरणहरूमा महाकवि देवकोटा, भीमनिधि, चक्रपाणि, रामकृष्ण शर्मा, हरिभक्त कटुवालदेखि शहीद गङ्गालाल, मास्टर वासुदेव भट्टराई, इतिहासशिरोमणि बाबुराम आचार्य, केदारमान व्यथितलगायतका महत्त्वपूर्ण व्यक्तित्वका प्रसङ्गहरूको आलेखन पाइन्छ ।
काकाका कुरा, व्यक्तिगत चिठी, सोहरसाहर र पुछपाछ शीर्षकका सङ्ग्रहमा पनि उनका हास्यव्यङ्ग्यात्मक शैलीका छोटा रचनाहरू रहेका छन्।” सकभर नेपालीपन दिनु र झर्रा नेपाली शब्द भरेर सरल र रोचक शैलीमा आफूले देखेका, भोगेका, सुनेका र बुझेका कुरालाई व्यक्त गर्नु उनको प्रवृत्ति हो। उनी समाजमा देखा परेका नमिल्दा र अप्ठेरा कुरालाई पटक्कै देखिसहँदैनन् र निर्धक्कसँग झटारो हान्छन्। वासुदेव लेख्छन् मझ्यौला खालका र स-साना लेख-रचना। कुनै-कुनै त एक पृष्ठ अझ एक-दुई अनुच्छेदमै पनि टुङ्गिएको देखिन्छ। तर ती हुन्छन् चस्स विझ्ने र सत्यतथ्यमा आधारित छन् । उनको व्यङ्ग्यविनोदी स्वभाव रचनामा पनि सुटुक्क आइपुग्छ। जनजीवनमा भिजेका दुःख-कष्टलाई हास्यव्यङ्ग्यको पुट दिई प्रभावकारी ढाँचामा उभ्याउनु त उनको विशेषता नै हो।” (
कृष्णप्रसाद पराजुली, भूतको भिनाजु जिन्दाबाद, लेख, पुछपाछ, निबन्धसङ्ग्रह, काठमाडौं : ढाक्रे प्रकाशन, २०६१, पृ. १४५।_
यस क्षेत्रमा उनको योगदानलाई अर्का हास्यव्यङ्ग्यकार बालमुकुन्ददेव पाण्डेले यसरी स्वीकार गरेको पाइन्छ- “नेपाली हास्यव्यङ्ग्य विधाको विकासमा मरिमेटेर लाग्ने त वासुदेव लुईटेल नै हुन्। आफू मात्र हास्यव्यङ्ग्यमा कलम नचलाई यस क्षेत्रमा अलिकति पनि चाख नभएका लेखकहरूलाई घचघच्याउने, तिनका कृति प्रकशित गरिदिने, कौवा प्रकाशनजस्तो हास्यव्यङ्ग्य विधासँग सम्बन्धित कृतिहरू मात्र प्रकाशन गर्ने संस्थाको स्थापना उहाँकै कार्य हो। अहिले लेखन, व्यङ्ग्यचित्र र रङ्गमञ्चीय प्रहसनजस्ता तीन क्षेत्रमा लागेका लेखक, कलाकार आदिलाई एक लाख एघार हजारको पुरस्कार पनि उहाँले स्थापना गरिदिनुभएको छ।”
(बालमुकुन्ददेव पाण्डे, आधुनिक नेपाली हास्यव्यङ्ग्य, पूर्ववत्, पृ. ४४-४५।)
लीलाध्वज थापा (१९८२-२०४१)
नेपाली साहित्यमा उपन्यासकारका रूपमा परिचित लीलाध्वज थापा हास्यव्यङ्ग्य निबन्धक्षेत्रका प्रारम्भकालीन स्रष्टा हुन्। वि. सं. २००८ मा प्रकाशित उनको एकमात्र हास्यव्यङ्ग्य निबन्ध दाहीले उनलाई नेपाली साहित्यमा निबन्धकारका रूपमा समेत उभ्याएको छ। यसपछि उनको निबन्ध प्रकाशित भएको देखिदैन। करिब ४० पृष्ठको दाह्री कृतिमा सोही शीर्षकको एउटा मात्र निबन्ध रहेको छ। सम्भवतः यो नेपाली साहित्यकै सबैभन्दा लामो निबन्ध हो।
दाह्री निबन्धका बारेमा नेपाली साहित्यकारहरूबीच धेरै चर्चा-परिचर्चा भएको पाइन्छ। यो निबन्ध उनले नेपाली नाट्यसम्राट् बालकृष्ण समलाई व्यङ्ग्य गरी लेखेको बताइन्छ। यसमा कति सत्यता छ, यो भने निर्क्याेल गर्न बाँकी नै छ। तथापि निबन्धमा अभिव्यक्त भाव र भाषा अनि पुस्तकको आवरणमा छापिएको दाह्रीवाल पुरुषको चित्रले पनि माथिको शङ्कालाई सत्य मान्ने आधार भने प्रदान गर्दछ। बालकृष्ण सम एक कलाकारसमेत भएका हुनाले लीलाध्वज थापाले आफ्नो निबन्धमा दाह्रीकाे रौंबाट तेलचित्र बनाउन प्रयोग हुने कुची बनाउन सकिने भनेर उनैलाई सङ्केत गरेको भन्ने समालोचक रामलाल अधिकारीको भनाइ रहेको छ। उनले नेपाली निबन्धयात्रामा भनेका छन्-
“… थापालाई दाह्री लेख्ने प्रेरणा सम्भवतः बालकृष्ण समको दाहीले नै दिएको हुनुपर्छ। उक्त पुस्तकको आवरणपृष्ठमै छापिएको एक जना दाह्रीवाल पुरुषको आवरणचित्रले बालकृष्ण समको मुहारसँग धेरै सामञ्जस्य राखेकाले पनि यो कुराको अनुमान लाउन सकिन्छ। तैपनि भित्री पाताहरूमा भने दाहीलाई इमानदारी प्रशंसाभन्दा धेर व्यङ्ग्य र तिरस्कार नै गरिएको हुनाले श्री थापा समको दाहीसँग निकै इखिनुभएको रहेछ भन्ने प्रतीत हुन्छ। समको निर्जीव दाह्रीले थापालाई कुन कुरामा चित्त दुखाइदिएको थियो त्यो केही बुझ्न सकिन्न तापनि आफ्नू चाहिँ दाही नउम्रिएको कुरो उहाँले निबन्धका अन्तिम अंशतिर वर्णन गर्नुभएकाले यो समको दाहीप्रति केवल आरिस मात्रै पो थियो कि जस्तो लाग्छ।” (पृ. ५७)
दाह्री निबन्ध लेखिनुका पछाडि जे-जस्ता कारण भए पनि नेपाली निबन्ध-साहित्यमा यस पुस्तकको आफ्नै प्रकारको स्थान रहेको छ। हास्यव्यङ्ग्यपरक सरल र सम्प्रेषणीय भाषामा लेखिएको यस रचनामा उनको निबन्धशैली मुखरित भएको पाइन्छ। यस निबन्धको अर्को महत्त्वपूर्ण विशेषता आत्मपरकता पनि हो। कसै-कसैले यस कृक्तिलाई व्यक्ति-आक्षेपका कारण महत्त्व नदिएको पनि देखिन्छ ।
०००
‘नेपाली निबन्धको इतिहास’ (२०६६)
Subscribe
Login
0 Comments
Oldest







































