साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल क्रन्दन

निवेदन दर्ता गराउँदा भीडभाड भएर पुलिसले लाठी घुमाउँदा कैयौंको हातखुट्टा भाँच्चियो, टाउको फुट्यो भन्ने समाचार यिनै आँखाले पढेको हुँदा झन् मन तर्सिरहेको थियो ।

Nepal Telecom ad

मुन पाैडेल :

तपाईंहरूले भन्नुहोला कि साँच्चै यो कुन युगको मान्छे हो ? भने भनिरहनुस् तर यथार्थ लुकाएर लुक्दैन । मसँग मोबाइल फोन छैन । हो मेरो अफिसका सबैसँग मोबाइल छ, मेरो बाथरुम सफा गर्ने भाइसँग पनि मोबाइल छ तर मसँग छैन । मलाई मोबाइल नभएर व्याइँले पनि छोएको छैन तर मेरी प्राण पियारी श्रीमतीलाई मोबाइल नभएर उनको मित्रमण्डलीमा मुखै देखाउन लाज भइरहेको छ । फलस्वरूप बिहान सूर्य उदय भएपछि उनको मोबाइलसम्बन्धी कचकच सुतिसकेपछि पनि चलिरहन्छ किनकि उनी सपनामा पनि मोबाइल, मोबाइल भनेर बरबराई रहन्छिन् ।

न म दुईले दस गर्ने व्यापारी, न बैंकहरूलाई डुबाउने उद्योगपति। एउटा सानो कर्मचारी/महिनाभर दगुरेपछि आठ-दस हजारसम्म कमाउने ज्यालादारी । यस्तो प्राणीलाई मोबाइलको के काम भन्नुस् त । भएको एउटा ल्यान्डलाइन फोनले बिल तिर्नलाई नै आपत् परिरहन्छ । तानतान तुन्तुन गर्दागर्दै बिल तिर्न भ्याइँदैन र प्रत्येक एक महिनापछि लाइन काटिरहन्छ । दूरसञ्चारले लाखौँ बक्यौता राख्नेहरूलाई त केही गर्न सक्दैन, हामीजस्ताको लाइनचाहिँ पन्ध्रसयभन्दा बढी बक्यौता भयो कि काटिदिन्छ । साथीहरूले पनि थाहा पाइसकेका छन् कि यो लुते मनुवाको लाइन हरेक एकदुई महिनाभित्र काटिरहन्छ । त्यसैले मौका पायो कि उल्याइहाल्छन् । यस्ता महानुभावले एउटा अर्को मोबाइल भन्ने भारी बोक्नु कहाँसम्म उचित हुन्छ, भन्नुस् त । तर श्रीमती मरे मान्न तैयार छैनन् । छोराछोरीहरू पनि उनैको पक्षमा छन्। “आजको युगमा एउटा मोबाइल त हुनै पर्छ ड्याडी” उनीहरू पनि कराउँछन् । म मनमनै मुरमुरिन्छु । तिमीहरूलाई टार्नु-पुऱ्याउनु छैन, फरमाइस गर्न के लाग्छ । एउटा पिरलो भए न हुन्छ । एउटा मोबाइलले हजार समस्या उब्जाएको छ ।

दर्ता गर्न सकियो र सिमकार्ड दियो भने सिमकार्ड त हजार-बाह्र सयमा कसै गरी लिइएला । अनि मोबाइल सेटचाहिँ कसले दिन्छ, ससुरालीले ? अहिले बिहे गर्नेहरूलाई त दिन्छन् पनि होलान् । छिमेकी मुलुकमा त अहिले बिहेमा सबभन्दा उपयुक्त उपहार मोबाइल नै भएको छ । जसले पनि मोबाइल सेट नै उपहार दिइरहेका हुन्छन् । आफू पनि ससुरालीतिर यसो आस लगाउन त भने ससुरा बिचरा आफैँले त मोबाइलको मुख देखेका छैनन्, मलाई के देलान्, सालो उल्टो दिदीचाहिँको पछि लागिरहेको छ एउटा मोबाइल किन्दे भनेर । आफूले कसलाई भन्नु । यसो काम चलाउनका लागि श्वेत-श्याम स्क्रिन भएको चार-पाँच हजार सम्मको जेनतेन किनूँ न त भन्दा लाजैमर्दो होलाजस्तो छ ।

सबैलाई देखासिकी लागेको छ । कसले महँगो मोबाइल राख्नसक्ने भन्ने प्रतियोगिता चलेको छ । कोही पचास हजारको मोबाइल हल्लाएर हिँड्छन् र समय कुसमय केही नहेरी अन्तरिक्षमा रकेट नै पठाउनया लेथेजस्तो दत्तचित्त भएर मोबाइलमा टाकटाक टुकटुक गरिरहन्छन् । कोहीकोही त हरेक महिना मोबाइल बदलिरहेका हुन्छन् । यस्तोमा आफ्नो पाँच हजार पर्ने सस्तो मोबाइल देखेर के भन्ने हुन् । हुन पनि कस्ता-कस्ता मोबाइल आइसकेका छन् । क्यामेरा भएका त सामान्य भइसकेका छन् । पूरा कम्प्युटर नै मोबाइलभित्र छिरिसकेको छ । अरूलाई त मेरो पाँच हजारको मोबाइलले के प्रभाव पर्छ, पछिको कुरा हो तर मेरी पियारीलाई नै सस्तो मोबाइलको कुरा पचेको छैन । उनी आफ्नो दुई तोलाको सुनको बाला बेचेर भएपनि मलाई शानदार मोबाइल किनिदिन दृढसंकल्प छिन् । खनखट्टामा काम लाग्छ भनेर बाला बनाइदिएको काम न काजको मोबाइलमा खर्च गर्न तैयार छिन् उनी । यसको के औषधी छ ?

आफूलाई त यो मोबाइल भन्ने घाँडोको अर्को पीर पनि छ । अब एउटा कल्पना गर्नुस् । तपाईसँग मोबाइल छ, तपाई काम न काजसँग त्यसलाई ओल्ट्याइपल्ट्याई गरिरहनुहुन्छ, कहिले खल्तीबाट झिकेर टेबुलमा प्रदर्शन गर्नुहुन्छ, कहिले बेल्टमा फिट भएको केसभित्रर घुसार्नुहुन्छ तर अफसोच । एउटा पनि रिङ आउँदैन । एक दिन आउँदैन, दुई दिन आउँदैन, तीन दिन आउँदैन । अनि तपाईंलाई वरिपरिका साथीभाइले के भन्छन् ? मोबाइल छ तर खर्चको डरले न तपाईं कसैलाई फोन गर्नुहुन्छ न कसैले तपाईलाई फोन गर्छ । मोबाइल घाँटीमा झुन्डिरहेको छ, खल्तीबाट चियाइरहेको छ तर फोनसोन आउँदैन । केटाकेटीको खेलौनाजस्तो । यस्तो भयो भने के गर्ने ? आफ्नो त्यस्तै ताल होलाजस्तो छ ।

सोझो, सिधा र लुते जागिरदारलाई कसले फोन गर्छ ? सधैं साँझपख जॉडपार्टी चलाउने, दलालहरू राखेर घूस खाने वा ख्वाउने, राजनीतिक दल र नेताहरूको लाउके बनेर काम गर्ने भए सत्र थरीका फोन आउँछन् । आफू त्यस्तो परिएन । अनि मोबाइलको के काम, भन्नुस् त । प्रदर्शनका लागि कि फोस्रो धाक र रवाफ देखाउनका लागि ? श्रीमतीलाई यो कुराहरू जति बुझाए पनि बुभिदनन् । उनको एकनासको रटना छ, मोबाइल चाहिन्छ । चाहिन्छ । अब क्यै लागेन र मोबाइल लिन पर्यो भने साथीभाइ गुहार्नुपर्ला, यसो बेलामौकामा हाय-हलो भन्न भए पनि फोन गरिदिनु भनेर । इज्जत त जोगाउनै पन्यो । तर मलाई थाहा छ, त्यसमा पनि मलाई धाक नै छ । एउटा साथी कस्तो व्यापारी बुद्धिको छ भने चार पटक फोन गर्दै भन्यो भने गरी त दिन्छ तर फोन गर्दा लागेको खर्च कुनै साँझ मसँग नछेराई छोड्दैन ।

श्रीमतीलाई मैले कति सम्झाइसकें हेर, हामीजस्तो मध्यमवर्गीय परिवारका लागि एउटा ल्यान्डलाइन फोन नै काफी छ । यो मोबाइल राख्नु भनेको हात्ती पाल्नुसरह हो । मोबाइल राख्नु साटो बरु भैसी पाल्यो भने फाइदा हुन्छ । केटाकेटीले शुद्ध दूध त खान पाउँछन् । यो मोबाइल त खर्चको घाँडो हो, फाइदा एउटै छैन, मात्र नोक्सानी । दिनभरि फोन गर, रातभरि चार्ज गर । साथीभाइहरूलाई फुर्तीफार्ती लगाउन नानाथरीका रिङ टोनहरू डाउनलोड गर र महिनैपिच्छे बिल तिर वा नयाँ सिमकार्ड र क्वाको भ्यागुतोजस्तो त्यही मोबाइलरूपी कुवामा साउने भ्यागुतोजस्तो रङमङिरहु । अर्थ न बर्थसँग काम न काजसँग एसएमएस गर, अश्लील र हावादारी चुट्किला र लतिफाहरू एसएमएस गरेर साथीभाइहरूलाई पठाऊ आफ्नो सिर्जनशीलता त नष्ट गर गर, अरूलाई पनि दुर्गन्धित बनाऊ र जाँड बहादुरहरूले मोटरसाइकल वा मोटर चलाउँदाचलाउँदै मोबाइलमा कुरा गर र एकै पटक यमराजको दरबारमा हाजिर हुन पुग । आफू पनि मोटरसाइकल चलाएर हिँडिन्छ आपत्तै छ ।

अचानक हाम्रो शहरमा रीटा, केटरिना जस्ता नानाभाँतिका आँधीहरू एकैपटक आएको जस्तो एउटा खबर फैलियो, प्रिपेडको निवेदन बाँड्ने भो अरे । यो खबर सुन्नेबित्तिकै श्रीमती प्रसन्नताले बुलुकबुर्लुक उफ्रिन थालिन् । जनआन्दोलनमा पनि नतातेको यो मुर्दा शहर त रन्थनिएर पो आयो । हरेक घरमा, हरेक व्यक्तिको मुखमा, अफिसमा, पसलमा, सडकमा, चोकमा एउटै चर्चा, प्रिपेड मोबाइल बाँड्ने भो । तर सबैको मुखमा चिन्ता भीड हुन्छ, मारामार हुन्छ, कसरी दर्ता गराउने । म पनि श्रीमतीको कान निमोठाइबाट सक्रिय भए र पियनलाई भनेर जसोतसो निवेदन फर्म मगाएँ। आइमाईहरूको लाइन छोटो हुन्छ होला भन्ने आशले श्रीमतीको नाममा भरू त भने मेरी एक क्विन्टलको श्रीमती दस मिनेट सोझो भएर उभिन सक्दिनन्, लाइन लागिन् भने त त्यहीँ सिद्धिन्छन् भनेर आफ्नै नाममा निवेदन भरें।

अब सबभन्दा ठूलो समस्या निवेदन दर्ता गराउन थियो । पैंतीस हजार त दूरसञ्चारबाट निवेदन नै बाँडिएको थियो त्यसमाथि इन्टरनेटबाट पनि निवेदन झिक्ने कति होलान् । म निवेदन दर्ता गराउन जाने हिम्मत जुटाउन सकिरहेको थिइन । कसैलाई पठाउँन त भन्दा आफैँ जानुपर्छ रे भन्ने हल्लाले श्रीमती अरू कसैलाई पठाउने पक्षमा थिइनन् । उनलाई जसरी भए पनि मोबाइल नभई भएको थिएन । आफ्नोचाहिँ हंसले ठाउँ छोडिरहेको थियो । सिनेमाको टिकटसम्म किन्न नसक्ने मनुवाले दिनभरि लाइन लागेर निवेदन दर्ता गराउन सक्छ ? त्यसमाथि कताकतातिर हो, यस्तै निवेदन दर्ता गराउँदा भीडभाड भएर पुलिसले लाठी घुमाउँदा कैयौंको हातखुट्टा भाँच्चियो, टाउको फुट्यो भन्ने समाचार यिनै आँखाले पढेको हुँदा झन् मन तर्सिरहेको थियो ।

हेर्नुस् त आपत्, अफिसको पियन मोबाइल बोकेर हिँड्ने, हाकिम लुते एउटा मोबाइल राख्न नसक्ने । धेरै बेरसम्म त्यहाँ रङमडिरहें कोही भेटिहाल्छ कि, क्यै भैहाल्छ कि, कुनै चमत्कार भएर निवेदन दर्ता भइहाल्छ कि । तर केही भएन । लाइनको लम्बाइ देखेर लाइन लाग्ने हिम्मत भएन । लुसुक्क घर फर्के र आरामले मुखमा बुजो लगाएर श्रीमतीको गाली सुनिरहें। एउटा साथी लाइनमा लागेको थियो, त्यसको के भएछ भनेर सोधेको त बिहान पाँच बजेदेखि लाइनमा लागेको राति नौ बजे दर्ता भयो अरे । त्यही साथीले एउटा सूचना पनि दियो, दर्ता गर्ने म्याद एक दिन थपियो भनेर ।

श्रीमतीलाई पुगिगो, राति बाह्र बजे नै उठाएर लघारिन् । जे त हुन्छ भनेर म पनि लाइनमा लागें। त्यसपछि भन्ने सुन्ने कुरा केही छैन। म, खुट्टा तन्काएर आरामले सुतिरहेको छु। श्रीमती छेउमा बसेकी छिन् । मोबाइल दर्ता भयो भएन थाहा छैन तर मेरो एउटा खुट्टा भने भुर्ता भएछ । म अस्पतालमा प्लास्टर चढाएर मोबाइल कम्पनीमाथि मुद्दा हाल्ने विचार गरिरहेको छु ।

०००
गोरखापत्र (२०६३ साउन २५ गाईजात्रा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x