मुन पौडेलमोबाइल क्रन्दन
निवेदन दर्ता गराउँदा भीडभाड भएर पुलिसले लाठी घुमाउँदा कैयौंको हातखुट्टा भाँच्चियो, टाउको फुट्यो भन्ने समाचार यिनै आँखाले पढेको हुँदा झन् मन तर्सिरहेको थियो ।

मुन पाैडेल :
तपाईंहरूले भन्नुहोला कि साँच्चै यो कुन युगको मान्छे हो ? भने भनिरहनुस् तर यथार्थ लुकाएर लुक्दैन । मसँग मोबाइल फोन छैन । हो मेरो अफिसका सबैसँग मोबाइल छ, मेरो बाथरुम सफा गर्ने भाइसँग पनि मोबाइल छ तर मसँग छैन । मलाई मोबाइल नभएर व्याइँले पनि छोएको छैन तर मेरी प्राण पियारी श्रीमतीलाई मोबाइल नभएर उनको मित्रमण्डलीमा मुखै देखाउन लाज भइरहेको छ । फलस्वरूप बिहान सूर्य उदय भएपछि उनको मोबाइलसम्बन्धी कचकच सुतिसकेपछि पनि चलिरहन्छ किनकि उनी सपनामा पनि मोबाइल, मोबाइल भनेर बरबराई रहन्छिन् ।
न म दुईले दस गर्ने व्यापारी, न बैंकहरूलाई डुबाउने उद्योगपति। एउटा सानो कर्मचारी/महिनाभर दगुरेपछि आठ-दस हजारसम्म कमाउने ज्यालादारी । यस्तो प्राणीलाई मोबाइलको के काम भन्नुस् त । भएको एउटा ल्यान्डलाइन फोनले बिल तिर्नलाई नै आपत् परिरहन्छ । तानतान तुन्तुन गर्दागर्दै बिल तिर्न भ्याइँदैन र प्रत्येक एक महिनापछि लाइन काटिरहन्छ । दूरसञ्चारले लाखौँ बक्यौता राख्नेहरूलाई त केही गर्न सक्दैन, हामीजस्ताको लाइनचाहिँ पन्ध्रसयभन्दा बढी बक्यौता भयो कि काटिदिन्छ । साथीहरूले पनि थाहा पाइसकेका छन् कि यो लुते मनुवाको लाइन हरेक एकदुई महिनाभित्र काटिरहन्छ । त्यसैले मौका पायो कि उल्याइहाल्छन् । यस्ता महानुभावले एउटा अर्को मोबाइल भन्ने भारी बोक्नु कहाँसम्म उचित हुन्छ, भन्नुस् त । तर श्रीमती मरे मान्न तैयार छैनन् । छोराछोरीहरू पनि उनैको पक्षमा छन्। “आजको युगमा एउटा मोबाइल त हुनै पर्छ ड्याडी” उनीहरू पनि कराउँछन् । म मनमनै मुरमुरिन्छु । तिमीहरूलाई टार्नु-पुऱ्याउनु छैन, फरमाइस गर्न के लाग्छ । एउटा पिरलो भए न हुन्छ । एउटा मोबाइलले हजार समस्या उब्जाएको छ ।
दर्ता गर्न सकियो र सिमकार्ड दियो भने सिमकार्ड त हजार-बाह्र सयमा कसै गरी लिइएला । अनि मोबाइल सेटचाहिँ कसले दिन्छ, ससुरालीले ? अहिले बिहे गर्नेहरूलाई त दिन्छन् पनि होलान् । छिमेकी मुलुकमा त अहिले बिहेमा सबभन्दा उपयुक्त उपहार मोबाइल नै भएको छ । जसले पनि मोबाइल सेट नै उपहार दिइरहेका हुन्छन् । आफू पनि ससुरालीतिर यसो आस लगाउन त भने ससुरा बिचरा आफैँले त मोबाइलको मुख देखेका छैनन्, मलाई के देलान्, सालो उल्टो दिदीचाहिँको पछि लागिरहेको छ एउटा मोबाइल किन्दे भनेर । आफूले कसलाई भन्नु । यसो काम चलाउनका लागि श्वेत-श्याम स्क्रिन भएको चार-पाँच हजार सम्मको जेनतेन किनूँ न त भन्दा लाजैमर्दो होलाजस्तो छ ।
सबैलाई देखासिकी लागेको छ । कसले महँगो मोबाइल राख्नसक्ने भन्ने प्रतियोगिता चलेको छ । कोही पचास हजारको मोबाइल हल्लाएर हिँड्छन् र समय कुसमय केही नहेरी अन्तरिक्षमा रकेट नै पठाउनया लेथेजस्तो दत्तचित्त भएर मोबाइलमा टाकटाक टुकटुक गरिरहन्छन् । कोहीकोही त हरेक महिना मोबाइल बदलिरहेका हुन्छन् । यस्तोमा आफ्नो पाँच हजार पर्ने सस्तो मोबाइल देखेर के भन्ने हुन् । हुन पनि कस्ता-कस्ता मोबाइल आइसकेका छन् । क्यामेरा भएका त सामान्य भइसकेका छन् । पूरा कम्प्युटर नै मोबाइलभित्र छिरिसकेको छ । अरूलाई त मेरो पाँच हजारको मोबाइलले के प्रभाव पर्छ, पछिको कुरा हो तर मेरी पियारीलाई नै सस्तो मोबाइलको कुरा पचेको छैन । उनी आफ्नो दुई तोलाको सुनको बाला बेचेर भएपनि मलाई शानदार मोबाइल किनिदिन दृढसंकल्प छिन् । खनखट्टामा काम लाग्छ भनेर बाला बनाइदिएको काम न काजको मोबाइलमा खर्च गर्न तैयार छिन् उनी । यसको के औषधी छ ?
आफूलाई त यो मोबाइल भन्ने घाँडोको अर्को पीर पनि छ । अब एउटा कल्पना गर्नुस् । तपाईसँग मोबाइल छ, तपाई काम न काजसँग त्यसलाई ओल्ट्याइपल्ट्याई गरिरहनुहुन्छ, कहिले खल्तीबाट झिकेर टेबुलमा प्रदर्शन गर्नुहुन्छ, कहिले बेल्टमा फिट भएको केसभित्रर घुसार्नुहुन्छ तर अफसोच । एउटा पनि रिङ आउँदैन । एक दिन आउँदैन, दुई दिन आउँदैन, तीन दिन आउँदैन । अनि तपाईंलाई वरिपरिका साथीभाइले के भन्छन् ? मोबाइल छ तर खर्चको डरले न तपाईं कसैलाई फोन गर्नुहुन्छ न कसैले तपाईलाई फोन गर्छ । मोबाइल घाँटीमा झुन्डिरहेको छ, खल्तीबाट चियाइरहेको छ तर फोनसोन आउँदैन । केटाकेटीको खेलौनाजस्तो । यस्तो भयो भने के गर्ने ? आफ्नो त्यस्तै ताल होलाजस्तो छ ।
सोझो, सिधा र लुते जागिरदारलाई कसले फोन गर्छ ? सधैं साँझपख जॉडपार्टी चलाउने, दलालहरू राखेर घूस खाने वा ख्वाउने, राजनीतिक दल र नेताहरूको लाउके बनेर काम गर्ने भए सत्र थरीका फोन आउँछन् । आफू त्यस्तो परिएन । अनि मोबाइलको के काम, भन्नुस् त । प्रदर्शनका लागि कि फोस्रो धाक र रवाफ देखाउनका लागि ? श्रीमतीलाई यो कुराहरू जति बुझाए पनि बुभिदनन् । उनको एकनासको रटना छ, मोबाइल चाहिन्छ । चाहिन्छ । अब क्यै लागेन र मोबाइल लिन पर्यो भने साथीभाइ गुहार्नुपर्ला, यसो बेलामौकामा हाय-हलो भन्न भए पनि फोन गरिदिनु भनेर । इज्जत त जोगाउनै पन्यो । तर मलाई थाहा छ, त्यसमा पनि मलाई धाक नै छ । एउटा साथी कस्तो व्यापारी बुद्धिको छ भने चार पटक फोन गर्दै भन्यो भने गरी त दिन्छ तर फोन गर्दा लागेको खर्च कुनै साँझ मसँग नछेराई छोड्दैन ।
श्रीमतीलाई मैले कति सम्झाइसकें हेर, हामीजस्तो मध्यमवर्गीय परिवारका लागि एउटा ल्यान्डलाइन फोन नै काफी छ । यो मोबाइल राख्नु भनेको हात्ती पाल्नुसरह हो । मोबाइल राख्नु साटो बरु भैसी पाल्यो भने फाइदा हुन्छ । केटाकेटीले शुद्ध दूध त खान पाउँछन् । यो मोबाइल त खर्चको घाँडो हो, फाइदा एउटै छैन, मात्र नोक्सानी । दिनभरि फोन गर, रातभरि चार्ज गर । साथीभाइहरूलाई फुर्तीफार्ती लगाउन नानाथरीका रिङ टोनहरू डाउनलोड गर र महिनैपिच्छे बिल तिर वा नयाँ सिमकार्ड र क्वाको भ्यागुतोजस्तो त्यही मोबाइलरूपी कुवामा साउने भ्यागुतोजस्तो रङमङिरहु । अर्थ न बर्थसँग काम न काजसँग एसएमएस गर, अश्लील र हावादारी चुट्किला र लतिफाहरू एसएमएस गरेर साथीभाइहरूलाई पठाऊ आफ्नो सिर्जनशीलता त नष्ट गर गर, अरूलाई पनि दुर्गन्धित बनाऊ र जाँड बहादुरहरूले मोटरसाइकल वा मोटर चलाउँदाचलाउँदै मोबाइलमा कुरा गर र एकै पटक यमराजको दरबारमा हाजिर हुन पुग । आफू पनि मोटरसाइकल चलाएर हिँडिन्छ आपत्तै छ ।
अचानक हाम्रो शहरमा रीटा, केटरिना जस्ता नानाभाँतिका आँधीहरू एकैपटक आएको जस्तो एउटा खबर फैलियो, प्रिपेडको निवेदन बाँड्ने भो अरे । यो खबर सुन्नेबित्तिकै श्रीमती प्रसन्नताले बुलुकबुर्लुक उफ्रिन थालिन् । जनआन्दोलनमा पनि नतातेको यो मुर्दा शहर त रन्थनिएर पो आयो । हरेक घरमा, हरेक व्यक्तिको मुखमा, अफिसमा, पसलमा, सडकमा, चोकमा एउटै चर्चा, प्रिपेड मोबाइल बाँड्ने भो । तर सबैको मुखमा चिन्ता भीड हुन्छ, मारामार हुन्छ, कसरी दर्ता गराउने । म पनि श्रीमतीको कान निमोठाइबाट सक्रिय भए र पियनलाई भनेर जसोतसो निवेदन फर्म मगाएँ। आइमाईहरूको लाइन छोटो हुन्छ होला भन्ने आशले श्रीमतीको नाममा भरू त भने मेरी एक क्विन्टलको श्रीमती दस मिनेट सोझो भएर उभिन सक्दिनन्, लाइन लागिन् भने त त्यहीँ सिद्धिन्छन् भनेर आफ्नै नाममा निवेदन भरें।
अब सबभन्दा ठूलो समस्या निवेदन दर्ता गराउन थियो । पैंतीस हजार त दूरसञ्चारबाट निवेदन नै बाँडिएको थियो त्यसमाथि इन्टरनेटबाट पनि निवेदन झिक्ने कति होलान् । म निवेदन दर्ता गराउन जाने हिम्मत जुटाउन सकिरहेको थिइन । कसैलाई पठाउँन त भन्दा आफैँ जानुपर्छ रे भन्ने हल्लाले श्रीमती अरू कसैलाई पठाउने पक्षमा थिइनन् । उनलाई जसरी भए पनि मोबाइल नभई भएको थिएन । आफ्नोचाहिँ हंसले ठाउँ छोडिरहेको थियो । सिनेमाको टिकटसम्म किन्न नसक्ने मनुवाले दिनभरि लाइन लागेर निवेदन दर्ता गराउन सक्छ ? त्यसमाथि कताकतातिर हो, यस्तै निवेदन दर्ता गराउँदा भीडभाड भएर पुलिसले लाठी घुमाउँदा कैयौंको हातखुट्टा भाँच्चियो, टाउको फुट्यो भन्ने समाचार यिनै आँखाले पढेको हुँदा झन् मन तर्सिरहेको थियो ।
हेर्नुस् त आपत्, अफिसको पियन मोबाइल बोकेर हिँड्ने, हाकिम लुते एउटा मोबाइल राख्न नसक्ने । धेरै बेरसम्म त्यहाँ रङमडिरहें कोही भेटिहाल्छ कि, क्यै भैहाल्छ कि, कुनै चमत्कार भएर निवेदन दर्ता भइहाल्छ कि । तर केही भएन । लाइनको लम्बाइ देखेर लाइन लाग्ने हिम्मत भएन । लुसुक्क घर फर्के र आरामले मुखमा बुजो लगाएर श्रीमतीको गाली सुनिरहें। एउटा साथी लाइनमा लागेको थियो, त्यसको के भएछ भनेर सोधेको त बिहान पाँच बजेदेखि लाइनमा लागेको राति नौ बजे दर्ता भयो अरे । त्यही साथीले एउटा सूचना पनि दियो, दर्ता गर्ने म्याद एक दिन थपियो भनेर ।
श्रीमतीलाई पुगिगो, राति बाह्र बजे नै उठाएर लघारिन् । जे त हुन्छ भनेर म पनि लाइनमा लागें। त्यसपछि भन्ने सुन्ने कुरा केही छैन। म, खुट्टा तन्काएर आरामले सुतिरहेको छु। श्रीमती छेउमा बसेकी छिन् । मोबाइल दर्ता भयो भएन थाहा छैन तर मेरो एउटा खुट्टा भने भुर्ता भएछ । म अस्पतालमा प्लास्टर चढाएर मोबाइल कम्पनीमाथि मुद्दा हाल्ने विचार गरिरहेको छु ।
०००
गोरखापत्र (२०६३ साउन २५ गाईजात्रा)
Subscribe
Login
0 Comments
Oldest







































