साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोनिटाइजमा महाराजको दिव्योपदेश

हिजो “मोनिटाइज सहकार्य”, आज “फलानोलाई जिताऔँ अभियान” । महाराज अलप, डलर अधुरो, मोनिटाइज अधुरै । राज्य जित्न तलबार चाहिन्थ्यो, आज ध्यान जित्न स्क्रोल ।

Nepal Telecom ad

संप्रस पाैडेल :

एकाबिहानै फेसबुकको एउटा “मोनिटाइजका लागि सहकार्य गरौँ” भन्ने ग्रुपमा राष्ट्रनायक स्वयं सक्रिय देखिए ।
इतिहास पढ्न अब किताब पल्टाउनु पर्दैन रहेछ, फेसबुक स्क्रोल गरे पुग्ने ।

पुस २७ मा सरकारले बिदा दिएको छ, त्यसैले होला- राज्य विस्तारभन्दा मोनिटाइज अभियान सक्रिय ।

डलरको लोभले मैले पनि मेन्सन हानेँ- ‘@पृथ्वीनारायण शाह – राष्ट्रनायक’ फलोअर्स तीन अङ्कको K, मेरो पनि बढाइदिनु पर्‍यो नि ! इनबक्समा बोलाइयो ।
लाइक, कमेन्ट, शेयरको सन्धी होला भनेर उतै हान्निएँ ।
तर उताबाट आयो- “visit the given links.”

भिडियो खोलें, स्क्रोल गर्दै जाँदा यति तल पुगेँ कि जमिन उत्खनन् गरेको भए मरुभूमिमा पनि पानी निस्किन्थ्यो । जमिनमा भए म्याराथन जितिन्थ्यो ।

स्कुल पढ्दा कन्ठस्थ उक्ति थियो-
लमजुन् भन्याको गरुड हो । गोर्षा भन्याको सरप हो । नेपाल भन्याको भ्यागुता हो । गरुडको अघि आषा छलनु । तब सर्पले भ्यागुतो षान पाउछ ।

छन त महाराजलाई सम्झाउन मन थियो । डिजिटल युगमा गरूड भन्याका अमेरिका हो, भीउसेन थापाले कोखामा दाँत भयाका भन्थे । अस्ति मातरै भेनेजुएलाका मादुरोलाई माकुरोले झिँगो टिप्याजस्तो टपक्क टिपी लग्दा भया ।

एकछिनपछि महाराजबाट थम्ब्स अप इमोजी आयो । सायद दिव्योपदेश यही हो- हेरेपछि बुझिहाल्छस् !

समय फेरिएको रहेछ महाराज । पहिले राज्य खुकुरीले जितिन्थ्यो, अहिले reach, views र engagement ले । सिक्का अब भर्चुअल भएको छ । दिव्योपदेश एआइले दिन थालेको छ ।

बस्न्यात, थापा, पाँडेहरूका जो बचेकाहरू रीलमा रोइरहेछन्, स्टोरीमा हाँसिरहेछन् । कसैका छोराछोरीहरू ‘सब्सक्राइब’ माग्ने त कसैका ‘स्टार’ बाँडिरहेछन् । इतिहास अब सालिकमार्फत् होइन, कन्टेन्टमार्फत् लेखिन थालिएको छ । विजयर्‍याली होइन, स्टोरी, रिल, पोस्टादीमार्फत् गाली पाउँदा पनि भाइरल भइयो भनेर सेलेब्रेसन गर्ने बेला आयो ।

सजिलो भो महाराज, घरमैँ बस्यो ट्याप ट्याप गर्‍यो । भ्यूज बटुल्न गुन्द्रुक र पिठो बोकेर पल्लो किल्लासम्म जानु परेन । फेसबुक मोनिटाइज सहरकार्यका लागि लमजुङे राजासँग सन्धी गर्नै परेन । उबेला हजुरले बिनाफ्वाँकमा दुख बेसाउनुभो । मकवानपुरमा आँखा गाडेर ससुरालीकै घिउ खाँदै जेठान दिग्बन्धन सेनलाई लखेट्नुभो । यतिखेर भए त पक्ष विपक्षमा ह्यासट्याग अभियानै चल्थ्यो । त्यसकै नाममा कन्टेन्ट क्रियटरहरू बढ्थे ।

आजको पाठ सिकियो । बाँकी भोलिका लागि भन्दै मोबाइल चार्जमा जोडेर निदाउँदा भया ।
भोलिपल्ट ग्रुप खोजेँ- ग्रुप बेपत्ता ।

हिजो “मोनिटाइज सहकार्य”, आज “फलानोलाई जिताऔँ अभियान” ।
महाराज अलप, डलर अधुरो, मोनिटाइज अधुरै ।

राज्य जित्न तलबार चाहिन्थ्यो, आज ध्यान जित्न स्क्रोल । अस्तु ।

०००
हेटाैँडा। मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x