निमेश निखिलआगोको लय
धेरै भइसक्यो निमुखा जनताको धैर्यको परीक्षा होसियार ! जीवनभर जुत्ता–चप्पल नदेखेका अनुभवी पाइलाको हुल बोकेर त्यही आगो आँखाभरि अब तिमीहरूको शयनकक्षसम्म आइपुग्न सक्छ ।

निमेश निखिल :
विद्रूप समयको शिखरमा छ देश आज
इमानमा बाँच्नेहरू
भोक सुमसुम्याएर अभाव गाइरहेछन्
इमानको जामा फुकालेर निर्लज्ज घुम्नेहरू
स्वर्गीय सुखभोग गरिरहेछन् ।
काण्डैकाण्डको भुँमरीमा छ देश
विश्वासको मत लिएर जानेहरू नै
सबैभन्दा धेरै
गरिरहेछन् विश्वासमाथि विश्वासघात
नपुगेर हाम्रो पसिना पिएर
नअघाएर राम्रो रगत पिएर
तिनीहरू हवाईजहाज खान थालेका छन्
महामारीमा हामीले नपाएको औषधिमाथि
कमिसन खान थालेका छन् ।
लुछिरहेछन् कमजोर देशका चोक्टाहरू
दायाँबाट लुछिरहेछन्
बायाँबाट लुछिरहेछन्
दिनानुदिन आविष्कृत भइरहेछन्—
एकपछि अर्का लुटका नयाँ नयाँ प्रविधिहरू ।
शिक्षालयमा शिक्षा नभएपछि
न्यायालयबाट न्याय हराएपछि
हेर्दाहेर्दै सेवा व्यापारमा रूपान्तर भएपछि
हिँड्नका लागि पाइताला अटाउने सडक नभएपछि
रात–दिन पसिना बगाउँदा पनि
भोकले आतङ्क मच्चाउन नछाडेपछि
देशले ओत दिन नसकेर विदेश पस्नुपरेपछि
अनि विदेशी भूमिमा रगत र आँसुले आर्जेको कमाइ
दिनदहाडै लुटिएपछि र खोसिएपछि
मान्छे आगो बन्दो रहेछ ।
म गाउँहरूमा आगोका लप्का देखिरहेछु
म सहरहरूमा आगोका लप्का देखिरहेछु
म सडकहरूमा आगोका लप्का देखिरहेछु
म मान्छेहरूका आँखा आँखामा आगोका लप्का देखिरहेछु
मान्छे आगो बन्नु यो परिवेशका लागि खुसीको कुरा हो ।
धेरै भइसक्यो निमुखा जनताको धैर्यको परीक्षा
होसियार !
जीवनभर जुत्ता–चप्पल नदेखेका अनुभवी पाइलाको हुल
बोकेर त्यही आगो आँखाभरि
अब तिमीहरूको शयनकक्षसम्म आइपुग्न सक्छ
तहसनहस हुन सक्छ
अँध्यारो धनले सजिएको तिमीहरूको उज्यालो बैठक
हेर्दाहेर्दै माटोको थुप्रामा परिणत हुन सक्छ
पापैपापले चुलिएको तिम्रो स्वप्नमहल
लाचारीको लामो निद्राबाट अब हामी ब्युँझिसकेका छौँ
होसियार !
हामी आँखामा आगोको लय सजाएर हिँडेका छौँ
हामी पाइला–पाइलामा आगोको लय टेकेर हिँडेका छौँ
र,
मान्छे आगो बन्नु यो परिवेशका लागि खुसीको कुरा हो ।
०००
हेटाैँडा
Subscribe
Login
0 Comments
Oldest







































