मुन पौडेलकाठमान्डूको यात्रा : रामप्रसादको जात्रा
मेलम्ची के कामले जाने बा ? सोध्यो चालकले । मधेशबाट आएको मान्छे पानी नपाएर नुहाउनै पा'को छैन । मेलम्ची भन्ने ठाउँमा पानी छ रे मनग्गे त्यसैले जाऊँ भनेको ।

मुन पाैडेल :
रामप्रसाद मधेशका मान्छे । मधिशे। गर्मी, धुलो, पसिनाले तातिएका, लुटपुटिएका र च्यापच्याप भएका मान्छे । तर यो वर्ष किन यस्तो डाहा भएको ? किन मन त्यसै आकुल-व्याकुल भएको ? तालु त्यसै त्यसै पट्ट फुट्ला जस्तो किन भएको ? यो वर्षको गर्मी रामप्रसादलाई सहिनसक्नु भइरहेको छ । घरको भित्ता छोयो भित्तै तातो, ओछ्यानमा बस्न खोज्यो डाम्ला जस्तो, जहाँ बस्यो त्यहीँ पसिनाले निथुक्क । दिनभरि घामको प्रचण्ड रापले तातेको घर बल्लतल्ल बिहान तीन-चार बजेतिरबाट सेलाउन थालेको हुँदैन, छ बज्दा नबज्दा फेरि तात्ने प्रक्रिया सुरु भइहाल्छ । रामप्रसादलाई भाउन्न भएको जस्तो भएर आउँछ ।
रामप्रसाद दिनको तीन पटक नुहाउँछन्, एकै बिहान, दिउँसो बान्ह बजे र राति सुत्ने बेलामा । तैपनि रामप्रसादलाई शीतल हुँदैन, आराम हुँदैन । गर्मी असह्य भएर आएपछि रामप्रसादले घोषणा गरे- म एक महिना काठमान्डू गएर बस्छु भाइकहाँ । रामप्रसाद काठमान्डू नगएको दसौं वर्ष भइसकेको थियो । भाइ अन्नपात लिन बर्सेनि आउँदा सधैं रामप्रसादलाई काठमान्डू जान कर गरिरहन्थ्यो तर रामप्रसाद सधैं बेफुर्सदी । तर यस पटक रामप्रसाद स्वयंले काठमान्डू जान्छु भनेको सुन्दा श्रीमती र केटाकेटी पनि दङ्ग परे । कहिले कतै नजाने रामप्रसाद काठमान्डू जान थालेको देख्दा छोराछोरीले पनि लुगाफाटो, जुत्ता किनकान गरेर सिँगारपटार गरेर पठाए । रामप्रसाद गर्मी छल्न हिँडे हिल स्टेसन अर्थात् काठमान्डू ।
रामप्रसाद रात्रि बस चढेर काठमान्डूतिर हुइँकिए। नौबिसेबाट माथि उक्लिन थालेपछि उनको मन त्यसै त्यसै आह्लादित हुनथाल्यो । गर्मीको भट्टीबाट आएका रामप्रसादलाई काठमान्डूको चिसो हावाले छोएको आभास हुनथाल्यो । अनि उनले मनमनै सोचे काठमान्डू भनेको काठमान्डू नै हो। उहिले हाम्रो केटाकेटी, बेलामा हिउँ नै पर्थ्यो। आहा। स्वर्गे पुग्न थालियो । उनलाई आफ्नो मनको कुरा कसलाई भनूँ कसलाई भनूँ जस्तो भएर आयो र उनले छेउको सहयात्री जो मस्त सुतिरहेको थियो, त्यसलाई उठाएर भनिछाडे-कस्तो चिसो हगि ? काठमाण्डू भनेको काठमान्डू नै हो । त्यो निद्राबाट ब्युझाइएर काठमान्डू महिमा सुनाइएको मान्छे जिल्ल पन्यो । उसलाई पनि रिस उठेर आयो- यो नौबिसे हो। तपाईंलाई अहिले नै चिसो लाग्न थालेको छ भने होस् गर्नुस् । सुइटर, कोट ल्याउनु भा’को छ कि छैन ? छैन भने काठमान्डू पुगुञ्जेल कठ्याङ्ग्रिएर सिद्धिनुहोला । रामप्रसादको काठमान्डू स्नेह ओइलाएर आयो ।
थानकोटबाट बस अगाडि हिँडेपछि रामप्रसादको पेट बटारिन थाल्यो । सधैं पाँच बजे शौचालय जाने बानी लागेको रामप्रसादलाई बसमा पनि समातिगो । रामप्रसाद बस रोक्न हल्ला गर्नथाले तर बस के खाएर रोकिन्थ्यो। छटपटाइरहेका रामप्रसादलाई एकै पटक बस बिसौनीमा लगेर झारिदियो । बसे स्टप झन् रामप्रसादलाई यहाँको नौलो लागिगो। कता ट्वाइलेट, कता धारा । बरु यसै उसै पेट समातेर भए पनि घरै पुग्नुपर्याे भनेर रामप्रसाद टेम्पो लिएर कुदे ।
तै, घरचाहिँ बिर्सेका रहेनछन्, ठम्याइहाले । हत्तनपत्त पोको-पन्तरोहरूलाई घिसारेर फुटपाथमा राखेर रामप्रसाद छिरिहाले भित्र । तल छिंडीमै एउटा शौचालय भएको सम्झना उनलाई थियो । रामप्रसाद भाग्यमानी रहेछन्, शौचालय खाली नै थियो । रामप्रसाद छिरिगए भित्र । र त्यसपछिको दुई मिनेटको अनुभव रामप्रसादको जीवनको स्वर्गीय अनुभव । परमानन्दको अनुभव । शौचालयबाट समाधि पुगेको अनुभव ।
तर ठीक दुई मिनेटपछि रामप्रसाद लाजमर्दो अनुभव र घिनलाग्दो अनुभवको भँवरीमा लछारिए । कारण शौचालयमा एक थोपो पानी पनि थिएन । रामप्रसादले पालैपालो त्यहाँ भएको तीनवटै धारालाई खोले तर पानी त परै जाओस् हावासमेत निस्केन । रामप्रसादलाई महाँको आपत् पन्यो । यस्तो आपत् जिन्दगी परेको थिएन । शौचालयबाटै ढोका ड्याङड्याङ र डुङ्गडुङ्ग गरेर कराउन, भाइबुहारी माथि बस्छन् सुन्ने कुरै आएन। सुनिनै हाले भने पनि के भन्नू, कस्तो लाजमर्दो स्थिति । चिसो काठमान्डूमा दिसा धुन एक ट्वाक पानी पनि नपाउनु। केही नलागेर रामप्रसादले खल्तीबाट छोरीले दिएको नयाँ रुमाल माया लागीलागी झिके । तर कस्तो फसाद आपत् पनि कहिले एक्लै आउँछ र । अब त्यो रुमाललाई कहाँ मिल्काउनु । परेन फसाद । शौचालयमै हाल्दिउँ भने पलस् हुँदैन, लट्ठीले कोचकाच गरिदिउँ, भाइबुहारीहरूले थाहा पाए भने लाजमर्दो स्थिति । रामप्रसाद त्यो रुमालको पोकोलाई देब्रे हातले समातेर बाहिर सडकमा आए र यताउति हेरेर हुत्याइदिए । र ढुक्कको सास फेरे ।
त्यसपछि रामप्रसाद नुन खाएको कुखुरोजस्तो खुत्रुकखुत्रुक भन्ऱ्याङ उक्लेर माथि पुगे । उनलाई उभ्भिँदा पनि सिकसिको लागिरहेको थियो । भाइले देखिहाल्यो रामप्रसादले पख-पख भन्न नपाउँदै भाइले खुट्टामा छाँद हालिदियो। बुहारी पनि हत्तपत्त सप्को टाउकोमा हालेर उँधोमुन्टो लाइहालिन् । भतिजा-भतिजी पनि लाम लागिगए । कसलाई रोकून् कसरी रोकून् रामप्रसाद । पख-पख मैले दिसा धोको छैन भनेर के गरी भनून् । जिन्दगी नगरेको काम गरें रामप्रसादले । भाइले सञ्चो बिसञ्चोको कुरा गर्न खोज्दै थियो, रामप्रसादले हस्तक्षेप गरे- पहिले म शौचालय जान्छु ।
रामप्रसाद शौचालयमा छिरे। त्यहाँ पनि त्यही दशा रहेछ। ढुङ्गडुङ्गी गन्हाइरहेको थियो शौचालय । पानी हाल्न नपाएर । भाइले कताबाट हो एक मग पानी ल्याइदियो । त्यही लिएर रामप्रसाद छिरे । एकछिन दिसा बस्याजस्तो गरेर निस्के । हात धन अर्को मग पानी ल्याइदियो भाइले, रामप्रसाद हातसात धोईवरी निस्केपछि अलि उज्यालो भए। तापनि उनको सिकसिगो ननुहाई, लुगा नफेरि जाने कुरै थिएन ।
त्यसपछि त्यत्रो दिनमा आएको बाउजस्तो दाजु, भाइ, बुहारी नानाथरीका कुरा गर्न खोज्ने, रामप्रसाद चाहिँ नुहाउन नपाएर अनमयस्क जस्ता भइरहेका थिए । केही नलागेर रामप्रसादले भनी छाडे-नुहाउन पाए हुन्थ्यो कान्छा । कान्छा कान्छी अर्थात् भाइबुहारी मुखामुख गर्न थाले। अनि बल्ल भाइले रहस्योद्घाटन गन्यो- दाजु । यहाँ काठमान्डूमा त पानीको अनिकालै परेको छ । धारामा एक थोपा पानी आउँदैन। तीन दिनअघि एक घण्टालाई पानी आएको थियो, त्यही पानी खाइरहेका छौं। म त अफिसमै गएर नुहाउँछु । दिउँसो ट्याङ्कर आउँछ, त्यसैसँग पानी किनेर लुगा धुनेसुने इत्यादि काम जेनतेन भइराखेको छ । यस्तै छ । काठमान्डू भन्नु मात्रको काठमान्डू। बस्न टिक्नै गान्हो भइसक्यो । म बेलुकी अफिसबाट आउँदा एक जर्किन पानी ल्याउँला अनि नुहाइसेला ।
रामप्रसाद जिल्ल परे । काठमान्डूमा पानीको अभाव छ भन्ने सुनेका त थिए तर यस्तो भयावह स्थितिको कल्पना पनि गरेका थिएनन् । बेलुकीसम्म ननुहाई कसरी बस्नू । रामप्रसादले अक्कल लगाए र पशुपति दर्शन गर्न जान्छु भनेर फेर्ने लुगा पोलिथिनको झोलामा हालेर हिँडे पशुपतितिर । उनको सुर थियो बागमतीमा मजाले नुहाउने। तर जब उनी बागमतीनेर पुगे, उनको सपना चकनाचुर भयो । बागमतीमा त के जातिको लेदोजस्तो बाहेक एक थोपा पानी थिएन । चारैतिर डुङडुडी गन्हाइरहेको थियो । बागमतीमा त्यत्रो पौडी खेल्ने पानी हुन्थ्यो, कहाँ बिलायो । टाउको समाते रामप्रसादले ।
त्यही नजिक एउटा धारोमा पानी आइरहेको थियो तुरतुर र करिब सयवटा गाग्रीहरूको ताँती थियो । केही नलागेर रामप्रसादले एउटा पसले टिठालाई सोधे – बाबु । यहाँ कतै नुहाउनलाई पानी पाइदैन ? केटाको बूढीऔंलाको नङमा भोट खसाएको मसीको दाग अझै थियो। नुहाउनलाई पनि पुग्छ, खान पनि पुग्छ, काठमाण्डूलाई पखाल्न पनि पुग्छ । त्यहीँ मेलम्चीसम्म पाउकष्ट गर्नुस् न- केटोले जवाफ दियो । केको पाउकष्ट यस्ता बेलामा पनि । जानु पन्यो ट्याक्सी चढेर भन्दै रामप्रसाद एउटा ट्याक्सीनेर पुगे र चालकलाई भनें- मेलम्ची जान कति लिन्छौ बाबु ? ड्राइभर दङ्ग पर्याे। मेलम्ची के कामले जाने बा ? सोध्यो चालकले । मधेशबाट आएको मान्छे पानी नपाएर नुहाउनै पा’को छैन । मेलम्ची भन्ने ठाउँमा पानी छ रे मनग्गे त्यसैले जाऊँ भनेको ।
रामप्रसादको कुरा सुनेर चालक जिल्ल पर्याे । हेर्नुस् बा । मेलम्ची भनेको खोलोको नाउँ हो र यहाँबाट मोटरमै जाने हो भने पनि दुई दिन लाग्छ । अहिले कसैगरी काम चलाउनुस् दुइटा बोतल मिनरल वाटर किन्नुस् र जीउ पुछपाछ गरेर मधेशतिर फर्किनुहोस् । त्यसपछि तीन वर्षमा फेरि काठमान्डू आउनुहोला, मेलम्ची यहीँ आइराखेको हुन्छ । त्यतिञ्जेल काठमान्डू रहने हो कि सिद्धिने हो, त्यो चाहिँ भन्न सक्दिन । चालकले खुलस्त पारेपछि रामप्रसादको भ्यालढोका खुल्यो। केको पिर भनेर साँच्चै नै दुई बोतल पानी किनेर जिउ पुछपाछ पारे र कट्टुसुद्ध मिल्काइदिए र पशुपति दर्शन गरेर फर्के।
उता भाइ अफिसबाट आइसकेको र जिल्ल परेको अवस्थामा बसिरहेको थियो । कारण अफिसमा पनि पानी नआएर पानी ल्याउन पाएनछ, अब दाजु कसरी नुहाउनुहुन्छ भनेर चिन्तित भइराखेका रहेछ । एक जर्किन पानी पनि ल्याउन नसकेको भनेर बुहारी झपारी रहेकी रहिछन् । भाइबुहारी र केटाकेटीको हरिबिजोग, पानी बिजोग देखेर रामप्रसाद आफैं साह्रै दुःखी थिए । उनले घोषणा गरे- म भोलि आफ्नै गर्मी मधेश फर्किदै छु । केटाकेटीको छुट्टी रहेछ, यिनीहरू पनि जान्छन्, ऑपसाँप खान्छन् । तिमीहरू पनि पन्ध्र दिनको छुट्टी लेओ र हिँड मसँग । टन्न नुहाउनु, अनि मान्छेजस्तो भएर फर्किनु । केटाकेटीहरूले हर्षनाद गरे । रामप्रसादले पैसो झिकेर टिकट लिन पठाइहाले ।
०००
गोरखापत्र / २०५६ भदौ ५ शनिबार
Subscribe
Login
0 Comments
Oldest






































