साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुसुक्कै

बिर्सने कलामा पारङ्गत भएको खण्डमा फाइदै फाइदा छ । आफूले कोहीसँग दुई पैसा पनि लिनु छ भने मरे न बिर्यो। अनि आफूसँग कसैले सापट माग्छ भने चाहिँ दुई-तीन दिनसम्म "ज्या । भुसुक्कै बिर्सेछु" भनियो, बिचरोले बुझिहाल्छ, बिर्सेको रहस्य।

Nepal Telecom ad

मुन पाैडेल :

सधैंझै एक घण्टा ढिला अर्थात् दस बजेतिर रामप्रसाद कार्यालयमा प्रवेश गरे र फुस्किन लागेको मेचमा थ्याच्च बसे । मेचले चुइँचुइँ गरेर वेदना मात्र पोख्यो, धराशायी चाहिँ भएन । रामप्रसादले प्रथम काम टोपी फुकाल्ने गरे। टोपीलाई सरक्क टेबुलको देब्रेतिर विराजमान गराए अनि टाउको सुमसुम्याउँदै हाकिमको कोठातिर नजर दौडाएँ। हाकिमसाब त्यति चाँडै आउने सम्भावना नै थिएन तथापि रामप्रसाद हेरिटोपलेर ढुक्क भए । हाकिमसाबको आउने समय ठीक एघार बजे थियो अर्थात् मात्र दुई घण्टा ढिला । अन्य कर्मचारीभन्दा एकघण्टा बढी ढिला । आखिर उनी हाकिम पनि त हुन् नि । त्यो कार्यालयमा निर्धारित समयभन्दा आधा घण्टा पहिले आउने कर्मचारी पनि थियो एक जना । त्यै बिचरा निरीह, गरिब, पियन ।

मैलपोस लगाएको चिटिक्क परेको रवाफिलो हाकिम आफ्नो कोठामा छिरे। छिर्न पा’ छैन ट्वाई- ट्वार्र घण्टी बज्यो, पियन, दगुर्दै भित्र छिन्यो र तुरुन्तै फुत्त निस्केर रामप्रसाद अगाडि पो तेर्सियो- “बोलाउनु भा’छ ।”

*किन बोलाएको रे” अनायास रामप्रसाद बर्बराई गए, पियनले मौका पा’को चेपिगो- ‘मलाई के थाहा । मै हाकिम हूँ कि क्या हो ?”

रामप्रसाद निरुत्तर भएर डिच्च परेर सोच्न थाले- “किन बोलायो तात्तातै । हिजो क्यै काम अगाएको जस्तो त लाग्दैन । ठेलामा हालेर दुई बोरा चामल लुरुलुरु हिँडेर लगिदिएकै हुँ। साहेबनीको पेटिकोट र चोलो पनि टेलरबाट पुयाइदिएकै हुँ । आज होला नि कुनै नयाँ काम । बज्याले नोकरलाई नै अहाएजस्तो गर्छ ।”

रामप्रसाद मन नलागीनलागी उठेर जीउ तन्काउँदै हाकिमको कोठातिर लागे र भित्र पसेर साष्टाङ्ग दण्डवत् गर्दै ठिङ्ग परेर उभिइरहे ।

हाकिमले प्रश्नवाचक आँखाले सोधे- “खोई हिजो भनेको कागज ? तयार भा’ छैन कि क्या हो ?”

“भो आपत् !” रामप्रसादको टाउकोमा हाहाकार मच्चिगो । खोई के भन्या थियो कुन्नि । उनले त भुसुक्कै बिर्सि पो सकेछन् । के भनुन् । ठिङ्ग परेर हाकिमको अनुहार पो हेर्न थाले ।

हाकिम पड्कियो – “बिर्सिनु भो कि क्या हो तपाईंले ? यस्तो बिर्सिने रोग भएको मानिसले किन जागिर खा’को होला । तपाईं बिहान अफिस आउँदा भात खान त बिर्सिनु हुन्न होला नि । तलब गुटमुट्याउन त बिर्सिनु हुन्न होला नि । अनि लुगा…।” अचानक हाकिम टक्क अडिए र टाउको समाते । रामप्रसाद अब के आइलाग्यो भनेर हक्क न बक्क भए ।

“त्यो के लाएर आएको जोकरले जस्तो दुई थरीको मोजा । आँखाले पनि काम गर्दैन कि क्या’ हो तपाईंको ?” हाकिम झन् बेस्सरी कड्‌केपछि रामप्रसाद मोजातिर हेर्छन् त खैरो र नीलो मोजा पो लाएको रै’ छ ।

“थुइक्क सुद्धी” भन्दै रामप्रसाद हाकिमको कोठाबाट भागे । पछाडिबाट हाकिमको आवाज आउँदै थियो-“त्यो बिपिनबाबुको फाइल पनि तयार पारेर छिटो ल्याउनुस् ।”

रामप्रसाद लखतरान र हतास भएर थचक्क कुर्सीमा आएर बसे र हतार- हतार मोजा फुकाल्न थाले । उनलाई दुई थरी मोजाभन्दा पनि अर्कै पीरले समातिसकेको थियो । हाकिमले मोजाभन्दा पो बल्ल उनले सम्झे, छोरीको खिप फेर्न ल्याएको जुत्ता त टेम्पोमै पो छुटेछ । मारेन के । स्वास्नीले त भुतुक्कै पार्छ । यो महिनाको अन्तमा कोसँग मागेर जुत्ता किनिदिनु । नकिनँ। भोलिदेखि छोरी स्कुल नै जान पाउँदिन ।

‘पीर पनि के के आइलागेको मलाई रामप्रसाद मनमनै सोच्न थाले । त्यो जुत्ताको झोलो छुट्ला रे भनेर बिचराले हातमा छिराएर काखमै राखेका थिए। त्यो मोरो ड्राइभरले एउटा स्टपमा पैसा माग्यो र झोलाबाट हात झिकेर पैसा दिने भएका रामप्रसादले फेरि झोलामा हात हुल्नै बिर्सेछन् । टाउको समाते रामप्रसादले ।

शङ्काको कुनै औषधी नभएको जस्तो यो बिर्सने रोगको पनि शायद कुनै औषधी छैन । रामप्रसाद विचरा यही बिर्सने रोगका शिकार छन् । हुन त बिचरा बिर्सिएला भनेर एकदमै सतर्क हुने कोसिस गर्छन् तथापि यसको फन्दामा परिहाल्छन् । बूढा भए, सुद्धी हरायो भनूँ न त भने खासै उमेरदार पनि भएका छैनन् । भरखर पचास पट्ठा छन् । हट्टाकट्टा छन् । शायद उमेरले हुने रोग होइन यो ।

इतिहासका पाना पल्टाउने हो भने एकसेएक भुलक्कडहरूलाई भेट्न सकिन्छ। हाम्रा महाकवि देवकोटाकै भुलक्कडपनका धेरै कथाहरू छन् । महान् वैज्ञानिक आइन्सटाइन पनि भुलक्कड ओस्ताद थिए । यी वैज्ञानिक, साहित्यकारहरू त ल चौबीसै घण्टा घोरिने, सोच्ने, कल्पनामा बग्ने भएको कारणले भुलक्कड भए रे तर यी आजका नेताहरू पनि किन यतिविधि बिर्सने रोगले पीडित भएका ?

हेरिल्याउँदा के ज्ञात हुन आएको छ भने बिर्सने कार्य त महान् कला पो रहेछ । यो बिर्सने महान् कलामा विद्यावारिधि गर्ने महानुभावहरू चाहिँ नेताजीहरू नै हुनुहुन्छ । जो जति खग्गु, घाघ र देशखाई शेष भएको नेता छ, ऊ उति नै पारङ्गत हुन्छ बिर्सने कलामा ।

नपत्याए बिचरा कान्छाको कुरा सुन्नुस् । संसद्‌को चुनावमा कान्छाले समस्त टोलले प्रगतिशील भनाउँदा एउटा उम्मेदवारलाई भोट दिने निश्चित गरिसकेको थियो । अचानक राति एउटा अर्कै उम्मेदवार स्थानीय एउटा ठालुलाई लिएर ढोका ढकढक्याउन आइपुगे । बिचराले खुट्टै समात्न बेर लाएनन् । धेरै छलफल भएपछि ती उम्मेदवारले टोलका बीस जना ठिटालाई एउटा गारमेन्ट फ्याक्ट्रीमा काम लगाइदिने वाचाबन्धन गरे । कान्छाले पनि आफ्ना इष्टमित्र सबैसँग सल्लाह गरी उनैलाई भोट दिए । उनी जिते, मन्त्री पनि भए । कान्छा दङ्ग पर्दै काठमान्डू गए र चारदिनसम्म मन्त्रीको क्वाटरमा धाएपछि बल्ल एकदिन मन्त्री मोटरतिर लाग्दा कान्छाले बिन्ती चढाए । मन्त्रीले ओठ लेपार्दै मैले कसैलाई पनि जागिरसागिर दिन्छु भनेर भोट मागेको थिइनँ । त्यसमाथि तपाईं मेरै निर्वाचन क्षेत्रको हो र ! भन्दै पचास लाखको पजेरोमा सवारी भई जाँदा भया । मन्त्रीले क्या मजाले आफ्नै मुखले बोलेको कुरा बिर्सिदिए । क्यै लाग्छ कसैको ?

साँच्चै भन्ने हो भने बिर्सनु सफलताको लक्षण हो । जो जति ठूलो मान्छे हुन्छ, उसले त्यति नै बिर्सन सिक्नुपर्छ । तपाईंले झूटो बोल्नै पर्दैन, मन नलागेको कुरा भुसुक्कै बिर्सिदिनोस् भइहाल्छ । अब हेर्नुस् न, हाम्रा नेताहरू चुनाव लड्ने बेलामा कस्ताकस्ता वाचाहरू गर्छन्, आश्वासनहरू बाँड्छन् तर चुनाव जितेपछि एउटा पनि सम्झेको सम्झना छ कसैलाई ? त्यसैले तपाईं पनि सफल हुन चाहनुहुन्छ, अगाडि बढ्न चाहनुहुन्छ भने बिर्सने अभ्यास गर्नुस् । बिर्सने कलामा पारङ्गत भएपछि आनन्द नै आनन्द हुन्छ । कुनै पीर, कुनै जिम्मेवारी, कुनै उत्तरदायित्वले पनि हल्लाउन सक्दैन तपाईंलाई । बिर्सेपछि के लाग्छ कसैको । रामप्रसादको जस्तो समस्या छ भने त सावधान। सावधान । यसले त बित्यासै पार्छ । जानी जानी बिर्सनु र भुसुक्कै बिर्सनुमा त ठूलो अन्तर छ ।

बिर्सने कलामा पारङ्गत भएको खण्डमा फाइदै फाइदा छ । आफूले कोहीसँग दुई पैसा पनि लिनु छ भने मरे न बिर्यो। अनि आफूसँग कसैले सापट माग्छ भने चाहिँ दुई-तीन दिनसम्म “ज्या । भुसुक्कै बिर्सेछु” भनियो, बिचरोले बुझिहाल्छ, बिर्सेको रहस्य। अर्को दिनदेखि माग्नै छोड्छ तर यो बिर्सने रोग रामप्रसाद पाराले लाग्यो भने चाहिँ भगवान्‌ले नै बचाओस् तपाईलाई । अब मलाई आफैं हेर्नुस् । यो लेखले एउटा मज्जाले शीर्षक सोचेर लेख सुरु गरें र अब लेख्नुपन्यो शीर्षक भनेर ऑटेको त भुसुक्कैसम्म चाहिँ सम्झना आउँछ त्यसपछि कुन शब्द थियो, भुसुक्कै बिर्सिएछ । त्यसैले यो लेखको शीर्षक आधी मात्र लेखेको छु, बाँकी जुन दिन सम्झन्छु, त्यही दिन थपिदिउँला । फेरि सम्पादकज्यूले पनि जुन दिन थप्नु होला, उही दिन छापूँला चाहिँ नभन्नुस् नि ।

०००
गोरखापत्र / २०५८ पुस २८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x