साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कट्टु हराएको सूचना

अफिसमा फ्यात्तै खसेको कट्टुको इलास्टिक चुँडाएर छोराले गुलेली बनाएछ । कट्टु कोटको भित्रपट्टी अल्झाइदिएछ । ठुलो भूमिका हुँदाहुँदै उसको अस्तित्व छैन, पारदर्शिता छैन । सायद असह्य भयो, खस्यो ।

Nepal Telecom ad

संप्रस पाैडेल :

अफिसमा काम गर्दागर्दै जुरूक्क उठ्नेबेलामा एकदिन जिउबाट भुइँमा फ्यात्त कट्टु खस्यो । झ्यालमा सेवाग्राहीको लाइन । कानेखुसी गर्न थाले । तिनले बाहिरको भीडमा कानेखुसी गरेपनि मैले भित्र सुनसान हुँदा नसुन्ने कुरै भएन । प्रष्ट पारेँ- मेरै हो ।
थाहा पाएछ भनेर कानेखुसी नगरी गलल हाँसे ।
उनीहरू भन्दैथिए- कट्टु पो हराएको त कस्तो दिमागै घरमा छुटेजस्तो ढिलासुस्ति गरेको त ?
००
आज त कट्टु नै हरायो । मूल मन्त्र यही हो- म हराए पनि कट्टु हराउन भएन । कट्टु हराउँदा मेरो सर्वस्व गए जस्तो लाग्छ । कसैलाई मन परेर चोर्लान् कि भनौँ भने मेरो कटुटु त रङ्गीचङ्गी पनि छैन । टिकटक बनाउँदा पनि लाजै हुने सादा एउटै रङको कट्टु त के चोर्नु हौ । मैले टिकटक नचलाएको कारण पनि यही कट्टु हो । टिकटकवाला चोर पर्यो भने उसले मलाई पो फसाद पार्ने भयो ।
उसलाई थाहा हुनुपर्छ सादा कट्टुले फलोअर्स बढाउँदैनन्, रङ्गीचङ्गी भए- “यस्तो कता पाइएला ? कतिमा किन्नुभयो ? Looking handsome” यस्तै यस्तै प्रतिक्रिया पनि आउँदो हो ।

कट्टुमा लगानी नगर्ने मबाट रङ्गिचङ्गी कट्टु लाउनेले पनि सिक्नुपर्ने हो । सर्वहाराको वास्तविक प्रतिनिधि म हुँ तर जहिल्यै कोटप्यान्ट र टाइ भिर्नेचाहिँ मेरो नेता हुँदोरहेछ । सादा कट्टुहरूलाई रङ्गिविरङ्गीहरूले ढपक्क छोपेका हुँदारहेछन् ।
००
कट्टु हरायो भन्ने मुद्दाबाट म बहकिन पुगेँ । कट्टु मेरो पहिचान थियो । छतमा सुकाउन राखेको कट्टु कहिलेकाहीँ हावाले उडाएर पल्लो घरको छतमा पुर्‍याइदिन्थ्यो र फिर्ता आउँथ्यो । कट्टुले छिमेकीको छत, बरण्डा, आँगन मात्रै होइन स्ल्याब ढलानसम्मको यात्रा पनि तय गरिसकेको हुँदा यो मेरोलागि खास थियो । विदेशै पुगेपनि यसले रेमिट्यान्स नतिर्ने हुँदा कसैलाई ट्याक्स, भन्सार, चियाखर्च तिर्ने कुरो पनि भएन ।

कट्टुले सिकाएको अर्को पाठ के भने ‘रेमिट्यान्स तिरेर देश बनाएँ’ भन्नु पनि बेकार लाग्छ । हैसियतअनुसार गाडी चढेका छन् । साइकल चढेका छन् । हो सादा वा रङ्गिविरङ्गी जेहोस् कट्टु पनि सबैले लाएका छन् तर लाएको छु भनेर कोही कराउँदै हिँड्दैनन् । बोल्नेको पिठो बिक्छ भन्दैमा कति कुरा त सुनाउँदै हिँड्न नहुने पो रहेछ ।
००
यो शीर्षक पढेर तपाईँलाई प्रतिक्रिया दिन मन नलाग्ला । कट्टु नलाइ हिँड्ने मान्छे कि त बालबच्चा हो, कि त झुण्ड्याएको कट्टु उडाएझैँ सन्तुलन गुमाएको मान्छे । तपाईँ भन्नुहोला सन्तुलन गुमाएको मान्छेलाई कट्टुसँग तुलना किन गरेको ? मैले पनि भन्नुपर्ला- कट्टु शीर्षकमा लेखेपछि कट्टुलाई पो तुलना गरेको, अरूसँग के मतलब ? प्रतिक्रिया दिन तपाईँ स्वतन्त्र हुनुहुन्छ । आखिर स्वतन्त्र भन्ने नै को रहेछ र ? सबका सब दिमागमैँ कट्टुको बन्धन लाएका । उसो भए एक पटक कट्टु फुकालेर पो सोच्ने हो कि !
००
फेरि भट्किएँ । त्यो दिन कट्टु चोरी भयो ।
देशमा ठुलो क्रान्ति भयो, उहीक्रममा आन्दोलनको मौकामा सुनदेखि नुनसम्म पाइने पसल लुटिए । कोही रक्सी बोक्ने, कोही घरमा पिउन नपाइने हुँदा त्यतै धोक्ने । कोही क्रिम बोक्ने, कोही आइसक्रिम बोक्ने । कोही कोही त म्याट्रेस बोकेर कुदेका पनि देखियो । देश बनाउन सपना देख्नुपर्छ, सपना देख्न सुत्नुपर्छ । मिठो निन्द्रा त म्याट्रेसमैँ लाग्दो हो ।
३ दिनदेखि कट्टु हराएकोले निदाउन पनि सकिरहेको छैन । सपना त अर्कै भयो । ऐँठन मात्रै देख्छु ।
००
आन्दोलनका क्रममा सरकारी कार्यालयका सामान लुटिए । पिर्का नअट्ने घरभित्र कुर्सी र दराज खाँदेर मान्छेहरू आँगनमा सुतिरहेका छन् । ७ धुरमा घर बनाएर रमाइरहेको मेरा लागि मन्त्रालयका लागि ठुला ठुला बिल्डिङ अनि अर्काका गाडी राख्न बनाइएका पार्किङस्थल बेरूपको लाग्ने नै भयो । तिनलाई चोरहरूले ३ वटा मन्त्रालय त दुइवटा घरमैँ खाँदेर बडो मितव्ययिता पो देखाएछन् ।
क्रान्तिको बेलामा व्यापारिक केन्द्रमा आफ्ना कट्टु छोडेर नयाँ नयाँ लुगा चोरेको देख्छु । घरघरमा भाँडाकुँडा लुटेर कट्टु नै नलाइ हिँडेका असभ्यहरूको ताँती देख्छु ।
कट्टुको आफ्नै नियम छ । जति मितव्ययी भए पनि बुढाबुढी कट्टु साटेर लाउन नहुनेरहेछ । मन्त्रीहरूले कट्टु लाए पनि कहिल्यै नचेत्ने भए । नीति बनाउनेहरूले लाज कहिल्यै सम्झिएनन् । कर्मचारीदेखि सेवाग्राहीसम्म कट्टुलाई हेपिरहे तर पाठ कहिल्यै सिकेनन् ।
००
अघि नै भनेँ नि, अफिसमा जुरूक्क उभिँदा कट्टु फ्यात्तै खस्यो । कट्टु लाएको ठाउँबाट होइन, नलाएको तिरबाट खस्यो । ढाडतिरबाट हुनुपर्छ सायद ।
त्यो बिहान नयाँ कट्टु नभेटेपछि पुरानै लाएर अफिस आएको थिएँ । अफिसमा फ्यात्तै खसेको कट्टुको इलास्टिक चुँडाएर छोराले गुलेली बनाएछ । कट्टु कोटको भित्रपट्टी अल्झाइदिएछ । ठुलो भूमिका हुँदाहुँदै उसको अस्तित्व छैन, पारदर्शिता छैन । सायद असह्य भयो, खस्यो ।

वरपीपलको रूखमुनि जानु परेन, भोकभोकै अनिँदो बस्नु पनि परेन । देशको कट्टु खस्दा बरू हाँसेर टार्ने तर उठाउने हिम्मत कसले गर्ने ?

एक्कासी दिव्यज्ञान घुस्यो । देश देश भनेर म यसैगरी अल्झिएको थिएँ, अहिले फ्यात्त भुइँमा थच्चिरहेको छु । कट्टु अलि पर भुइँमैँ छ, बरू मलाई गिज्याइरहेको छ । सेवाग्राहीहरू अझै कानेखुसी गर्दैछन् ।

०००
हेटौँडा, २०८२ भाद्र २९
(लेखक सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x