मुन पौडेलयुवाको स्तुतिगान
अब त तिम्रो रगत पनि बिक्तैन । कसैले तिमीहरूलाई सैनिक बनाई भाडामा पनि लाग्दैन । उनीहरूलाई त शुद्ध गोर्खाली रगत चाहिन्छ । तिमीहरू त प्रदूषित भैसकेका छौ ।

मुन पाैडेल :
हे सुन्दर, शान्त र विशाल देशका अति तेजस्वी युवाहरू ! आज म यहाँहरूको स्तुतिगान गर्न बसेको छ । हुन त यहाँहरुको तेज वर्णन हजार जिब्रा भएका शेषनागले त गर्न सक्तैनन् भने म दुइ जिब्राले के सकूँला । तथापि म कलियुगको दुईजिब्रे भएको हुँदा शेषनागका हजार पनि परास्त गर्न सक्छु कि भन्ने मेरो धारणा रहेकाले प्रयासरत छु।
हे कानमा आइमाईको जस्तो मुन्द्री लगाएर झाँक्रो फिंजाएका पङ्कहरू ! तिमीहरूको केटी जिस्क्याउने महान् पुरुषार्थप्रति म नतमस्तक र निर्दोष कन्याहरूलाई आफ्ना छुद्रतम काक्षहरूले आकृत, अपहेलित पार्ने नाबालक कामदेवहरू । तिमीहरू ठिटी जिस्क्याउने कार्यका लागि गिनिज बुक अफ वर्ल्ड रेर्कडमा नाम लेखाउन किन मुन्टिदैनौ ? नेपालको प्रतिष्ठा किन बढाउँदैनौ ? हे कपाल काट्दाकाट्दै पुलिसले लखटेका जस्ता अगाडि छोटा पछाडि लामा कपाल भएका जङ्कीहरू । तिमीहरूले आफ्नो अनुहार हेरेका छौ ? कर्तुतलाई विचारेका छौ ? हे चटकेले नचाउँदै हिँडेको जस्तो मङ्कीहरू ? कमसेकम पशुपतिका खाइलाग्दा ढेडु जस्ता नै हुँदो हाै। किन आफ्ना पूर्वजहरूभन्दा पनि थोत्रा भएका टाउकामा गिदी होस् नहोस् बाहुमा तागत होस् नहोस् तर भुँडीमा जाँडका टङ्कीहरू भएका हे जङ्की मङ्कीहरू ! तिमीहरूलाई पसिना बगाएर नङ्ग्रा खियाएर खान गाह्राे भएको देख्दा डङ्की भनौँ भने बिचरा डङ्कीकै उल्टो मानहानी होला जस्तो लाग्छ ।
हे आमाको दूध चुस्न छोड्नेबित्तिकै चुरोट चुस्न सुरु गर्ने कर्कटहरू ! थाहा त छ तिमीहरूलाई ? मन मर्ने लाग्या कि तिमीहरू के चुसिरहेका छौ ? त्यतिले नपुगी गाँजा, अफिम, स्स्याक र फेन्सिडिलले किन आफूलाई किल गर्न खोजिरहेका छौँ ? मर्ननै मन छ भने हिमालमाथि चढेर हामफाल न, क्यै त कीर्ति रहला । क्यै त फिल गर नशाका चाकरहरू । चाकर नै बन्नु छ भने मातभूमिका बन, जननीको बन । हे यस युगका बँकटे र छाँकटे पङ्क र महाभारत युगका कङ्कहरू । तिमीहरू विद्या. ज्ञान, नाम कीर्तिलाई भने चिन्दैनौ तर रन, ट्रायल, फराँसचाहिँ कसरी चिन्छौ हँ ? खाल, कौडा, चौका र छक्कामा झन् तिमीहरू शकुनि कसरी भएका हँ ?
हे ठिटीहरूका ह्यान्डसम हिरोहरू । पढ्न लेख्नमा जिरोहरू । कुरा गर्नमा र गुड्डी हाँक्नमा पिरोहरू ! पोस्टरमा हिरोइनसँग गाला जोरेर भुँडी भरिन्छ ? माइकल ज्याक्सनको धुनमा जिन्दगीभर नाची नै रहने विचार छ ? धरातलमा आफ्नो हेर कति कठोर छ वास्तविकता । नाच्ने र गाउनेबाहेक पनि क्यै गर । गर्ने कुरा धेरै छन् । हे बाबुआमाका प्याराहरू ! हे पुलपुलिएका दुलाराहरू ! हे आँखाका ताराहरू ! तिमीहरूको यो महान् ‘प्रगति’ तिम्रै बाउआमाको कारणबाट त होइन ? अनावश्यक रूपमा सुमसुम्याएर, पुलपुलाएर, जे भन्यो उही दिएर, पैसाको थैली फोएर कतै तिमीहरू असमयमै जबान भएका त होइनौ ? हे नेपालमा पास हुन नसकेपछि उँधोमुन्टो लाएर पैसाको भरमा छिमेकी मुलुकबाट फस्ट क्लास फस्ट भई डाक्टर हुन थालेका लाछीहरू । तिमीहरूजस्ता सबै डाक्टर भइदिए यहाँका रोगीहरू त्यसै मरे भएन ।
हे नसानसामा शुद्ध रगतको साटो सुर्तीको झोल दौडाउने पिचपिचेहरू ! अब त तिम्रो रगत पनि बिक्तैन । कसैले तिमीहरूलाई सैनिक बनाई भाडामा पनि लाग्दैन । उनीहरूलाई त शुद्ध गोर्खाली रगत चाहिन्छ । तिमीहरू त प्रदूषित भैसकेका छौ । खुकुरीको धार कुँडिइसक्यो अब तिमीहरूको ।
हे नेपाली युवाहरू ! जाग, उठ, जुरमुराओ कुलत छाड । दुर्भावनाहरू त्याग । कामको महत्त्वलाई बुझ साँच्चैको युवा बनेर देखाओ मुलुक युवाहरूकै काँधमा हुन्छ । हाम्रो मुलुक बाँझो छैन । खेत खन्यो भने सुन निस्किन्छ ? पानी थाप्यौ भने चाँदी बन्छ । परिश्रम गर्न सक्नुपर्छ, पसिना बगाउन सक्नुपर्छ । नेपाल आमाको अनुहार उज्ज्वल पारेर त हेर युवाहरू । तिमीहरू लायक सपूत बनेर त देखाओ युवाहरू । अनि म फेरि एउटा नयाँ स्तुतिगान लेख्नेछु। जसको मसी तिम्रो पसिनाको हुनेछ । र जसको ताज सर्वोच्च हिमालयभन्दा पनि बढी हुनेछ । मलाई विश्वास छ, तिमीहरूले मलाई त्यो मौका अवश्य दिनेछौ ।
०००
प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध (२०६५)
Subscribe
Login
0 Comments
Oldest







































