साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी सालीको बिहे

म पनि उठेर बाहिर के निस्केको थिएँ, सातौँ होइन कि आठौँ आश्चर्य, सासू बज्यै त हात जोडेर पो बिदा गर्न आइपुगिन् - 'हजुर यसो आउँदै गर्नुपर्छ । साली छैन भनेर हामीलाई बिर्सने होइन ।

Nepal Telecom ad

मुन पाैडेल :

जुन बेलादेखि मेरी सालीको विवाह गर्ने अरे भन्ने समाचार भनूँ वा दुखद समाचार मेरो जानकारीमा ठोक्किन पुग्यो, मेरो दिमाग सन्किन सुरु भएको छ । तपाईंको शङ्कालु मनमा शङ्काका कोशहरू सलबलाउन थालिसकेका होलान्, पक्कै यो बज्याको कुदृष्टि सालीमाथि छ भनेर ।

हुन त कुदृष्टि राख्नु कुनै ठूलै अपराध होइन जस्तो लाग्छ किनभने तपाईंले पनि सुन्नुभएकै होला- ‘साली आधी घरवाली’ भनेर। तर त्यसो होइन । मैले आफ्नी डल्ली भकुन्डी सालीलाई ‘साली’ भन्ने अलिकता ठट्‌यौलो नाताबाट नहेरेर बहिनी जस्तैजस्तै दृष्टिकोणले हेर्ने गरेको छु। अब तपाईंको प्रश्न मतिर रकेटको गतिमा आइरहेको छ, मलाई थाहा छ । ‘यसो भने तेरो टाउको ?’ तपाईंको प्रश्न आई पनि पुग्यो। “मेरो टाउको दुखेको कारण के हो भने मेरी एक मात्र सालीको पनि बिहे भयो भने मेरो ससुरालीचाहिँ जाने ठाउँ कदापि रहदैन ।” सुन्नुभो मेरो उत्तर ? अरू केही खुल्दुली छ, आन्द्राभुँडीमा काउकुती लागिरहेको छ भने सोधिहाल्नुस् बाँकी प्रश्न पनि । होइन भने भुँडी सुन्नेको सुन्यै रहला ।

यति भनेपछि त प्रश्न आउने नै भयो- “सालीका न बिहे हुने भा’छ, ससुरालीमा ससुरा होलान्, सासू होलिन्, ससुराली जान किन बन्द ? सालीले ताल्चा लाएर हिँड्छिन् कि क्या हो ?”

ए भाइ । तपाईंको अरू केही काम छैन ? कति खोतलीखोतली सोधेको। अँ, जब तपाईले सोधी नै हाल्नुभो भने सुन्नुस्। मेरो ससुरालीको नालीबेली, मैले भन्नै पर्याे । मेरी आमाले भन्याजस्तो, सोधेपछि जबाफ त दिनुपर्याे । मेरो ससुरालीको आन्द्राभुँडी केलाउने निर्णय गरेर मैले कत्रो खतरा आफ्नो टाउकोमा लिएको छु विचार गर्नुभएको छ कि छैन ? मलाई अरूसँग होइन आफ्नै श्रीमतीसँग खतरा छ । आफ्नो बाउआमाको कुरा काट्‌यो भनेर मेरो धाेतीटोपी गर्न बेर छैन मेरी प्राणप्यारीले । त्यतिखेर तपाईंले बचाउनुहुन्छ मलाई ? सरकारले पति आयोग पनि त खोलेको छैन जहाँ गएर म आफ्नो गुनासो पोखूँला ।

मेरा सासूससुरा संसारका दुई अलौकिक नमुनाहरू हुन्, खोज्न गए यस्तै अरु कतै भेटिंदैनन् । हुन त तिनलाई कसैले तिम्रा जेठा ज्वाई कस्ता छन् भनेर सोधे भने मलाई पनि ‘टुप्पेको, चढेको, खुल्केको’ भन्न बाँकी राख्तैनन्, मलाई थाहा छ । तर यहाँ म कस्तो छु भन्ने वर्णन होइन कि मेरा सासूससुराको बेलिविस्तार लाउन गइरहेको छु म। मेरा ससुरा कस्ता भने बतौरे। अझ कडा र खरो शब्दको प्रयोग गर्ने हो भने गफाडी। हुनेखानेचाहिँ केही होइन तर गफले आकाशपाताल एक गरिदिने खालका । न खप्नुपरोस्, न ख्वाउनुपरोस्, उल्टो छोरीज्वाइँको पाए छादुन्जेल खायो अनि गफ हाँक्यो । ससुराली गयो र ससुरा छन् भने गफबाहेक केही खान पाइँदैन। खान त पाइन्न पाइन्न, बोल्न पनि पाइन्न । उनी चुप लागे न बोल्नु ।

अब अर्को पाटो हेर्नुस् । सासू बज्यैचाहिँ सीधा ठाडा गाउँबाट आएकीजस्ती । न हाँस्नु छ, न बोल्नु छ, टकटक ल‌ट्ठी हिँडेको जस्तो निर्जीव । ज्वाई आओस् मतलब छैन । ज्वाई जाओस्, मतलब छैन। न एक कप चिया, न एक गिलास पानी। टाउको निहुराए त पापै लाग्लाजस्तो। ससुरा त नमस्कार पनि गरिटोपल्छन् र दसैंमा खुट्टा ढोग्नढोग्न खोज्याजस्तो गर्छन् तर सासूले नमस्तेसमेत गरेको सम्झना छैन । आफूलाई नै अप्ठ्‌यारो लागेर आउँछ र आफैले हात जोड्‌यो। अनि बल्ल उनी बेलायती महारानी एलिजाबेथजस्ती हात जोड्छिन् । हाम्री आमा ज्वाइँलाई झोलीको देउता भनेर कत्रो आदर, सम्मान गर्नुहुन्थ्यो । त्यस्ती बूढीमान्छे पनि निहुरेर श्रद्धाका साथ नमस्कार गर्नुहुन्थ्यो ज्वाइँलाई । तर मेरो ससुराली त अर्कै लोकमा भएको जस्तो छ । एक कप चिया पनि ससुराले मुख नफोरुन्जेल सासूले मरे ल्याउने होइन ।

यस्तो मरुभूमि प्रदेशमा मेरी डल्ली र अलिअलि लाटी साली मात्र हरियोको आभास दिन्छिन् । होइन भने जताबाट हेरे पनि बालुवै बालुवा, नीरस, उजाड र बन्जर । मेरी साली अलि होस्ल्याङजस्ती भए पनि भिनाजुलाई भनेपछि मरिहत्ते नै गर्छिन् । घरमा छिर्नुअघि नै उनले देखिन भने माथि बार्दलीबाटै चिच्च्याउन थाल्छिन् । यिनको पनि बिहे भयो भने त मेरो ससुरालीमा एक गिलास पानी दिने मान्छे पनि हुँदैन । सासूससुरालाई सम्झिदा त छिर्न पनि मन लाग्दैन ससुराली । त्यै केटी भएकी कारण यसो जाने गर्छु मन मारेर भए पनि । कामविशेषले दुईचार दिन गइएन भने गएको भनेर उल्टो सफाइ दिँदाको फजिति ।

देख्ता मात्र मोरी साली डल्ली, भकुन्डी र होस्ल्याङ छिन् । भित्रकी भयङ्कर चलाख छिन् । हरेकपल्ट ससुराली पुग्न पाएको छैन पहिले न चिया न सर्बत, उल्टो मेरी सालीनानीले मलाई नै सोध्छिन्- ‘भिनाजु । मलाई के ल्याइदिनुभयो ?” यो त कस्तो कुरो भो भने नि टिकट काटेर सिनेमा गएजस्तो । उल्टो मलाई दिन त कहाँ हो कहाँ, मैले नै ससुराली जाने कर तिर्नुपर्ने । नलगिदिऊँ भने पनि नहुने, एउटी साली बोल्नेचाल्ने, तिनी पनि हुप्प परेर बसिदिन्थिन् । एक त भकुन्डी, त्यसमाथि हुप्प परेको । कस्ती देखिन्थिन् मेरी सालीनानी, कल्पना गर्नुस् त । कहिलेकाहीँ त मलाई कस्तो लाग्थ्यो भने यी सब धुतारका सन्तान छन् र मेरी साली पनि बाउआमासँग मिलेर मलाई उल्लू बनाइरहेकी छिन् । होइन भने प्रत्येक पटक म तिनलाई कसको बाउको सम्पत्तिले उपहार लगिदिनु । तर एउटा कुरा अचम्म लाग्छ मलाई । मैले एक पैसा पनि कसैलाई सित्तै दिनु, मेरी श्रीमती बल्ड्या‌ङ्ग्रा आँखा पल्टाउँछिन्, तर उनकी बहिनीलाई जेजस्तो लगिदिए पनि उनी प्रसन्न । बरु अलि राम्रो लगिदिनु भनेर सिफारिस पो गर्ने। वर्ष दिनमा उनकी बहिनीलाई उपहार लग्नमै मेरो दुईचार हजार खर्च हुन्थ्यो । कहिलेकाहीँ मलाई साहै रिस उठेर आएको बेला म पड्किन्थें- “जान्नँ म अब तिम्रो बाउआमाकहाँ । उहाँहरूलाई मतलबै छैन, म मात्र लुते कुकुरजस्तो पुच्छर हल्लाउँदै जान्नँ म अब ।”

त्यसो भन्यो कि श्रीमती फकाउन थाल्थिन्- “त्यस्तै हो क्या उहाँहरू । बूढाबूढी भइसक्नुभो । उहाँहरूकै के कुरा त्यसमाथि हजुर गइबक्सिएन भने साली त खुत्रुक्कै हुन्छे ।” म मनमनै सोच्थें, हो म खुत्रुक्क हुन्छु कि तिम्री बहिनी ।

तर कताकता सालीको बिहे हुन थाल्यो भनेर मनमा नमीठो त लागी नै रहेको थियो । एउटा कुरा त निश्चित थियो साली हिँडेपछि ससुराली जाने कुनै कारणचाहिँ बाँकी रहँदैनथ्यो । सोच्तासोच्तै खुट्टा ससुरालीतिर लम्किगो । सधैंझै ‘भिनाज्यू ।’ भनेर सालीनानी बार्दलीबाटै चिच्च्याइहालिन् । त्यसपछि सुरु भयो सिनेमाको, सिरियलको, फेसनको, उनको कलेजको नानाभाँतीको गफ । सारा गफगाफ भइसकेपछि मैले जिस्क्याएँ सालीनानीलाई ‘अब कसले सुन्ने हो सालीनानीको गफ । बिहे भएपछि त हामीलाई बिर्सिने होला सालीनानीले ।’

सालीलाई मन भारी भइराखेको रहेछ, क्वाँक्वाँ रुन पो थालिन् र बर्बराउँदै अर्को कोठातिर हिँडिन्- ‘गर्दिन म बिहासिहा ।’ साली रिसाइहालिन्, अब कोसँग गफ गर्नु, म पनि उठेर बाहिर के निस्केको थिएँ, सातौँ होइन कि आठौँ आश्चर्य, सासू बज्यै त हात जोडेर पो बिदा गर्न आइपुगिन् – ‘हजुर यसो आउँदै गर्नुपर्छ । साली छैन भनेर हामीलाई बिर्सने होइन ।’

म तीनछक्क पर्दै सासूको अप्रत्याशित हृदय परिवर्तनबारे क्रन्दन गर्दै डल्ली सालीलाई सम्झिदै बाटो लागें।

०००
भुसुक्कै (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x