साइबर अपराध सम्बन्धी सचेतना सामग्री

AKD अर्थात् अन्तर्राष्ट्रिय खिचडी दल

आफ्नो स्टाटस नातिनातिनाले अपडेट गरिदिनुपर्ने  ’बयोजेनजी’हरूलाई खादमाला, चियाचमेना, ह्विस्कीचुस्कीको सट्टा दलमा स्वागत गर्दै जेनजी पण्डितहरूद्वारा ग्रहशान्ति पूजा लगाइदिनेछौँ ।

Nepal Telecom ad

संप्रस पौडेल :

सम्बोधनः
– स्रोत भोलि लेखौँला पहिले समाचार छापौँ भन्दै हावा खाएका मिडियाकर्मी साथीहरू,
– हावा मिडियाका हावा खबर पत्याएर हावातालमा सामाजिक सञ्जालमा लङ्गौटी उडाएका जनताहरू,
– भेट्टाएको लङ्गौटीको लम्बाइ हेरेर महाभारतमा भीमसेनको लङ्गौटी हो भन्दै तर्क दिने तर्कशास्त्रीहरू,
– साँझको तरकारी बजारमा पोको पारेर दलैपिच्छे बेचबिखनमा परेका फोसाका समालोचकहरू,
– त्यही झोलामा गन्हाउने सिद्धान्तसँगै च्यापिएका विद्यार्थीहरू,
– आदर्श बाँड्दाबाँड्दै आफू रित्तै भएर राहदानी छपाउन तयार शिक्षकहरू,
– सबै शासन व्यवस्थामा आँशुका टाटा बोकेर दलका भाटा उचाल्न बाध्य चरम पीडित मजदूर, किसान र श्रमजीविहरू,
– बाँकी सबै तँ, तिमी, तपाईँ अनि हजुरहरूलाई हार्दिक नमस्कार ।

आज हामी AKD अर्थात् अन्तर्राष्ट्रिय खिचडी दल आधिकारिकरूपमा दर्ताका लागि तयारी गरिरहेका छौँ । साथै आज नै खिचडी दल घोषणापत्र (मेनिफेस्टो) सार्वजनिक गर्न गइरहेका छौँ ।

१. प्रस्तावना
हामी, भाँडा, चम्चा र थालहरूलाई साक्षी राख्दै देशलाई “मिश्रणका जुक्ति, तनावको मुक्ति” अभियान ल्याउनेछौँ ।
हामी विश्वास गर्छौं- ट्रम्प, पुटिन, किम र जि फिङलाई समेत मिलाएर विश्व सरकार बनाउने छौँ । जसलाई AKD नामले चिनिनेछ ।

२. सदस्यता नीति
गन्जी, टाइ वा लङ्गौटी अनि बिकिनी, सारी, खराउ वा हिल — सबै पहिरनका नागरिक स्वागतयोग्य।
लेबीका लागि १ रूपैयाँ पनि दिन नमान्ने महाकञ्जुसहरूलाई पनि अटाइने ।
चुनावअघिपछिका हरेक कार्यक्रममा थाल, कटोरा, दुनाटपरी आफ्नै ल्याउनुपर्ने- आफ्नोमा भोज नचल्ने
तर अर्कोको भोज नछोड्ने ।

३. कार्यकर्ता छनोट नीति
– “कालोलाई सेतो हो बाबु भन्दा हो त नि बा” भन्न सक्ने,
– “रूखमा गाई चढ्यो” भन्दा “अँ, त नि आमा! देखेकै हुँ ।” भन्न सक्ने।
– नेताको कमजोरीलाई “राजनीतिक रणनीति” भन्न जान्ने ।

हरेक वक्तव्यपछि “जय खिचडी!” भनी मान्ने ।

४. मनोरञ्जन नीति
– जोडी ल्याउनेहरूलाई पहिलो प्राथमिकता ।
– गाँजामा लठ्ठिनेला क्रियटिभ थिङ्कर उपाधि दिलाइने ।
– पुरूषले सङ्गिनी सुइ लाए पनि हुने, महिलाले गुट्खा खाएर पुरूषको पोल्टामा पिच्कारी मार्न पनि पाइने ।
– विदेशी काठ किन्न निषेध गर्दा Wood Committee बनेजस्तो रमाइलो नभएमा पार्टीमा “Mood Committee” गठन गरेर मनोरञ्जन आदानप्रदान गरिने ।
– देशको संविधान थाहा नहुने तर अमेरिकाको आप्रबासन नीतिको गीत गाएर कण्ठै हुने गराइने ।

५. प्रविधि नीति
– AI प्रयोग गरेर विपक्षीको स्वर, अनुहार र सोच बदल्न सक्ने दक्ष कार्यकर्ता भर्ति गरिने ।
– आफ्नाविरूद्धको हरेक ट्रोल र मिमलाई “AI verified” भन्न पाइने स्वतन्त्रता ।
– ChatGPT लाई पार्टीको आधिकारिक प्रवक्ता घोषणा गरिने ।
– Whats App बाट सुझाव सङ्कलन गर्ने, Google बाट नीति तयार पार्ने र TikTok बाट प्रचार गर्ने ।
– शिक्षा लिएको गुरूलाई नचिन्ने, बाआमालाई नपत्याउने, देशलाई देशै नठान्ने, चुनावमा प्लेन भाडाका लागि विदेशमा ओभरटाइम  परिश्रम गर्ने र प्रचारप्रसारलाई बेलाबेला प्लेनका टिकट पठाउने ।
– आइफोन टुसाउँदै गरेको छ आफू पुग्दा ठिक्क टिप्नेबेला हुन्छ भनेर मान्ने ।

६. ज्ञान र चेतना नीति
– देशको संविधान नबुझे पनि अमेरिकाको भिसा नियम कण्ठै हुनुपर्ने ।
– विज्ञान बुझ्नै नपर्ने, जता गए पनि Wi-Fi password ह्याक गर्ने तरिका चाहिँ जान्नै पर्ने ।
– गुरु चिन्न नपर्ने, बाआमालाई मान्न नपर्ने ।
– “म देशका लागि होइन, सामाजिक सञ्जालका लागि 'स्ट्रगल' गर्छु” भन्ने चेतनाले ओतप्रोत ।

७. प्रचार नीति
– अगुवाहरूको प्रत्येक भाषणका क्रममा ताली बजाउने समूह आफैँ ल्याउनुपर्नेछ ।
– आफ्नो हरेक असफलतापछि “सर्भर डाउन” भनेर टार्नेछौँ ।
– प्रेस सम्मेलनमा माइकभन्दा ठूलो हल्ला गराउनेछौँ ।

नाराः
“एकता, भत्ता र सेल्फीका लागि आजै जुटौँ!”

८. राष्ट्रिय नारा
– “जहाँ दाल, भात र तरकारीमा र जनता पनि मिसिन्छन्, त्यहीँ खिचडी दल उदाउँछ।”

९. निष्कर्ष
हामी वाचा गर्छौं- देश बनाउने होइन, देशभित्र दललाई भाइरल बनाउन कसरत गर्नेलाई आँखा चिम्लेर दलमा स्वागत गर्दछौँ । साथै हामी अन्य दल छोडेर आउने जेनजीको खोल ओढेका बोनसका जीवन बाँचिरहेका अगुवाहरूलाई दसदान बैतर्णी निशुल्क गराइदिनेछौँ । पाका मानिसहरूलाई तिनका बितिगएका अग्रजहरूका श्राद्ध गर्ने व्यवस्था मिलाइदिनेछौँ । अन्य दलमा कुरा नमिलेर चुपचाप बसेकाहरू, आफ्नो स्टाटस नातिनातिनाले अपडेट गरिदिनुपर्ने  ’बयोजेनजी’हरूलाई खादमाला, चियाचमेना, ह्विस्कीचुस्कीको सट्टा दलमा स्वागत गर्दै जेनजी पण्डितहरूद्वारा ग्रहशान्ति पूजा लगाइदिनेछौँ ।

अन्तमा, हामीलाई बेवास्ता गर्ने जेनजीदेखि, उल्लिबिल्ली लाउने अधवैँशे अनि चुक्लीचाप्लुसीका अनुभवी बयोवृद्धसम्म AKD मा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ ।

०००
(लेखक सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विभुषण पाउनेमा

विभुषण पाउनेमा

संप्रस पाैडेल
आलुवाद जिन्दावाद !

आलुवाद जिन्दावाद !

संप्रस पाैडेल
कट्टु हराएको सूचना

कट्टु हराएको सूचना

संप्रस पाैडेल
हाम्रो नेपाल

हाम्रो नेपाल

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x