मुन पौडेलअवकाशपछिको औडाहा
यता सचिवनी बेहोस, उता सचिवजी आइसीयूमा इन्तु चिन्तु भएर सुतिरहेका । अझै होस् आएको थिएन । सचिवजीको जताततै किनेर राखेका घडेरीहरूमा कतै सुँगुर चर्दै थिए, कतै कसैले विष्ट्याउँदै थियो ।

मुन पाैडेल :
अवकाश पाउनु एक वर्षअघिदेखि नै सबिवज्यूलाई औडाहा हुन थालिसकेको थियो। तीस-पैंतीस वर्ष जागिर खाइसकेपछि पनि उनको जागिर खाने धीत मरेको थिएन । एक कौडी पुस्तौनी सम्पत्ति नभएका उनले देश र जनताको नाम लिएर पचास करोडको सम्पत्ति जोरिसकेका थिए र पनि उनी भोकाएका, अतृप्त र कङ्गाल देखिन्थे । अवकाश हुने बेलामा भ्याउरे मन्त्रालयमा सरुवा गरिदिएकै उनलाई चित्त बुझेको थिएन र पानीमाथिको ओभानो बनेर अवकाश हुनेबित्तिकै कुनै नयाँ पद पड्काउने योजनामा काम गरिरहेका थिए । सचिवज्यू आफूलाई साहै लायक ठान्थे, नेपाली कर्मचारीतन्त्रका स्तम्भ तर मन्त्रालयका अपेक्षाकृत कम भ्रष्टको जमातले उनलाई ‘घुस्याहा दि ग्रेट’को नामले चिन्थे र यो मान्छे कहिले अवकाश भएर जाला भनेर पर्खिरहेका थिए। सचिवज्यू भने विभिन्न कार्यक्रममा जाँदा संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीका पदाधिकारीलाई आफ्नो दुर्गन्धित विद्वत्ता र मक्किएको ज्ञान देखाएर प्रभावित पार्ने व्यर्थको कोसिस गर्दथे जब कि उनीहरू नेपालका भ्रष्ट पदाधिकारीको सूची नै लिएर बसेका हुन्थे जसमा यिनको नाम प्रथम श्रेणीमा पर्दथ्यो ।
श्रीमती सचिवनी त झन् बहुलाउन मात्र बाँकी थियो। उनलाई जिन्दगी श्रीमानको तलबको पैसाले घर गृहस्थीको कुनै सामान किन्नुपरेन । बासमती चामल बोराका बोरा गुलरियाबाट आउँथ्यो, दाल तौलिहवाबाट, शुद्ध तोरीको तेल चितवनका हाकिमहरूले पठाउँथे । बेसारदेखि जीरा, धनियाँको धुलोलाई जनकपुरले ठेक्कै पाएको थियो। घिउ त कुरै छैन, टिनका टिन दाङबाट आइहाल्थ्यो । सिजनको फलमा ऑप सिरहा-लहानबाट, सुन्तला धनकुटा, तमघासबाट पेटीका पेटी आउँथ्यो । त्यत्रो फलफूल आउँथ्यो तर सचिवनी एक गेडो पनि कुनै आफन्त वा नातेदारलाई दिन्नथिन् । खान नसकेर कुहिन थालेपछि चाहिँ बूढाबूढी भएका आमाबाउलाई, दिदीबहिनीलाई दुईचार गेडा पठाइदिन्थिन् । सचिवको अवकाश हुन ऑटिगो, अब के चाहिँ नाप्छ यसले भनेर अवकाश हुनु अघिदेखि नै सारा सामान आउन बन्द भएपछि सचिवनी मूर्छा परेकी थिइन् । कतिवटा जिल्लामा त सचिवनीले लाजै पचाएर “खोई। हाकिमसाब यो पटक त हामीले खानै नपाउने भयौं ।’ भनेपछि हाकिमहरूले पनि ‘ए। कस्तो बदमास रहेछन् खरदारसाब । मैले उहिले पठाइदिनु भनेको थिएँ। म आजै पठाउन लाइदिन्छु साहेबनी” भनेर भन्न त भन्थे तर मरे पठाउदैनथे। यता सचिवनी अब आउला तब आउला भनेर पर्खिरहन्थिन् तर के पठाउँथे कुनै हाकिमले । अस्ताउन थालेको सूर्यलाई कुन बेवकुफले नमस्कार गर्छ ?
देख्दादेख्दै सचिवजीले अवकाशपत्र बुझे, सचिवनी ओछ्यान परिन् । पैसाको टक्सार बन्द भएको देखेर सही नसक्नुभएको थियो उनलाई। महिना दिनसम्म ओछ्यान समात्दासमेत कोही भेट्न आएन । न सधैं चाकरीमा दौडिरहने हाकिमहरू नै आए, न नातेदारहरू नै। एक्लै बस्दाबस्दा सचिवनीलाई डिप्रेसनले छोला भन्ने डर भएर आयो। सचिव त काम न काजसँग भए पनि यताउति गइरहन्थे र घरमै भएको बेलामा पनि केके न गऱ्याजस्तो कम्प्युटर कोट्याएर बस्थे तर सचिवनीलाई भने आपतै पन्यो । एक त सित्तैमा खान पल्केकी किनेर खानुपर्दा नै बेहोस भएकी थिइन्, त्यसमाथि कसैले वास्ता नगरेको देख्दा औडाहा भएर आएको थियो उनलाई ।
पदमा छँदा सचिवजी केके न हुँ भनेर नातागोता, इष्टमित्र कसैसँग राम्रोसँग बोल्दा पनि बोल्दैनथे । शाखा अधिकृतबाट नाना प्रपञ्च गर्दै सचिवसम्म भएका उनलाई कुनै अद्भुत चिज भेटेजस्तो लाग्थ्यो । राम्रो मुखले बोल्दा पनि नवोल्ने मान्छे झन् कसैको कुनै काम किन गर्दिन्थे । आफ्नासँग पैसा खान भएन, त्यसैले कसैको केही पनि गदिँदैनथे । पैसा पाएपछि भने निकृष्ट स्तरमा ओर्लेर भए पनि जे पनि जसरी पनि गर्दिन्थे । सबभन्दा ठूलो कुरो त के भने त्यस्ता निम्नस्तरका मान्छे आफूलाई इमानदार भन्थे, विद्वान् हुँ भनेर फुर्ती लाउँथे । चरित्र कस्तो थियो भने जिल्लामा बस्दा एक पटक एउटा केटी काण्डमा परेर झन्डै साराले कालोमोसो दलेर जुत्ताको माला लाइदिएका । धन्य एउटा एस पी ले उनलाई आफ्नो कस्टडीमा राखेर रातारात भगाइदिएका थिए । त्यो बापत पनि बिचरा सचिवको आधा रोपनी जग्गा खर्च भएको थियो, एस पी. साहेबलाई दक्षिणा टत्र्याउँदा। एक पटक त अख्तियारले दस दिन थुनी पनि सकेको थियो तर गङ्गाधरको मूल सडकमा पर्ने एक रोपनी जग्गासँग आफ्नो इमानदारी फिर्ता लिएका थिए उनले ।
सचिवनीले लोग्ने अवकाश हुनेबित्तिकैदेखि कङ्गालीले छोप्याजस्तो गर्न थालिन् । पहिले घरमा आउने पाहुनालाई कोसेलीको रूपमा आएको फलफूल, जुस, कोल्ड ड्रिङ्ग बिग्रिन थालेपछि वा डेट एक्सपायर्ड हुन थालेपछि ख्वाएर पठाइदिन्थिन् । दूध हालेको चिया ख्वाउँथिन् । तर अवकाश हुनेबित्तिकै केको जुस र फलफूल, कालो टर्रो चिया मात्र ख्वाएर पठाउन थालिन् र तर्क के दिन थालिन् भने-“दूधले ग्यास्टिक हुँदो रै’छ, बाबा श्यामदेवले भनेको । यस्तो कुरो सुन्नेहरू ओठ लेपारेर भन्थे- “खान नपाए हुन्छ ग्यास्टिक । पहिले लुटको धन थियो फुपूको पनि श्रद्ध गर्थिन्। अहिले आफैँ पुग्दैन अनि के ख्वाउँथिन् लोभिनीले ।”
हुन पनि कमकी थिइनन् सचिवनी । लोग्नेको जागिर त आफ्नै बाउको जमिनदारी भन्ठान्थिन् । घरमा आउने आगन्तुकहरूको अनुहारमा नहेरेर पहिले उनीहरूको हातमा हेर्थिन्, क्यै कोसेली लिएर आएको छ कि छैन भनेर । नल्याउनेसँग राम्रो मुखले बोल्दा पनि बोल्दिनथिन् । जाने बेलामा “आफूलाई त कसैको घरमा खाली हात गयो भने त माग्ने कसैको घरमा गएकोजस्तो लाग्छ भनेर आगन्तुकलाई “खबरदार । अर्को पटक आउँदा खाली हात कदापि नआउनु’ भन्ने चेतावनी दिएर पठाउँथिन् । यस्ती सचिवनी अवकाश हुनेबित्तिकै लत्र्याकलुत्रुकै गलिन् र लाजै पचाएर आफ्ना सम्बन्ध टुटिसकेका नातेदार, इष्टमित्रहरूलाई फोन गर्न थालिन् । कसैले बोलाइदियो भने जान पनि थालिन् होइन भने बिहे, व्रतबन्ध, कुनै समारोहमा नातेदारहरू भेट्टिए भने पनि सकेसम्म बोल्न नपरोस्जस्तो गर्थिन्, फुलेर बसिरहन्थिन् ।
अवकाश भइसकेपछि तेजिला सचिवजी पनि नुन हालेको चिप्लेकीराजस्तो गल्दै गइरहेको थिए । उनी पदमा छFदा भाउ दिने नेताहरूकहाँ पनि दौडिए। अनुभवको, विशेषज्ञताको गुड्डी हाँके । या गर्दिन्छु, वा गर्दिन्छु भनेर हावादारी गफ लगाए तर कतै दाल गलेन । नेताहरूलाई आफैँ त खान पुगेको थिएन, छोराछोरी, सालासाली, स्वास्नी-सासूलाई त खुवाउन पुगेको थिएन, सचिवजस्तो फटाहा र घुसखोरलाई अरू कति ख्वाउँथे । क्यै नलागेपछि सचिवजीले झन्डै एउटा सानोतिनो पुस्तिकाजत्रै लिस्ट बनाए र जहाँजहाँ देख्छन् केही खाली, त्यहाँत्यहाँ इमेल गर्न थाले । नगरेर पनि के गरुन्, स्वास्नीले जुन बेला पनि “हामी त ढाक्रे नै भयाँ अब । पेट पनि नभर्ने भो ।’ भनेर टोकस्न थालेर आँखा तर्न थालेपछि सचिवज्यू विचराले के गरुन् । इज्जत गुमाएर, भ्रष्ट कहलिएर त्यत्रो झन्डै पचास करोडको सम्पत्ति जोडिदिँदा पनि स्वास्नीको चित्त बुझेको थिएन । उनलाई अझै पैसा चाहिएको थियो, पुलिसमा थुनिएर ल्याऊ कि अख्तियारको मुद्दा परेर ल्याऊ ।
सानोतिनो पुस्तिकाजस्तो लिस्टको पनि कुनै काम लागेन । कसैले पाएको खबर पनि गर्न आवश्यक ठानेनन् । सचिवजीले अर्को बुद्धि निकाले- “पहिले आफूलाई प्रमाणित गर्छु अब । सुरक्षा विशेषज्ञ, अर्थ विशेषज्ञ, सुशासन विशेषज्ञका रूपमा लेखहरू लेखेर पत्रपत्रिकामा छपाउँछु । सम्पादकहरूले चिनेका छदैछन्, त्यत्रो लन्च र डिनर खाएका छन्, कसो नछाप्लान् त ।” यस्तो सोचेर कहिल्यै सुशासन भन्ने कुरोलाई आफू काम गर्ने विभाग, मन्त्रालयमा छिसिक्क पनि लागू नगरेका सचिवजीले यता उतिको सारेर, विदेशीहरूले दिएको सुझावलाई चोरेर, गुगलबाट सारेर धमाधम थोकका भाउमा लेखहरू लेखेर पठाउन थाले । यसरी उनले पाँच-सात वटा छापाहरूमा लेख पठाए र दैनिक पाँच-सात वटा अखबार एकाबिहानै किनेर हेर्न थाले । श्रीमतीले घरमा आउने जाबो एउटा अखबार पनि बन्द गरिदिएकी हुनाले समाचार इत्यादि नेटमै हेर्ने गर्दथे । पन्ध्र दिनसम्म लगातार हेर्दा पनि एक अक्षर पनि नछापिएपछि यिनको धैर्यको बाँध छताछुल्ल भयो । त्यसपछि उनले सम्पादकलाई फोन गर्न थाले, कति सम्पादकसँग त सम्पर्क भएन, कतिले “ए, हो र सचिवज्यू ? हजुरको लेख किन नछाप्नु, हाम्रो अहोभाग्य कि हजुरले हामीलाई लेख पठाउनुभयो । तर मलाई त थाहै भएन, म फिचर सम्पादकलाई सोध्छु” भनेर लन्ड्याइदिए । सम्पादकहरू के बेवकुफ हुन्छन् ? ताल न सुरसँग त्यो काम नलाग्ने डेट एक्सपायर्ड मान्छेको लेख किन छाप्थे ।
सचिवज्यूले पद हस्तगत गर्ने लेख-योजना पनि असफल भएपछि सम्पादकलाई पाठक पत्र स्तम्भका लागि लामालामा प्रतिक्रिया लेख्न थाले । त्यसलाई पनि सम्पादकहरूले टेरपुच्छर नलाएपछि सचिवज्यू जोगी, धामी, तान्त्रिक, ज्योतिषीहरूको शरणमा गए र कालसर्प मोचन, शनि, साढेसाती इत्यादिका लाखौँ मन्त्र जप गराउन थाले । होम लगाए। पूजा गरे, मन्दिरहरू धाए । आफू पनि चोखो वस्त्र धारण गरेर रामनामी ओढेर भएभरका देउताका स्तोत्र नियमित पाठ गर्न थाले तर कुनै प्रतिफल प्राप्त भइरहेको थिएन । सचिवनी पनि सँगसँगै लागेर भगवान् गुहार्दा पनि कुनै भगवान्ले सुन्दिएनन् ।
सचिवजीका दुई सन्तान थिए, एउटी छोरी, एउटा छोरा । छोरी मनमोजीको केटासँग बिहे गरेर अमेरिका गइसकेकी थिइन् । त्यहाँ पुगेर एकदुई वर्ष बसेपछि उसले त्यो लोग्नेलाई पनि छोडेर एउटा काले नाइजिरियनसँग बस्न थालिन् । छोरो भने प्लस टु जेनतेन गरेर बाउको कमिसन एजेन्टको रूपमा घुस असुल्ने काम सम्हालेर बसेको थियो । मुलुकभर घुमेर अन द स्पट गएर कमिसन असुलेर ल्याउँथ्यो । त्यो चक्करमा पैसा जति छदै थियो, एक नम्बरको जॉडबहादुर भइदियो । केही नलागेपछि सचिवज्यूले पैसाको मोह त्यागेर छोरोलाई दिल्लीको एउटा महँगो न महँगो कलेजमा भर्ना गरिदिए, वर्षको दस लाख भारु तिर्ने गरी । उनले कलेजलाई कुनै मेसिन भन्ठानेका थिए जहाँ कच्चा माल हल्दिएपछि राम्रो फिनिस्ड प्रोडक्ट निस्किन्छ, निस्किन्छ । सचिवनी त भुतुक्कै भएकी थिइन् त्यत्रो खर्च लाग्ने भो भनेर ।
एक दिन बिहानै सचिवज्यू अखबार लिन गएका थिए, फर्कदा छोराको स्कुलको प्रिन्सिपलको फोन आयो- “तपाईंको छोरो ड्रग ओभरडोज भएर अस्पताल भर्ना भएको छ । सिरियस छ । तुरुन्त आउनुस् ।” समाचार सुन्नेबित्तिकै सचिवजी बाटैमा लगलगी काँप्न थाले, हातगोडा लल्याकलुलुक भएर आयो । मोबाइल पनि कता भयो कता । जेनतेन घरको ढोकामा पुग्नेबित्तिकै डडरङ्ग लडे । श्रीमतीले जेनतेन ट्याक्सी बोलाएर अस्पताल पुऱ्याइन् । ‘हर्ट अट्याक’ भएको रहेछ । छोराको अवस्थाको बारेमा सचिवनीलाई केही थाहा थिएन, सचिवले भन्नै ग्याएका थिएनन् । चौथो दिन परराष्ट्र मन्त्रालयमार्फत खबर आयो, छोरो बितिसकेको थियो ।
खबर सुन्नेबित्तिकै सचिवनी बेहोस भइन् । यता सचिवनी बेहोस, उता सचिवजी आइसीयूमा इन्तु चिन्तु भएर सुतिरहेका । अझै होस् आएको थिएन । सचिवजीको जताततै किनेर राखेका घडेरीहरूमा कतै सुँगुर चर्दै थिए, कतै कसैले विष्ट्याउँदै थियो । कतै लहलही बाली हल्लिरहेको थियो तर सचिवज्यूको बाली भने बर्बाद भइसकेको थियो ।
०००
काठमान्डू
मधुपर्क / २०७२ चैत
भुसुक्कै (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































